सम्बन्ध
रिमेन आलोक
अस्ट्रेलिया
सम्बन्धलाई धागो बनाएर उडाउँदै
बाफेदार कुरासँगै अङ्गालो मार्दै
आगनीमा मेरा बारेमा चिया पिउँदै
इज्जत माथि थपडी मारेको
त्यो पलले तिमीलाई सताउने छ ।
जब मुटुमा च्वास्स घोच्छ
म त फर्केर आउन सक्दिन
तर मेरो तस्बिरले तिमीलाई बोलायो भन
सम्झिनु, म तिम्रो आफन्त थिए
म तिम्रो शुभचिन्तक थिए ।
बेलुकी जब साँझ पर्नै लाग्छ
मेरो छायाले तिम्रो साथ खोज्न सक्छ
जसरी भाले छोडेर चरीले बचेरा खोज्छे
त्यति नै बेला आफन्तको याद आउन सक्छ
तर म तिमीसंग नहुन सक्छु ।
जब सन्ध्या हुन्छ, फुलहरू सुस्ताउँछन्
डालीका पातहरू मौन रहन्छन्
चराको चिरबिरे आवाजसँगै
तिता मिठा पलहरू सम्झँदै
ढोकाको छेउनेर मेरो आत्माले तिमीलाई पर्खिरहने छ ।
त्यति बेला तिमी पटक्कै नतर्सनु
त्यही बाटो हुँदै मेरा पाइलाहरू आउनेछन्
अदृश्य आकृति बनेर
हावाको वेगसँगै झ्यालमा म ट्वक्क अडिनेछु
त्यो आत्मा हाम्रो सम्बन्धको साक्षी हुने छ।
तिमी पनि बुढी हुन्छौ तागत सकिने छ
बैशामा ओडेका सिरकहरू सम्झने बेला आउँछ
उमेरमा गरेको उत्ताउला पल सम्झिने बेला आउँछ
लट्ठीको सहारा लिएर त्यही पुरानो सम्बन्ध खोज्दै
तिमी म नभएको मेरो घर छेउ आएर पछुताउने छौ
यही छाहरीले दिएको एउटा अटुट सम्बन्ध
मलाई एक्लै छोडेर त्यो बादल जस्तै बनेर गयो
मेरो लास तिमीबाट टाढिएर जान्छ
त्यसैले मेरो तिमीलाई एउटा बिन्ती छ
अब त समाज सम्झ, इज्जत सम्झ र आफन्त सम्झ ।।