सम्पादकीय

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको नाम नसुन्ने नेपाली सायद संसारमा विरलै होलान् । गर्वका साथ भन्न सकिन्छ कि नेपालीले हजुरबुबाको नाम बिर्सेको हुनसक्छ तर भानुभक्त आचार्यको नाम विर्सँदैन । कारण भानुभक्त आचार्यले नेपाली भाषाका माध्यमबाट साहित्यिक कृति रचना गरी नेपालीहरुलाई भाषिक एकीकरण गरे । जातिगत भाषा अनेक भए पनि बहुसंख्यक नेपालीलाई भानुभक्तले नेपाली भाषामा कृति रचना गरी नेपाली भाषालाई समृद्ध मात्रै बनाएनन् अपितु नेपालीभाषालाई अमर बनाउने काम पनि गरे । भानुभक्त आज संसारभर छरिएर बसेका नेपालीका लागि आदरणीय पात्र हुन् । असार २९ गते भन्नसाथ सम्पूर्ण नेपाली भानुभक्तको याद आउँछ । उनको सम्मानमा नेपाल, भारत अथवा संसारका कुनै पनि ठाउँमा बसेका नेपाली समूदायमा कविता वाचन कार्यक्रम हुन्छ । नेपाल बाहिर बसेका नेपालीलाई चाहिँ आफ्नो भाषा ज्यादै प्यारो भएको अनुभव हुँदो रहेछ । सायद यही कारणले होला भानुभक्त आचार्यलाई आदिकविको संज्ञाको प्रस्ताव भारतीय नेपालीबाट भएको उल्लेख नेपाली साहित्यको इतिहासले देखाउँछ ।

नेपालमा आएर बसेका, भूटानी शरणार्थी शिविरहरुमा मनाइने गरेको भानुभक्त जयन्ती अविस्मरणीय हुने गर्दछ । भानुभक्तको कवित्व शैली आबाल, बृद्ध—बृद्धाहरुले मन पराउँछन् । भानुभक्तको रामायण नेपालीको सुख, दुःखको साथी नै हो । भानुभक्तले लेखेको अमरावती कान्तीपुरी नगरी जस्ता उत्कृष्ट कविताले साहित्यप्रेमीको मन तान्छ । अझ भानुभक्तले लण्डन, पेरीस, न्यूयोर्क, आदि स्थान घुम्ने अवसर पाएका भए उनको वर्णन गर्ने शैली कस्तो चमत्कारीपूर्णको हुन्थ्यो होला ? जे होस्, आदिकविले मौका नपाए पनि उनका परमभक्त नेपालीमूलका भूटानी समूदायबाट त्यो अपूर्णतालाई पूर्ण गर्ने काम गरिँदैछ । भानुभक्तको नाम र कृति नेपाली मूलका भूटानीका मन, जीब्रो र हातमा छ । आज असार २९ दजगतबलभकभष्तिभचबतगचभ।अयm ले धुमधामसँग अमेरिका, अष्ट्रलिया, नेदरल्याण्ड, क्यानेडा, आदि देशबाट एकसाथ विश्वव्यापि संजालका माध्यमबाट भानुजयन्ती मनाउँदैछ । संजालका माध्यमबाट पहिलो पटक देशविदेशका भूटानीलाई एउटै सूत्रमा बाँधेर भानुजयन्तीको तयारीमा जुटेका कार्यकर्ताहरुलाई भानुभक्तको पैतृक आशीर्बात लागोस् !

यो भानुजयन्तीले सम्पूर्ण भूटानी साहित्यिक स्रष्टाहरुलाई भानुभक्तले जस्तै आफू बसेको देशको प्राकृतिक वातावरणमा रमेर साहित्य सिर्जना गर्न प्रेरणा दिनेछ । नेपाली वातावरण अनुकूल साहित्यिक रचना नेपालबाट हुन्छ । शिविरको वातावरणीय साहित्यिक रचना त्यहाँका स्रष्टाबाट होओस् अनि विश्वभरि छरिएका भूटानीले आफु बसेको देशको वातावरणीय पृष्ठभूमिमा साहित्यिक रचना गर्न सके नेपाली साहित्य विश्वस्तर र विश्वपरिवेशको हुनेछ ।

सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *