साहित्य नै लेख्ने हो त?

भक्त घिमिरे
अमेरिका

साँच्चै हो त ! तिमी साहित्य नै लेख्ने हो?
यदि तिमी साहित्य नै लेख्छौ भने
दरबार, सुन्दरी र सपनाको राजकुमार,
सुनकेशी रानी र
जादूगर ड्राकुलाको दन्ते कथा होइन
नक्कली बाग-बगैंचा र फूलको,
आकाश र जूनको कथा पनि होइन,
जीवनको उद्देश्यमा मृत्युसित जुवारी खेल्ने,
न्यायका निम्ति चुनौती मोल्ने,
व्यथा र हारहरूका सामु नपग्लिने,
यमदूतहरूलाई युद्धमैदानबाट
रित्तो हात फर्काउनेहरूको गाथा लेख,
जहाँ मनववताविरुद्ध धावा बोलिन्छ,
जहाँ खुलेआम दासता झल्किन्छ,
त्यहाँ विद्रोह बोल्ने वीरहरूको गाथा लेख ।
साहित्य जीवन हो, शोषण होइन,
साहित्य दर्पण हो, खण्डहर गुफा होइन,
त्यसैले तिमी पिञ्जडा बनाउनेको भन्दा
पिञ्जडाको ढोका खोल्नेहरूको कथा लेख ।

हो ! अब त्यो साहित्य लेखिनैपर्छ
तर,
त्यो साहित्य मनलहरीको गीत होइन
मान्छे-मुटुको धड्कन छुने हुनुपर्छ
भएकाभन्दा बढी हुने र हुनुपर्ने,
अघाएकाले भोकाहरूलाई दिनुपर्ने
त्यो साहित्य अब लेखिनै पर्छ ।
‘देश’ नामको भूगोलभित्र
भावनात्मक अन्तरंगले कोरिएका
नश्ल-हैसियतका सीमाहरू
तोड्नसक्ने साहित्य लेखिनुपर्छ,
हो, अब धेरै ‘वाद’हरूको बजारमा
नयाँ ‘मान्छेवाद’ जन्माउने
नयाँ एउटा साहित्य लेखिनुपर्छ,
हो, अब त्यो साहित्य लेखिनै पर्छ ।
आकाशमा मडारिएको बादल झैं
दर्कने पानीका थोपाहरू झैं
आकाश चिरेर चम्किने बिजुलीजस्तै
दासताका साङ्लीहरू टुक्य्राउने
महासंकल्पको साहित्य अब लेखिनुपर्छ
हो, अब त्यो साहित्य त लेखिनै पर्छ ।
साहित्य एक प्रस्थानविन्दु
युद्धोन्मुख शैलीको, छापामार छन्दहरूको
शोषणहरू समाप्त पार्ने
एउटा नमूना प्रस्तुत गर्नैपर्छ
हो, अब त्यो साहित्य लेखिनै पर्छ ।
निर्वाध उड्ने चराहरू,
अबोध बालक र हली–गोठालाहरू
हातेमालो गरी क्रमबद्ध
उभिएको नारी जमात,
दमित-पीडित मान्छेहरू
खित्का छोडेर हाँस्नसक्ने
एउटा नयाँ बिहानी ल्याउन
त्यो साहित्य अब त लेखिनै पर्छ ।

मरेकाहरूको विलौना साहित्य,
स्वर्गको परिकल्पना साहित्य,
मात्रा र छन्दको साहित्य,
शब्द र वर्णविन्यासको साहित्य,
शासक सर्काउने ‘नूनलौरे’ गीतको साहित्य,
नाइकेहरूको पूजा र आरतीको साहित्य कदापि होइन,
अब त्यो साहित्य लेखिनुपर्छ,
जहाँ सजीवता बोल्छ,
जहाँ स्वच्छ मानवताको धड्कन चल्छ ।
पहाड, नदी र पुतलीहरूको होइन यहाँ,
पहिले मान्छेहरूकै साहित्य लेखिनु पर्छ ।
कुरूपताको भग्नावशेष जलाउन
निर्ममताको हद् तोक्न
अजंगको आवाज दिने
एउटा साहित्य चाँडै लेखिनु पर्छ,
निर्विवाद अब चेतनाको कुटो र गैंती
अर्जाप्ने साहित्य लेखिनु पर्छ,
हो, त्यो साहित्य अब लेखिनै पर्छ ।
कठोरताको चट्टान फोर्न,
नयाँ रंगले इतिहास कोर्न,
निरंकुश त्यो सञ्जाल तोड्न
अब,
पुल्ठो बाल्ने साहित्य लेखिनुपर्छ
त्यसैले अब यहाँ
सुनका गहनाको होइन,
लोहाको साहित्य लेखिनु पर्छ,
सानो मुटुको होइन अब,
विशाल हृदयको साहित्य लेखिनु पर्छ ।
हो, अब ‘गरीब’ र ‘श्रमिक’ नामका
सजीव देवताहरूको साहित्य लेखिनु पर्छ,
जतासुकै लेखिनु पर्छ, सधैं–सधैं लेखिनु पर्छ ।
स्वतन्त्रताको स्वच्छन्द अनुभूतिमा
उन्मुक्त सास फेर्न पाउने,
साहित्य अब झट्ट लेखिनु पर्छ,
हो, त्यो साहित्य त लेखिनै पर्छ !
के, तिमी साँच्चै साहित्य नै लेख्ने हो त?

5 Replies to “साहित्य नै लेख्ने हो त?”

  1. TP Mishra

    भक्त दाई,
    म तपाईको यो बिचारमा चै बिल्कुल सहमत छु है..! भनिन्छ “साहित्य आफैँमा बोल्छ”…!

  2. Prakash Dhamala

    साच्चैं भक्त भेनाले भन्नु भए जस्तै साहित्य त दमित विचार र सोसित अनुहारको पो लेखिनु पर्छ/ भावना र सुन्दरी को बर्णन मात्र पनि समय र युग सम्मत नहुन सक्छ /इतिहास जले जस्तै हाम्रो साहित्य पनि जल्न सक्छ यदि हामीले सोसित विचारलाइ काल्पनिक मोह मा सिमित गरेउ भने / कविता सुन्दर लग्यो ….. पुन एक चोटी मेरो अनुरोध एउटा निबंदा को pranav mukharji ko Demographic imbalance ra saranathi ko swadesh firti……

  3. Maya

    हो नि, साहित्य त त्यस्तै लेख्ने हो। तर, जान्नु पनि पर्यो नि, तपाईंले मात्र जानेर अरुलाई पुग्छ र ? हाम्रो समाज कस्तो छ तपाईंलाई थाहा छँदैछ । अत्यन्त सानो संख्यामा आफ्नो भाषा लेख्न, पढ्न जान्ने, नेपाली बोल्नमात्र जान्ने, बोल्न पनि शुद्ध गरी नजान्ने र जानेर पनि दूरदूर गर्नेहरूको जमातमा दबिएर कतिजनाले साहित्यको जगेर्ना गर्ने हो कुन्नि? तथापि, प्रयास तपाईंहरूको प्रशंसनीय छ, अगाडि बढ्दे जानुभए हौसला र तालीको समर्थन भने हाम्रो तर्फबाट पनि हुनेछ। धन्यवाद

  4. Jogen G.

    Dear Bhaktaji,
    You are becoming our ‘Aasu Kabi’. You are so powerful in your words as well as feelings. You are genuinely original. I liked most of the stanzas. But I enjoyed these lines most:
    कठोरताको चट्टान फोर्न,
    नयाँ रंगले इतिहास कोर्न,
    निरंकुश त्यो सञ्जाल तोड्न
    अब,
    पुल्ठो बाल्ने साहित्य लेखिनुपर्छ

    Keep up the great work.
    Jogen

  5. Govinda

    भक्तजी शुभकामना
    कलममा बारुज् भरेर लेख्नुहोस्
    रिश्को पानामा बद्लाको आफिम छरेर
    चट्टान जस्तो शत्रु को तालु
    फोउर्न सास उमार्न सक्ने
    उत्तम जमर्को उमार्नु भएछ
    फर्काइ फर्काइ फकाइ फुलाई सबै दिशा छेकेर
    समाज को बैतर्निको लागि
    अमर साहित्य लेख्नुहोस्
    भविस्ये मा बर्तमन दोहोरिने सम्भावना रोक्न
    कलममा बारुज् भरेर लेख्नुहोस्

    समय भन्दा अघी बढेर
    मार्ग् दिशा दिनुहोस्
    प्रक्रिती को नियाम राख्न
    अन्यायको बोसो झार्न
    साहित्य को निम्ती बलिदान दिनु परेपछी
    कुलाकङ्री बेजिङ सरेपनी सरोस
    सुन्कोश गंगामा झरेपनी झरोस
    समाज को ऐना भन्नुस् या बिनास को बैना
    सङ्गिन को चाडमा कलमको आढमा
    दानबको टाउको मा टेक्नुहोस्
    भविस्ये मा बर्तमन दोहोरिने सम्भावना छेक्न
    कलममा बारुज् भरेर लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *