समय चक्र

शुकदेव अधिकारी
ओहायो, अमेरिका

सेता हाडहरूको पहाड । मानवहाडद्धारा मानव निर्मित पहाड । हाडहरूमाथि हाड थुपारिँदा बन्न पुगेको विशाल पहाड । मेरा हजुरबालाई उहाँका हजुरबाले दिएको एउटा ४०० जीबीको पेनड्राइभ । ममाथिका दर्जनौँ हजुरबाहरूबाट आफ्ना भावी सन्ततिमा सर्दै आएको शताब्दीयौँ पुरानो पेनड्राइभ । यो पाँच सय वर्ष पुरानो इतिहासको दस्ताबेज सुरक्षित छ मसँग । संसारका कैयौँ प्रसिद्ध सङग्राहालयहरुले करोडौँ डलर मूल्य तोकेको इतिहासको यो दस्ताबेज बेच्ने कल्पना सम्म पनि गरिनँ मैले । मेरो अढाइवर्षे छोराले देख्छ यो पेनड्राइभ सुरक्षित सेल्फमा । अनौठो वस्तु भेट्टाएकोमा ठुलो कुतुहलता जाग्छ उसमा । फकाई–फकाई हेर्छ । आफ्नो सुपरसोनिक् फिङ्गरटपको कुनै एउटा प्वालमा घुसार्छ । स्क्रिनमा देखिन्छ यो हाडहरूको पहाड । छक्क पर्छ । धेरै बेर हेरिरहन्छ । मनेर आउँछ र भन्छ, “बाबा यो के हो ?”

मार्स घुम्न गएकी मेरी सात वर्षे छोरीसँग कुरा गर्नमा व्यस्त छु अहिले म, इन्टरप्लानेटरी भिज्वोल वेब डिभाइसमा । छोरी अहिले मार्सको उत्तरी ध्रुवनेर रमाइरहेकी छ हिजो मात्र बनाएको उसको ब्वाइफे्रन्डसँग । मार्सकै स्थाई बासिन्दा हो उसको ब्वाईफ्रेन्ड । त्यहाँ उसका अरू साथीहरू पनि रमाइरहेका छन् । सम्पूर्ण दृश्य स्पष्ट देखिरहेको छु म, यो डिभाइसमा । उनीहरू सबै प्रेमी प्रेमिका हुन सायद, एक–अर्काको अँगालोमा कसिएर हराइरहेका छन् । छोरीको रोमान्समा, भुलिइरहेका मेरा आँखा छोराको फिङ्गरटपको स्क्रिनतिर मोडिन्छन् । छोराको आतुर दृष्टिमा प्रश्नै प्रश्नको भुमरी देखिन्छ, बोल्छ, “भन्नु न, बाबा यो के हो ?” हड्डी नै हड्डीद्धारा ठडिएको यो विशाल पहाडलाई राम्रोसँग नियालेर इतिहासका पाना पल्टाउन थाल्छु म स्मृतिबाट । जुन इतिहास करिब पचास वर्ष अघि मेरा हजुरबाको स्मृतिबाट कपी गरेर मेरो स्मृतिमा पेष्ट गरिएको थियो, यही दृश्यको सहयोगले ।

इतिहास ओकल्न थाल्छु म, “चौथो विश्वयुद्धमा मारिएका मान्छेहरूका हाड हुन् बाबु यी सबै । संसारभरि मारिएका अरबौँ मानिसका हाडहरू एकै ठाउँमा थुपारिँदा बन्न पुगेको पहाड हो यो । कुनै कम्पनीले औषधी र अन्य केमिकल उत्पादनका लागि जम्मा गरेका थिए यी हाडहरू ।”
”कसले मार्‍यो बाबा ती मान्छेहरू ?” प्रश्नको भुमरीबाट टुक्रिँदै झर्न थाले स–साना प्रश्नहरू ।
“मान्छेहरूले नै मारेका हुन् ।”
“किन मारेका हुन, बाबा ?”
“एक देशका मान्छेहरूसँग अर्को देशका मान्छेको विचार नमिलेर । उनीहरुबीच फरक आवश्यकता र फरक महत्वकाङ्क्षा भएर मारिएका हुन् ती मान्छेहरू ।” छोराको जिज्ञासामा अझ उत्सुकता थपिँदै छ, भन्छ “एक देश र अर्को देश भनेको के हो, बाबा ?” इतिहासको यो अजीब कहानी आउँदो जेनेरेसनमा सार्नु मेरो कर्तव्य हो भन्ने लाग्छ मलाई । गम्भीर भएर प्रयास गर्छु छोराको हरेक समस्याको गाँठो फुकाउन ।

स–साना भूभागमा विभाजित थियो यो पृथ्वी त्यसबेला । विभाजित थियो आकाश । प्रत्येक भागलाई एउटा देश भनिन्थ्यो । प्रत्येक देशमा फरक–फरक विचार, आवश्यकता र महत्यकाङ्क्षा बोकेका मानिसहरू बस्दथे । देशैपिच्छे फरक–फरक प्रशासकहरू हुन्थे, नीतिनियमहरु फरक हुन्थे । फरक हुन्थे उनीहरूले बोल्ने भाषा पनि ।
अहिले मान्छेहरूले खचाखच यो ब्रह्माण्डको त्यो मानव निर्मित पृथ्वी, ‘द सेकेन्ड अर्थ’ कल्पनामा मात्र थियो त्यस बेला । न मङ्गल ग्रहमा मानव बस्ती बसाइएको थियो न चन्द्रमामा रङ्गशाला ।
यो पृथ्वीमा अटाई नअटाई मान्छे थिए त्यस बेला । खुट्टा टेक्ने ठाउँ पाउन पनि धौ धौ । कुनै देश धनी थिए कुनै गरिब । कुनै देश ठुला थिए कुनै साना । ठुला र शक्ति सम्पन्न देशहरू साना र गरिब देशहरूलाई आफ्नो अधीनमा राख्न चाहन्थे । यहाँनेरबाट फाट्यो धाँजा विश्वासमा । सुरु भयो विश्वयुद्ध ।

तेस्रो विश्वयुद्ध सिद्धियो आज भन्दा करिब चारसय वर्ष अघि टाल्न सकेन फाटेका धाँजा । त्यसको झन्डै सय वर्ष पछि चर्कियो चौथो विश्वयुद्ध, जसको परिणति हो यो हाडहरूको पहाड, यो सिङ्गो विश्व एउटा गाउँ ।” उसका आश्चर्यचकित आँखाहरूले घरी मेरो अनुहार त घरी स्क्रिनको दृश्य हेरिरहे । एउटा नयाँ अनुभूतिको लहर कुद्यो उसका अनुहारमा ।
कुनै एउटा यान्त्रिक इशारा गर्छ ऊ फिङ्गरटपको स्क्रिन अगाडि । हाडहरूको पहाड ओझेल पर्छ । एउटा सुन्दर र हरियो जङ्गलको दृश्यले ओगट्छ स्क्रिन । जनावरहरू घुमिरहेका छन् जङ्गलमा बिना कुनै चुनौती । दृश्य इन्लार्ज हुन्छ स्क्रिनमा । जङ्गलकै छेउमा दुई–चार जना मानिसहरू देखिन्छन् । हातमा क्यामेरा र पिठ्युँमा झोला भिरेका मानिसहरू ।
तिनीहरूका मुखमा अक्सिजन माक्स नदेखेपछि तिन छक्क परेर प्रश्न गर्छ मेरो छोरो “तिनीहरू रोबर्ट हुन् बाबा ?”
“होइन, तिनीहरू हामीजस्तै मान्छे हुन् ।”
“हामीजस्तै मान्छे ! विना अक्सिजन !” आफ्नो मुखको माक्स सोझ्याउँदै आश्चर्य प्रकट गर्छ ऊ । “आश्चर्य मान्नु पर्दैन बाबु, त्यसबेलाको वातावरणमा प्रशस्त पाइन्थ्यो अक्सिजन । विनामाक्स नै वातावरणको अक्सिजन सिधा फोक्सोमा पुग्थ्यो नाकमार्ग हुँदै, चल्दथ्यो स्वाशप्रस्वाश प्रक्रिया । ती हरिया रुखहरू नै अक्सिजनका स्रोत थिए । सिलिन्डरको आवश्यकता नै थिएन ।”
“आहा…..! कस्तो मज्जा रहेछ ।” उम्किएको सुखानुभूति प्रकट हुन्छ छोराको अब फिङ्गरटपको स्क्रिनमा पृथ्वीको कुनै एउटा समथर भूभाग देखापर्छ, जहाँ मानिसहरू खेती गरिरहेका छन् ।
“यो चाही के हो नि ?” फेरि झर्‍यो प्रश्न ।
“यी मानिसहरू खेती गरिरहेका छन् ?”
“खेती भनेको के हो बाबा ?”
“माटोमा बीउ रोपेर अन्न उत्पादन गर्थे उनीहरू । त्यही अन्नले हाम्रो शरीरलाई चाहिने क्यालोरी प्रदान गर्थ्यो । त्यस बेला न अहिलेका जस्ता क्यालोरी ट्यब्लेट नै चलनमा थिए न एक चोटि खाएपछि महिना देखि छ महिनासम्म खानु नपर्ने हुन्थ्यो । दिनमा तीनपटकसम्म खानु पर्थ्यो शरीरलाई चाहिने पर्याप्त शक्ति पाउनलाई ।”
“कस्तो झन्झट रहेछ है, बाबा ।”
“हो नि, सारा समय त्यसमै खेर जान्थ्यो होला ।” मेरो स्वचालित क्यामेराको वेभ डिभाइसमा छोरीको तस्बिर आइपुग्छ । ऊ भन्दै छे, “बाबा मलाई फर्कन केही ढिला हुने भयो । पन्ध्रदिन पछि अर्थात् १२ जुलाई, २६११ म चन्द्रमामा हुने अन्तर वैश्विक गेम्समा मेरो ब्वाइफ्रेन्ड पनि मार्सको टिमबाट खेल्दै छ । उसको गेम्स हेर्न असाध्यै मन छ मलाई । मेरो क्यालोरी ट्याबको डेट आज चार पन्ध्रमा सिद्धिन्छ । एक महिनाको एउटा ट्याब पठाइदिनु न ।” एउटा सानो स्वचालित यन्त्र टुप्लुकिन्छ मेरो छेउमा । नजिकैको डिब्बाबाट एउटा ट्याब्लेट निकाल्छु म । बायाँतिर पर्खिरहेको यन्त्रमा राख्छु । ट्याब्लेट राख्नसाथ उड्छ यन्त्र । आकासिएको यन्त्र सिधा मार्स सतहमा ल्यान्ड गर्छ छोरी भएको ठाउँमा । यन्त्र खोल्छे ऊ । ट्याब्लेट झिक्छे र भन्छे, “थ्याङ्कयु ड्याड ।”

यता छोराको ल्याप–टपमा अर्को दृश्य उदाएको छ, जहाँ कुनै एउटा विवाहको पार्टी चलिरहेको छ । दुलहा दुलहीलाई उपहार र शुभकामना दिनेहरूको घुइँचो देखिन्छ ।
छोराको आँखामा अर्को आश्चर्य जन्मन्छ ।
सोध्छ, “बाबा यो के गरेको ?”
“त्यहाँ विवाहको पार्टी चलिरहेको छ, बाबु । त्यसबेला स्त्री र पुरुष मन परापर भएपछि विवाह गर्थे, सन्तान जन्माउँथे । ती आमा र बाबु ती सन्तानका स्थाई आमा बाबु हुन्थे । विवाह भएका हरेक महिलाको आमा बन्ने रहर हुन्थ्यो अनि पुरुषको बाबा । अहिलेको जस्तो अस्थायी र पेशेवर आमा–बाबुको चलन थिएन । तिमीलाई तिम्री आमाको हुन् भन्ने थाहा नै छैन । वास्तवमा तिम्री आमा र तिम्री दिदीकी आमा नै फरक छन् ।” नजानिँदो किसिमले उसका मुखबाट अर्को यान्त्रिक इसारा निस्कन्छ । मानिसहरूको भीडले एउटा लास बोकेर लगिरहेको दृश्य देखिन्छ । लास सजिसजाउ छ फूलमालाले । म झट्ट सम्झन्छु, ‘यी मलामी हुन् भन्नुभएको थियो मेरो हजुरबाले । छोराको प्रश्न आउनुभन्दा पहिल्यै भनिहालेँ,
“बाबु यिनीहरू लासलाई बोकेर लाँदै छन् दाहसंस्कारका लागि । नदीकिनारमा लगेर जलाइन्थ्यो वा पुरिन्थ्यो मान्छे मरेपछि ।”
“बाबा, अहिले त कम्पनीको भेहिकलले लगिहाल्छ नि है ।”
“हो, मान्छे मर्नसाथ कम्पनीको गाडी आइपुग्छ । लासलाई सिधा लगेर मसिनमा हालिन्छ । त्यसबाट हामीले प्रयोग गर्ने क्यालोरी ट्याब्लेट र अन्य औषधी उत्पादन गरिन्छ ।”

अर्को इसारा बोल्छन् फेरि उसका चञ्चल ओठहरू । हिउँले ढाकिएको सेतो हिमाल उपस्थित जनाउँछ । प्रफुल्लित आवाजमा छोराको जिज्ञासा पोखिन्छ ।
“कत्रो ठुलो आइस् बल्क ! कसले बनाएको ?”
“यसलाई हिमाल भनिन्थ्यो रे, लिटल ब्वाई । त्यो एउटा अनुपम उपहार थियो प्रकृतिको यस धर्तीलाई । त्यहाँ भएको हिउँ प्रकृतिले आफैँ जन्माएको हो । यिनै हिमालबाट स्वच्छ पानी बोकेर ओरालो लाग्थे रे नदीनालाहरू । त्यही पवित्र पानी पिएर उही ओजस्वी हिमाललाई नजिकैबाट स्पर्श गर्न पाएका सौभाग्यशाली हाम्रा परापुर्खाहरुसँगै बिलाएर गयो हिउँ पनि”

आज त्यहाँ न हिमाल छ न हिउँ नै । हिमाल केवल इतिहासका पनाहरूमा छ । भिज्वल डिभाइसहरूका स्क्रिनमा छ । हाम्रो कल्पनामा छ । अलिकति आश्चर्य, अलिकति पश्चात्ताप र अलिकति शून्यताले भरिएका उसका आखाँहरुमा झिनो जिज्ञासा बाँकी रहेको देख्छु म । थोरै आशा, धेरै निराशा र भयमा अल्पकम्पित आवाज निकालेर छुट्टिन्छन् एक पटक फेरि उसका जोडिएका ओठहरू, “बाबा, कहाँ गए ती सबै सुन्दर बस्तुहरू आज ?”
उसको अन्तिम प्रश्नले निकै भावुक बनायो मलाई पनि । भावुकताकै माझबाट उघ्रिए ओठहरू, “बाबु, ती सबै प्राकृतिक बस्तुहरू कुनै समयमा समयले नै यो पृथ्वीलाई दिएको थियो र अहिले समयले नै लिएर गयो ।”
उसका टोलाएका कलिला आखाँहरुले मेरो भावुकताले भरिएको अनुहारमा हेरिरहे, हेरिरहे ………।

Leave a Reply

Your email address will not be published. Required fields are marked *