सम्झन्छु सम्झन्छु है

कवि
कवि

अम्बिका प्रसाद दुलाल 
एड्लेड अस्ट्रलिया 

जलढका अनि बग्छ धनसिरि नदी पश्चिम तथा पूर्वमा
सीमाना भनिने ति डाँडा मुनिका बारी बगैँचा त्यँहा ।
दक्छिणमा छ सिमा विशाल समतल् आसाम र बङ्गालको
त्यै बीचको रमणीय दक्छिण भुटान सम्झन्छु सम्झन्छु है ।।

झांगिला बनले सुशोभित सदा डाँडा र पाखाहरु
पानीका झरना र मूलहरुका खोल्सी र भन्ज्याङहरु ।
झुल्कन्छन् हिमशैल छोई रवि ती आभा प्रभा सुन्दर
वायू स्निग्ध सधैँ सुवास सितको सम्झन्छु सम्झन्छु है ।।

मक् मक् कुर्र: गरी प्रत्येक प्रहरको दिन्थे परेवा निधो
प्रात:काल भयो भनेर सबदिन् भाले उषा डाक्दथ्यो ।
गाउँथिन् गीत यदा कदा बिरहको न्याउली चरी सुन्दरी
लाग्थ्यो कोयलिको कुहू सुनिरहूँ सम्झन्छु सम्झन्छु है ।।

आगो भर्भर भर् गर्यो यदि भने संकेत यो बुझ्दथेँ
पाहुनाहरु देवता स्वरुपमा आँउछन् भनि कुर्दथेँ ।
कागले बोल गरी गयो यदि भने सन्देश के ल्यायो है
यो मन तुल्बुल भै आकुल हुने सम्झन्छु सम्झन्छु है ।।

असारको रसिया र मेरिबरदो हो गीत मङसीरको
देउसी भैलि तिहारको र अरु गीत बालन र संगिनिको ।
भाका शुध्द स्वत: स्वत्व पनको माधूर्य जातित्वको
रम्थेँ ति सुरिला लवाजहरुमा सम्झन्छु सम्झन्छु है ।।

टुङना नौमति डम्फु लोकलयका झ्याली र झ्याम्टा अरु
मुर्चुङ्गा मुरली र मादल अनि च्याब्रुङ बिनायोहरु ।
बज्थे गाँउ भरी त पर्व अनुसार लालीत्य झल्काउने
ती वादन अब धुन सुन्नु र कँहा सम्झन्छु सम्झन्छु है ।।
माना पाथि थिए स्वकीयपनको नाप तौलका माध्यम
जाँतो ढीकि र कोल घट्ट सब यी पीसानिका साधन ।
बिछ्यौना हरु राडि गुन्द्रि गजरा निन्द्रा मिठो पाउने
कैले देख्न म पाँउने र अब ती सम्झन्छु सम्झन्छु है ।।

बेगार बेठि गरी तिरेर खजना राजा रिझाउँदथे
बाली धूप र दीप शुध्द मनले देउता बुझाउँदथे ।
देउराली हरुमा धजा र पतका पाती चढाउँदथे
पौवा पाटि र देविथानहरु ती सम्झन्छु सम्झन्छु है ।।

उन्नतशील बनोस् र विश्वभरमा कीर्ति बढोस देशको
भन्ने ध्येय लिएर तन्मय हुँदै सेवा गरेँ राष्ट्रको ।
ठुलो कष्ट गरेर बोट बिरुवा लाँए बडो यत्नले
ती हाँगा लहरा बुटा सुमन नै सम्झन्छु सम्झन्छु है ।।

प्यारो देश थियो मनोरम थियो आभा थियो स्वर्गको
न्यानो बास थियो कुनै नगरमा दक्छिण भूटानको ।
भिन्नै रीति रिवाज मान्य नहुने त्यो राष्ट्रको नीतिले
माया मोह सबै उखेलिन गयो सम्झन्छु सम्झन्छु है ।।

 

प्रस्तुत कविता – कविवर डिल्लीराम तिमिल्सिनाको “बिर्सन्न बिर्सन्न है” को शैलीमा छ। २९ असार २०७१ का दिन दोश्रो शतवार्षिक भानु जयन्ती समारोह एडिलेड अष्ट्रेलियामा वाचन गरिएको। – अम्बिका प्रसाद दुलाल
सम्झन्छु सम्झन्छु है: कवि 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *