सर्वगुण सम्पन्नता

भक्त घिमिरे
पेन्सिल्भिन्या, अमेरिका

संसारका सबै सामाजिक आदर्शमा सर्वगुण सम्पन्न मानव भनेर गुरुहरुलाई मानिन्छ । जुनसुकै विषय र कलाका हुन्, गुरु गुरु नै हुन् । चाहे उनीहरु सामाजिक जीवनका कला-सीप सिकाउने हुन् कि अलौकिक गुणहरुको अध्यात्मशिक्षा सिकाउने हुन् । तपाईं हामीलाई लाग्छ, गुरु भन्नेबित्तिकै सबै किसिमका द्विविधा र असामञ्जस्यहरुबाट टाढा, सबै विषयमा पारंगत कुनै द्रष्टा । जो इर्ष्या, लोभ, क्रोध, मोहजाल र सबै किसिमका अंहकारबाट तटस्थ छ । जसले जगत र ब्रह्म बुझ्न बाँकी छैन अनि दयासागर पनि छ । जसमा सर्वगुण सम्पन्नता छ ।

तर, यथार्थमा यो ब्रह्माण्ड त्यस्तो छैन जसरी सत्यं शिवं सुन्दरंको एकतर्फी कल्पना गरिन्छ  । मनुष्य जगतमा कोही पनि त्यस्ता गुरु देखिएका छैनन् जो इर्ष्या, मोह र हीनताबाट अलग रहनसके ! जो पक्षपात र पृष्ठपोषणबाट टाढा हुनसके !

यस सन्दर्भमा म दुइजना पौराणिक गुरुहरुको प्रंसग उठाउन गइरहेको छु । द्रोणाचार्य र शुक्राचार्य !

पहिले द्रोणाचार्यबारे कुरा गरौं । गंगाद्वार (आधुनिक नाम हरिद्वार) मा एक तपस्वी ऋषि बस्थे । उनको नाम भारद्वाज थियो । पौराणिक ग्रन्थहरुका अनुसार भारद्वाज सप्तर्षिमध्ये एक थिए । एकदिन उनी स्नान गर्न गंगा नदीको तटतिर जाँदै थिए । ऋषिको स्नान गर्ने तटमा पहिले नै घृतार्ची नामक एक सुन्दरी गोता लगाइरहेकी थिइन् । जब ऋषिले उनलाई देखे, ती सुन्दरीलाई भोग गर्ने आशक्ति जाग्यो । आशक्तिमै स्खलित भएको वीर्य उनले द्रोण नामको यज्ञकलशमा राखिदिए । सोही कलशबाट पैदा भएका पुत्रको नाम द्रोण रह्यो भनिएको छ ।

भारद्वाजकै छिमेकमा पृषत नामका राजा थिए । ऋषि र राजाबीच मित्रता थियो । राजाका एउटा द्रुपद नामक पुत्र थिए । राजकुमार द्रुपद महर्षि भारद्वाजकै आश्रममा गएर शिक्षा लिनथाले । ऋषिपुत्र द्रोण र राजकुमार द्रुपदबीचमा पनि गहिरो मित्रता बस्यो । मित्रताकै लहडमा द्रुपदले एकदिन आफू राजा भएपछि आधा राज्य मित्र द्रोणलाई दिनेसम्म वाचा गरेका थिए । अध्ययन सकेपछि उनीहरु छुटे ।

समयक्रममा राजा पृषतको मृत्युपछि द्रुपद राजा भए । उता ऋषिपुत्र द्रोणले परशुरामबाट शस्त्रविद्या लिए जसमा ब्रह्मास्त्रको प्रयोगविधि सम्मिलित थियो । पछि द्रोणले आफ्नो पुत्र अश्वत्थामालाई पनि ब्रह्मास्त्रको प्रयोग सिकाएका थिए ।

शस्त्रार्थको ज्ञान लिए पनि द्रोणाचार्यको अर्थव्यवस्था अति कमजोर थियो । उनकी पत्नी कृपी र पुत्र अश्वत्थामाको लालन पालनमा उनलाई धौ धौ परिरहेको थियो । गरिबीको पीडाले उनी एकान्तप्रेमी बनिरहेका थिए । यहीबेला उनको मगजमा एउटा उपाय फुऱ्यो राजा मित्र द्रुपदकाँ गएर सहयोग लिने । उनी राजाको दरबारमा पुगेर आफ्नो मित्रता, आधा राज्यको वाचा आदि सम्झाउँदै आफूलाई मित्रवत व्यवहार गरी धन दिन निवेदन गरे । तर, राजा द्रुपदले एउटा राजाको लागि अर्को राजामात्र मित्र हुने बताइदिए । एउटा भिखारी ब्राह्मणले राजासित कसरी मित्रताको दाबी गर्नसक्छ ? भन्दै उनले द्रोणाचार्यको खूब अपमान गरे । यस अपमानबाट द्रोणाचार्यमा क्रोध त आयो नै, उनी सँगै गएका उनका पुत्र अश्वत्थामाले कल्प कल्पान्तर राजा द्रुपद र उनका दरसन्तानमाथि आक्रमण गरिरहने प्रतीज्ञा नै गरे ।

यो अपमानजनक घटनापछि द्रोणको मनस्थितिमा ठूलो चोट लागेको थियो । हीनताबोध, ग्लानि बढ्दै गएका द्रोण एकान्तवास गर्न रुचाउँथे । जंगल जंगल डुली हिँड्थे ! यस्तैमा एक दिन हस्तिनापुर दरबारका राजकुमारहरु जंगलको मैदानमा भकुण्डो खेल्न आएका थिए । खेल्दा खेल्दै भकुण्डो नजिकैको एउटा कुवामा गएर खस्यो । कुवा निक्कै गहिरो थियो; निकाल्ने कुनै उपाय थिएन । राजकुमारहरुले नजिकै एउटा वृद्ध मानव देखेर गुहार मागे । द्रोणले परशुरामबाट पाएको असाधारण धनुर्विद्याको प्रयोग गर्दै वाण हानेर भकुण्डोसम्म लामो ताँदो बनाइदिए । ताँदो तानेर भकुण्ड निकालियो । यो घटनाको सनसनी हस्तिनापुर दरबारमा पनि फैलियो । उनका बारेमा राजकुमारहरुले देवब्रत (भीष्म) सम्म खबर पुऱ्याए । देवब्रतले यो कुरा सुनेपछि द्रोणलाई बोलाएर हस्तिनापुरमा राजगुरुका रूपमा नियुक्त गरिदिए । पाञ्चाल देशमा राजा द्रुपदको दरबारमा अपमानित भएर आएका आफ्ना पिताको हस्तिनापुरको दरबारमा सम्मान भएको देखेपछि यसै दिनदेखि द्रोणपुत्र अश्वत्थामाले सदैव हस्तिनापुरका राजाहरुको पक्षमा प्रतिबद्ध रहने प्रतीज्ञा गरे । त्यसपछि नै युवराज दुर्योधनसित अश्वत्थामाको प्रगाढ मित्रता शुरु भएको हो ।

यता हस्तिनापुरको दरबारमा राजगुरु बनेपछि द्रोणलाई राजा द्रुपदविरुद्ध आफ्नो अपमानको बदला लिने हुट्हुटी जाग्यो । आफ्ना शिष्य कौरव र पाण्डवहरुलाई बोलाएर उनले आफू गुरु भएकाले गुरुदक्षीणा दिनुपर्ने बताए । शिष्यहरुले के दक्षीणा दिने ? प्रश्न गरे । गुरु द्रोणले राजा द्रुपदलाई तत्काल बन्दी बनाएर उनको राज्य आफ्नो हातमा सुम्पिने आदेश दिए । शुरुमा दुर्योधन, कर्णलगायतका युद्धवीरहरुलाई द्रुपदले हराएर रणमैदानबाट लखेटे । अर्को दिन अर्जुन द्रुपदसित युद्ध गर्न गए । अर्जुनसितको युद्धमा द्रुपदले पराजय भोग्नुपऱ्यो । त्यसपछि पाञ्चाल देश गुरु द्रोणको अधीनमा भयो । यसरी आफ्नो शत्रुलाई पराजित गराएर इच्छा पूरा गरिदिएकोमा प्रशंसा गर्दै द्रोणले अर्जुनलाई विश्वको सर्वश्रेष्ठ धनुर्धारी बनाइदिने भरोसा दिलाए । केही समयपछि एकलव्यले अर्जुनको सर्वश्रेष्ठ धनुर्धारीको ख्याति गिराउँदै चुनौती दिएपछि द्रोणले नै एकलव्यको बुढी औंठो गुरुदक्षीणामा मागेर अर्जुनको शाख बँचाएका थिए ।

अर्कातिर हड्पेको राज्यबाट आधा भूमि फिर्ता दिएर द्रोणले आफू ब्राह्मण भएकाले कसैको हत्या नगर्ने जनाउँदै राजा द्रुपदलाई जीवनदान दिएको घोषणा पनि गरे । तर, राजा द्रुपदको स्वाभिमानमाथि लागेको चोट मत्थर भएन । उनले द्रोणसित बदला लिने आशयमा एउटा यज्ञ गरेर वीर पुत्र पाउने उपासना गरे । धृष्टधुम्न नामक राजकुमारको जन्म पनि भयो । पछि कुरुक्षेत्रको मैदानमा धृष्टधुम्नले नै द्रोणको शिरछेदन गरी हत्या गरिदिएका थिए ।

यसै त आफ्ना पिताप्रतिको अपमानदेखि तिल्मिलाइरहेका द्रुपदपुत्र धृष्टधुम्नले द्रोणको बध गरेपछि अश्वत्थामा अझ पागल भए । यता पाण्डवहरुले साझा विवाह गरेकी द्रौपदी पनि द्रुपदकै कन्या थिइन् । उनका शाखासन्तान समाप्त पार्ने लहड बोकेर अश्वत्थामा कुरुक्षेत्रमा दाउ हेरिरहेको थिए ।  आफू कौरव पक्षको सेनापति भएकै राति अश्वत्थामाले पाण्डव पक्षको शिविरमा पसेर सुतिरहेको धृष्टधुम्नलाई मारिदिए । यतिमात्रै होइन, सुतिरहेकै द्रौपदीपुत्रहरु प्रतिविंध्य, श्रुतसोम, श्रुतकर्मा, शतानीक र श्रुतसेनको टाउको काटेर पाँचपाण्डवका टाउका यिनै हुन् भन्दै घाइते भएर कुवामा सुतिरहेको आफ्नो मित्र दुर्योधनसामु बुझाए । यसका अतिरिक्त ब्राह्मण सन्त भएर पनि अश्वत्थामाले अभिमन्यूको गर्भशिशु परीक्षितलाई लक्ष्य गरी नारायणास्त्र प्रहार गरेका थिए ।

अब कुरा गरौं अर्का गुरु शुक्राचार्यको । ऋषि भृगुका पुत्र उशना सबैभन्दा पहिले ऋषि अंगिरसको आश्रममा विद्यार्थी थिए । उनीसँगै गुरु (अंगिरस) पुत्र बृहस्पति पनि अध्ययनरत थिए । उशना र बृहस्पति दुवै सहपाठी थिए, असल मित्र पनि बने । तर, गुरु अंगिरसले शिक्षा-दीक्षामा आफ्नो पुत्र बृहस्पतिप्रति मात्र ध्यान दिएर आफूमाथि पक्षपात गरेको उशनाले महसुस गरे ।

त्यसपछि उनी प्रतिशोधको अठोटमा अंगिरसको आश्रम त्यागेर गौतम ऋषिको आश्रममा पुगे । ऋषि गौतमकै उपदेश पाएर उशनाले महादेवको तपस्या गर्नथाले । तपस्यामा लीन हुँदाहुँदै योगबलको सहाराले उशना महादेवको उदरमा प्रवेश गरेर वरदान माग्नथाले । उतिबेला महादेव पनि ध्यानमै मग्न थिए । ध्यान खुलेपछि उशनालाई वर माग्न उनले उदरबाट बाहिर आउनुपर्ने बताइदिए । बाहिर आउने सबै बाटाहरु बन्द देखेर उशना महादेवको शिश्नद्वारबाट निस्किए । यसरी वीर्य अथवा शुक्र-कीटको रूपमा उनी महादेवको कायाबाट बाहिर आएका कारण उशनाको नाम शुक्र बन्यो । उनले महादेवबाट वरदानका रूपमा मृतसंजीवनी मन्त्र पाएर आचार्य पद धारण गरे अनि शुक्राचार्य बने । महादेवबाट उनले पाएको संजीवनी महामन्त्र यस्तो थियो-

“ॐ ह्री हंस: संजीवनी जूं हंस:

कुरू कुरू कुरू सौ: सौ: हसौ: सहौ: सोsहं हंस: स्वाहा।

अमंत्रं अक्षरं नास्ति, नास्ति मूलं अनौषधं।
अयोग्यः पुरुषः नास्ति, योजकः तत्र दुर्लभ:॥ ”  (शुक्र नीति)

 यो मन्त्रको तात्पर्य के हो भने कुनै पनि अक्षर वा वर्ण यस्तो छैन जसबाट कुनै मन्त्रको आरम्भ नहोस्, कुनै यस्तो मूल (जड) छैन जसबाट कुनै औषधि नबनोस् अनि यस धरामा कुनै मानिस पनि यस्तो छैन कि जसको कुनै मूल्य नहोस्, अथवा संसारमा कोही पनि अयोग्य मानिस छैनन् तर, मानिसहरुका लागि योग्य प्रबन्धकको अभाव छ । शुक्राचार्यको यस अभिव्यक्तिमा के कुरा झल्किन्छ भने देवता र दैंत्य (असूर) हरुबीचमा चलेको द्वन्दमा असूरहरुलाई मात्र खराब देखाएर देवता पक्षले अन्याय गरिरहेको थियो । खासमा देवताहरु अध्यात्मतर्फ केन्द्रित थिए भने असूरहरु भौतिक वैभवको उपलब्धितर्फ क्रियाशील थिए । शुक्राचार्यले दुवै पक्षलाई दुवैकुरा चाहिन्छ भन्ने वकालत गरिरहेका थिए ।

यद्यपि, प्रतिशोधको भावना उनीभित्र पनि थियो नै । अधिकांश देवताहरु ऋषि बृहस्पतिका शिष्य भएका कारण शुक्राचार्यले असूरहरुलाई आफ्ना शिष्य बनाएका थिए । देवासूर संग्रामका बेला देवतापक्षबाट मारिएका असूरहरुलाई मृत्युसंजीवनी मन्त्रको सहाराले बारम्बार जीवित बनाएर शुक्राचार्यले देवताहरुमा त्राहीमामको स्थिति पैदा गरिदिए । ठूलो परिश्रम गर्दा पनि असूरहरुलाई हराउन नसकेपछि भयभित बनेका देवताहरु महादेवको शरणमा गए । देवताहरुको पुकार सुनेपछि महादेवले शुक्राचार्यलाई निलिदिए; अनिमात्र देवासूर संग्राममा असूरहरुलाई देवताहरुले हराउन सकेका थिए ।

तपाईं यदि पौराणिक ग्रन्थहरुमा अलिकति भित्र पस्नुभएको छ भने यो जानकारी लिनुभएको हुनसक्छ जहाँ देवताहरुका अधिपति इन्द्र, गुरु बृहस्पति र विष्णु इष्टदेव छन् । अर्कातिर दैंत्यहरुका अधिपति हिरण्याक्ष, हिरण्यकश्यपु (पछि विरोचन) थिए भने उनीहरुका गुरु शुक्राचार्य अनि इष्टदेव शिव (महादेव) थिए । एकातिर जहाँ देवताहरुको लागि भवन, अस्त्र आदिका निर्माणकर्ता विश्‍वकर्मा थिए भने दैंत्यहरुका प्राविधिक मयदानव थिए ।

एकचोटि महाभारतको युद्ध टार्न धृतराष्ट्रले पाण्डवहरुलाई अंशस्वरूप खाण्डव वन छुट्याइदिएका थिए । खाण्डव वनमा युधिष्ठिर महाराजका लागि राम्रो दरवार बनाउन कृष्णले विश्वकर्मासित अनुरोध गरे । तर, विश्वकर्माले आफूसित त्यस्तो क्षमता नभएको बताएर मयदानवलाई गुहार्नुपर्ने जनाए । यसरी विश्वकर्माको रेखदेख र मयदानवको शिल्पकारितामा बनेको इन्द्रप्रस्थ दरबारमा मयसभा नामको एउटा कक्ष ब्रह्माण्डकै सुन्दरमध्ये एक भवन रहेको शास्त्रहरुमा उल्लेख छ । त्यतिबेलाको इन्द्रप्रस्थ भनेको अहिलेको दिल्ली बताइन्छ ।

यहाँनेर भन्न खोजिएको कुरो के भने सधैं द्वन्दरत रहेका देवता पक्ष र असूर पक्षका बीचमा पनि सहकार्य र सद्भावपूर्ण काम गर्नचाहेमा सम्भव हुँदो रहेछ । शुक्राचार्यका शिष्यहरुमा रहेको कलात्मक दक्षता बृहस्पतिका शिष्य देवताहरुलाई पनि चाहिँदो रहेछ !

यदि गुरुवर्गले चाहेमा आफ्ना निष्पाप, निर्दोष शिष्यहरुलाई द्वन्दतर्फ धकेल्न वा मिलापतर्फ लान दुवै कुरा सम्भव हुँदो रहेछ । यसर्थ, सधैं गुरुका आदेशहरुको पालनमात्र नगरी उनीहरुको आत्मसम्मानमा चोट नपुऱ्याइकन आफ्नो स्वविवेकको प्रयोग पनि गर्नुपर्दछ । गुरुले कुन लक्ष्यमा काम गरिरहेका छन् र आफूलाई कता लान चाहेका छन् भन्ने पनि बुझ्नु आवश्यक हुँदोरहेछ ।

यस्ता प्रसंगहरुको मूल्यांकन गरिसकेपछि हामीले के बुझ्नुपर्दछ भने यस धरामा नश्वर शरीर धारण गरेर आएको कोही पनि मनुष्य सर्वगुणले सम्मन्न हुँदैन । अथवा सबै मनुष्यमा अवगुण र सद्गुण-दुवैखाले प्रवृत्तिका केही अंश हुँदा  रहेछन् । तिनलाई संगत र प्रभावले कतातिर डोऱ्याउँछन् मानिसमा त्यही प्रवृत्ति हाबी भएर नकारात्मक वा सकारात्मक गुणले युक्त हुने गर्दछन् । अतः गरिबी, आशक्ति, इर्ष्या, दम्भ, अहंकार, भद्रता, शालीनता, सद्भाव, वैभव, आविष्कार आदि  सबै कुरा मानिसका जीवनमा बराबर हुने यथार्थलाई नकार्न नमिल्ने रहेछ  भन्ने कुरा माथिका प्रसंगहरुबाट सबै पाठकमा स्पष्ट भयो भन्ने मैले ठानेको छु ।

अतः  एउटा निश्चित विषयका गुरु वा शिक्षकलाई जीवनका हर कदममा आदर्श मानेर समर्पित हुँदै गुरुलाई नै आफ्नो जीवनको भार पनि बोकाउनु सान्दर्भिक छैन । आफूजस्तै नश्वर काया धारण गरेर आएका सबै मानिस बराबर हुन् । केवल अध्ययनचेतना र अभ्यासको आधारमा कोही मानिस अर्को मानिसभन्दा फरक हुने हो । हामी कसैलाई गुरु मान्छौं त नश्वर शरीरलाई, कायालाई होइन ! उसको विद्वता, ज्ञानलाई गुरु मान्ने हो । त्यो ज्ञानले यो सारा ब्रह्माण्डको जीवन र जगतकै कल्याण गर्छ भने त्यो पूज्य छ । तर, कुनै एक पक्ष वा पन्थको मात्र भलाई वा उन्नतिका लागि उसको अभियान केन्द्रित छ भने त्यो पक्षपोषण हो, भेदभाव र दुष्टता हो । मैले यसो भनिरहँदा कसैलाई गुरु भनेर सम्मान नगर्नु   होइन । सबै मानिसलाई सम्मान र आदरसाथ व्यवहार गरिनुपर्छ भन्ने हो ।

अब विवेकशील मानवले एउटा अर्को कुरामा पनि ध्यान पुऱ्याउन पर्दछ । त्यो के भनेः एउटै मानिसको कायाभित्र सदासर्वदा सबैखाले गुणहरुको खोजी गर्नु व्यर्थ छ । सबैको जीवनमा एकचोटि विश्वलाई प्रभाव पार्ने किसिमले सकारात्मक वा नकारात्मक पराक्रम गर्ने शक्ति प्राप्त हुन्छ । अनि त्यो शक्ति वा योग्यता अभिव्यक्त भएको दिन त्यसको प्रभावमा आउने कसैका लागि लाभदायक र कसैका लागि हानिकारक हुनसक्छ ।  यसरी जतिबेला सर्वहितकारी गुण अभिव्यक्त हुन्छ त्यतिबेला त्यो मानिसको काया पनि पुज्नलाई योग्य हुन्छ । सम्बन्धित उपदेशकद्वारा प्रतिपादित विषय सर्वग्राह्य छ भने तत्क्षण उसको प्रशंसा गर्नु उपयुक्त हुन्छ । अरुबेला फेरि ऊ पनि अरु सामान्य मानिससरह हुन्छ । सदावहार समान रूपमा कोही पनि रहिरहन सक्तैन ।

पाण्डवपक्षमा रहेर कृष्णले अर्जुनलाई दिएका उपदेश सुनेर हामी आफूलाई धर्मात्मा र कृष्णलाई धर्मका स्रोत बुझ्दछौं । तर, कौरवपक्षका कोही बाँचेका भए तिनले कृष्णलाई कसरी लिन्थे; त्यो पनि सोच्नुपर्छ । दुर्योधनकी आमा गान्धारीले यदि चाहेको भए कृष्णले महाभारतको युद्ध रोक्न सक्थे तर, रोकेनन् भन्दै कुरुकुलजस्तै आपसमा लडेर यदुकुल पनि नष्ट हुने श्राप दिएकी थिइन् ! यो कुरा पनि मस्तिष्कको कुनै कुनामा हामीले राख्नु आवश्यक छ ।

यति भनिसकेपछि हामीले बुझिसक्यौं कि सबै मानिसमा कुनै न कुनै एउटा असाधारण योग्यता निहित हुन्छ । केवल उसले त्यसको अभ्यास गर्ने वातावरण नपाएको हुनसक्छ, कुनै विशेष परिस्थितिको कारण त्यो चेतनाको हाँडीमा बिर्को लागिरहेको हुनसक्छ ! कहिले सन्देशवाहक दूत, कहिले सारथी त कहिले दौंतरी मित्र बनेर जीवनभरि आफ्नै साथमा रहेका कृष्ण कुरुक्षेत्रको युद्ध मैदानमा पुगेपछि एकदिनमात्र अर्जुनका लागि गुरु बनेका थिए । कृष्ण गुरु बनेर अर्जुनलाई दिएको उपदेश नै हामीले गीताका रूपमा सुन्न-पढ्न पाएका छौं भन्ने कुरा पुष्टि गर्न त कुनै पनि शास्त्रीय आधार खोजिरहनु पर्दैन !

शास्त्र भन्दा हामीले कर्मकाण्डी परम्परा धान्ने हिसाबको सोचमा मात्र नबुझौं । शास्त्रले हामीलाई  सामाजिक जीवनका हरेक कदममा अनुशासनको शिक्षा दिने अभिप्राय पनि राखेका छन् । हामीले आफ्ना शास्त्रहरुमा ध्यान नपुऱ्याएकै कारण ‘गुरु-पुरोहित नै पाइएन’ भन्दै लाखौं कोसको दूरीमा आजसम्म बसाईं हिँडिरहेका छौं ।

हामीले एउटै व्यक्ति वा व्यक्तित्वमा सबैखाले योग्यता र गुणहरु खोज्ने होइन, सिंगै समाजका सबै मानिसलाई गुणकारी योग्यताका लागि सक्षम बनाउने प्रयास गर्नु आजको अनिवार्यता हो ।

हाम्रो दर्शनले नै ‘अहं ब्रह्माष्मी’ भनेर हरेक मानवमा ब्रह्मत्व विद्यमान रहेको कुरा उल्लेख गरेको छ । यस कुरामा सबैले स्वविवेक प्रयोग गरी सम्पूर्ण मानवकल्याणको बाटोमा आफैंलाई जिम्मेवार बनाउनु आजको आवश्यकता हो । तबमात्र ‘बसुधैव कुटुम्बकम्’, ‘सर्वे भवन्तु सुखिनः’ का नाराहरु सार्थक हुनेछन् ।

 

सन्दर्भ स्रोतहरुः- मत्स्य पुराणः

-महाभारत शान्ति पर्व अध्याय २८९ श्लोक १–१४

-महाभारत आदि पर्व अध्याय १६५ श्लोक १–१८

-महाभारतः आदिपर्व अध्याय १६५ अन्तर्गत ‘चैत्ररथ उपपर्व’-को द्रोण-द्रुपद अपमान चर्चा

यजुर्वेदः

बृहदारण्यकोपनिषद् अध्याय चतुर्थ ब्राह्मणं,  मन्त्र १०

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *