समुद्र वार समुद्र पार

कवि
कवि

डा.लक्ष्मीनारायण ढकाल
केन्टकी, अमेरिका

समुद्र वार भयो समुद्र पार,
समुद्र पार भयो समुद्र वार !
यो वार र पारको मैदानमा
अनि पार र वारको टुडीखेलमा
ड्याम्म,जड्याम्म,टुँइय्य
भकुण्डा बनेका बिम्बहरू ठोकिएका छन्
खेलाडीका खुट्टाले हानिएका छन् किक, भुक्क –भुक्क !
कहिले सिंगेले,कहिले माल्दाइले त कहिले ठूल्दाइले।
बिचरो निरिह,निहत्थो भकुण्डो हानिएको छ –
ड्याम्म,जड्याम्म,टुँइय्य
कहिले माथिबाट तल,कहिले वरबाट पर अनि तलबाट उँभो
न पायो यसले सीमा रेखाबाट बाहिरिन
न पायो कसैका हातमा ठोक्किन, फिररर फिररर,अनि खबरदार !
टस मटस ,हावा भरी –भरी
हान हान र ठोक ठोकको कोलाहलमा
चारैतिरबाट खंदारिएको छ मध्यमा,
घुमाइ- फिराइकन फेरी- फेरीकन, ठोकिएको छ –
स्वार्थको समरमा पिसिएको छ महासमरमा
यो भकुण्डो-डाँडा वार र डाँडा पारको मैदानमा
अवता समुद्र वार देखि समुद्र पार भैसक्यो।
कहिले जातिका नाममा त कहिले धर्मका नाममा
अनि कहिले राजनीतिका अंतर्जालमा
यस भकुण्डाले खप्नु परेको छ मर्का
बगरको तातो बालुवा त कहिले हावाहुण्डरी,
कति चोटि मरेको छ भकुण्डो अनि जन्मिएको छ
बगडामा र च्याँगमा उफ्रिएको छ –
बिहान बेलुका कोइला र रिफाइनमा धुवाएको छ
बगरको धपधपीमा पग्लिएको छ –
बिचारा मूक बधिर भकुण्डो।
अब अझ कम्पनीका कराइमा भुटिन थाल्यो
मेसिनका रफ्तारमा दगुर्न थाल्यो
इन्स्युरेन्स ट्याक्स र मोर्गेजमा चटनी भयो,
पिसिन्दै ,घोप्टिन्दै,चेप्टिन्दै, नेप्टिन्दै भकुण्डो
हायर फायर र रिटायरको अंतर्द्वन्द्वमा
हावा विहीन भएता पनि,चाउरिएता पनि –
कप जित्ने आशामा,विश्वकपको प्रतीक्षामा,
अभ्यासरत छ,अहर्नीश ह्वीक्यांड अनि होलिडेमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *