सम्बन्ध

रिमेन आलोक,
अष्ट्रेलिया

सम्बन्धलाई धागो बनाएर उडाउँदै
बाफदार कुरासँगै अङ्गालो मार्दै
आगनीमा मेरा बारेमा चिया पिउँदै
इज्जतमाथि थपडी मारेको
त्यो पलले तिमीलाई सताउने छ
मुटुमा च्वास्स दुख्न सक्छ
म त फर्केर आउन सक्दिन
तर,……. मेरो तस्बिरले बोलायो भने
सम्झिनु म तिम्रो आफन्त थिएँ ।

जब सन्ध्या हुन्छ, फूल मस्काउँछ
हाँगा-पातहरू मौन रहन्छन्
चराको चिरबिरे आवाजसँगै
तिती मिठा पलहरू सम्झँदै
त्यही बाटो हुँदै मेरा पाइलाहरू
हावाको बेगसँगै झ्यालनेर आएर
ढोकाको छेउँनेर मेरो आत्माले तिमीलाई
पर्खिरहने छ,………. त्यति खेर नतर्सिनु है
त्यो आत्मा हाम्रो सम्बन्धको हुने छ।

बेलुकी पख जब साँझ पर्नै लाग्छ
मेरो छायाले तिम्रो छायाको सहारा खोज्छ
तिमी अर्कै दुनीयामा रमाइरहेकी हुनेछौ
बचेरा छोडेर माउले भाले खोजे झैँ
कहिले रातमा हराउँछौ र त कहिले दिनमा
यो रसलिला भन्ने चिज कस्तो अचम्मको
न आफन्तको याद आउन दिन्छ न सन्तानको।
मेरो तिमीलाई एउटा बिन्ती छ।
अब त समाज सम्झ आफन्ततिर फर्क।

तिमीपनि बुढी हुने छौ, तागत सकिने छ
बैँसमा ओढेका सिरक सम्झने बेला आउँछ
उमेरमा गरेको उत्ताउला पल सम्झिनेछौ
लट्ठीको सहारा लिएर त्यही पुरानो सम्बन्ध
खोज्दै खोज्दै मेरो घर छेउ आएर भन्ने छौ
यही छहारीले दिएको एउटा अटुट सम्बन्ध
मलाई एक्लै छोडेर त्यो बादल जस्तै बनेर गयो
त्यति खेर मेरो लास तिमीबाट टाढिएको हुनेछ
अन्तिम पटक सम्बन्धको याद आओस्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *