समयको तस्वीर

भक्त घिमिरे
पेन्सिनभेनिया, अमेरिका   

-तपाईंले घोरिएर सोच्नुभएको छः घडी नहुँदा पनि ‘समय’ थियो । साल-संवतहरु बन्नभन्दा पहिले पनि ‘समय’ थियो । पात्रो र क्यालेन्डरका पाना लेखिनभन्दा पहिले पनि समय थियो । त्यतिमात्र होइन, ब्रह्माले गरेको भनिएको सृष्टिभन्दा पहिले पनि समय थियो । अल्बर्ट आइन्सटाइनको सापेक्षित विज्ञान सिद्धान्तबाट अध्ययन शुरु गर्नुस् वा आर्यभट्ट र वराहमिहिरका गणितीय ज्योतिषशास्त्र वा कुनै आध्यात्मिक दर्शनबाट, अन्त्यमा एउटै निष्कर्षमा पुगिन्छ ! र, त्यो निष्कर्ष के हो भने समय निरन्तर चलिरहेको छ, नदीजस्तै बगिरहेको   छ ! यो गतिवान छ । एकोहोरो यात्रामा छ समय ! पृथ्वी सूर्यको परिक्रमा गर्दै फर्केर पुरानो विन्दूमा आउला तर, समय फर्केर आफू हिँडेको ठाउँमा आउँदैन !  हँ ! उसो भए के हो त समय ? समय हावाजस्तै छ, यो देखिँदैन !-  

ग्रेगोरियन क्यालेण्डरको ‘नयाँ वर्ष’ भर्खरै शुरु भएको छ । वर्ष भन्नेबित्तिकै यहाँनेर समय विभाजन अथवा कालगणनाको कुरा आउँछ । पृथ्वी र मानिसको आयुसँगै खगोल विज्ञानको कुरा जोडिन्छ ।

त्यसो हुनाले यहाँनेर शुरुमै समयको परिभाषा केलाउनु पर्ने हुन्छ ! समय भनेको के हो त? के समयलाई घडीले नियन्त्रण गर्न सम्भव छ ? कवि शिरोमणि लेखनाथ पौडेलको कालमहिमा अनुसार ‘आयो टप्प टिप्यो लग्यो मिति पुग्यो…’ मात्र हो कि अरुथोक पनि हो समय ?

समय भनेको ठ्याक्कै यही चीज हो भनेर एकमुष्ट व्याख्या कसैले पनि गर्नसकेको छैन । समयको व्याख्या गर्ने सन्दर्भमा बेञ्जामीन फ्र्यांक्लिनसित जोडिएको एउटा रमाइलो किस्सा छ ।

एउटा पुस्तक पसलमा ग्राहक आयो; केही पुस्तक हेऱ्यो र एउटा पुस्तक टिपी मूल्य सोध्यो ।
पसलको कामदारले उत्तर दियो,‘एक डलर ।’

केहीक्षण घोरिएर अलिकति कम गरिदिन ग्राहकले आग्रह गऱ्यो । कामदार मानेन ।
निकैबेरसम्म अल्मल गरिकन ग्राहकले कामदारसित मालिकलाई भेट्ने अनुरोध गऱ्यो । कामदारले पसल मालिकलाई सूचित गरिदियो । मालिक पनि आइपुगे !

ग्राहकले उत्साहित हुँदै भन्यो,‘यो पुस्तक कमसे कम कति मूल्यमा बेच्न सक्नुहुन्छ ?’
पसल मालिकले भन्दिए,‘एक डलर र एक सुका !’

तीनछक परेको ग्राहकले भर्खरै उसलाई पसलको कामदारद्वारा त्यो पुस्तकको मूल्य एक डलरमात्र बताइएको कुरा उठायो ।
“हो, कामदारले भनेको ठिकै हो । तर, अहिलेसम्म यसमा मेरो समयको मूल्य पनि जोडियो र, दाम बढ्यो !” मालिकको जवाफ थियो ।
ग्राहक फेरि बोल्यो,‘ठीकै छ, अन्तिम पटक मूल्य बताउनुहोस् ।’

मालिकले फेरि भने, “एक डलर र एक मोहर ! तपाईं जतिपटक यसको मूल्य सोधिरहनुहुन्छ, पुस्तकको मूल्य बढ्दै जानेछ । किनभने मेरो बहुमूल्य समयको दाम पनि यसैसँग जोडिन्छ !”

त्यो पुस्तक महत्वपूर्ण भएकाले किन्नैपर्ने थियो तर, ग्राहकसँग अरु कुनै उपाय थिएन । उसले एक डलरको पुस्तक डलरभन्दा एकमोहर बढी दाम दिएर किन्यो । त्यो पुस्तक पसलका मालिक अरु कोही नभएर अमेरिकी राजनीतिज्ञ तथा प्रखर वैज्ञानिक बेञ्जामीन फ्र्यांक्लिन थिए ! ‘टाइम इज मनी’ भन्ने सिद्धान्त उनकै विचारबाट उत्पति भएको हो । उनको सिद्धान्तमा समयलाई श्रम र मानिसको आयुसित जोडिएको छ !

धेरै वैज्ञानिकहरुले समयको सवालमा धेरै कुरा गरेका छन् । जसले जे जे भने पनि ठ्याक्क तस्वीर वा रेखाचित्रमा बुझ्ने गरी समयको अर्थ खोज्यो भने कसैले पनि भेट्ने छैन ! कसैलाई ‘समय कति भो’ भनेर सोध्यो भने सबैले घडीतिर हेर्दछन् ! उसो भए समयलाई घडीले नियन्त्रण गर्छ ? अहँ ! त्यो पनि होइन ।

तपाईंले घोरिएर सोच्नुभएको छः घडी नहुँदा पनि ‘समय’ थियो । साल-संवतहरु बन्नभन्दा पहिले पनि ‘समय’ थियो । पात्रो र क्यालेन्डरका पाना लेखिनभन्दा पहिले पनि समय थियो । त्यतिमात्र होइन, ब्रह्माले गरेको भनिएको सृष्टिभन्दा पहिले पनि समय थियो । अल्बर्ट आइन्सटाइनको सापेक्षित विज्ञान सिद्धान्तबाट अध्ययन शुरु गर्नुस् वा आर्यभट्ट र वराहमिहिरका गणितीय ज्योतिषशास्त्र वा कुनै आध्यात्मिक दर्शनबाट, अन्त्यमा एउटै निष्कर्षमा पुगिन्छ ! र, त्यो निष्कर्ष के हो भने समय निरन्तर चलिरहेको छ, नदीजस्तै बगिरहेको छ ! यो गतिवान छ । एकोहोरो यात्रामा छ समय ! पृथ्वी सूर्यको परिक्रमा गर्दै फर्केर पुरानो विन्दूमा आउला तर, समय फर्केर आफू हिँडेको ठाउँमा आउँदैन ! हँ ! उसो भए के हो त समय ? समय हावाजस्तै छ, यो देखिँदैन !

नयाँ वर्ष, नयाँ पात्रा/क्यालेन्डरहरु समयका काल्पनिक सूचकमात्र हुन् । इशाईहरुका लागि रोमन साम्राज्यको क्यालेन्डर, जुलिस सिजरको जुलीयन क्यालेण्डर अथवा ग्रेगोरीयन १३ औं को क्यालेण्डर बनेपछिमात्र समय शुरु भएको होइन । हिन्दूहरुका लागि राजा कनिष्क (कतै राजा शालिवाहन पनि भनिएको छ)-ले शक संवत ल्याएर अथवा राजा विक्रमादित्यले विक्रम संवतको थालनी गरेपछिमात्रै समय बनेको हैन । समय त सधैं थियो, जो सधैं एकरूपतामा छ, जो सनातन छ, त्यसैको नाम समय हो ।

अफ्रिकाको युगाण्डा भन्ने मुलुकमा ब्रह्माण्डको भूमध्यरेखा (विषुवत रेखा-Equator) भेटिन्छ रे ! तर, यो रेखा पनि धर्ती वा आकाशमा खोजेर पाइने, कुनै कागजको पानामा बनाउन सकिने चित्रजस्तो धर्का होइन । यो पूर्णतः काल्पनिक कुरा हो । काल्पनिक भए पनि भूमध्य रेखाले सारा विज्ञान, प्रविधि र भूगोलको विकासलाई धानेको छ । काल गणना र दिशानिर्धारणमा यसैलाई आधार मानिएको छ । रेखा काल्पनिक भए पनि मानवसमाजका लागि यो हितकर ठहरिएको छ । जसरी आर्यभट्टले आविष्कार गरेको शून्यले सम्पूर्ण खगोलविज्ञानलाई उचालेको छ; यो भूमध्यरेखा र समयको गणना वा कालविभाजन पनि त्यस्तै कुरा हुन् ।

आखिर शून्य भनेको ‘केही पनि छैन’ वा ‘केही पनि होइन’ नै हो । तर, यही शून्य सबैथोक पनि हो । यो लोक, मानव समाज सबै ‘हो’ र ‘होइन’कै दोसाँधमा अडिएको छ ! ‘होइन’ भएर नै ‘हो’ को अस्तित्व खडा छ ! ‘हो’ छ र नै ‘होइन’ले पनि आफ्नो दाबीलाई कायम राखेको छ ! ‘हो’ मात्र हुने वा ‘होइन’मात्र हुने भए यो ब्रह्माण्डको अस्तित्व आजको जस्तो हुने नै थिएन ! यहाँ समष्टिमा भन्नखोजिएको कुरो के भने, एकोहोरो सोचाइ, एकोहोरो बुझाइ, एकोहोरो हँकाइ जे जे भए पनि त्यस्तो प्रवृत्तिले यो संसार चलेको छैन ! रात भएर नै दिनको महत्व छ । ढिलो भएर नै छिटोको मूल्य छ । विद्युत पनि निश्चयात्मक (पोसिटिभ) र ऋणात्मक (नेगेटिभ)- दुइ विपरीत तरंग धाराबाट बनेको छ ।

विद्युतको सन्दर्भमा एउटा अर्को प्रसंग पनि केलाउँ ! जलतरंगमा पहिले नै बिजुली थियो र नै विज्ञानले त्यसलाई निकालेर प्रयोगमा ल्याएको हो । विज्ञान आफैंले नयाँ सृष्टि गरेको त होइन ! समय पनि त्यस्तै हो । पहिले नै थियो समय तर, ज्योतिष गणनाले त्यसलाई आधार बनाएर मानिसको आयुलाई सदुपयोग गर्न सिकायो; कुरो यति हो ।

अतः हामीसित समय छ र समय छैन पनि । किनकि समय थियो भने हामी हातमा टिपेर कसैलाई त्यो देखाउन सक्ने थियौं ! समात्न नसके पनि नक्शा बनाएर कसैलाई देखाउन त सक्ने थियौं । अहँ ! हामी त्यसो गर्न सक्तैनौं । आजसम्म ब्रह्माण्डमा समयको तस्वीर लिनसक्ने कुनै पनि यन्त्र बनेको छैन । समयको प्रतिविम्बलाई आकार/प्रकार र आयतनमा ल्याउनै सकिँदैन ।

यद्यपि, समय त छ ! समय छ र नै हामीलाई निश्चित अन्तरालमा परिवर्तनको आभास हुन्छ ! पश्चिमा विद्वानहरुले भनेका छन्,“समयले अण्डाबाट एउटा चल्ला निकाल्छ । र, समयको अन्तरालले  नै त्यो चल्लाबाट पनि अर्को अण्डा निकाल्छ !”  त्यसो भए के हामी एउटा घटना र अर्को परिघटना बीचको अन्तराललाई नै समय भनिरहेका छौं ?

वैज्ञानिकहरु समयलाई एकोहोरो हिँड्ने गतिको रुपमा व्याख्या गरिरहेका छन् जसलाई ‘अनरिभर्सिबल इनर्जी’ (पार गरिसकेपछि फिर्ता ल्याउन नसकिने ऊर्जा) भनिन्छ । जस्तो कि एउटा अण्डाबाट अम्लेट बन्छ तर, अम्लेटलाई अण्डामा फेर्न सकिँदैन ! आखिर समय भनेको के हो त? यो ध्यानदृष्टिले अनुसन्धान गर्ने विषय हो ! वास्तवमा समय भनेको गति हो ! यो गति निरन्तर चलायमान छ ! कस्तै चतुर ट्राफिक प्रहरीले, कस्तै चकिलो रातो बत्तीले पनि रोक्न नसक्ने गतिवान गाडीजस्तै हो समय !

महाभारत र गीताका ठाउँ ठाउँमा एउटा अदृश्य, अपरिमेय शक्तिले ‘म समय हुँ’ भनेको छ ! त्यसैलाई आम जनमानसले ईश्वर मानिरहेको छ ! उसो भए ‘समय नै ईश्वर’ अथवा ‘ईश्वर नै समय’ हो त ? यी गहन अनुसन्धानका विषय हुन् !

समयको गतिबारे महाभारतमा एउटा रोचक प्रसंग छ ! कुरुक्षेत्र महासंग्रामको १३ औं दिन अभिमन्युलाई चक्रव्यूहमा मारिएपछि रन्थनिएका अर्जुनले भोलिपल्टको सूर्यास्त नभई जयन्द्रथको बध गर्ने प्रतीज्ञा गरे । यदि जयन्द्रथ बध गर्न नसकेमा आफैं अग्निदाहमा लीन् हुने अर्जुनले कसम खाए । भोलिपल्ट, कुरुक्षेत्र महासंग्रामको १४ दिन कौरव सेनाको घेरामा लुकेर सुरक्षित रहेको जयन्द्रथ अर्जुनका सामु पर्दै परेन । जब बेलुकीतिर कुरुक्षेत्रमा अँध्यारो छाउन थाल्यो तब सूर्यास्त भइसकेको र अर्जुनले अग्निदाहमा समाधि लिने बेला भएको सम्झेर शकुनी, दूर्योधन, जयन्द्रथहरु सबै कूटिल मुस्कान लिई अर्जुनका सामु देखा परे ! साँच्चै त्यतिबेला क्षीतिजमा घाम नदेखिएर अस्ताइसकेको सबैले अनुभूत गरेका थिए । अर्जुन खिन्न भएर अग्निदाहमा जानलाई तयार हुँदै थिए भने आफ्नो लाञ्छित असफलताको ग्लानिभरि व्याकुलता पनि उनीभित्र थियो ।

अति रोमाञ्चकता साथ त्यति नै बेला कृष्णले अर्जुनलाई शतर्क गराउँदै भने,“ऊ आकाशमा हेर त, अझै पनि सूर्यास्त भएकै छैन !” सबैका नजर आकाशतिर पुगे । सबैले डाँडामाथि सग्लो सूर्य देखे । अर्जुनले प्रतीज्ञा अनुसार आफ्नै अघि मुस्कुराउँदै उभिएको जयन्द्रथको शिरछेदन गरी बध गरे । जब, विश्रामको समय कृष्ण र अर्जुन शिविरमा आए, त्यो चमत्कारबारे कृष्णसित अर्जुनले  सोधेः “हे केशव, अस्ताञ्चलमा डुबेको सूर्य कसरी फिर्ता आयो ?”

उत्तरमा कृष्णको कथन थियोः“सूर्योदय र सूर्यास्त भनेको समयको गति हो । यसलाई फेर्ने ल्याकत ब्रह्माण्डमा कसैसित पनि छैन । यदि यसलाई यसलाई टुक्य्राउने, तोडमोड गर्ने, भाग लाउने वा रोक्ने कुराको परिकल्पना कसैले गऱ्यो भने त्यो कहिल्यै पनि सिद्ध हुँदैन । जयन्द्रथ युद्धमैदानबाट तिमीदेखि भागिरहेको थियो । मैले त तिम्रो प्रतीज्ञा पूरा गराउनका लागि सुदर्शन चक्रमार्फत मायाजालको भ्रान्ति सृष्टि गरी बादल पैदा गरेर त्यसले सूर्यलाई छोपीदिएको मात्र थिएँ ! त्यतिमै सूर्यास्त भइसकेको बुझेर जयन्द्रथ बाहिर आयो, तिम्रो प्रतीज्ञा पनि पुरा भयो !”

कथा प्रसंगहरु जे जस्ता हुन्,  यथार्थमा कुनै पनि नयाँ वर्षबाट समयको सुरुवात भएको हुँदैन । चाहे ईस्वी होस् कि विक्रम संवत् अथवा ल्होसार र वैशाखी नै किन नहोस्; सबै सजिलोका लागि सूचकका रूपमा प्रयोगमा ल्याइएका साध्यमात्र हुन् ।

मानिसको दैनिक व्यवहार चलाउन सजिलोका लागि नयाँ वर्षको, नायँ महिना, नयाँ साता र नयाँ दिनहरुको गणना गरिन्छ । यसरी नै क्षण, पल, घडी, पोला आदिमा छुट्याइएको समय परमार्थिक सत्य हो भने पात्रो वा क्यालेन्डरचाहिँ व्यावहारिक परिसूचक हुन् ।

नयाँ वर्षले हामीलाई नयाँ योजना बनाउन मानसिक रूपमा मद्दत गर्छ । यसले भावनात्मक ऊर्जाको नवीकरण गर्न सघाउँछ । उत्सव मनाउने नयाँ मौका दिन्छ । नयाँ वर्षमा केही नयाँ भइहाल्छ कि भन्ने आशा जगाइदिन्छ ! आशामा त संसार अडिएको छ निः हैन र ! आशा र सपनामै त निर्माणको जग अडिएको हुन्छ । आशा भनेको दिनजस्तै हो । आजको दिन थाहा नपाइकन ‘हिँजो’ भइसक्छ ! अनि ‘भोलि’ भन्ने दिन कहिल्यै आइपुग्दैन ! तर, हामी सधैं हिँजोको स्मृति र ‘भोलि’को कल्पनामा ‘आज’लाई भोगिरहेका हुन्छौं । महत्वपूर्ण आजलाई बेतुकमा उडाएर ‘भोलि’कै लागि चिन्तित भइरहन्छौं । मानिसका आशाहरु पनि सीमाहीन छन् । एउटा आशा पूरा भयो अर्को आशा पह्लाइहाल्छ । यस्तै आशा र सपनाहरुलाई अभ्यासमा उतार्न सजिलो पार्ने उद्देश्यले मात्र हाम्रो समाजमा काल गणनाको जोड-घटाउ गरिएको हो । वर्ष, महिना, बार, तिथि वा घडी-पोला कुनै पनि अजम्बरीका बुट्टी होइनन् । समय त सधैं एकनाश छ, अविराम छ । यसमा शकुन र अपशकुनको कुनै गुञ्जायस छैन । पर्व हुन् कि उत्सव सबै सुख र खुशी बाँड्ने अवसर हुन् । त्यहाँनेर पुगेर समय टक्क उभिएको हुँदैन !

सबैतिर एकैरूपमा, एउटै समयधारामा उत्सव वा पर्वहरु मानियो भने समाजको जीवन व्यवस्थापनमा सजिलो हुन्छ भनेर यसका लागि तिथि-मिति तोकिएको हो ।

समयको विभाजन र कालगणनाबाट निर्धारित चाडपर्वहरु मनाउँदा यतिबेला विवादहरु देखिँदैछन् । यस सवालमा विवाद चर्काइरहनुपर्ने के छ र ? हामी जीवनका मुख्य आधारहरु हराउँदा पनि चाड-पर्वहरु मनाइरहन्छौं । अस्तित्वको जग खुस्किएर धरातलमा बजारिँदा पनि सानातिना खुशीमा हामी रमाइरहन्छौं; उत्सवहरु मनाइरन्छौं । कहिलेकाहीं कुन दिन कुन पर्व मनाउने भनेर बाझ्दै पनि   गर्छौं । पर्वहरु, चाडहरु समाजमा सबैको दैनिकीलाई हेरेर सहज हुनेगरी खुशी बाँड्नलाई तोकिएका अवसरमात्र हुन् ! तर, हामीले कुनै उत्सव मनाइरहँदा कुन सुख र खुशी बाँड्नलाई ती अमुक पर्वहरु चुनेका हौं भनेर जमातले कहिल्यै सोचेजस्तो लाग्दैन ! अहँ ! सोचेको छैन नै ! यसो भन्दैमा चाडपर्व मनाउनु नराम्रो कुरा हो भनिएको होइन । आफू दुःखमै हुँदा पनि अरुका लागि खुशीको अनुभूति बाँड्नु अझ महानता हुनसक्छ । तथापि, त्यसको मर्म बुझेर अभ्यास गरिएमा सांस्कृतिक महत्व पनि रहन्छ ! नत्र त “हो- हो पाडरी” मात्र हुने हो !

तिथि, मितिको यकिन तथ्य ज्योतिषविज्ञानमा आधारित छ । ज्योतिषविज्ञान सूर्य, चन्द्र, नक्षत्र, योग र करणहरुमा आधारित छ । त्यसकै आधारमा संवतहरु छन् । शक संवत (जसलाई बुढाहरुले शाके भन्छन्), विक्रम संवत, नेपाल संवत आदिको प्रयोग हाम्रो समुदायले गरिरहेको छ । यसबाहेक बुद्ध संवत, गुप्त संवत, चेदि संवत, हर्ष संवत, बंग संवत, कोल्लम संवतलगायतका जम्मा ३० वटा संवतहरु पनि प्रयोगमा थिए/छन् भनेर इतिहासले उल्लेख गर्दछ । यी सबैको इतिहासलाई हेरेर मात्र संस्कार-संस्कृतिका यकिन तथ्यबारे तर्क गर्न सकिन्छ ।

नेपालमा आर्थिक वर्ष साउन (जुलाई/अगष्ट) मा फेरिन्छ भने भारतमा फागुन (मार्च/अप्रिल) मा मात्र फेरिन्छ । तर, अमेरिकामा सेप्टेम्बर महिनामा फेरिन्छ जुन विक्रमसंवदको गणनामा भदौ/असोज पर्न आउँछ । यो नितान्त भौगोलिक, सामाजिक अनुकूलता अनुसारको व्यवस्था हो ।

पूर्वीय दर्शनशास्त्र/ ग्रन्थहरुमा लेखिएको छः जुन दिन विधाताले सृष्टिचक्रको शुरुवात गरे त्यो दिन ‘चैत्र शुक्ल प्रतिपदा, आइतवार’को दिन थियो । सोही दिन ग्रह र नक्षत्रको गति परिवर्तन हुन्छ भने सोही दिन नयाँ वर्षको शुरुवात मानिएको छ । यो भनेको ग्रेगोरियन पात्रो अनुसार मार्चको अन्तिम सातादेखि अप्रिल पहिलो साताभित्रको अन्तरालमा पर्दछ । यसै कारण भारतमा आज पनि शासकीय तथा आनुष्ठानिक विधि र प्रक्रियाहरु मार्च-अप्रिल (चैत्र) याममै शुरु हुन्छन् !

सोही दिन बोटबिरुवामा फूल, आंकुरा, कोपिला आउन शुरु गर्दछन् भने वातावरणमा एउटा नयाँ खाले उल्लास उत्पन्न हुन्छ जसले मानव मनलाई आह्लादित बनाइदिन्छ । ठण्डाले कठांग्रिएका जीवहरु चहल-पहल शुरु गर्दछन् । यसै दिन विष्णुको प्रथम अवतार धर्तीमा अवतरित भएको बताइन्छ । तर, त्यो प्रथम अवतार सनकादि मुनि हुन् कि मत्स्यावतार हो भनेर शास्त्रीय ग्रन्थहरुमा द्विविधा पनि विद्यमान छ । यसै दिनमा आनुष्ठानिक नवरात्रको शुरुवात हुन्छ भने उपवास बसेर नयाँ वर्षको आगमनलाई स्वागत गर्ने चलन पनि बसालिएको छ ।

शास्त्रीय मतानुसार परम पुरुषले प्रकृतिसित मिल्नलाई यही महिना चुनेको छ भने प्रकृतिले पनि चैत्र मासमै मनमोहक रूप लिने गर्दछ । यसैले यो समयलाई ‘मधुमास’ भनिएको छ ।

शक संवत र विक्रम संवत-दुवैमा वर्षको निर्धारण सूर्यको गतिमा र महिनाको निर्धारण चन्द्रको गतिमा आधारित थियो भनेर बुझ्नका लागि एउटा साझा तथ्य छ । त्यो तथ्य के हो भने विशाखा नक्षत्रमा चन्द्र पुगेको महिनालाई वैशाख, ज्येष्ठा नक्षत्रमा हुँदा जेठ, पूर्वाषाढमा पुग्दा असार, श्रवण नक्षत्रमा पूर्णिमा भए साउन, पूर्वभाद्रपदा नक्षत्रमा चन्द्र पुगेपछि भदौ नाम दिइएको छ । यसरी नै अश्विनी नक्षत्रको पूर्णिमा भए असोज, कृतिका नक्षत्र भए कात्तिक, मृगशिरा नक्षत्रमा मङ्सिर, पुष्य नक्षत्र भए पुस, मघा नक्षत्रमा माघ, पूर्वफाल्गुनी नक्षत्रमा फागुन र चित्रा नक्षत्रमा चन्द्रमा पुगेको पूर्णिमा भएमा त्यो महिनालाई चैत नाम राखिएको छ ।

आज संसारभरिका अधिकांश नेपालीहरु विक्रम संवतको प्रयोग गर्दछन् । त्योभन्दा पहिले शक संवतको सन्दर्भ अघि माथि नै उठाइएको छ । जैन परम्पराको एउटा श्रुतीकथाका अनुसार तत्कालीन उज्जैन राज्यबाट काल गणनाको चलन शुरु भएको हो । कथानुसार उज्जैनमा गर्दभिल्ल नाम गरेका एक दुष्ट राजा थिए । राजाको अत्याचार देखी विह्वल बनेका जैन आचार्य कालकले तत्कालीन पर्थिया राज्यबाट शकहरुलाई उज्जैनमा बोलाएर ल्याए । आगन्तुक शकहरुले गर्दभिल्लको राजपाटमा आक्रमण गरी कब्जा जमाए । त्यसपछि ७८ ई.पू. मा शक संवतको शुरुवात गरिएको थियो । त्यसो त शक संवतभन्दा पहिले भारतीय उपमहाद्वीपमा काल गणना नै हुँदैन’थ्यो भन्ने होइन ।

वैदिक-हिन्दूहरुले मान्ने सर्वप्राचीन समय गणना भनेको सप्तऋषि संवत हो ।

सप्तऋषि संवतः

ज्योतिषाचार्यहरुको सर्वसम्मति छ ई.पू. ६६७६ देखि नै भारतीय उपमहाद्वीपमा सप्तऋषि संवत चलेको थियो । तर, ई.पू. ३०७६ मा आएरमात्र भारतीय प्रायद्वीपमा यसको सार्वजनिक प्रयोग शुरु भयो । त्यसपछि कृष्णसंवत पनि प्रयोगमा ल्याइएको कथन इतिहासमा छ । फेरि कलियुग संवत हुँदै ई.पू. ७८ मा बनेको शक संवत भारतमा स्थापित बन्यो । यतिसम्म कि आज पनि भारतको सरकारी ग्याजेटमा आधिकारिक संवत्सर शक संवत नै कायम छ । त्यसो त ई.पू. ५७ मा बनेको विक्रम संवत पनि भारतमा नचल्ने होइन । यद्यपि, आधिकारिक रूपमा शक संवत र ग्रेगोरीयन अंग्रेजी क्यालेण्डरमात्र भारतीय प्रशासनिक प्रयोगका लागि दर्ता भएका छन् ।

शक संवतः

खास गरी शकवंशी राजा कनिष्कले आफ्नो राज्यारोहणको उत्सवलाई यादगार बनाइराख्न त्यो तिथिलाई संवतको थालनीका रूपमा स्थापित गराएका थिए ।

चैत्र शुक्ल प्रतिपदाको दिन राज्यसत्ता सम्हालेका राजा कनिष्कले सोही दिनलाई नयाँ वर्षको शुरुवात मानेर सर्वमान्य बनाएका थिए । शक संवतलाई आधुनिक ज्योतिषविज्ञानको खोजले पनि निकै प्रामाणिक र विज्ञानसम्मत मान्दछ । यो दिन भनेको अंग्रेजी मार्च महिनाको २२ तारिख हुन्छ भने सूर्य विषुवत रेखा (Euator) माथि रहेको हुनाले दिन र रात पनि बराबरका हुन्छन् । शक संवतको गणना अनुसार ग्रेगोरीयन क्यालेण्डरझैं वर्षमा ३६५ दिन हुन्छन् भने अधिवर्ष (Leap Year) पनि सोही क्यालेण्डर अनुसार प्रत्येक चारवर्षमै हुने गर्दछ । अधिक वर्ष परेको समयमा मार्च २३ देखि शक संवतको नयाँ वर्ष शुरु हुन्छ भने अधिक वर्षभरिमा कुल ३६६ दिन हुन्छन् । भारतमा शक संवतको औपचारिक शुरुवात गणितज्ञ वराहमिहिरले सन् ५०० देखि गराएका थिए भनिन्छ । 

विक्रम संवत:

विक्रम संवतको शुरुवात राजा विक्रमादित्यले ई.पू. ५७ मा गरेका थिए । भनिन्छ कि राजाले आफ्ना सम्पूर्ण प्रजागणको ऋण मिनाह गरिदिएर यो संवत शुरु गराएका थिए ।

विक्रम संवतमा समयको पूरा गणना सूर्य र चन्द्रको गतिलाई संयोजन गरी तयार गरिएको छ । ब्रह्माजीले सृष्टिको रचना शुरु गरेको पौराणिक कथा अनुसार नै विक्रमादित्यले पनि चैत्रमास शुक्ल प्रतिपदाकै दिनलाई नववर्षको आरम्भ मानेका थिए । यद्यपि, पछि गएर भारतमा क्षेत्रीय राजनीति चल्नथालेपछि यसलाई वैशाखको १ गते बनाइयो । यसो गरिएको करीब करीब ३ सय २० वर्षमात्र भएको छ । राजनीतिक ज्योतिषहरुद्वारा ‘सूर्यले मीन राषी छोडेर आफ्नो गतिलाई मेष राषीमा प्रवेश गराउने दिन’ भएकाले वैशाख १ नै नववर्षको शुरु हुनुपर्ने तर्क दिन थालेपछि यसो भएको थियो ।

वास्तवमा भएको के थियो भने सन् १६९९ मा शिख युद्धनायक गोविन्दसंहले उनका पिता र शिखहरुकै अग्रज गुरु तेजबहादुर सिंह मुगलसरदार औरंगजेबद्वारा मारिएको दिनलाई  ऐतिहासिक शहीददिवस घोषणा गरेका थिए । औरंगजेब भारतभरि इस्लाम फैलाउन चाहन्थ्यो भने शिख गुरु तेजबहादुरले हिन्दू र शिखहरुको एकमुष्ट रक्षा गरिरहेका थिए । आफ्नो लक्ष्यमा बाधा ठानेर औरंगजेबले तेजबहादुरको टाउको छिनाली हत्या गरिदियो । त्यसपछि रुष्ट बनेका शिखहरुले गोविन्दसिंहलाई नयाँ गुरु बनाए र ३० मार्च, १६९९ का दिन धुमधामले वैशाखी (शहीद दिवस) मनाउने घोषणा गरे ।

त्यो बेलाको ३० मार्च भनेको वैशाख १ गते थियो । यता आफ्नो धर्म र आस्थाका संरक्षक शिखहरुले त्यही दिनलाई नववर्षको थालनीका रूपमा मान्न थालेपछि विक्रम संवत मान्ने हिन्दूहरुलाई मार्च २२ मै नयाँ वर्ष मनाउन अप्ठ्यारो पऱ्यो । मुगलहरुका कारण अस्तित्वसंकट भोगिरहेका हिन्दूहरु पनि शिखहरुलाई सकेसम्म खुशी राख्न चाहन्थे ! यसर्थ, शिखहरुको वैशाखीलाई नै हिन्दूहरुले पनि अपनाए र वैशाख १ गते विक्रमसंवतको नयाँ वर्ष मान्ने चलन शुरु भयो ।

त्योभन्दा पहिले विसंको नववर्ष मध्यचैत्रबाट शुरु हुने गरेको खोजहरुबाट प्रमाणित भएको छ । खासगरी शक संवत र विक्रम संवत एकैखाले हुँदा हुँदै पनि केही  मौलिक भिन्नता थिए ।  एकरूपता केमा थियो भने महिनाका नाम, शुक्ल पक्ष र कृष्ण पक्ष आदि सबै शक संवतबाटै विक्रमसंवतमा आएका थिए । यद्यपि, फरक के थियो भने शक संवतमा शुक्लपक्षबाट नयाँ महिना आरम्भ हुन्थ्यो तर, विक्रम संवतमा चाहिं कृष्णपक्षबाट नयाँ महिनाको आरम्भ हुन्छ ।

यसै कारणले सामान्यतः यी संवतहरु शुरु हुँदाका तिथि मितिमा पनि फरक पर्दछ । शक संवतको चैत्र शुक्ल भनेको सोही महिनाको पहिलो दिन हुन आउँछ भने विक्रमको संवतमा चैत्र १६ हुन पुग्दछ । यस्ता जटिल ऐतिहासिक तथ्यहरु, केही शास्त्रीय विधिसहित ऐतिहासिक राजनीतिक घटनाक्रमहरु नबुझीकन, नजानीकन गाउँमा ‘तँतँ मम’ गरेर केही लाभ छैन ! बाटो हिँड्दा वा चिया/पान पसलमा बसेर ‘तिथि-मिति किन तलमाथि भयो ? घाम त सधैं पूर्वबाटै झुल्किन्छ होइन र?’ भन्नेजस्ता बटारे तर्क गर्दैमा कुनै तथ्यगत उत्तर पाउन सकिन्न !

पूर्वीय दर्शन अनुसार समय विभाजन/काल गणनाको कुरा धेरै गरियो । अब पश्चिमेली चलनका कुरा पनि गरिहेरौं है !

रोमन क्यालेण्डर

स्वशासित रोमन साम्राज्यका प्रथम राजा रोमुलसलाई दैनिक प्रशासन चलाउने कार्यमा कठिनाइ भएपछि यूनानबाट उनले पात्रो (क्यालेण्डर) मगाए । यूनानबाट ल्याइएको सो पात्रोमा दश महिनाको एक वर्ष हुन्थ्यो भने वर्षमा केवल ३०४ दिनमात्र हुन्थे । मध्य हिउँदमा पर्ने जम्मा ६१ दिनलाई उनीहरु गन्दैन थिए । यूनानबाट रोमले पात्रो मगाएको समय ७ सय ईशापूर्व मानिएको छ ।  यो पात्रो पूर्णतः चन्द्रमासी थियो भने नयाँ वर्षको प्रारम्भ मार्च महिनामा हुन्थ्यो ।

त्यसपछि रोमकै दोस्रा राजा नुमा पोम्पिलियसले शुरुमा जनवरी र अन्त्यमा फेब्रुवरी दुइ महिना थपेर १२ महिनाको वर्ष बनाए । यति थपेर पनि नुमाले वर्षमा ३५५ दिनमात्र बनाउन सकेका थिए । यस्तो किन भएको थियो भने त्यो पात्रोमा उनले मार्च, मे, जुलाई र अक्टोबरलाई ३१ दिन, जनवरी, अप्रिल, जून, अगस्त, सेप्टेम्बर, नोभेम्बर र दिसम्बरलाई  २९ दिन र अम्तिम महिना फेब्रुवरीलाई २८ दिन छुट्याएका थिए । समय गणनाको विधिलाई विभिन्न रोमन राजाहरुले पटक पटक फेरबदल गर्दै लाने क्रममा ४५२ ईशापूर्वपछि मात्र फेब्रुवरी महिनालाई जनवरी र मार्चको बीचमा ल्याएर राखिएको कुरा समय गणनाको इतिहासमा अंकित छ । यति हुँदा पनि नयाँ वर्षको शुरुवात भने मार्च महिनामै हुने गर्द’थ्यो !

जुलीयन क्यालेण्डर

यसरी नुमा पोम्पिलियसले बनाएको सुदृढ क्यालेण्डरको आधारमा लामो अन्तरालसम्म चल्दै जाँदा ऋतुहरुको व्यवस्थापनमा कठिनाई आउन थाल्यो । र, ४६ ईशापूर्वमा रोमकै अर्का सम्राट जुलियस सिजरले सूर्यमासी १२ महिना (३६५.२५ दिन) को नयाँ समय तालिका निर्माण गराए । जनवरीमा तत्कालीन रोमी साम्राज्यका न्यायाधीश र निजामती कर्मचारीहरुको कार्यकाल शुरु हुने र उनीहरुको कार्यकाल १२ महिना चल्ने हुँदा त्यो विधिलाई नियमबद्ध राख्न सिजरले नुमा पोम्पिलियसको नियमलाई खारेज गरेर जनवरीलाई वर्षको प्रथम महिना बनाए र जनवरी १ लाई नयाँ वर्षको प्रथम दिन बनाए । तर, यति भइसकेर पनि मार्च महिनामा नववर्ष मान्नेहरुले पुरानो नियम छोडेनन् !

ग्रेगोरीयन क्यालेण्डर

आज अमेरिकीहरु पृथ्वीले सूर्यको वरिपरि परिक्रमा गर्ने समया गणनामा आधारित जनवरी १ मा पर्ने नयाँ वर्ष मान्नमा अभ्यस्त बनेका छन् जसको बुझाइमा चन्द्रमाले पृथ्वीको वरिपरि परिक्रमा गर्ने समयको आधारमा महिनाहरु बनेका छन् भन्ने कुरा समेटिएको छैन । जुलियस सिजरले बनाएको क्यालेण्डरको प्रयोग हुँदाहुँदै भ्याटिकन सिटीका पोप ग्रेगोरी १३ औं-ले सन् १५८२ मै अर्को सुधारिएको पात्रो बनाइसकेका थिए । तथापि, युरोपीय गणना प्रणालीमा आधारित यी दुवै विधिहरु सन् १७५२ सम्म आधिकारिक रूपमा प्रयोगमा आएका थिएनन् ।

इतिहासका विभिन्न कालखण्डमा सूर्य र चन्द्रको गतिलाई संयोजन गरी कालगणना गरिनुपर्ने कुरा विवादास्पद बन्दै आएको छ । आज पनि चिनियाँ र केही इस्लामिक राज्यहरु चन्द्रमाले पृथ्वीको परिक्रमा गर्ने समयावधिकै आधारमा बनेको पात्रो चलाइरहेका छन् । यसरी नै यहुदीहरु अझै पनि वर्षलाई पृथ्वीले सूर्यको वरिपरि घुम्ने समय र महिनालाई चन्द्रले पृथ्वीको वरिपरि घुम्ने समयको रूपमा छुट्टा छुट्टै पात्राहरु प्रयोग गरिरहेका छन् ।

यस्तै जोड-घटाउको क्रममा बेलायत र बेलायती वर्चस्वमा रहेका संसारभरिका राज्यहरुले सर्वप्रथम सन् १७५० को संसदीय ऐनलाई आधार मानेर सन् १७५२ मा जुलीयन र ग्रेगोरीयन- दुइवटा क्यालेण्डरलाई समायोजन गरी एउटा पूर्ण क्यालेण्डर मान्ने घोषणा गरे !

पोप ग्रेगोरीले सन् १५८२ मा बनाएको क्यालेण्डर यूरोपका केही भागमा पहिले नै मान्न थालिएको थियो । यद्यपि ग्रेगोरीयन क्यालेण्डरको निर्माणकालदेखि सन् १७५२ को बीचका जम्मा १७० वर्षसम्म बेलायती साम्राज्यका विभिन्न भागमा बेग्ला बेग्लै क्यालेण्डर मानिन्थे । केही भागमा ‘देवदूत ग्याब्रियल’ आएर मरियमलाई उनको कोखबाट यशु जन्मिने उद्घोष गरेको (लुका १:२६-३८) दिन, मार्च २५ लाई नयाँ वर्षको पहिलो दिन मानिन्थ्यो भने कुनै भागमा ऋतु परिवर्तनको मोडलाई समयको कारक ठानेर दिसम्बर २५ लाई पनि नयाँ वर्षको शुरुवात मानिन्थ्यो !

कसैले यशुको जन्मदिवसका रूपमा पनि यो दिन मनाउने गरेका थिए ! यद्यपि, ‘बाइबलमा यशुको जन्म दिसम्बर २५ मै भएको हो भनेर कतै पनि किटानी नगरिएको’ले यो मिति विवादास्पद बन्दै आएको थियो र यसलाई मान्नेहरु पनि कमै थिए । बेलायती चर्चले सन् ४४० मा यशुको जन्मदिवसका रूपमा दिसम्बर २५ लाई मोहर लगाएपछिमात्र यो यशुख्रिष्टको जन्मदिवसको रूपमा मान्न थालिएको हो । त्योभन्दा पहिले दिसम्बर २५ लाई केही यूरोपीय पेगन (प्राचीन जनजाति Pagan) हरुले हिउँदे चाडको रूपमा मान्दथे ! केही पेगनहरुले सूर्य र केहीले शनिको पूजा अर्चना गर्दै दिसम्बर २५ मा चाड मनाएका धेरै ऐतिहासिक तथ्यहरु छन् । कुरो जे भए पनि यो दिन नयाँ वर्षको औपचारिक मिति भनेर बेलायती चर्चबाहेक कुनै अन्य निकायद्वारा तोकिएको थिएन ! कैयौं यूरोपीय क्षेत्रमा ‘ऋतु परिवर्तनको आधार लिएर अप्रिल १ तारिखलाई वर्षको शुरु मान्नेहरुको पनि ठूलै जमात थियो’ भनिन्छ । त्यही भएर जनवरी १ मा वर्षको शुरुवात मान्न थालिएपछि पनि त्यो जानकारी नपाएर वा अन्य कारणले अप्रिल १ मै नयाँ वर्ष ठान्नेहरुलाई उल्लू बनाउँदै खिसी गर्न ‘अप्रिल फूल’ मनाउने चलन बसेको थियो जुन आजसम्म चलन-चल्तीमा छँदैछ !

यसरी शताब्दियौंको अन्तरालमा पश्चिमी संस्कृतिलाई एकरुपता दिने मनाशयबाट अभिप्रेरित भई बेलायती संसदले सन् १७५२ मा जुलीयन र ग्रेगोरियन क्यालेण्डरको समायोजन गर्दै अब उसो एउटा मात्र क्यालेण्डरलाई संसारभरि प्रयोगमा ल्याउने घोषणा गऱ्यो । यसै गरी संसदले दिसम्बर २५ लगायत अन्य थुप्रै अनौपचारिक नववर्षका तिथिहरुसँगै मार्च २५ को दिन औपचारिक तहमा मानिने नववर्षलाई पनि एकमुष्ट रूपमा खारेज गरिदियो । जुलीयन क्यालेण्डरमा रहेको अव्यवस्थित अधिकवर्षको समयलाई प्रत्येक चारवर्षमा एकपटक आउने गरी ग्रेगोरियन क्यालेन्डरले पहिले नै सुधारेकै थियो । तथापि दुइ क्यालेण्डर-समायोजनको बेला बेलायती संसदले फेरि पनि ११ दिनको सन्तुलन मिलाउन सकेन ! त्यसो हुनाले ग्रेगोरियन क्यालेण्डरका ११ दिनलाई हटाउनुपर्ने भयो । अन्ततः सेप्टेम्बर महिनाबाट ११ (११ तारिखको दिन २२ तारिख लेखेर) दिन हटाइयो र जनवरी १ मा शुरु भएर दिसम्बर ३१ मा पूरा हुने वर्षको चलन बसालियो जुन आज विश्वमा चलिरहेको क्यालेण्डर अनुसारको समयतालिका हो ।

जसले जसरी मनाउन शुरु गरेको भए पनि, ‘नयाँ वर्ष’ को नाममा हामीलाई प्राप्त यो ऊर्जा सकारात्मक चिन्तनमा खर्च गरौं । विश्वमा मानव मूल्य र गरिमालाई फैलाउने उद्देश्यप्रेरित भएर अभ्यासहरु शुरु गरौं । सबैलाई यही छ मेरो शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *