साहित्य के हो ?
नैनसिंह सारू मगर
न्यू योर्क, अमेरिका
बिजुवाले खाल्टोभित्र सेहेंलाई
बोलाएर, फकाएर, घचेटेर, मुन्ट्याएर, घोक्र्याएर
के-के दिएर च्वा, गरे जस्तो होइन ।
बसभित्र खलासीले भाडा
मन नपरेकालाई उठाउने
मन परेकालाई नउठाउने
कसैलाई बेसी कसैलाई कम्ती
उठाए जस्तो होइन ।
युवतीलाई देखेर बस चालकले
कान्छी राईनीको दोकानबाट
बस भीरबाट हुईक्याए जस्तो होइन ।
पण्डितले औँला गन्दै सप्ताह सके जस्तो
चढाएका भेटी सहित लिएर
घरभित्र लगेर गने जस्तो होइन ।
खेलाडीले पोष्टभित्र स्वात्तै भकुण्डो छिराउँदा
दर्शकहरू झ्याउँ-झ्याउॅ कराएर
ग्राउण्डमा उफ्रे जस्तो होइन ।
गोसवालाले राँगो, खसी, सुँगुर, काटेर
घ्याम्पाबाट पिपाले निगार ताने जस्तो होइन ।
नेताले भाषण गरेर
गायकले गाएर
नायकले नाचेर
जादुगरले जादु देखाएर
तातो घाममा सेकाए जस्तो
घरभित्रै गुम्स्याएर राखे जस्तो होइन ।
पैसावालाले जति नै अपराध गरे पनि नदेखे जस्तो
जुरे गोरुले बैंशा देखाएर आली खने जस्तो
नातागोता मिलेर देश चलाए जस्तो
भाषा र जात ठुला साना भने जस्तो होइन ।
साहित्य भनेको कमिलो हो
जहाँ जुनै ठाउँमा पनि पुगेकै हुन्छ अरू प्राणी भन्दा ।
साहित्य भनेको मैन बत्ती हो
जस्तो परिस्थितिमा पनि
आफू जलेर अरूलाई प्रकाश दिइरहन्छ ।
एकै ठाउँमा बसेर दुनियाँलाई उज्यालोमा अन्धकारमा
मोह, डाह, ईर्ष्या, लोभ नगरिकन
सबै सबैलाई सम्मान गरिरहन्छ
त्यही हो साहित्य !
त्यही हो साहित्य !!
त्यही हो साहित्य !!!