साहित्यमा नवीनताको खोजी-२
रमेश गौतम
नर्वे
[दुई वर्ष अघि भूटानी कोपिला ( अङ्क: १०; वर्ष: २००८) मा प्रकाशित यो लेख केही संशोधनसहित यहाँ प्रकाशित गरिएको छ- सं.]
गताङ्कबाट क्रमश:…………
सन्दर्भ : हाम्रोसाहित्य
हाम्रो साहित्यलाई मूलत: नेपाली साहित्यले मार्गनिर्देश गरेको छ । नेपाली साहित्यको विकासक्रमलाई नियाल्दा “मोती मण्डली” (वि.सं. १९३८) को घोषणादेखि “लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मंच” (वि.सं. २०६२) सम्म आइपुग्दा ठीक दुई दर्जन साहित्यिक आन्दोलनहरुले जन्म पाएका छन् । यी आन्दोलनहरुमा धेरैले विचारका ज्वारभाटा बोकेका छन्, सबैले वैचारिक धरातलको स्पष्ट खाका कोर्न चाहेका छन् । त्यसो त सबै आन्दोलनहरुले असहमति र विद्रोहको स्वर बोकेका हुन्छन्। यी सबै आन्दोलनहरुमा मुख्यतया नवीन अस्तित्वको खोजी र परम्पराबाट विचलन भेटिन्छन। यिनै आन्दोलनमार्फत भूगोलले निर्माण गरेका सीमनाहरु भत्काइएका छन्, साहित्यले बहन गरिआएका परम्परागत मूल्य-मान्यताहरु तोडिएका छन् र साहित्यको रुढ परिभाषालाई बदल्ने काम भएका छन् र यसरी नेपाली साहित्य नवीनहरुबाट निर्देशित हुँदैछ। नेपाली साहित्य समावेशी हुने प्रयत्न गर्दैछ । मोफसलका स्वरहरु प्रगाढ रुपमा सुनिँदैछन् । मूलधार नेपाली साहित्य आप्रबासी चेतनालाई प्रमुखता दिँदैछ। इतिहासले भुलेका, समयले अन्याय गरेका, समाजले पाखा लगाएका, पुरातन सामाजिक रुढिवादले शिकार बनाएका, सीमान्तीकृत आदि सबैलाई समेट्दै नेपाली साहित्य सागर निश्चित गन्तव्यको खोजीमा केन्द्रित छ । यस अवस्थाबाट हामीले अध्ययन गर्नु पर्ने पाटो मूल्यांकनहीन छ। यस तर्फको जागरुक यात्रा आजको अवश्यकता हो।
वर्तमान अवस्थामा नेपाली साहित्य सिक्किम, दार्जीलिंग हुँदै यसको केन्द्र काठमाडौँबाट पुन: विकेन्द्रित हुँदैछ । केही पुस्तकाकारहरु हामी माझबाट प्रकाशित भए पनि आफ्नो उपस्थितिको स्पष्ट आयाम यी कृतिहरुले निर्माण गर्न सकेका छैनन्। हाम्रो सृजनाको व्योम विस्तारित बन्न सकेको छैन। पीडाले आहत अनुभूतिहरु उजागर गर्न व्यस्त छौँ हामी । हो मानव सभ्यताविपरित हामीमा लादिएको निशपट्टता आफैँमा एउटा प्रतिकूल समय बिम्ब हो तथापि यो दर्द उद्बोधनसंगै समानान्तर रुपमा परिवेशलाई मूल्यांकन गर्दै शैलीगत, वैचारिक, विषयगत, समयसन्दर्भ केन्द्रित विविधताउन्मुख लेखनलाई प्रश्रय दिनु युगको माग हो। लेखकको मृत्यु को घोषणा भएयता माई नदीमा धेरै पनि बगिसक्यो तर हामी भने अझै आत्मसन्तुष्टिको निम्ति लेखनलाई औजार बनाइरहेका छौ, परिस्थितिको शिकार भइरहेका छौँ। यतिले मात्र आजको युग अनि पाठकको मागलाई सम्बोधन गर्न सक्तैन; निश्चित रुपमा ज्ञान, विचार र सोचले भरिपूर्ण साहित्य उत्पादन आजको आवश्यकता हो।
आजको हाम्रो अवस्था झनै परिवर्तित अवस्था हो। हामी संसारका विभिन्न ठाउँमा छरिएर रहेका छौ आज। हाम्रा अगाडी विभिन्न अवसर छन् र त्यति नै चुनौती पनि छन्। माथि उल्लेख गरिएको साइबर संस्कारसंग कतिपय हामी धेरै नजिक छौँ। अब हामी सिकाइको चरणलाई विश्व स्तरबाट हेर्न सक्छौँ/ मूल्यांकन गर्न सक्छौँ। यस अवसरको फाइदा उठाउने बेला पनि यही हो।
आज संसार सानो भएको छ। संसारको जुनसुकै भागमा भएको/घटेको कुरा एक वा त अर्को प्रकारले हाम्रासामु आइपुग्छ। यस्ता घटनाक्रमहरुबाट अब हामी अछुतो रहेर भाग्न सक्दैनौ। यो समय सबैका कुरा सुन्ने समय हो। सबै प्रकारका कुराहरु अनुभव गर्ने समय हो। अबको युगमा बाँच्ने हामीहरुले मानस र सुनकोशका गुञ्जन मात्र समेट्छु भन्नु हुँदैन। जाङ्कारपुन्छुमको सुन्दरताले मात्र रोमाञ्चित हुन्छु भन्नु हुँदैन। जीवनलाई एउटा सूत्रले मात्र परिभाषित गर्न खोज्नु हुँदैन; जीवनका अनेकन रुपलाई ग्रहण गर्नु पर्दछ। स्वदेशी नासपाती मात्र खान्छु, विदेशी स्वाउ चाहिँदैन भन्नु हुँदैन। सबै कुरा चाख्ने र असल कुरा ग्रहण गर्ने बानी बसाल्नु पर्छ । आफ्नो अस्तित्वको कुरा गरिरहँदा अर्काको अस्तित्वलाई समल रुपमा सम्मान गर्न सक्नुपर्छ। यसो गर्न सकिएन भने हामीलाई सङ्कुचित मानसिकताले थिच्छ र अतिवादी बनाउँछ। आजको मानव अस्तित्व भनेको विविध अस्तित्वहरुको समष्टि रुप हो । आजको साहित्य कला, संगीत, दर्शन वा संस्कृतिको समष्टिगत रुप हो । आजको वैश्विक संस्कृति एउटा ठिमाहा संस्कृति हो। यही ठिमाहापनभित्र आफ्नोपन नियाल्दै खुशी हुन सिक्नुपर्दछ। आज जीवनशैली, लवज, रहनसहन, दर्शन आदिमा स्पष्ट नयाँपन खोजिरहेछ मान्छे। तिनै नयाँपनहरुलाई आत्मीयतापूर्वक स्वीकार्न सक्नुपर्छ। अरुको अस्तित्वलाई आदर गर्न नसक्ता आफ्नो अस्तित्व सङ्कटमा पर्छ भन्ने सत्यको पुष्टि वर्तमान नेपाली राजनीतिले गरिसकेको छ। यसबाट सिक्न खोज्नु पर्दछ ।
हामी सिकाइको चरणमा छौँ। त्यसैले सबैबाट सिक्नु पर्दछ । एकान्त वनमा बसेर चराहरुको कलरव सुन्दै गीत सुनिरहेकोछु भन्ने भ्रम पाल्ने समय हामीबाट क्रमश: ओझेल पर्दैछ। हामी विभाजित छौँ; हाम्रो अस्तित्व विभाजित छ। हिजो वास्तविकतामा अधिक कल्पना मुसिन्थ्यो। आज नचाहेर पनि कल्पनामा पनि वास्तविकताको खोजी हुन थालेको छ। त्यसैले साहित्यको वर्तमान गतिधरालाई राम्ररी बुझ्नु पर्दछ। अरुले गरेको कुरा हेर्नु पर्दछ र राम्रा कुराहरु ग्रहण गर्नु पर्दछ। यसो भयो भने जहाँ पनि हामी आफ्नो उपस्थितिको संकेत दिन सक्छौँ। हाम्रो उपस्थिति अर्थपूर्ण पनि हुन्छ। यसका निम्ति गहन अध्ययनको खाँचो। ‘मनमा जे आयो, त्यही लेखिदिएँ’ भनेर लेखनमा विश्वास गर्ने ले आजको जिम्मेवारीबाट भाग्न पाइँदैन।
आज हामीबाट स्तरीय लेखन हुन नसक्नुको प्रमुख कारण नै अध्ययनको अभाव हो; अध्ययन गर्ने बानी नहुनु हो। यसले हामीलाई थाहै नपाई अन्धतातर्फ धकेलिरहेको हुन्छ। लेखकले आफ्नो तेश्रो नयनले भौतिकताको तेश्रो आयामकोसमेत अध्ययन गर्न सक्नु पर्दछ। हाम्रा अधिकांश कृतिहरुको प्रकाशन छिटो भयो जस्तो लाग्छ। विधागत ज्ञानको दारुणतामै धेरै कृतिहरु प्रकाशित भएका छन्। छिटो साहित्यकार हुने सपनाबाट हामी मुक्त हुनुपर्छ। यसले स्तरीय कृति प्रकाशनमा ठूलो सहयोग गर्छ।
माथि उल्लेखित सन्दर्भहरुलाई समयको सपेक्षताभित्र मूल्यांकन गरिएको छ। यिनीहरु छिटै परिवर्तन हुन सक्छन्। समयको गति नियाल्दै हामीले पनि आफूलाई पनि परिवर्तनशील राख्नु पर्दछ। साहित्य सिर्जना वैचारिक र गहन चीज भएकाले हामी पनि अतिनै सूक्ष्मग्राही हुनुपर्दछ। लेखकले अध्ययनशील हुनुपर्दछ। आज कसैको व्यक्तिगत निजी जीवन भोगाइले भावुक हुन कसैलाई फुर्सद छैन। त्यसैले लेखनमा साझा सवालहरुलाई पहिलो प्रमुखता दिनुपर्दछ। नेपाली साहित्य विश्व साहित्यभित्र आफ्नो ठाउँ खोज्दै छ। नेपाली साहित्यमा विश्व स्तरका कृतिहरु प्रकाशित हुन थालेका छन् । ती कृतिहरु पढ्नु पर्दछ। आज हामी संसारका असीमित पुस्तकालयहरुसंग पनि नजिक छौँ। विश्व साहित्यका त्यस्ता अनेकन पुस्तक पढ्नु पर्दछ। हामीलाई सन्दर्भ बनाएर लेख, कृतिहरु स्तरीय ठहर्दै छन्; प्रत्यक्ष रुपमा कथा निर्माण गर्ने हामीमा त्यही स्तरीयता आउनुपर्छ । सबैको इमान्दार प्रयासले कमसेकम नेपाली साहित्यको मूलधारभित्र हाम्रो स्थान सुरक्षित होओस्, कामना गरौँ।
समाप्त
सन्दर्भ स्रोतहरु:
१. भट्टराई डा. गोनिन्दराज, उत्तरआधुनिक ऐना, रत्न पुस्तक भण्डार, काठमाडौँ
२. Ruland, Richard and Bradbury, Malcolm, From Puritanism to Postmodernism, Penguin Books
३. www.worldliterature.com
४. www.wikipedia.org
५. गरिमा, साहित्यिक मासिक (विभिन्न अङ्क) साझा प्रकाशन, काठमाडौँ
६. समकालीन साहित्य, साहित्यिक त्रैमासिक (विभिन्न अङ्क), नेराप्रप, काठमाडौँ
७. Daiches, David, A Critical History of English Literature, Allied Publishers Private Limited
८. भूटानी कोपिला, वार्षिक मुखपत्र (विभिन्न अङ्क) नेपाली साहित्य परिषद, भूटान