साहित्य परिषद्को आसन्न सम्मेलन र यसले तय गर्नुपर्ने यात्रा

लेखक
लेखक

गङ्गा लामिटारे
ओहायो, अमेरिका 

पुनर्बासका दसैँ वर्षमा शिक्षा,चेतना र आर्थिक समृद्धिका क्षेत्रमा हामीले जुन उच्चाइ हासिल गर्दै छौ त्यसलाई उत्साहजनक मान्नै पर्छ । तर यस उत्साह र संमृद्धिसँगै हामीले बिर्सनै नहुने भनेको भाषा हो । समृद्धिले केही क्षणका लागि सुख त दिएला तर शान्ति, सन्तुष्टि र स्वाभिमान कहिले पनि दिन सक्दैन । यसमा दुई मत हुनै सक्दैन । भाषा जातीय पहिचानको महत्त्वपूर्ण कडी हो । मान, सम्मान र अभिमान हो हाम्रो भाषा । जब भाषा नै रहेन भने हाम्रो साहित्य कसरी फष्टाउछ ? साहित्य नै रहेन भने हाम्रो स्वाभिमान कसरी बाँच्न सक्छ ? समृद्धिको होडबाजीमा होमिएर कतै आत्मसम्मानै दाउमा लगाइरहेका त छैनौँ? गम्भीर भएर सोच्ने समय आएको छ ! विना स्वाभिमान समृद्धिको कुनै अर्थ हुँदैन ! यदि त्यसो होइन भने किन हाम्रा बच्चाहरूले नेपाली बोल्नबिर्सिदै छन् ? पुनर्बासकै १० वर्षमा १० वर्षमुनिका बच्चाहरूले नेपाली भाषा बिर्सिए भने तिनीहरूका छोरा-छोरी र नाता-नातिनीहरूको पहिचान र स्वाभिमान के होला ? नेपाली लेख्न-पढ्न नजान्नुलाई सामान्य मान्न सकिएला तर बोल्नै नजान्नुलाई कदापि सामान्य मान्न सकिन्न । यो त पहिचान र स्वाभिमान बिलयको पूर्वसंकेत हो । जातीय सान, मान र अभिमानको समाप्तिको शंखनाद हो । नेपाली भाषा कै सन्दर्भमा भन्नुपर्दा-हाम्रो भाषा भूटानका चिसा जेलहरूमा सडिरहेका कैदीहरुको त्याग हो । गोली ठोकी मारिएका दर्जनौँ सहिदहरूको सपना हो । १७ वर्षसम्म भोको पेट, खाली खुट्टा, धुलो धुवाँ र अभावै अभावमा बाँचेर स्वयम् सेवा गर्ने शिक्षक र त्यही अवस्थामा रहेका हजारौँ विद्यार्थीहरूको मिहेनत र पसिना हो र साँझ-बिहान फर्सीको झोल र बगडाको भान्सा पकाएर ख्वाउने ती बुढी आमाको धुधुकी हो, नेपाली भाषा । फेरि हामी आफैँमा पनि डाईभर्स छौँ । विविध रङ्ग र आकारका छौँ । विविध विश्वास र आस्था बोकेका छौँ र विविध मातृभाषा बोल्नेहरु छौँ । यस अनेकता र विविधतालाई एकतामा बाद्ध्ने,  विविध आस्था र विश्वासहरूका बिच पनि सद्भाव कायम राख्ने बलियो र विश्वासिलो आधार भनेकै हाम्रो यही नेपाली भाषा हो । जुनदिन हामी बिचको यो सद्भावको डोरी छिन्छ, त्यसदिन संस्कृति त सकिन्छ नै जाति पनि विनाश हुने सुनिश्चित छ ।

अब एक दुई वटा गजल लेखेर फेसबुकमा राख्दैमा भाषा बाँच्न सक्दैन । पुस्तकहरू प्रकाशन गर्दैमा अस्तित्व बाँच्न सक्दैन । एक दुईवटा झ्याउरे गाएर मात्र स्वाभिमान र आत्मसम्मान बाँच्दैन । पुराणमा भजन गाउँदैमा र चर्चमा प्रार्थना गर्दैमा मात्र पनि हाम्रो सम्मान बाँच्दैन । हाम्रो समग्र जातीय अस्तित्वलाई जीवित राख्ने एक मात्र बलियो आधार भनेको नेपाली भाषा र त्यसको पठन-पाठन नै हो । पहिचानकै लागि भूटानमा सङ्घर्ष गर्‍यौँ । स्वाभिमानकै लागि २० वर्ष शरणार्थी बन्यौँ । र पहिचान बचाउनैका लागि पुनर्वासलाई रोज्यौँ र पुनर्वासमा पनि यो पहिचानको लडाइँ युगयुगसम्म लड्नुपर्नेछ । लड्नुपर्छ भन्दा यहाँ भाषाका लागि झन्डै बोक्नुपर्छ भनेको होइन । भाषाकै लागि हामीलाई छुट्टै राज्य चाहिएको पनि छैन । पहिचानका लागि हामीलाई देशै चाहिएको पनि होइन । हामीलाई चाहिएको छ, पहिचान र स्वाभिमान सहितको समृद्ध नेपाली भाषी समाज । पुनर्वासमा भाषा बचाउने कार्य एक दुइजनाको प्रयासबाट मात्र सम्भव छैन । यसमा सामूहिक र संस्थागत पहल हुनजरूरी छ । यसका लागि शरणार्थी शिविरमा भाषा र साहित्यका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको हाम्रो एतिहासिक संस्था साहित्य परिषद् भूटान पाश्चात्य सभ्यताको उर्वर मानिएको भूमि अमेरिकामा आधिकारिक रूपमा दर्ता भइसकेको छ ।  अब यसले पुनर्बासमा पनि नेपाली भाषा शिक्षणको दायित्व बहन गर्नुपर्छ । परिषदलाइ भूटानीहरूको प्राज्ञिक थलोका साथै शैक्षिक संस्थानका रूपमा विकसित गर्न जरुरी छ । आगामी जुन महिनाको मिति ९ र १०का दिन ओहाइयो राज्यको सिनसिनाटी सहरमा आयोजना हुने साहित्य परिषद् भूटानको एतिहासिक अधिवेशनले पुनर्बासमा नेपाली भाषा शिक्षणलाई प्राथमिकताका साथ सम्बोधन गरोस् भन्ने जन अपेक्षा पनि बढ्दै छ । यसका साथै वर्तमान विभिन्न समस्याका बाबजुद पनि सञ्चालन हुँदै गरेका नेपाली कक्षाहरूलाई पनि व्यवस्थित, सहज र विकसित गर्न नितान्त आवश्यक छ । सञ्चालित कक्षाहरूमा एउटै किसिमको पाठ्यपुस्तकको अभ्यास र प्रयोगका लागि एउटा शिक्षण निर्देशिका बनाउन पनि त्यतिकै जरुरी भएको छ । वर्तमान शिक्षण सिकाइमा भइरहेका समस्या, चुनौती र कठिनाइहरूबारे बहस हुनसकेमा सम्मेलनको महत्त्व र गरिमा अझ बढेर जानेछ । नेपाली कक्षा सञ्चालका लागि मानिसहरूलाई जागरुक र अभिप्रेरित गरेर साहित्य परिषद्ले एउटा अभिभाकीय भूमिका निर्वाह गर्नुपर्छ । यो समयको माग हो । यस बहुप्रतिक्षित अधिवेशनमा माथि उल्लिखित समस्याहरूका बारेमा विशेष छलफका साथै गम्भीर बहस पनि हुनुपर्छ । साहित्य परिषद्का भावी अधिवेशनहरू प्रतेक ३ वर्षमा आयोजना हुनसकून् र ती अधिवेशनहरू भूटानीहरू पुनर्वास गरिएका ८ वटै देशहरूमा क्रमशः हुने योजनाहरू बन्न सकुन् । अब तीर्थाटनमा जाँदा होस् वा पर्याटनमा हाम्रो छलफल र बहस पनि नेपाली भाषा र साहित्य नै बनोस् । साहित्य परिषद् भूटान, संसार भरि छरिएका हाम्रा सन्तान र दरसन्तानका लागि पहिचान र एकताको सुरक्षित छाहारी बन्न्सकोस्  यसै छहारीका सित्तल छायामा पूर्वीय सभ्यता र हाम्रा भाषा, साहित्य र सांस्कृतिक विराषदहरु पल्लवित पुष्पित हुँदै जान सकून । यही कामनाका साथै अधिवेशनको पूर्ण सफतालाको अग्रिम शुभकामा व्यक्त गर्न चाहन्छु ।

आदरणीय भाषा प्रेमी सज्जनहरू, हिजोका दिनहरूमा साहित्य परिषद् भूटान हामी एक दुई जनाको रहर थियो होला । सपना थियो होला । तर अब साहित्य परिषद् सबै नेपाली भाषीहरूको आवश्यकता बनेको छ । सबैको बाध्यता र सबैको कर बनेको छ । यश सुखद अवसरमा परिषद्लाई पूनर्वाससम्म ल्याउन प्रतक्ष्य वा अप्रतक्ष्य सहयोग गर्ने वर्तमान/निवर्तमान कार्यकर्ताहरू/शुभचिन्तक र नेपाली भाषाको माया गर्ने सबैलाई अन्तर हृदयाबाट हार्दिक धन्यवाद अर्पण गर्न चाहन्छु । पुनर्वासमा परिषद्लाई संस्थागत, समयसापेक्ष बनाएर लैजान सक्षम युवाहरूको खाँचो छ । त्यसैले परिषद्को यस महत्त्वपूर्ण र ईतिहासिक जिम्मेवारी समाल्नका लागि पनि प्रष्ट विचार, दूरगामी दृष्टकोण, समयसापेक्ष चल्ने, कुशल योजनाकार र दक्ष्य एवं सक्षम युवाहरू अघि आउनुपर्छ । परिषद्ले केही गरेन भनेर टीकाटिप्पणी गर्नुको सट्टा म केही गरेर देखाउँछु भन्नेहरूका लागि यो जिम्मेवारी एउटा परीक्षण पनि हो र शुभ अवसर पनि ।

हिजोका दिनहरूमा परिषद्लाई संस्थागत गर्ने र कार्यक्रमहरूलाई कार्यान्वायन गर्ने क्रममा सहकर्मीहरुसङ्ग केही विमति र असमझ्दारीहरु भए होला । लामो समयसम्मको यश महायात्राका क्रममा जानेर होस् वा नजानेर गल्ती र कमीकमजोरी अवश्य पनि भए होलान् । त्यसका लागि पनि सबै सहकर्मी मित्रहरू समक्ष क्षमा याचना गर्नचाहन्छु । पुनर्वासमा उढ्नुअघि सबैसँग भेट्गरेर परिषद्को सम्भावित कार्यक्रम र त्यसको गतिविधिबारे एउटा बृहत् छलफल गर्ने योजना पनि थियो । तर त्यसबेलाको क्याम्पको रिस्थितीले गर्दा त्यो कार्य पूरा हुनसकेन । पुनर्वासपछि केही वर्षसम्म कसैसँग पनि सम्पर्क हुनसकेन । साथीहरूसँग सम्पर्क गर्दैगर्दा सबै साथीहरू पुनर्वासमा आइसकेको थिए ।  परिषद्को जिम्मेवारी पनि भक्त घिमिरे सरले समाल्नु भएको कुरा मैले बुझेको हो ।

बिर्सनै नहुने विषय के हो भने २०१० पछि पुनर्वासमा विगतका दिनहरूमा परिषद् सभावेशी नभएको र परिषदमा व्यापक आर्थिक हिनामिना भएको भनेर भित्रभित्रै अफबाह फैल्याउने कामहरूभएको सुन्नमा आयो। यस्ता भ्रम र अफबाहरुले धेरै समाजसेवी कार्यकर्ताहरूको आत्मसम्मान र प्रतिष्ठामा आँच पुर्‍याएको मैले बुझेको छु । वास्तविकता र सही कुरो नबुझी फैल्याइएका यस्ता भ्रम र अफबाहबाट नडर्न र पछि नहट्नसमेत सम्बन्धित सबैलाई आग्रह गर्नचाहन्छु । वास्तवमा छात्तीमा हात राखेर भन्नुपर्दा ती सबै मनगडन्ते र निराधार हल्लाहरू थिए । विभिन्न समयमा यसको नेत्रित्वहरू फेरबदल भैइरहे पनि सन् १९९३, मार्च १७ देखि २००७ सम्मको १४ वर्षे कार्याब्धिमा भएका बान्छित वा अबान्छित कार्यहरूको पूर्ण जिम्मेवारी र जबाबदेहिता मेरो भएकाले त्यसबारे स्पष्ट जानकारी दिनु म आफ्नू कर्तव्य ठान्दा छु । र परिस्थिले चाहेका दिन त्यसबारे चिरफार अवश्य गर्ने नै छु । मेरो निगरानी र कार्यकालमा परिषदमा न त्यस्तो अकुद आर्थिक नै थियो न कुनै त्यस्तो आर्थिक हिनामिना भएको थियो । यदि त्यस्तो कार्य कसैबाट भयो भने त्यो एउटा संयोग मात्रा थियो । परिषद्लाई निश्क्रिया, असफल र विभाजन गर्ने आशयबाट चलाइएका असफल प्रयासहरू थिए भनेर बुझ्न पनि म सबैलाई निवेदन गर्नचाहान्छु । साहित्य परिषद् भूटान  कुनै विदेशी ग्राण्ड र अनुदानमा सञ्चालित संस्था पनि थिएन । यो त स्वयम् सेवीहरूको एउटा प्राज्ञिक र शैक्षिक संस्था थियो र भोलि पनि त्यही भएर स्थापित होस भन्न चाहन्छु । यद्यपि २००५ पछि मैले परिषद्को सम्पूर्ण कार्यभार सुप्पिएका मित्रहरूसँग सम्पर्क र सही सम्वाद गर्ने प्रयास गरिरहेको छु । यसो भन्दैमा मेरो कार्यकाल पछि परिषद्को जिम्मेवारी समाल्नु हुने मित्रहरूप्रति अविश्वास र असहयोग गर्ने मेरो आशय पनि होइन । तत्कालीन कयाम्पमा उत्पन्न आतङ्क र असुरक्षाका कारण पनि मित्रहरूबाट कोपिलाको समसामयिक अङ्क प्रकाशित हुनसक्यो । साहित्यिक कार्यक्रमहरू भए । र परिषदलाइ पुनर्वाससम्म ल्याउने महत्त्वपूर्ण र ईतिहासिक कार्यहरू भएका छन् । साहित्य परिषद्लाई यस ऎतिहासिक कार्यमा सहयोग गर्ने मित्र र शुभचिन्तकहरू प्रति विशेष नमन गर्नचाहन्छु !

अन्तमा नेपाल-भूटानका स्कुलहरूमा नेपाली विषयकै कारण कतिले परीक्षामा असफलता भोग्नु पर्‍यो होला ! अवश्य शिक्षकहरूको गाली पनि खानु पर्‍यो होला ! कतिले नेपाली बोलेकै कारण स्कुलमा फाइन तिर्नुपर्यो होला र कतिले नेपालीमा राम्रो अङ्क ल्याउन नसक्दा पहिलो हुने महत्वकाङ्क्षामा चोट अवश्य पुग्यो होला ! नेपाली भाषाले जागिर ख्वाएन भनेर त्यसप्रति वितृष्णा पनि भयो होला ! नेपाली साहित्य पढेर पनि कामै नलागेको भनेर पछुतो पनि भयो होला ! तर दुखमा रुन र सुखमा हाँस्न नेपाली बाहेक अरू कुनै भाषाले पनि साथ दिनसक्दो रहेनछ ! र सभ्य र शिष्टाचारकै लागि मदर र वाटर भने पनि जीवनको अन्तिम वाक्य आमा र पानीकै साथ टुङ्गिदो रहेछ भन्ने वास्तविक सत्यलाई भने कहिले बिर्सनुहुँदैन । आज हामी जुन उच्चाइमा छौ । त्यो पनि नेपाली भाषी भएकै कारणले हो भन्ने बोध सबैमा हुनुपर्छ ।

नेपाली भाषा पढ्नुपर्छ भन्दै गर्दा अरू भाषा चाहिँ पढ्नै हुन्न भन्न खोजिएको पनि होइन । सँगसँगै नेपाली पनि नबिर्सियौं भन्न खोजिएको हो । अमेरिकामा हाम्रा नानीहरूले दोस्रो भाषाका रूपमा चिनी, स्पेनिस र जापानी आदि भाषाहरू पढ्दैछ्न् र ती भाषाको सट्टा हाम्रा नानीहरूलाई नेपाली नै पढ्ने अभिप्रेरित गर्नु सबै अभिभावकको जिम्मेवारी हो । एक भन्दा बढी भाषा जान्नेहरूका लागि अमेरिका वास्तवमै अवसरै अवसरको खानी हो । बहुभाषी हुनका लागि नेपाली भाषालाई छोडेर अन्य भाषा नै पढ्नुपर्छ भन्ने छैन । अब हाम्रा बच्चाहरूका लागि नेपाली भाषा पहिलो त हुनसकेन सकेन । कमसेकम दोस्रो भाषाका रूपमा त बचाऊँ भन्न मात्र खोजिएको हो । हाम्रा आधुनिक अभिभावकहरू नेपाली पढ्दा नानीहरू कन्फ्यूज भए भन्ने गर्छन् र नानीहरूलाई नेपाली सिकाउन असभ्य ठान्छन् ।  घरमा पनि अङ्ग्रेजीकै मात्र प्रयोग गर्छन् । भूटानमा पनि डासो र ल्यान्पो बनाउने दौड नचलेको होइन । दक्षिणका स्कुलमा नेपाली पढ्नुपर्छ भनेर नानीहरूलाई भूटानका उत्तरी भेगका स्कुलहरूमा भर्ना गर्न अभिभावकरूमा प्रतिष्पर्धानै हुन्थ्यो । अंग्रेजीलाइ पहिलो भाषा बनाउने प्रवृत्ति यहाँ पुनर्वासमा पनि चल्दै छ । यस दौडले हाम्रो पहिचान र स्वाभिमान कहाँ पुर्‍याउने हो त्यो अहिलै भन्नसकिन्न। भूटानमा अङ्ग्रेजी, जोङ्खा र नेपाली ३ वटा भाषा पढ्नुपर्दा हामी कहिले कन्फ्यूज भयौन । नेपालमा पनि संस्कृत सहित ४ वटासम्म भाषा पढ्दा पनि कन्फ्यूज भइएन । जन्मसँगै मातृभाषा सिक्न पाउने बच्चाको नैसर्गिक अधिकारको हनन् गरेर हामीले गल्ती त गर्दै छैनौ ? गम्भीर भएर सोच्ने बेला भएको छ । भाषा जति धेरै जान्यो त्यति राम्रो । तर नानीहरूले अङ्ग्रेजी नै मात्र जान्नुपर्छ भन्ने बहुलठीपन र प्रवृत्ति चाहिँ धेरै नराम्रो ।

भाषाकै महत्त्व र अवसरहरूका बारेमा भन्नुपर्दा आज पुनर्बासमा हजार भन्दा बढीले नेपाली दोभाषेका रूपमा जागिर खाइरहेका छन् । अमेरिकाका कतिपय स्कुल डिस्टिकहरूमा नेपाली पढाउने प्रयासहरू भइरहेका छन् । औपचारिक मान्यता प्राप्त गरेको खण्डमा दुई चार सय नेपाली भाषीहरूका लागि जागिरका अवसरहरूको सम्भावहनाहरू बढ्दै छन् । फेरि जागिरकै लागि मात्र नेपाली भाषा पढ्ने होइन । भाषा त हाम्रो पहिचान र स्वाभिमानसँग जोडिएको कुरा हो । जाति र पहिचानसँग गाँसिएको विषय हो । त्यसैले यो समस्या एक /दुइजनाको मात्र होइन । तपाईँ, हामी सबैको हो । त्यसैले सक्नुहुन्छ, नानीहरूलाई घरैमा नेपाली बोल्न सिकाउनुहोस् । सक्नुहुन्न, तपाइका गाउँ-घर र सहरहरूमा सञ्चालित हुँदैगरेका नेपाली कक्षाहरूमा नानीलाई पुर्याइदिनुहोस् ।

आदरणीय भाषा प्रेमी मित्रहरू, जीवनका महत्त्वपूर्ण र उर्जामय क्षणहरू नेपालका शिविरहरूमा गुमायौँ । अभाव टार्न आफूले सिकेको शिक्षा र चेतना पनि अर्कैका लागि दान प्रयोग गर्‍यौँ । चाहेर होस वा नचाहेर त्यहाँ श्रम, सीप र पसिनाहरू पनि अर्काकै लागि बगायौँ । हामी अरूका लागि कति उदार र दानी छौ । तर आफ्नै लागि कहिले उदार बन्नसकेनै । पुनर्वासपछि पनि हामीले माइधार बनायौँ । चार आलीमा देव-धाम बनायौ । ध्रुमुससुन्तोली फाउण्डेशन उठायौ । चतारा र देउघाटमा हाजारौ डलर बगायौ । र दाङमा गौशाला निर्माणमा पनि त्यतिकै होडबाजी छ। अहिले हामीहरूलाई यहाँ दान, सहयोग र पुण्य गर्नुहुँदैन भनेको होइन । खाली अर्काकै लागि मात्र होइन । आफ्नो फुलबारीमा आफै मलजल गरौँ भन्न खोजिएको हो । हामी आफै दरो हुनुपर्छ । आफ्नो समाज बलिो बनाउनु पर्छ । आज सहयोगका अभावमा आफ्नै समुदायका लागि एउटा भवन निर्माण गर्नसकेका छैनौ । भाषा पढ्ने र नानीहरू खेल्ने एउटा छाप्प्रोसम्म हाल्नसकेका छैनौँ। हामी एक नभएकै कारण सामुदायिक भवन बन्नसकेन । एक नभएकै कारण हामीले द्रेश गुमाउनु पर्‍यो । एक नभएकैले पुनर्बास रोज्नुपर्यो । एक नभएकै कारण हामीलाई इतिहासले कायर,हुतिहारा र भगौडे बनायौ । आजसम्म हामीले कुनै त्यस्तो अर्थपूर्ण कामको इतिहासनै न रच्न सकेका छौँ । यो एक नभएकै कारणले हो भन्ने स्पष्ट छ । हामी एक भयौँ भने जे पनि गर्नसकिन्छ । यहाँ असम्भव केही छैन । सबै सम्भवै सम्भव छ । मात्र एक थुकी सुकी हाजार थुकी नदीको आवश्यकता छ । आर्थिक समृधिसँग सँगै भाषालाई पनि साथै लान सकियो भने वास्तवमा पुनर्वास हाम्रो जितै जीत हुनेछ । भावी सन्ततिहरूका लागि पनि वर्दान साबित हुनेछ र हामीले अब केही गर्ने बेला भएको छ । हामीमाथिको कलङ्क र बदनामीहरूलाई नामेट गर्ने बेला आएको छ । भावी सन्नततिहरूको पहिचान र स्वाभिमानका लागि एक हुने समय आएको छ । त्यसैले आउनुहोस, अब ती सहयोगी हातहरू, उदार मनहरू र परोपकारी विचारहरूलााइ संगेट्दै, उपभोग गर्दै आफ्नै समाज निर्माणमा प्रयोग गरौँ । अब एक भएर संसारलाई हामी पौरखी र स्वाभिमानी जाति हौँ भनेर देखाइदिनुपर्छ । हामी एक भयौँ भने जे पनि गर्न सकिन्छ । यहाँ असम्भव केही छैन । सबै सम्भवै सम्भव छ । मात्र एक थुकी सुकी हाजार थुकी नदीको आवश्यकता छ । आर्थिक समृधिसँग सँगै भाषालाई पनि साथै लान सकियो भने वास्तवमा पुनर्वास हाम्रो जितै जीत हुनेछ र भावी सन्ततिहरूका लागि पनि वर्दान साबित हुनेछ । त्यसैले आउनुहोस, यस भाषा बचाउ अभियानमा सामेल हुनुहोस। यदि तपाईँ आफू नेपाली भएकोमा गर्व गर्नुहुन्छ भने यस एतिहासिक अधिवेशनमा आउनुहोस र भाषा शिक्षणका लागि साहित्य परिषद् भुटानलाई तनमन, धन दिएर भाषा बचाउ अभियानको एउटा साँच्चो सिपाइ बन्नुहोस र अरूलाई पनि यस अभियानका लागि उत्प्रेरित गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *