साबुन

अजित रुपाबुङ
कोल्चेष्टर/भर्मण्ट

म पसलतिर निस्किनै लाग्दा स्वास्नीले मेरो कमिजमा हेरेर भनिन्, “के बिघ्न मैलो पार्नु भएको ? हिजो सफा गरेको कमिज आज यस्तो अँध्यारो मुहारको ।”  मैले प्रष्ट महसुस गरेँ उनको वाक्यमा क्रोध भाव थिएन, थियो त मायालु गाली ।

मैले भने, “म सुकिलो मुकिलो बनेर ठाँटिएर हिँड्न नै कहाँ पाउछु र ? कहिले हटिया जानुपर्छ, अरुबेला पसलमा बस्नुपर्छ । धुलो, हिलो  र पसिनाको प्रिय साथी बनेपछि मैलो नहुने कुरै भएन ! फेरि ममा त्यस्तो सुकिलो मुकिलो कपडा पहिरिएर हिँड्ने व्यक्तित्व नै कहाँ छ र ? एक शृङ्गार पेटारको सामान बेच्ने ब्यापारी हुँ । यतिको मैलोले फरक पार्दैन ।” मैले सोचेँ यो तर्कले त स्वास्नी चुप लाग्लिन् ।

“त्यो त आफ्नो इच्छा पो त । सुकिलो मुकिलो कपडा पहिरिएर हिँड्न पनि कहीँ व्यक्तित्वमा निहित हुन्छ ? त्यो अन्तरेलाई हेर्नुहोस्, चट्पटे बेच्छ तर तपाँईभन्दा त निकै सुकिलो रहन्छ है ।”  मेरो सोचविपरीत स्वास्नीले मलाई डाहा जाग्ने तर्क पेश गरिन् । “उसोभए अझ त्यो अन्तरेलाई नै सुकिलो पार ।” मैले मझेरीमा आँखा गाडेर इर्ष्यालु भावमा भनेँ ।

तर, अचम्म ! कुनै तर्क स्वास्नीको अधरबाट फुत्किएको मैले सुनिनँ । मैले आँखा उठाएर उनलाई हेरेँ, विचरी मलाई ट्वाल्ल हेरिरहेकी रहिछिन् । त्यसबखत मप्रति उनको अगाध प्रेमबाहेक अन्य भाव मुहारमा मैले देखिनँ । मैले गमेँ, उनलाई चोट पर्‍यो होला-धत् ! त्यस्तो नभन्नु पर्ने । मलाई पश्चताप भयो ।

“रिसाएकी ?”

मैले मुसुक्क हाँसेर यो एक शब्द उच्चारण गरें ।

“तपाँई त के के भन्नुहुन्छ । भैगो आज सोमबार, मलाई पनि कार्यालय जानु छैन । छुट्टी मिलाएकी छु । आज तपाँई घरै बस्नुस् । आराम गर्नुहोस् । कपडा  सफा गर्नु पनि धेरै छ, बरु अच्छा खालको साबुन लिएर आउनुहोस् ।”

उनले निन्याउरो मुहारलाई प्रभातकालीन उषाको मुहार झैं तेजिलो पार्दै ल्याइन् । मैले गिज्याउँदै भने, “तिमी त हाकिम्, सुकिलो मुकिलो बस्नै पर्ने, म सुकिलो नहुँदा तिमीलाई अलि कुरी कुरी भयो क्यारे ?” उनी केही बोलिनन् तर, मैले प्रष्ट देखेँ, खुलेर मुस्कुराएकी थिइन !

म सोचमग्न भएँ, तीज आउन केही दिनमात्र बाँकी छ । नारीहरुको ठूलो पर्व । चुरापोते सजाउनुपर्ने पसलमा,पुजा सामग्री मिलाउनुपर्ने । बाँकी रकम उठाउनुपर्ने-आदि आदि । सोच्दै जाँदा  मलाई केही छट्पटि पनि भयो तर, अन्त्यमा सोचेँ, स्वास्नीलाई रिझाउनुमा जस्तो सन्तुष्टि चुरापोते बेचेर पैसा समाउनुमा छैन !

उनी चुल्होनेर बसेपछि सोधेँ, “साबुन कस्तो ल्याउँ ? अस्ती ताकाको जस्तै ?”

उनले केही हाँसेर भनिन्, “छ्या ! पर्दैन पर्दैन त्यस्तो । बरु पसलेलाई सोधेर राम्रो धुलाई दिने साबुन ल्याउनुस् ।” मैले विगत बिचारेँ । अस्तिताका ल्याएको साबुन साँच्चै बेकामको थियो । त्यसको धुलाई दिने क्षमताको मूल्याङ्कन गर्दा त बिनामूल्य बाँड्दा पनि कसैले उपभोग नगर्ने । त्यसबखत कपडा धुलाई गर्दा स्वास्नी झण्डै झण्डै रोएकी थिइन्, क्रोधले हो वा पीडाले म यसै भन्न सक्दिनँ । त्यही साबुनको कारण हाम्रो हल्का विवाद पनि परेको थियो ।

“कती बेकामको साबुन ? आफ्नो जात जनाउन फिँजसम्म नकाड्ने ।” उनले मलाई हेरेर रुखो स्वरमा भनेकी थिइन् । मानौ त्यो साबुनको उत्पादक/निर्माता  खूद मै हुँ !

“किन रिसाएकी ? साबुन लिन तिमी नै जाँदी हौ त यही लिएर आउँथ्यौ होली ।” मैले हल्का प्रतिवाद गरेको थिएँ ।

“यस्तो नक्कली साबुन आँखामा पट्टी बाँधेर पनि चिन्न सक्छु ।” उनले साबुन चिनेर ल्याउन नसक्नु मेरो दोष भएको तर्क पेश गरेकी थिइन् ।

“उपभोग गर्न जाने सबै वस्तु असली हुन्छ, नजाने नक्कली ।” मैले दार्शनिक झैँ बनेर उनको तर्कलाई खण्डन गरेको थिएँ ।

“लौ आउनुस् । तपाँई जान्नेले उपभोग गरेर देखाउनुस् “- उनले मलाई केही चर्कै स्वरमा उर्दी दिएकी थिइन् ।

मैले सोचेँ, शायद उनको नाडीले साबुन दल्न नसकेरै साबुन फिँजदार नभएको हुनुपर्छ । म गएर जब साबुन कपडामा दल्न थालेँ, तब मलाई बोध भयो, साबुन त रोटी बेल्न भनेर मुछेको आँटाको पिठोको डल्लो भुसुक्कै बिर्सेर दुई दिनपछि हेर्दा जस्तो अवस्थामा हुन्छ, हो त्यस्तै छः बहुत कडा ! तर पनि स्वास्नीको अगाडि देखासिखी साबुन कपडामा दली नै रहेँ । साबुन घोटिएर सानो भैसक्यो, एउटा कपडाको पनि धुलाई राम्रो भएन । फिँज त आउँथ्यो तर, ज्यादा कम्, सुकी हाल्ने ! अन्त्यमा हात पनि दुख्यो,थाकेँ पनि । स्वास्नीको नजिकै बसेँ अनि उनलाई हरुवा चालामा पुलुक्क हेरेँ । उनी मुसुक्क हाँसेर मेरो नाकको प्वालबाट निस्केको फ्वाँ-फ्वाँ सासलाई हेरी रहेकी थिइन् । मैले केही भन्न सोचेकै थिइनँ तर, अनायसै मेरो मुखबाट दुई शब्द फुत्कियो “कस्तो साबुन ?”

“ए के सोची राख्नु भएको ? छिटो जानुस् त साबुन ल्याउन ।” स्वास्नीको आवाज मेरो कर्णविवरमा प्रतिध्वनित भएपछि मेरो सोच भङ्ग भयो । म लुरुलुरु केही परतिरको किराना पसलतिर लागेँ । मनमा एक किसिमको त्रास छँदै थियो । विगतकै साबुन फेला पारिए फेरि विवाद होला भन्ने । त्यसैकारण त्यस साबुनको बनौट, रङ्, वास्ना इत्यादि राम्ररी ख्याल गर्न खोज्दै थिएँ । तर, नाम ठम्याउन पटक्कै सकिनँ, त्यो साबुनको खोल थिएन ! त्यही साबुनको डल्लोमा नाम अस्पष्ट छापिएको थियो । अन्त्यमा समस्यामुक्त हुन मेरो मगजमा एउटा जुक्ति फुऱ्यो, खोल भएको साबुन खरिद गर्ने !

पसलनेर पुगेर सोधेँ,  “साबुन पाइन्छ ?”

“किराना पसलमा पनि साबुन नपाए पसलको जात गई हाल्छ निः, बरु भन्नुस् कस्तो किसिमको साबुन उपलब्ध गराउँ ?”

पसलेले खुब रसिक पारामा भन्यो जो अन्य ब्यापारीहरुले पनि भन्दछन् । म पनि भन्दछु । उस्ले फेरि भन्यो, “कपडा धुलाई गर्ने कि अन्य नै हजुर ?”

” कपडा धुलाईको खातिर ।” मैले छोटो उत्तर दिएँ ।

त्यसपछि पसलमा भएको साबुनको एक एक थान मेरा अघि थुप्रिनथाले । मानौ त्यो एक साबुन प्रदर्शनी हो । किसिम किसिमका साबुनहरु छन मेरा अघि । कुनै ड्ल्ला छन्, कुनै लाम्चा छन्, कुनै धुलो पाउडर छन्, कुनै खोलदार छन्, कुनै खोलविहीन । वास्ना पनि बेग्ला बेग्लै; कुनै परागरहित छन् ! मैले साबुनको थुप्रोबाट आँखा हटाएर पसलेलाई सोधेः “हैन मलाई त असल साबुन खरिद गर्नु छ, कुन हो असल ? चिनाइदिनु हुन्छ कि ?”

पसलेले भन्यो, “मेरो दृष्टिमा सबै असल, अब छानेर लानुस् ।”

यसो भन्दा उ थोरै खित्त हाँस्यो पनि ।

मैले सोचेँ, हो त निः मैले पनि पसलमा आउने सबैलाई पसलमा भएको सामान असल भनेर बेच्दछु । छानेर लाने काम त ग्राहकको हो । अब मैले साबुन एक एक गर्दै ओल्टाइ-पल्टाइ हेर्नथालेँ ।

पहिला एउटा साबुन आँखा छेउ ल्याएँ । त्यस्को खोल पहेँलो, रातो छिर्केमिर्के थियो । त्यस्को खोलमा लेखिएको थियो, उच्च गुणस्तरको धुलाई दिन्छ, कपडा मुलायम बनाउँछ, फेब्रिकको नजिकको साथी, मूल्य रु. १२ !

त्यो साबुनले मलाई उति आकर्षित गरेन । अस्तीताका मूल्य रु. १५ को साबुन उपभोग गर्दा त हैरान पारेको थियो ! विवाद उत्पन्न गरेको थियो ।

अर्को साबुन उठाएर हेरेँ । त्यस्को आकार लाम्चो लाम्चो थियो । त्यस्को पनि खोलमा विभिन्न किसिमको  दाग्, थरी थरीका गन्ध, मधुरो धुस्रे कपडालाई चम्किलो पार्ने औ वास्नादार बनाउने तर्क पेश गरेको थियो । त्यो खोलको तर्कमा घोत्लिँदा, साँच्चै हो त ? भन्ने भाव मनमा उत्पन्न हुन्थ्यो, सल्बलाउँथ्यो । त्यो साबुनमा पनि म उति आकर्षित भइनँ । त्यो साबुनलाई पनि पहिलाको साबुनको नातेदारको दर्जामा राखेर हेरेँ ।

तेस्रो पल्ट प्याकेटमा भएको धुलो साबुन उठाएर हेरेँ । त्यस्को पनि खोल निकै झिलिमिलि थियो । खोलमा चमकदार  कपडाहरु छपिएका थिए । अरु के के किरिङ्गमिरिङ पनि छापिएको थियो । त्यस्लाई त्यति वास्ता गरिनँ,  म लागें खोलमा छापिएका विज्ञापन पढ्न । त्यो साबुनको प्रयोग गरेमा मैलो सरक्कै जान्छ रे ! ग्लास पखालेजस्तो । दाग पनि पालात-पुलुत हुन्छ रे । धुलाई गरेदेखि दुई दिनसम्म वास्ना मगमग आउँछ रे- घण्टैपिच्छे अत्तर छर्केझैँ । अरु साबुनको तुलनामा यो साबुनले ८५ प्रतिश्त ज्यादा धुलाई दिन्छ रे- आदि आदि ।

यो साबुनमा किन किन मेरो दिल बस्यो, मलाई आकर्षित गर्‍यो । तर म दोधारमा परेँ, स्वास्नीलाई धुलो पाउडर साबुन बेस्ट लाग्छ लाग्दैन ? स्वास्नीसँग घरायसी कुरोमा सहकार्य गर्न त निकै कठिन पो छ त ! अलिकती तलमाथि भए विवाद ! मलाई स्वास्नी डाकौं कि जस्तो लाग्दै थियो उनी आफै टुप्लुक्क आइपुगेर भनिन्, ” नुहाउने र भाँडा-बर्तन माझ्ने साबुन पनि लानुपर्‍यो ।”

मैले छानेको धुलो पाउडर साबुन उनलाई देखाउँदै भनेँ, “लौ हेर यो केही स्तरीय साबुन जस्तो छ ।”

मेरो हातबाट पाउडर साबुन उनको हातमा लगिन्, नियालेर हेरिन् अनि भनिन्, “होइन डल्लो साबुन नै फारो हुन्छ, डल्लो नै लैजाउँ !”

म हच्किएँ,त्यसपछि जाँचेर असल साबुन खरिद गर्ने जिम्मा उसैलाई छाडिदिएँ । त्यो मैले दोस्रो पटक हेरेको साबुन उनलाई असल लाग्यो क्यारे, त्यही रोजिन् । अब स्वास्नी, नुहाउने साबुन रोज्न थालिन् । पसलेले पसलमा भएको नुहाउने साबुनहरुको एक एक प्रति हाम्रो अघि थुपार्न थाल्यो । कुनै लिरिल्, कुनै डिटोल्, कुनै लाईफ बोय्, कुनै लक्स र अरू थुप्रै ! आ-आफ्नो सुरभित भएका, आ-आफ्नो विशेषता भएका । प्रत्येकको खोलमा लोभलाग्दा शब्दहरु छापिएका थिए । कुनैमा ताजा शरीर प्राप्त हुन्छ-लेखिएको थियो, कुनैमा सुन्दरता दिन्छ, कुनैमा शरीरको किटाणु निर्मुल गर्छ, कुनैमा के पनि लेखिएको थियो भने शरीरको गन्ध हराएर जान्छ रे ! जुन हेऱ्यो त्यही किनुँ लाग्ने साबुनका बखान । नटुङ्गिने द्रौपदीको साडी जस्तो। खोलमा कतै बलिया पाखुरा भएको मानवजस्तै आकृति भएको साबुनले किटाणुहरुलाई दनक दिँदै लखेटिरहेका चित्रहरु थिए, कुनैमा छुँदासमेत मैलो लाग्लाजस्तो देखिने सुकोमल सुन्दरीहरुको अर्धनग्न चित्रहरु थिए, कुनैमा बलिष्ठ शरीर भएका सुकुमार तन्नेरीहरुका चित्र थिए । हेरी साध्यै थिएन !

स्वास्नीले भनिन्, “यो लैजाउँ क्यारे ?”

हेरेको त्यो मैले अघि पढेको सुन्दरताकाे खातिर खोलमा लेखिएको साबुन रहेछ  ! नाम लक्स हुनुपर्छ त्यो साबुनको- परागदार ! मैले सोचेँ, विचरीलाई सुन्दर छालाको कति रहर होला ? हुन त मैले पनि उनको शुशिल व्यवहारपछि पोटिला गाला र चिल्लो छालामा आकर्षित भएर ‘आई लभ यू’ भनेको हुँ । सधैं त्यस्तै सुन्दर छाला भइदिए मलाई पनि खुशी नै लाग्नेछ । त्यसो त स्वास्नीलाई सुन्दर बनाउने र बन्न प्रेरित गर्ने कर्तव्य पतिको पनि त हो । ‘सुन्दरी स्वास्नी जोगाउन गाह्रो’ भन्छन् तर, त्यो म मान्दिनँ । स्वानी मेरो मञ्जुरीको प्रतीक्षामा थिइन । हुन्छ भनिदिएँ । उनी खुशी भइन् । छानेका साबुनहरु पसलेले कालो पोलिथिनको झोलामा हालिदिए !

जब धुलाई गरेका कपडाहरु सुक्दै गए, तब मलाई हाँसो र वितृष्णा साबुनप्रति एक साथ बढ्दै गयो । साबुनको खोलमा भनिएजस्तो दाग पटक्कै सफा भएको थिएन ! साबुन प्रयोग गरेर एकपटक रगड्दा सम्पूर्ण दागहरु सफा हुने तर्क साबुनको खोलमा लेखिएको थियो ! तर, स्वास्नीले सयौं पटक रगडेकी थिइन्- र मैले पनि उसै गरी सयौं पटक रगडेको थिएँ । यसो भन्दा साबुनलाई अलिक मार पर्छ क्यारे, यति चाहिं भनी दिउँ, कपडा केही सफा चाहिं भएकै थियो ।

भित्रबाट स्वास्नी कराइन्, “यहाँ आउनुस् त ।”

उनको स्वरमा केही उमङ्ग मिश्रित भाव प्रतिध्वनित भएको मलाई आभाष भयो । जब म भित्र प्रवेश गरेँ, स्वास्नीले माझिएको भाँडा बर्तनहरुलाई देखाउँदै मलाई भनिन्, “हेर्नुस त कस्तो चम्क्यो ?”

मैले भाँडा-बर्तनलाई ओल्टाइ-पल्टाइ हेरेँ । त्यो खरानी पानीले मस्काएको भन्दा फरक थिएन । जुठेल्नोको डिलमा साबुनको खोल रहेको थियो । त्यो खोलमा जती चमकदार भाँडा-बर्तन देखाइएका थिए, त्यस्को अगाडि त्यही साबुन प्रयोग गरेर मस्काइएका भाँडा-बर्तन फिका देखिन्थे ।

भोलिपल्ट सबेरै उनी स्नान गरेर कार्यालयको निम्ति तयार हुँदैथिइन् । उनको शरीरमा उमङ्गले भरिएझैं लाग्दथ्यो । सर्लक्क कपाल पछाडि फर्काएर घरी मलाई हेर्थिन्, घरी ऐनामा हेर्थिन् । केटा हेर्न आउँदा जुन व्यवहार केटीले गर्छन्, उस्तै उस्तै लाग्ने । केही क्षणपछि उनले सोधिन्, “कस्तो देखियो ?”

मैले भने, “धेरै राम्री ।”

उनी दङ्ग परिन् र भनिन्, “हेर्नु त छाला निकै नरम पार्दो रहेछ ।”

मैले उनको हात यसो तानेर हेरेँ, त्यो हातमा उस्तै स्पर्श पाएँ जो म हरेक दिन रोमाण्टिक मुडमा उनलाई समाएर छेउमा बसाउँदा पाउँथेँ । खासै कुनै परिवर्तन थिएन । र, पनि भनि दिएँ, “निकै नरम भएछ ।”

उनी खुशी भइन् तर, मलाई दु:ख लाग्यो । किनकि म उनलाई झूटो बोल्दै थिएँ । नौलोपन भनेको यति चाहिं पाएँ, उनको शरीरमा साबुनको मन्द पराग भने सयर थियो ।

म पुराना दिनहरू सम्झन्छु । त्यो बेला असली साबुन हुन्थे । न यस्तो गर्छ, उस्तो गर्छ भनेर खोलमा हल्ला गरेको हुन्थ्यो, न त कुनै प्रचारबाजी नै । सानो गोललाइ बीचमा काटेर दुई फ्याक पार्दा देखिने आधा भागजस्तो आकारको साबुन हुन्थ्यो । आमाले यो धोबी साबुन हो भन्नुहुन्थ्यो । निकै राम्रो धुलाई दिने । अर्को काबुल भन्थे खूब परागदार । मलाई लाग्छ यी राम्रा साबुनहरु हल्ला, प्रचार गर्न नसकेरै ओझेल परेका हुन् । अथवा हल्ला गर्ने साबुनहरूले छोपेको हो ।

मलाई अब के बोध भयो भने मानवनिर्मित बस्तु जे जति छन् भुगोलमा, ती सबलाई साबुनसँग तुलना गर्दा फरक पर्दैन । सबै वस्तुले उस्को बखान गरेजस्तो पटक्कै काम गर्दैन । बनिएका वस्तुहरुको यो चाल भएपछि बनाउने मानवमा यो कुरा लागू हुने नै भई गयो । जसरी कमसल साबुनले हल्ला गरेर बजार ओगट्छ र स्तरीय साबुनलाई पाखा लगाउँछ, त्यसै गरी साधारण मानवले आफ्नो प्रचार गरेर प्रतिभावानहरुलाई ओझेल पारेको देखेकै छौं । कला, साहित्य, मनोरञ्जन, विभिन्न पेशा सबैतिर हल्ला गर्नेले राज गरेका छन्; काम नगर्ने साबुनले जस्तै । होः केही प्रबुद्ध व्यक्तिहरू पनि छन्, कुनै क्षेत्रमा तर धोबी साबुनजस्तै ओझेल परेका छन् !

“के टोलाई रहनु भएको ? म निस्केँ, तपाँई पनि पसलतिर लाग्ने होला हैन ?”  स्वास्नीले ढोकातिर निस्कँदै भनिन् ।

” हो हो ।” मैले छोटो उत्तर दिएँ ।

एक पटक फेरी हेगेल झैँ घोरिएँ । नक्कली साबुनले असली साबुनलाई जसरी ओझेल पारिदिन्छ, साधारणले विलक्षण प्रतिभाहरुलाई ओझेल पारिदिन्छ हल्ला गरेर । कति दुःखद ?

एक क्षणपछि मलाई उति दुःख लागेन । सोचेँ, म पनि यस्तो ताइ न तुइका कुराहरु लेख्दै हल्ला गर्दै हिँडे कसो कथाकार नबनुँला ? मन मनै आफैं धेरै लजाएँ, थोरै गुद्गुदिएँ ।

रचना-२००८

Leave a Reply

Your email address will not be published. Required fields are marked *