समयको गतिशीलता, विभाजित अस्तित्व र खालिङका कविताहरु
रमेश गौतम
नर्वे
धनेहरु र विभाजित अस्तित्व
धनेहरु निरन्तर हिँडिरहे, हिँडिरहेका छन् । इतिहासका विविध कालखण्डमा धने र धनेहरु कहिले अस्तित्वको खोजीमा, कहिले चरम गरिबीबाट उन्मुक्ति पाउने आशामा त कहिले इज्वत अस्मिता रक्षार्थ निरन्तर-निरन्तर हिँडिरहेका छन्। हिँड्नु र हिँडिरहनुको विवशता छँदै छ, पीडा-दर्द छँदै छ तर धने र धनेहरु यसरी हिँडिरहँदा आफ्नो अस्मिता र अपनत्व सधैँ आफैँसँग लिएर हिँडिरहेकाछन्। तर विडम्बना, यही अस्मिता र अपनत्वका कारण धनेहरु हिँडिरहनु परेको छ।
यसरी नै हिँडेको एउटा हूल भूटान पुग्यो। तर यो हूल भने अरू हूलहरुभन्दा पृथक् प्रकारले भूटान पुगेको थियो। गोरखाका तत्कालीन राजा राम शाहसँग भूटानका तत्कालीन धर्मराजा साब्ड्रुङ नवाङ नाम्ग्यालले ताम्रपत्र गरी कृषि पेसामा निपुण ५० घर नेपालीलाई भूटान लागेका थिए। यस अगावै गुम्बा, जोङ आदि धार्मिक एवं प्रशासकीय भवनहरू निर्माण गर्ने सिलसिलामा केही नेपालीहरू भूटान पुगिसकेका थिए। तर यिनीहरूको भूटान बसाइ सुखद हुन् सकेन। नियति दोहोरियो – उही हिँड्नुको नियति।
गोरखाबाट यसरी भूटान पुगेका नेपालीभाषीहरुले तत्कालीन गोरखाको भाषा, संस्कृति, सभ्यता एवं संस्कार लिएर गए। यी सम्पूर्ण कुराहरूको त्यस भूमिमा धेरै विकास हुनै पाएन। यसरी लामो समयसम्म सम्भवत: गोरखा छोड्दा कै अवस्थामा रहेका नेपालीभाषी भूटानीहरु जतिबेला आफ्नो भाषा-संस्कृतिको उत्थान एवं विकासकालागि कम्मर कसेर अघि बढे, उनीहरूले उच्छेदनको पीडा बेहोर्नु पर्यो। कालक्रममा आफ्नै पुर्ख्यौली भूमिमा आश्रय लिन आइपुगेका उनीहरू आफ्नोपनको खोजीमा लागिरहे। यसरी लेख्दै छन् भूटानीहरु। समकालीन नेपाली र विश्वमानवबाट लेखिँदै पनि छन् कथा भएर। कतै पुस्तकहरूमा, कतै पत्रपत्रिकाहरूमा, कतै रङ्गमंचहरुमा त कतै वेबपृष्ठहरुमा बारम्बार लेखिँदै छन् दानवी शाषकको राज्यआतंकबाट शिकार बनाइएका अनगिन्ती असहाय निर्दोष मानवाकृतिहरु।
यी कलुषणहीन निर्दोष मान्छेहरूको व्यवहार जति सफा थियो हृदय त्यतिनै कञ्चन थियो। आफूले जहाँ आफ्नो बोझिलो भारी बिसाए, त्यही भूमिलाई आफ्नो सम्झिए। दिनरात परिश्रम गरे, रगत पसिना बगाए र मितेरी लगाए माटोसँग। सदियौंदेखि मलेरियाको प्रकोपले निर्जन रहेको बाघ लाग्ने वनलाई मानवबस्ती बनाए। तारे भिरहरूमा चिल्ला नागबेली सडकहरू बनाए। सधैँ राष्ट्रियताको गीतकाे गाए। राष्ट्रोन्नतिको नाममा महिनौंसम्म भोको पेट पटुकाले कसेर खटिरहे। राजालाई भगवान् सम्झिए र पुजिरहे, पुकारिरहे। हृदयमा पुजेर राखेको त्यो संवेदनाशून्य पाषाण भगवानले उनीहरूका गथासा कहिल्यै सुनेन। युगौंदेखि दमन र शोषणका अथाह पीडा सहेर सुतिरहेका धनेहरुका जीवाष्महरु कहिल्यै बोलेनन्, चल्मलाएनन्। यसरी समयको कायापलट हुँदै गयो तर उनीहरूको हृदयमा सूर्य कहिले उदाएन, वसन्त कहिल्यै आएन।
सधैँ अस्मिताले चिमोटिरह्यो। पितापुर्खाका नझुकेका शीरहरुले झक्झकाइरहे। जातीय गौरवले नझुक्न अनुनयविनय गरिरह्यो। आफ्नोपनको खोजी र अर्थपूर्ण बचाइको लालसाले मुटुमा ऊर्जा थपे। तर मानवअधिकार चाहिन्छ, लामो चुल्ठो चाहिन्छ, दौरासुरुवाल चाहिन्छको पहिलो बोलीसँगै उनीहरू उत्तेजित भए। बिरानो बनिसकेको आफ्नै पुर्ख्यौली भूमिमा प्रवासीको रूपमा भित्रिएपछि पनि अनेक तरहले आफ्नोपनाको खोजीमा लागिरहे।
अद्यापि कथा सकेको छैन। हिँडिरहेछन् उनीहरू अपरिचित गन्तव्यतर्फ। आफ्नो सांस्कृतिक पहिचानलाई मुटुको एक कुनामा जतनसँग लुकाएर अनि अर्को कुनामा बिरानो संस्कारसँग घुलमिल हुने आँट बोकेर, बाँच्नुको जिजीविषा, हिँडिरहेछन् उनीहरू एउटा कहिल्यै नसकिने हिँडाइ।
धनेहरु कहिल्यै नेपाली हुन सकेनन् तर रगतमा बगिरहेको नेपालीपनबाट टाढा हुन पनि सकेनन्। भूटानभित्र हुँदा पनि कठिनाइपूर्वक आफ्नो जातीय सांस्कृतिक अस्तित्व बचाइराखेका उनीहरू कहिल्यै पुरै भूटानी हुन सकेनन्। नेपालमा बस्दा सातवटा स-साना भूटानका घेराभित्र बाँधिएका उनीहरू कहिल्यै नेपाली हुन सकेनन्। संसारको विभिन्न भूगोलमा छरिएर बस्दापनि उनीहरू पुरै अमेरिकन, अस्ट्रेलियन वा क्यानेडियन हुन सक्नेछन् न भूटानी वा नेपाली। अस्तित्व विभाजित छ यति बेला। आधुनिकीकरण वा भूमण्डलीकरणका बारेमा ज्ञानै नभएका उनीहरू थाहै नपाई उत्तरआधुनिकताको भासमा पसेका फँसेकाछन्। आफ्नालागि दुष्जर र विषम हुन सक्ने सांस्कृतिक ठिमाहापनभित्र मुस्कुराउन खोज्दै छन् उनीहरू। यसरी धनेहरु यताको पनि हुन नसक्ने उताको पनि हुन नसक्ने परिस्थितिको गम्भीर चोट अँगाल्न विवश छन्। कामना गरौँ यही ठिमाहापनभित्र आफ्नोपन सुरक्षित भएको हेर्दै धनेहरु मुस्कुराइरहने छन् अनन्तकालसम्म।
वर्तमानको गतिशीलता र खालिङ कविताहरू
धेरै अध्ययन गरेर साहित्य सिर्जना गर्ने थोरै भूटानीहरुमा एक हुन् सञ्चमान खालिङ। लामो समयको साहित्यसाधनापछि प्रकाशित हुन लागेको यो कृति विविध कोणबाट निकै सान्दर्भिक र स्तरीय बनेको छ। खास गरी सङ्ग्रहमा समाविष्ट कविताहरूको भावभूमि, कवितासन्दर्भ छनोट र विषयको व्यापकताका आधारमा अहिलेसम्म भूटानीहरुकातर्फबाट प्रकाशित कृतिहरूमा यो पहिलो दर्जाको कृति हो। उटै सङ्ग्रहभित्र प्रकृति, स्वैरकल्पना, मान्छेका विविध तहतप्का, समयसन्दर्भहरू अनि विज्ञानका कुरा कलात्मक रूपमा प्रस्तुत गर्न सफल खालिङ कुनै पनि वादको सङ्कुचित घेराभित्र बाँधिएका छैनन्। यो सङ्ग्रह नेपाली साहित्यको मूलधारमा आफ्नो उपस्थितिको गम्भीर खोजी हो।
एउटै शीर्षकवितामार्फत आफ्नो दारुण अतीत, अभिशप्त वर्तमान अनि अनिश्चित भविष्य अभिव्यक्त गर्न सफल छन् कवि। भूटानभित्र लामो समयसम्म बोलीचालीको भाषाका रूपमा रहेको नेपाली भाषाको भूटानभित्र उतिधेरै विकास नभए पनि सत्तरीको दशकपछि भने विविध रूपमा साहित्यसाधनाका छनकहरू देखिएका छन्। समकालीन नेपाली साहित्यिक परिवेशबाट धेरै कुराहरू सिक्दै भूटानी नेपाली साहित्य बामे सरिरहेको छ। यसै सन्दर्भमा प्रकाशित हुन लागेको यो कृति भूटानीहरु साधनारत छन् भन्ने एउटा सबल प्रमाण पनि हो।
त्यसो त नेपाली साहित्यको मूलधारले भूटानीहरुसँग पनि नेपाली साहित्य बाँचेको छ भन्ने सम्झिएको पाइँदैन। थोरैले मात्र भूटानी नेपाली साहित्यका बारेमा बोलेका छन्, लेखेका छन्। उनीहरू जे गरेर भए पनि आफ्नोलाई मात्र राम्रो भन्ने, राम्रो बनाउने मनस्थितिमा छन्। यसरी मूलधार नेपाली साहित्यले भूटानी नेपाली साहित्यको विकासकालीन अवस्थालाई उपेक्षा नै भने नगरेपनि उचित हिफाजत गरिरहेको छैन। भूटानीहरु नेपाली साहित्यसागर मूलधारमा मिसिँदै गरेको खहरेको आफ्नो अस्तित्व खोजिरहेका छन्।
यस कृतिको उचित मूल्याङ्कन गर्ने दायित्व समालोचक-समीक्षाहरूको हो। कृतिभरि छरिएका त्यस्ता केही उद्गारहरू, सुसेलीहरू उद्धृत गर्न चाहन्छु। जतिसुकै पुरे पनि, जतिसुकै टाले पनि धेरै कुरा बाँकी रहनुको, थाती रहनुको पीडा छ कविसँग। भन्छन्-
धेरै कुरा
बाँकी हुँदो रहेछ
थाती हुँदोरहेछ
ती
डोब र खाडलहरूमा
रङ भर्नुपर्छ
आफूलाई
जस्तो मन पर्छ
साँच्चै जीवन अभावहरूको उठाई नसक्नुको भारी रहेछ:
भोक भएर जिन्दगी
रूवाँन्डी शरणार्थी बालकसँग
बगरमा बालुवा खाँदै छ
नयाँ वर्षसँग धेरैका धेरै प्रकारका कामनाहरू हुन्छन् तर कवि समयलाई सबैतिर समान विकास नहुन्जेल रोकिनु पर्छ भन्छन्-
हिजोभन्दा आज
आजभन्दा भोलि
सहरदेखि गाउँ टाढा हुँदैछ
::::::::::::::::::::::::::::::::::
म चाहन्छु तिमी ठप्प रोकिनुपर्छ
मेरो समाज अरूको दाँजोमा नपुगुन्जेल
कविसँग वर्तमानका निकासहीन गुम्स्याइहरू छन्। पलपल उनी आफैँलाई बिर्सन्छन्। साँच्चै समय भावहीन भएको छ यति बेला:
“मङ्गलमय शुभकामना
तिम्रो जन्मदिनको”
यसरी नै तिमी सम्झाउँछ्यौ मेरो जन्मदिन
जसलाई मैँले किन किन बिर्सेको हुन्छु
यी त उदाहरण मात्र हुन्। भावको सघनता र तीव्रता भित्र कुँदिएका यस्ता धेरै कवितांशहरू छन् जसले पाठकलाई भित्रैदेखि छुने छन्।
आज साहित्यको गतिशीलता फरक तवरले परिभाषित हुँदैछ। जे आयो त्यही लेख्ने आदिम सनातन संस्कारबाट पृथक् आज अत्यन्त गहन अध्ययन गरेर ठोस विचार सम्प्रेसित गर्ने साहित्य लेखिँदै छ। साहित्यमा जताततै नवीनताका खोजी हुँदैछ। नवीन प्रयोगहरू हुँदै छन्। त्यही चेतना बोकेका खालिङ कविताहरू भूटानी सन्दर्भमा नवीनताका स्वर हुन्।
कवि सन्चमान सञ्चमान पहिलो प्रयासमा नै साहित्यमा आफ्नो अर्थपूर्ण उपस्थिति स्थापित गर्न सफल रहून् र भावी दिनहरूमा जहाँसुकै रहेर भए पनि नेपाली साहित्यको सेवामा इमान्दारितापूर्वक लागिरहून् भन्ने कामना गर्दछु।
[प्रस्तुत आलेख सन् २००९ मा प्रकाशित कवि सञ्चमान खालिङको कविताकृति “धनेहरू निरन्तर हिँडिरहे” मा समावेश गरिएको छ – सम्पादक]