समाधि खोज्दै शिविर यात्रा
तारालाल श्रेष्ठ
काठमाडौँ
सनक र रचना
सरस्वती पूजाको दिन, काठमाडौ“ विमान स्थल बरफझैँ चिसो थियो । तराइतिर शित लहर यथावतै । काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एअर भिजिविलिटी कम भएकाले अवतरण गर्न नसकी काठमाडौँ नै फर्कियो । आन्तरिक टर्मिनलमा खचाखच यात्रु खबर सुन्दै खलबल गरिरहे । इन्धनको मूल्य वृद्धि तथा के–के जाति निहुमा ठाउँ–ठाउँ बन्द । झापा पुग्नु कम्ता कष्टकर थिएन । बल्लतल्ल पाएको एउटा टिकेट पनि काम नलाग्ला भन्ने चिन्ताले सतायो ।
‘सपनाको समाधि’ लेखिसकेपछि परिकल्पनाअनुरुप भुटानी शरणार्थीको जनजीवन सन्दर्भसँग कत्तिको मेल खान्छ भनी अन्तिम परीक्षण गर्नु थियो, मलाई । जतिसक्दो यथार्थमा आधारित उपन्यास बनाउने सपना थियो । दिन–रात ‘सपनाको समाधि’सँगै बाँचिरहेको थिए । विपनामै सपनाझैँ, सपनामै विपनाझैँ–सनक नै जीन्दगीझैँ ।
प्रतिक्षालयको कुनाको कुर्सीमा विमान पुनः उड्ने प्रतीक्षामा बसिरहदा पनि ‘सपनाको समाधि’कै उत्पत्तिदेखि वर्तमानसम्मका कथानक दृश्यहरू सलबलाए ।
इतिहासको सम्झना
एक कलेज । एक पाका शिक्षक । चर्को बहस । पाँच वर्ष पहिले । विद्यार्थीलाई मायाले कि तर्साएर तह लगाउने भन्ने विवाद उत्कर्समा पुग्यो । विद्यार्थीको मन मायाले जित्नु पर्छ भनेर अडान राखेँ । उनी रिसाएर हिँडे । स्टाफ रुम असहज बन्यो । एक कर्मचारीले सुटुक्क भने, ‘सर, ती त भुटानी शरणार्थी हुन् ।’ म झस्किएँ ।
अर्को दिनदेखि उनलाई अवलोकन गर्न थाले । गोप्य । सुटुक्क । उनीभित्र शरणार्थी ऐतिहासिकताका फेब्रिकहरू देखेँ । उनलाई थाहै थिएन, म उनको अदृश्य अध्येता बनिसकेको थिएँ । अघोषित अनुसन्धाता ।
अर्कै कलेजका अर्का शिक्षक साथीसँग मेरो घनिस्टता बढ्यो । ऊ आफूलाई झापाली भन्थे । झापा कुन ठाउँ भनेर भने कहिल्यै बताएन । मैले सुटुक्क भुटानी शरणार्थीको अवलोकन गरिरहेको बताउँदा ऊ चकित पर्यो । मेरो योजनाप्रति चासो देखायो । मैले भुटानी शरणार्थी इतिहासलाई केन्द्र बनाएर गोप्य रुपमा पुस्तक लेख्ने योजना सुटुक्क सुनाएँ । ऊ दुःखी देखियो । म अचम्ममा परेँ । केही समयपछि थाहा पाएँ, त्यो झापाली मित्र त भुटानी शरणार्थी पो रहेछ । म उत्तेजित भएँ । खुशीले अल्लादित इमेल लेखेँ । उसले आफ्नो वास्तविकता लुकाएकोमा गुनासो पनि पोखेँ । प्रतिक्रिया आएन । ऊ मेरो कोठामा आउनै छाड्यो । अनलाइनमा भेट हुँदा पनि अफ लाइन हुन थाल्यो । अनि लाग्न थाल्यो, जीन्दगी भनेको भागे खेद्छ, खेदे भाग्छ । जति भाग्यो उति खेद्छ, जीन्दगीले । सामना गर्न सक्नुपर्छ जीन्दगीमा । ऊ आफ्नै इतिहासदेखि भागिरहेको थियो । म खेदिरहेको थिएँ । ऊ र ऊ जस्तै इतिहासदेखि भाग्नखोजिरहेकाहरूप्रति समर्पण गरी एउटा उपन्यास लेखि छाड्ने अठोट गरेँ।
अनि उही पहिलो भुटानी शरणार्थी शिक्षकसँग क्रमशः नजिकिएँ । ‘तपाईँ त शरणार्थी पो हुँनुहुँदो रहेछ’ भनेमा उनी पनि बिच्किएलान् भन्ने मलाई ठूलो डर थियो । पहिले नजिकिएँ । अनि खाना खान निम्तो गरेँ, डेरामा । उनी अचम्ममा परे । के के बहाना बनाएर टारिरहे । पटक–पटक कर गरेपछि राजी भए । त्यसपछि मात्र शरणार्थी सेरोफेरोलाई केन्द्र बनाएर एउटा अनुसन्धानमा आधारित उपन्यास लेख्ने प्लट सुनाएँ । केही बेर सोचेपछि उनी मप्रति सकारात्मक देखिए । अब सुरु भयो छलफल यात्रा । कहिले मेरो डेरा कीर्तिपुर त कहिले उनकै डेरा ललितपुर । त कहिले उनलाई मनपर्ने पोर्क मःम खाँदै अनेक रेस्टुराँहरुमा । शरणार्थी इतिहाससँग सम्बन्धित अनेक आयामका कथाव्यथा मिश्रित बहस चल्न थाल्यो । उनी दार्शनिक नेता जस्ता, म आज्ञाकारी शिष्य जस्तै ।
बिडम्बना, उनी अचानक रिसेलमा सबै सामान बेचेर बेपत्ता भए । उनी तेस्रो देश पुनर्वासका लागि सुटुक्क उडेछन् । उनको मोबाइल अफ भइहाल्यो । इमेल पठाएँ, उत्तर आएन । नाम अर्कै बताएका रहेछन् । सम्पर्क पूरै विच्छेद । पाँच वर्षदेखि आजसम्म, उनी कुन मुलुकमा के गर्दैछन्, अत्तोपत्तो छैन ।
त्यसपछि पनि थुप्रै शरणार्थीहरूको पीछा गरेँ । असफल प्रयत्न । कोही डि.आर., कोही एस.आर., कोही के.आर. आदिइत्यादी के–केजाति नामहरू । वास्तविक कि अवास्तविक खुट्याउनै नसकिने नामहरूको पीछा गर्दागर्दै थाकेँ । झापाली जोसँग पनि भेट हुने बित्तिकै भुटानी शरणार्थीबारे सोधपुछ गर्न थालेँ । झापाली भन्ने बित्तिकै कतै शरणार्थी त होइनन् भन्ने भ्रम पनि पर्न थाल्यो । जताततै भुटानी शरणार्थी नै शरणार्थी देख्न थालेँ ।
सुटुक्क शिविर
सनकमै मेरा पाइला पटक पटक झापा र मोरङका शरणार्थी शिविरहरूतिर मोडिए । दशैँको टीका निधारमा चिसै टाँसेर पुगेँ, शिविर । बसभित्र खुट्टा टेक्ने ठाउँ नहुँदा हेटौँडादेखि दमकसम्म चमेरे सीटमा समाएर, बर्नटमा कोचिएर, शिरदेखि पाउसम्म घमौरा उमारेर पनि पुगेँ, शरणार्थी शिविर । शितलहरमा पनि पुगेँ, कहिले बस त कहिले विमान चढेर, सुटुक्क शिविर । जासुसझैँ । एक्लै । अज्ञात मानिस र अज्ञात सेक्टरका झुपडीहरूका गल्लीगल्ली बौलाहाझैँ भौतारिरहेँ, पटकपटक, पाँच वर्षसम्म । जात्राजस्तै रौनकपूर्ण दृश्यदेखि मृत्यु र पीडाका अनगिन्ती कथाव्यथासम्मलाई अवलोकन गरिरहेँ, सिनेमाझैँ । पुस्तकहरूसँगै भुटानी शरणार्थीका अनुहारमा सलबलाइरहेका अतृप्त सप्तरङ्गी सपनाहरूलाई पनि पढिरहेँ, पुस्तकझैँ । अनेक आयामबाट तिनलाई हेरिरहेँ । चुपचाप । सुटुक्क ।
संसारको सबै कुरा एकै ठाउँमा थुप्रिएझैँ शरणार्थी शिविरमा हुनु–नहुनु धेरै चीज भए । दिनको सरदर दर्जन बलत्कारदेखि दैनिक दर्जनौँको मृत्युसम्म । प्रत्येक पटकको भ्रमणमा संक्षिप्त समयान्तरमै धेरै ठूला परिवर्तन पाएँ, शिविरमा । वादप्रतिवाद, घातप्रतिघात, मारामार, काटकाट, कुटाकुट । सहयोग र सहकार्यको नमुना पनि । स्वदेश फिर्ती आन्दोलनको आगो बाल्नेहरूदेखि तेस्रोदेश पुनर्वासका विकल्पहीन विकल्पसम्मका उथलपुथलको अवलोकन । पुस्तान्तरले निम्त्याएका कलह । हत्या, आत्महत्या । अनौपचारिक विश्वविद्यालयझैँ विशाल शिविर भ्रमण मेरा लागि अर्को विद्यावारिधि यात्राझैँ बनिरह्यो । यी अनेकौँ अवतारलाई विमास्थलको प्रतिक्षालयमा कुर्दै, सम्झिरहेँ ।
समाधि सार्वजनिक
करिब दुई बजे चर्को नारी आवाजमा भद्रपुर विमानस्थल खुलेको आवाज घन्कियो । यात्रुका सपनाहरू बोकेर उड्यो जहाज, चिसो आकास चिर्दै । केही बेरमै भद्रपुर । काठमाडौँमा सरस्वती पूजामा टासेको रातो टिका निधारमा अझै टल्किरहेकै थियो ।
यस पटक भने शिविर भ्रमण यात्रा खुदुनाबारीबाट सुरु गरेँ, सुटुक्क । तर पहिले भन्दा भिन्न रह्यो, यस पटकको शिविर भ्रमण । अर्को दिनदेखि खुदुनाबारी शिविरलाई बेलडाँगी र पथरीमा गाभिँदै रहेछ । एउटा इतिहासको समाधि हुन लागेको समयमा पुगिएछ, खुदुनाबारी । त्यही अवसरमा वृहत अन्तर्राष्टिय सृजनात्मक अनुष्ठान कार्यक्रमको आयोजना हुँदै रहेछ, खुदुनाबारी शिविरभित्रै । काठमाण्डौँदेखि दार्जीलिङ र सिक्किमसम्मका कवि तथा साहित्यकारहरूको जमघट । स्थानीय र शिविरभित्रका कवि साहित्यकारको जमघट त हुने नै भयो । ‘निम्तो बिनाको पाहुना’ बनी कार्यक्रममा सहभागी भएँ । सुटुक्क शिविर भ्रमणका उद्देश्य र ‘सपनाको समाधि’ लेखिसकेको सार्वजनिक गरिदिएँ । लौ जा !
धन्यको बौद्धिक वैविध्य
सुटुक्क र सार्वजनिकबीच ठूलो अन्तर हुँदो रहेछ । सपनाको समाधिको अनौपचारिक सार्वजनिकीकरणपछि नसोचेका मानिस सहयोग गर्न अघि सरे । सहयोगको अपेक्षा गरिएकाहरूबाट असहयोगका अभिघात पनि खाइयो । एउटाले भन्यो, ‘हाइवेमा कुदेर केही हुन्न ।’ अर्काले भन्यो, ‘अर्थहीन कष्ट किन ?’ अझ अर्कोले भन्यो, ‘तपाईँको उपन्यास ‘ऐटिक’ (बुइगल) मात्र बन्ने छ ।’ एक कविजीले भने, ‘तपाईँको कतै कुनै भुटानी शरणार्थी केटीसँग प्रेम पो थियो कि ?’ केही लाल साथीले सोझै भने, ‘एनजिओबाट लाखौँ रुपैयाँ खाएर उपन्यास लेख्नु भएकोमा बधाइ !’ वरिष्ठ डाक्टर साहेवले पनि भने, ‘कसैले पैसा नदिइकन यो पुस्तक लेखिएको हो भने तपाईँ पक्कै पागल हो ।’ मेरा निकट साथीले पनि भने, ‘ओइ तारा, तँलाई कल्ले कति पैसा दिएको छ नढाँटी भन् त !’ मनमनै सोचेँ, कति धेरै पैसामुखी भइसकेछ, नेपाली बौद्धिक वर्ग । नेपाली ‘प्रगतिशील’हरू पनि !
पाँच वर्षसम्म सुटुक्क शरणार्थी शिविर भ्रमण गर्दै अनुसन्धान लेखन गर्न जति सहज भयो, यस उपन्यासको लेखन सकिएको सार्वजनिक भएपछिका तीन महिना त्योभन्दा धेरै कष्टकर । अनगिन्ती टेलिफोन, आग्रह र पूर्वाग्रहका गन्थन र आक्षेपहरू आइररे । यदि यस उपन्यास लेखनका अन्तरसंघर्ष पाँच वर्ष पहिले नै सार्वजनिक गरिदिएको भए, यो उपन्यास नै लेखिन्नथ्यो कि ! सुटुक्कको कति धेरै महत्व हुँदो रहेछ अनुसन्धान लेखन जीन्दगीमा पनि ।
यद्यपि नकारात्मक ग्रन्थीयुक्त सल्बलाहटका दाँजोमा सहयोगका निसर्त साथहरूको पनि कहिल्यै कमी भएन । जाँडपानी, गुटबन्दी र झुटबन्दीभन्दा माथिका अनगिन्ती ती निसर्त सहयोगी साथहरूको ठूलो ऋण लगानी छ, यस पुस्तकमा । छोटो समयमै सपनामा पनि नसेचेका तिता–मीठा अनगिन्ती पाठक प्रतिक्रियाहरू पनि निःशुल्क प्रसादका रुपमा प्राप्त हुँदैछन् । यी अमूल्य अनुभव र अनुभूतिको सङ्गालो हो, सपनाको समाधि ।