समय अन्तर

भीम राई ज्वाला

त्यो समय
सडकभरी
रमाएका थियौं
हर्षले उफ्रिएका थियौं
उन्मुक्त भएर
मेची महाकाली उठेका थियौं
गगनभेदी नाराहरु घन्काउँदै
जनताले  जितेको खुशियालीमा
उत्सव मनाएका थियौं
विजयको गीत गाएका थियौं
२ सय ३८ वर्ष पछि
अध्यारो शताव्दीको अवसान
दुर्लभ सपनाहरुलाई स्पर्श गरेर
शान्ति, संविधान र संघिय गणतन्त्रको
नयां विहानीको आगमनमा
त्यो समय
ढलेको थियो
कालो युगको शालीक

भत्किएको थियो
निरंकुशताको पहाड
चुडिएको थियो
एकात्मक सांग्लो
गलेको थियो
स्वेच्छाचारी विचार
झुकेको थियो
हुकुमी शासन
हारेको थियो
तानाशाह
रैती  नागरिकमा रुपान्तरण भएको थियो
ढलेको थियो श्रीपेच
श्री ५ हरु आंखै अघि
श्री १ मा परिनत भएको थियो
त्यो समय

यो समय
सडकभरी
निरासा पोखिएको छ
उत्साह मरेको छ
शहिदका सपनामा
भुई कुहिरो लागेको छ
फनफनि घुमिरहेछ मस्तिष्क
त्रसीत छ वातावरण
आतंकित छन् मनहरु
तानाशाही छायां

युद्ध जिजिविषाले
जुलुश लगाइरहेछन्
रांके भूतहरु
अनुकुलता चिहाइरहेछन्
खलनायकहरु
यो समय
ढल्दैछ
नागरिक सर्वोच्चता
चुडिँदैछ
राष्ट्रिय अखण्डता
भत्कँदैछ
राष्ट्रिय स्वाधिनता

गल्दैछ
परिवर्तनकालागि  उठेका हातहरु
झुक्दैछ
सगरमाथाको शीर
यो समय
सडकभरी
रमाइरहेछन्
राजतन्त्र व्यूँताउन चाहनेहरु
उफ्रिरहेछन्
बुख्यांचाहरु
शान्ति,संविधान र संघिय गणतन्त्रको विरोधमा
उराल्दैछन् नारा
धर्म निरपेक्षता
स्वतन्त्रता र परिवर्तनको विरोधमा

यो समय हामी
मुर्तिवत रमीते बनीरहका छौं
फगत रमिते
ठिंग उभिएर
सडकको किनारमा

धरान

०६७ वैशाख २७

Leave a Reply

Your email address will not be published. Required fields are marked *