सम्भावनालाई याचिका

भरत तिम्सिना 
अमेरिका

म खनूँ मेरो बाटो
बनूँ जो हुनु छ
मेरो शान, स्वाभिमानमा
विनम्रता टल्कियोस्

मन नपरूँ सबैलाई
यस्तो शत्रु बनूँ कसैको
मेरो शत्रुतामा पनि
भद्रता भइदियोस्

म उडूँ हावामा,
तारा खेलाऊँ हत्केलामा
मेरो प्रसन्नतामा
गम्भीरता झल्कियोस्

म उर्लिऊँ ,
चुल्लिऊँ खहरे झैँ
चुनौती दिऊँ साँगुरा बाँधहरूलाई
मेरो आँट, आडम्बरमा
शिष्टता छल्कियोस्

म लालची बनूँ
बटुलूँ जति जे छ जम्मै
मेरो जिज्ञासा र उत्सुकतामा
रिक्तता रहिदियोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *