सामिप्यता र बिछोड
जगेन गौतम
पेन स्टेट, अमेरिका
मनभित्रको चोटलाई सुम्सुम्याउँदै
हर क्षण रहरहरुलाई आत्मियतामा बदलेर
केवल रहरमा नै उभ्याएको छु ।
रहरमा नै उभिएका रहरहरुले कहिले काहीं
चोट बनेर सताउने गर्छन्,
म निश्चिन्त मनको धड्कन
अनि त्यसको कम्पनलाई प्यारमा बदलेर
सबै भुल्ने प्रयास गर्छु !
तर अहँ,
भुल्नै सक्दिनँ ।
मेरो मुटुको धड्कन र त्यसको कम्पनको सामिप्यता
यतिसम्म नजिक हुन्छ कि,
म चोटलाई प्यारमा बदलेर पनि
त्यो सामिप्यता भङ्ग गर्न सक्दिनँ ।
हुन त त्यो सामिप्यता पनि
हाम्रो मिलन झैं होला कि
जसरी हामीलाई छुट्न धेरै गाह्रो परेको थियो,
शायद त्यो धड्कनलाई पनि
कम्पनको सामिप्यताबाट
टाढा हुन गाह्रो पर्छ जस्तो लाग्छ !
त्यसैले,
बरु आफू चोट शहन सक्छु तर,
कसैको सामिप्यता भङ्ग गर्न सक्दिनँ ।
मलाई लाग्छ,
त्यो सामिप्यता भङ्ग गर्दा त्यो धड्कनलाई
बाँच्न गाह्रो पर्छ होला,
जसरी,
म भुतलाई सम्झेर बर्तमानमा
तिमी बिना बाचेको छु ।