समस्याको बाघ र चुहादानी

कवि
कवि

सीके श्रेष्ठ
कालेबुङ, भारत

मादल हौ भने चड़्केर देखाऊ
बादल हौ भने कड़्केर देखाऊ
गाँठी अड़्केको घाँटी खोल
बम् हौ भने पड़्केर देखाऊ !

घाम हौ भने झुल्केर देखाऊ
अँध्यारो पाखा झलमल्ल बनाऊ
कालेको भाले नै बासेन
(नभए त म झुल्किने थिएँ नि) भन्ने
पत्याइनसक्ने फत्तुर नलगाऊ !

वर्षा हौ भने बर्सेर देखाऊ
पट्-पट् भुईँलाई छप्-छप् भिजाऊ
हजुरको मुजुर नै नाचेन
(नभए त म बर्सिने थिएँ नि) भन्ने
अर्थ न बर्थको निहुँ नदेखाऊ !

घाम हो भने झुल्किनै पर्छ
कालेको भाले बासोस् नबासोस्
वर्षा हो भने बर्सिनै पर्छ
हजुरको मुजुर नाचोस् ननाचोस् !

नेता हौ भने गरेर देखाऊ
सङ्घर्षको पथमा बढ़ेर देखाऊ
सिँड़ीको बाँसमै खोट छ भन्छौ भने
आफ्नै बुतामा चढ़ेर देखाऊ !

भाले नबासेको बहाना बनाएर
ए नझुल्किने घामहरू हो!
मुजुर ननाचेको निहुँ देखाएर
ए नबर्सिने वर्षाहरू हो !
बाँसको सिँड़ीलाई दोष्याएर
ए उँभो नचढ़्ने नेताहरू हो !

तिम्रो समस्या बाघ झैँ विराट छ
राष्ट्रिय समाधानको तोड़ चाहिन्छ
विचारको बलियो अगुवाईमा
सबैको जुक्ति र जोर चाहिन्छ
लोकल चुहादानीले भियाउँदैन हौ —-
समस्याको बाघ थुन्नलाई
बाघभन्दा ठूलो खोर चाहिन्छ!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *