बक्के फुटाउँ साथी

कुबेर कुईकेल (भुवानेटारे)
अमेरिका

शिङ्खा प्रफुल्ल मोती पाताल गर्त बोक्छ
आँसु प्रशस्त आँखा तुर्सा उचाइ खोज्छ
सारा स्वदेश प्रेमी रैती निशान लक्ष
गाशा छुका र लाया लिन्सी विभेद भोग्छ

माटो र रक्त नाता सुर्जे र ज्योति जस्तै
खाल्डो हिमाल जत्रो आँखा समुद्र जस्तै
साँच्चै चिसो छ आगो निद्रा अतृप्त ठान्दा
दोषी विशाल तारा थर्को निसाफ मान्दा

दाह्रो देखाइ हाती भित्री छुरा छ बाधा
राम्रो प्रदर्शनी हो त्यो मञ्चमा छ व्याधा
मुन्टो कटाउँ बोल्दै मुन्टो झुकाइ हैन
छाती दिवाल हाम्रो माटो दुखाइ हैन

भो रङ्गमञ्च मात्रै धर्ती भुगोल हाम्रो
पुल्ठो लगाइ रैती धर्ती दरार हाम्रो
भाषा सिकार हाम्रो लेखोट अस्त अस्त
बोल्दै छ देश आफै पैचान ध्वस्त ध्वस्त

ताल्चा लगाइ जिभ्रो गादो विपत्ति धान्छौँ
माथा झुकाइ हामी उर्दी प्रताप ठान्छौँ
हाँसो बनावटी हो खाल्डो तयार माथी
बोली नबोल्नु भन्दा बक्के फुटाउँ साथी

छन्द : दिक्पाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *