सम्झनामा मिस्का
एक दिन काम बिशेष एका बिहानै बागबजारतिर जाँदै थिएँ, रत्नपार्कमा बसबाट ओर्लिएर आकाशे पुल हुँदै भक्तपुर बसपार्क निस्कँदै गर्दा बाटोमा कालो कभर भएको, नयाँ पनि होइन, पुरानो पनि होइन, जाडोको बेला रातभरिको शीतले बाहिरी कभर छपक्कै भिजेको एउटा डायरी फेला पारें । बिहानै मानिसहरु पातलो भएकाले अनि आफूलाई पनि त्यति हतारो नभएकोले त्यो डायरी हेर्न विचार गर्दै टिपेर त्यसका पानाहरु क्रमश पल्टाउन थालें… डायरीमा कतै कहीं परिचय छ कि भनेर अगाडि र पछाडी हेरें तर ”सम्झनामा मिस्का” बाहेक केहि भेटिन.. केहि पाना मात्र लेखिएको उक्त डायरीको शुरुवात यसरि भएको थियो….
मिति :- आइतबार बेलुका
‘हामी कतै घुम्न जाउँ न’ मोबाईलको ईन्बक्समा शनिबार बिहानै एक्कासि आएको म्यासेजले आफैंमा रणभुल्ल परें अनि को रहेछ भनेर आफ्नै स्मृति केलाउँदै गएँ । त्यस्तै पाँच छ महिना पहिले भेट भएकी, राजधानीकै कुनै क्याम्पस पढ्दै गरेकी युवती जसको नाम मिस्का ! हत्तपत्त रिप्लाई गरें ”स्योर, वाई नट.. होएन एभर यु वान्ट !” तुरुन्तै रिप्लाई आयो ”आई वान्ट टुडे ईफ यु फ्री ।” उसैगरी मैले रिप्लाई ” ओक आई विल वेट यु बानेश्वर एट नाईन ओ क्लक ।” उसको रिप्लाई तुरुन्तै आयो, ”ओके डन ।” उमेरले चार दशक नाघिसकेको म मा खै उस्ले के देखी र घुम्न जाउँ भनि होली… भर्खरै बिस नाघेकी ऊ अनि चालीस नाघेको म.. अलिकति पछुतो पनि लाग्यो । आफ्नै उमेर सम्झेर… तैपनि उस्ले ‘घुम्न जाउँ’ त भनि सम्झँदै फुरुङ्ग पनि भएँ…र आफूलाई पनि बिसकै हाराहारी सम्झन थालें… दिनभरि अफिसमा घाम ताप्दा या गफ गर्दा पहिले पहिले मरिहत्ते गर्ने महिला स्टाफहरुसमेत अचेल मलाई फिटिक्कै वास्ता गर्दैनथे, सायद तिनलाई मेरो पाकोपनको आभाष हुँदै थियो कि ….!
सरकारी जागिर थियो । घर परिवारको जिम्मेवारी थिएन, एक्लो जीवन आफ्नै गतिमा चल्दै थियो… एक दुई दिन पाहुना बनेर साथ दिन आउनेबाहेक मेरो जीवनमा कोही थिएन अरु… बिहानै उठ्नु आफ्नै लागि खाना पकाउनु, खानु अनि अफिस जानु । बेलुका यसो साथी भेटे कुनै क्याफेमा केहिबेर गफ्फिनु अनि साँझतिर घर फर्किनु, घर फर्किँदा एक्लो घर सधैं मेरै बाटो हेरिरहेको जस्तो लाग्थ्यो… घर पुग्नु लथालिंग कोठाहरु देखेर आफैसँग दिक्क मान्नु, अनि जाँगर लागे मिलाउनु नभए त्यतिकै , मन लाग्दा केहि बनायो खायो होइन भने पढ्ने । मन भए कुनै किताब खोजेर पढ्न बस्यो नत्र सुत्यो…बस यही थियो मेरो दैनिकी । सधैं एकैनासको दैनिकीबाट दिक्दारी पनि लाग्थ्यो तर, कुनै विकल्प पनि त थिएन मसँग…सधैंको दैनिकीमा आज केहि फेरबदल हुने त पक्का भैसकेको थियो तर कुन रुपमा भने थाहा थिएन !
नौबजे बानेश्वर चोकैमा बाईकलाई पार्किङ्गमा राखेर म उसलाई कुर्नथालें अनि आँखा चारैतिर कुदाउन लागे.. कताबाट आउली त मिस्का भन्दै .. शंखमुलतिरको बाटो हुँदै छोडेको सिल्की कपाल, ओभरकोट अनि घुँडासम्म आउने जुत्ता लाएकी, उ हाँस्दै हाँस्दै नजिकै अईपुगी सकिछ । म भने खै कुन्निकता… टोलाएर एकहोरै भएछु…छेउमै आएर ”हजुरलाई कतै डिस्टर्ब त गरिन नि मैले”, उसको तिखो बोलीले पो झसङ्ग भएँ, अनि झटपट आफूलाई सम्हाल्दै भनें, ”मेरो के नै काम हुन्छ र यसै निः आज त शनिबार…। ‘‘ ए…’’ भन्दै ऊ उभिरही… केहीक्षणको मौनता तोड्दै मैले अलिक जिस्क्याउने भावमा भनें, ”लौ भन आज कसरि याद गर्यौ ?? अनि कहाँ लैजाने मन छ मलाई” फिस्स हाँसेर उस्ले भनी, ”आज कतै टाढा जाउँ न दिनभरिलाई”…. ‘भन न त कहाँ हो ??’ मैले फेरी सोधें… एकै छिन मनमनै केही गुनेझैँ गर्दै उसले भनी ‘धुलिखेल…।’ ओके एज योर्र विस…” मैले सजिलै स्वीकार गरें !
पार्किङ्को मोटरसाईकल निकालेर उसलाई ‘बस’ भने … केहिबेर टक्क रोकिएर उ बसी …हाम्रो यात्रा शुरु भयो… मनमनै आफैंलाई भने ”शुभ यात्रा”…। कोटेश्वर, सुर्यविनायक, जगाती हुँदै साँगाको उकालो उक्लिएर बनेपा लाग्दासम्म ऊ केही बोलिन …। यति लामो मौनता अलिक असहज लाग्दै थियो मलाई… ऊ भने चुपचाप् दुवै हात मेरो काँधमा राखेर मुर्तिवत थिई…। ”केहि त बोलन” लामो मौनता चिर्दै मैले भने…प्रतिउत्तरमा उही हाँसो मात्रै … ”भोक लाग्यो होला निः केहि खाने होइन??” अब भने उसलाई बोल्न बाध्य पार्दै थिएँ म ….। ”हजुरलाई पनि त लाग्यो नि भोक त होइन ??” उल्टै मलाई सोधी उस्ले पनि …” तिमीलाई लागेको भए मलाई नि लाग्यो होइन भने छैन”, ठट्टा गर्दै मैले भने.. फिस्स हाँसी मात्रै उ…।
धुलिखेलको कुनै एउटा राम्रो रिसोर्ट छानेर हामी बस्यौं… ल भन के खाने? ”जे होस् केहि छैन तर, खाने कुरा भए भई त हाल्यो” … उसको जवाफ आएपछि मैले मेनुतिर यसो आँखा डुलाउँदै लन्च सेटको अडर गरें … अब भने मेरो ध्यान पुरै उनीतिरै लगाउने उदेश्यले सोधें ”अनि भन मिस्का आज कसरि याद गर्यौ?? के तिम्रो स्मरणबाट म निस्केको थीइन र? निक्कै समय पो भयो त हामीले नभेटेको त कि कसो ?? यो बीचमा भेट त टाढाको कुरा फोनसम्म थिएन आज एक्कासि ….” मेरो कुरा बीचमै रोक्दै उस्ले भनी .. यी महिनाहरुमा जीवनले धेरै मोडहरू पार गरें .. कति मोडहरूमा ठेस लाग्यो । कति मोडले लड़ायो.. तर बिस्तारै आफ्नै सहाराले उभिन सिकें …ती दिनहरूमा तपाईंबाट सिकेका कुराले मलाई धेरै सहायता गर्यो । यी सबबाट आफूलाई योग्य बनाउन… तपाईका कुराहरु बाट धेरै प्रभावित भएकी रहेछु…। भेटघाट या फोन त हामी माझमा थिएन तर, हरेक दिन साँझ–बिहान तपाईका कुरा दोहोर्याई तेहर्याई आफैंलाई सम्झाउथें… अनि जति ठेस लाग्थ्यो उठ्थें… जति लडे झन् झन् बलियो बन्दै गएँ र आज म ‘म’ भएर हजुरको अगाडि छु… तपाईंलाई धन्यवाद पनि दिउँ अनि अझै केहि कुरा सिकौंजस्तो लाग्यो त्यसैले मात्र…।”
मबाट के सिक्यौ र त्यस्तो ?? मैले केही सिकाएजस्तो त लाग्दैन त ? मैले उसको मन जान्न चाहें…. ”यो यो यति यति सिकें भनेर त म भन्न नसकुँला तर, पहिलेकी म अनि ती केही दिनको हजुरसँगको भेटपछिकी ममा आफैंले धेरै फरक पाएकी छु । केहि दिनको भेट अनि तपाईका विचारहरू अनि ”पढ्नुपर्छ है, यहि हो तिम्रो बेला पढ्ने, दुनियाँ बुझ्ने ”, यसले मेरो मनमा ठुलै हलचल ल्यायो । त्यसपछिका दिनहरु मेरो किताब खोज्ने, पढ्ने, मनन गर्नेमै व्यस्त भएँ.. ओशो , कृष्णमुर्ति, बिबेकानन्द, फ्रायड … जति पढें,जाने अनि अझै पढ्दै पनि छु .. यदि तपार्इं अनि मेरो भेट नभएको भए खै मैले यो सब पढ्ने या पठ्थें या पढ्दैनथें ! यी सब कुरा (जति अहिले बुझें ती) बुझ्थें कि बुझ्दिन थिएँ के थाहा र होइन ??” अनि तिम्रो ब्वाईफ्रेन्डको हालचाल के छ नि ?? बिहे कहिले गर्ने सोचाई छ ?? कतिको हुन्छ भेट ?? साँच्चै कहाँ छ अहिले ऊ?? मैले जवाफ नै नकुरी एकै पटक खर्खरती प्रश्न मात्रै सोधें… मेरो सोधाईपछि उस्ले भनी, ”ठिकै छ, राम्रै गर्दै हुनुहुन्छ, अचेल बिराटनगर हुनुहुन्छ, केही महिनापछि यतै आउने जस्तो कुरा थ्यो …। ” टक्क रोकिई यति भनेर उ । मैले फेरि सोधें-अनि बिहे कहिले गर्छ्यौ त ?? ‘बिहे खै हेरौं कहिले पो हुन्छ…” सम्बन्ध बिग्रिएको त छैन नि ?? मैले उसका कुरा खोतल्ने मनले सोधें… ”ठिकै छ , सधैंको जस्तै चल्दै छ । न त नराम्रो न राम्रो बस चल्दै छ”, यति भनेर फेरि निक्कै टाढा लहरै मिलेका हिमालतिर आफ्ना आँखा कुदाउन थाली…।
आफूले रोजेकी छ्यौ उसलाई तैपनि किन तिमीमा कुनै उत्साह देखिन्न निः? यो कस्तो सम्बन्ध ? तिमीहरूबीचमा..?? मलाई पनि केही जान्न मन लाग्दै आयो अनि सोधें.. ”यस्तै न हो सबैको मन एक्कै कहाँ हुन्छ र नि.. मैले उसलाई होइन उस्ले मलाई रोजेको.. ” माया त गर्छ्यौ नि होइन र ??”, ”माया त सँगै बस्दै अनि देख्दै आए’सी लागिनै हाल्छ.. घरमा पालेको कुनै जनावर त आत्मीय बन्छ केहि दिनमै भने..उ त मान्छे हो…। हो मलाई उसको असाध्यै माया लाग्छ तर, खै किन हो उस्को मायाले मेरो मन आजसम्म छुन सकेको छैन ….।” ती हिमालबाट आँखा नहटाई. एक्कै सासमा उस्ले यो कुरा सकी.. लन्च पनि आयो … अरु कुरा थाति राख्दै .. पहिले खाना खाउँ है .. सहमतिमा मिस्काले मात्र टाउको हल्लाएर हुन्छः संकेत गरी… हामी चुपचाप खाना खान थाल्यौं….!
खाना खाइसकेपछि अघिकै कुरा फेरि जोड्न मनमर्यो ..अनि मैले सोधें । अब कतै निस्कने कि यहीं बस्ने ?? मतिर हेर्दै उस्ले भनी, ”तपाई जे भन्नुहुन्छ”, एकैछिन बजार निस्कौं न हुन्न? मैले घुम्ने योजना बताएँ… उस्ले उसै गरी टाउको हल्लाएर सहमति जनाई…। हामीले बोकेको हाम्रो झोला त्यही रिसोर्टकै एउटा कोठा लिएर राख्यौं अनि निस्कियौं…। सानो बजार घुलिखेल घुम्नु त कती ठाउँ थियो र… हामीले यसो टहल्नको लागि केयु को एरिया छान्यौं र निस्कियौं… पुग्नु कहीं थिएन, मात्र थियो समय बिताउनु … केयु को हाताभित्रका केही ठाउँहरु घुम्दै गर्दा मैले उसको हात समाउने साहस गरें, तर मन ढक्क पनि भयो. र पनि ”म त लोग्ने मान्छे हुँ”, भन्ने घमण्डले आफैंलाई सम्झाएँ…अनि आँट गरेरै मेरो बायाँतर्फ हिँडेकी मिस्काको दायाँ हात समातें…। उस्ले असजिलो मानिन बरु, कसक्क पारेर आफ्नो हातले मेरो हात कसी… यति भएपछि मेरो मनले आँट पायो…। अब मैले उसलाई सजिलै अँगालोमा कसें.. उ चुपचाप थिई… सायद मौन समर्थन या मौन बिद्रोह मैले ख्यालै गरिन…मिस्काको जिउको स्पर्शले गर्दा मलाई आफ्नै जिउको तातोले पोल्न थालिसकेको थियो…म अलिक अधैर्य हुँदै गएको थिएँ…। ”मिस्का अब फर्कौ है”, मेरो आग्रहलाई पुरानै तरिकाले टाउको हल्लाएर हुन्छको संकेत गरी… । सिधै कोठामा (जहाँ हाम्रो झोलाहरु थियो) पुगेर जिउलाई ओछ्यानमा फालें.. मन अस्थिर हुँदथ्यो, छटपटी बढ्दै थियो, हात-गोडा ताता हुँदै थिए.. एक प्रकारको बेचैनी बढ्दै थियो….।
बल्ल सम्झें मिस्का खै कहाँ होली? यस्सो टाउको उठाएर हेरें, उ झ्यालबाट बाहिर हेर्दै रहिछ, ओछ्यानबाटै उसलाई नियालेर हेरें… मनभरि नाना कल्पना र तर्कना आए… ओछ्यानबाट उठेर उसको कान नजिकै गएर सोधें ” के हेरेकी यसरि टोलाएर”, मेरो सोधाईले सायद उसको एकान्तता टुटेछ क्यारे झसङ्ग हुँदै उस्ले ”केहि होइन त्यतिकै”, भनी… झन्डै साँझपर्न लागिसकेको थियो, मैले भनें, ”के आज फर्कनु नै पर्ने हो तिमीलाई ?? उस्ले मतिर हेर्दै भनी ” किन नजाने सुर हो र हजुरको ??” ‘त्यसो त होइन, त्यही पनि आईहालीयो अब क्याम्प फायरिङ्ग किन छुटाउनु ? मिल्छ भने भोलि बिहानै निस्किउँ भनेर ‘मैले कुरा खोलें.. एकैछिन सोचेर उस्ले भनी ” जाने पर्ने भन्ने त छैन” मैले मनमनै गुनें, नगए पनि हुन्छ ।
थ्यांक्स, मेरो मन राखेकोमा मैले उसलाई भनें, ”यो औपचारिकता किन?? के को लागि ??”उस्ले भनी, यसो भन्दै गर्दा उ मतिर फर्केकी थिई, हामी आमुन्ने सामुन्ने भयौं… मेरो अगाडि एक जोडी कामिरहेका ओठहरु…मन शुन्य भयो… सास रोकियो… मैले आँखा चिम्लिएँ अनि उसका ओठमा आफ्ना ओठ राखिदिएँ… एक निमेषलाई जिउभरि एक झड्का तरङ्गबाहेक अन्य सबै स्थिर भए, सायद समय पनि….!
पसिनाले निथ्रुक्कै भिजेकी मिस्का बाथरुम पसी… मलाई भने ओछ्यान छोड्ने मन भएन…तैपनि मेनु हेरेर फ्रेन्चफ्राई, चिकेन म:म, अनि तन्दुरीसँगै बियरको अडर दिएँ.. मिस्का फ्रेश भएर निस्की.. केहि लाज माने झैँ गरी अनि मतिर नहेरी चुपचाप निहुरिएर बसी…केहि बेरमा सबै अडर भएका खाना कोठामै आइपुग्यो… मैले भनें, मिस्का के खान्छ्यौ ?? उस्ले भनी ”सबै” ल आऊ त- मैले आफ्नो अघिल्लोतिरको कुर्सी देखाउँदै उसलाई बोलाएँ… एक दुई फ्रेन्च फ्राई, अनि म:म खाएर उस्ले भनी, ”पुग्यो मलाई त ” यो नखाने ?” मैले उसलाई जिस्क्याउँदै बियरतिर औल्याउँदै मैले भनें ”बदलामा उस्ले ठुला ठुला आँखा तरेर हेरी तर, चुपचाप…म भने मिस्कासँगै बियरको मात आफूमा उतार्दै थिएँ… ”अब त सुत्नु पनि पर्ला, भोलि बिहानै काठमान्डौ अनि अफिस ……” लामो नि:शब्दतापछि मिस्काले भनी.. उतिर यसो हेरेको त उ पहिले खै कुनबेला हो सुतिसकेकी रहिछ ! मोबाईल खोजेर घडी हेरें, नौ बजिसकेछ… म चुपचाप मिस्कातिर बढें…..।
कोठाभरि छरिएको बिहानीको उज्ज्यालो अनि सर्सराएको चिसो हावाले गर्दा भर्खरैमात्र निदाएका आँखा उघ्रन मानिरहेका थिएनन्… तै पनि कोठाको बस्तुस्थिति बुझ्ने उदेश्य लिँदै जबर्जस्ती आँखा खोलें, आँखा अगाडि भर्खरैमात्र नुहाएर टावेल कपालमा बाँध्दै गरेकी मिस्का देखा परी… साँझदेखि रातभरि आफूले महशुश गरेका सबै कुरा सधैंजस्तो सपना नभएर आज साँच्चै भएको अनुभूति बल्ल अन्तरात्माले स्वीकार गर्यो…”अब जानु पर्छ निः होइन र ??” नजिकै उभिएर मिस्काले भनी, भर्खरै नुहाएकी मिस्काको शरीरको सुगन्धले मलाई तान्दै थियो… कता कता मात लागेझैँ हुँदैथ्यो…उस्ले अन्तै हेरेको बखत पारेर मैले उसका हात तानेर आफू अनुकुल पारे र भनें.. काठमान्डौ गएपछि तिमी हुन्नौ, जानुभन्दा नजानु नै ठीक”, उस्ले ”उउउउउ… खुबै होलानी ”- बाहेक केही भनिन..। एकपटक फेरि मैले उसलाई प्राप्त गरें… झन्डै आठ बजेको हुँदो हो… ”अब त जानुपर्छ उठ्नुहोस… मैले कफी र ब्रेड मगाकी छु, फ्रेश हुनुहोस, ”मिस्काले कर गर्दै भनी.. मन नलागी नलागी उठेर बाथरुम पसी फ्रेश भएर निस्कें… कफी अनि ब्रेड आइसकेछ .. मिस्का मलाई पर्खँदै रहिछीन्.. सँगै कफी र नास्ता सक्यौं अनि फर्कने तयारीमा झोला मिलाई निस्कियौं…”ईफ यु फील ब्याड आई एम सरी मिस्का” बाईकको साईड ग्लासमा उसलाई हेर्दै मैले भनें ”उस्ले भनी, ”औपचारिकता आवश्यकता थिएन र छैन पनि अनि सरी पनि प्रकृतिविपरीत को नै छ र ?” उस्ले यति भनेपछि म ढुक्क भएँ…।
झन्डै दश बजेतिर मिस्कालाई बानेश्वर छोडेर म सिधै अफिस पुगें… ढिलो त भएको थिएन.. र पनि सबै स्टाफले मलाई सधैंको भन्दा बिशेष नजरले हेर्दै थिए…. मनमा छुट्टै उमङ्ग थियो अनि काममा जाँगर पनि… मन खुशी थियो.. मैले कोहि कसैतिर ध्यानै न’दिर्इ फटाफट आफ्नो क्याबिन छिरें अनि काम गर्न थालें तर, मनमा भने लागिरह्यो त्यो सब हेराई अनि यो जाँगर कसरी ….??? कारण कतै मिस्का……. बाँकी मिस्कासँग अर्को भेटपछि…………….!!!
कथा राम्रो लाग्यो | ‘मिसका’ संग ‘म’ पत्रको चाडै भेट होस् र बाँकी अंश फेरी पढ्न पाइयोस