साहित्य र समाज : एक परिचर्चा

लेखक
लेखक

डा.लक्ष्मीनारायण ढकाल
केन्टकी, अमेरिका

सामान्य भाषामा भन्नु पर्दा समाजपरक लेखनको मूर्त रुपलाई साहित्य भन्न सकिन्छ। विषय र ज्ञानको कुनै सीमा हुँदैन। त्यस अथाह ज्ञानरुपी समुद्रबाट जसले जति जल उघाउँन सक्यो त्यति नै आफ्नो प्यासलाई पनि समाप्त गर्न सक्दछ। जति अध्ययन र लेखन-अभ्यास हुन्छ त्यति नै बौद्धिक विकास र त्यस लेखनमा पनि निखार आउँदै जाने हो। अत: परिपक्क कोही पनि हुँदैन,पूर्ण कोही पनि हुँदैन,तथापि जति सक्दो सकारात्मक चिन्तनद्वारा निरन्तर प्रयास गर्नु लेखकको धर्म हो।

हाम्रा हकमा कुरा गर्ने हो भने साहित्यका क्षेत्रमा हामी सबै प्राथमिक अध्येता नै छौं। अत: यस परिप्रेक्षमा साहित्य के हो र समाजसंग उसको  कस्तो सम्बन्ध हुन्छ र स्तरीय साहित्यमा कसरी प्रवेश गर्ने भन्ने कुराको यदा-कदा परिचर्चा र स्वाध्याय हुन आवश्यक छ। हाम्रो भर्खर वामे सर्दै गरेको भूटानी नेपाली साहित्यका परिप्रेक्षमा त यस विषयको झनै ठूलो आवश्यकता देखिन्छ।

भन्नका लागि भनिन्छ साहित्य समाजको दर्पण हो। तर दर्पण कसरी हो ? र समाजलाई कसरी साहित्यले प्रभावित पारेको हुन्छ ? साहित्यकारको समाज प्रति र साहित्यप्रति  के कस्तो दृष्टिकोण र भूमिका हुनु पर्दछ भन्ने कुराको अध्ययन हामी जस्ता नवोदित लेखकहरूले गर्दै गर्न जरूरी छ। त्यसमा पनि देश, समाज र भाषा साहित्यको परिवेशबाट टाढा प्रवासीन बाध्य भएका हामीलाई यस्ता प्रकारका सामग्रीहरूको आज अत्यन्तै खाँचो देखिन्छ।

हो! अवश्य पनि साहित्य समाजको ऐना हो,जुन ऐनामा समाजको छवि छर्लङ्ग देख्न सकिन्छ,र देखिनु पनि पर्दछ। आफुँ र आफुँ जस्तै अन्य व्यक्तिहरूको समूह नै समाज हो। त्यसैले साहित्यकारका काँधमा समाजको ठूलो जिम्मेवारी रहेको हुन्छ। हाम्रो समाज विभिन्न भाषा-भाषी,जात-जाती  र संस्कृतिले सजिएको छ। तथापि नेपाली भाषा र साहित्यले यी सबैलाई प्रतिनिधित्व गरेकै छ। अत: समाजको सार्वभौमिक परिस्थितिलाई ध्यानमा राखेर साहित्यले त्यही समाजको प्रतिनिधित्व गर्दै गति प्रदान गर्दछ।

त्यस्तै समाज पनि साहित्यको प्रतिविम्ब हो। किनकि साहित्यले समाजको परिस्थितिलाई पस्किन्छ,समाजको सभ्यता र इतिहासलाई बताउँछ। नवीन कल्पनाद्वारा जहाँ सूर्य पुग्न सकेका हुँदैनन्,साहित्यकार त्यहाँ पुगेर आकाशका तारा टिप्ने सामर्थ्य राख्दछ। यसरी साहित्यले समाजको इतिहासलाई पनि उभ्याउँछ। अत: साहित्यको कार्य समाजलाई सुशिक्षा दिंदै बौद्धिक चेतनाको विकास गर्नु पनि हो। अत: समाजकै हित चिन्तनमा सम्प्रेषित हुने हुँनाले साहित्यमा समाज नै प्रतिविम्बित हुन पुग्दछ।

साहित्यले समाजको लोकजीवनलाई आत्मसात गरेको हुन्छ। समाजको रहन-सहन,खान-पान,संस्कार-संस्कृति र भेष-भूसालाई पनि साहित्यले प्रतिनिधित्व गरेको हुन्छ। त्यसैले साहित्यकार यी सबै विषयहरूमा सकारात्मक चिन्तक हुँदै समाजलाई बाटो देखाउन सक्ने योग्यता भएको हुन जरुरी छ। साहित्यकारले समाजलाई प्रभावित गरेको हुन्छ भने साहित्यले पनि समाजलाई प्रभावित गरेको हुन्छ। यसरी हेर्दा साहित्य र समाज एकै सिक्काका दुई पाटा हुन्। त्यसैले पनि साहित्यकार सदैव समाजप्रति सचेत,इमान्दार,अध्ययनशील  र न्यायप्रिय हुन आवश्यक हुन्छ।

साहित्यले सदैव समाजको कल्याणका बारेमा चिन्तन गरेको हुन्छ। यस विषयमा  साहित्यका पण्डितहरूले  साहित्यको अर्थ गर्दै भनेकाछन्  “हितेन  सहितम्,तस्य भावम् साहित्यम्”। अर्थात् जुन चिन्तन,कथन,लेखन र प्रकाशनमा  समाजको हितपरक कुरो गरिन्छ,जुन चिन्तनले समाजलाई मार्गदर्शन गरेको हुन्छ,जुन कलाले समाजलाई भविष्यको समाज निर्माण गर्ने क्षमता प्रवाहित गरेको हुन्छ,त्यो काव्यात्मक प्रस्तुति नै साहित्य हो।

साहित्यले समाजलाई मनोरंजन पनि गराउँछ। साथै समाजको कथा-व्यथा पीर-मर्काको साङ्गोपाङ्गो विश्लेषण पनि गर्दछ। अत: साहित्यले  समाजको सुख-दु:ख,परिवेश एवं परिस्थितिलार्इ चित्रण गर्दै कला र कल्पनाको सहाराले रस प्रवाहित गर्दै आनन्दानुभूति गराउँदछ। त्यसरी नै  साहित्यले समाजलाई सदाचारी,सहृदयी,लोकोपकारी बन्न सिकाउँछ। हाम्रा लेखनमा यी गुणहरू विद्यमान छैनन् भने त्यो लेखनले समाजको हित गर्न सक्दैन,फलत: त्यो लेखन साहित्यको कोटीमा गनिन्दैन। हितको तात्पर्य समाजको सर्वांगीण विकास हो। अत: साहित्यकारमा यी उपर्युक्त गुण र योग्यता हुन जरुरी हुन्छ।

अर्को कुरो काव्यले पाठकलाई रसानुभूति गराउन सक्नु पर्दछ। चाहे कुनै पनि विधाको लेखन होस् त्यसमा पाठकलाई रुचि उत्पन्न हुन सक्नु पर्दछ। त्यसो भए मात्र त्यो  काव्य साहित्यको परिभाषामा आबद्ध हुन पुग्छ। वस्तुत: साहित्यले पाठकलाई रसानुभूति गराउँदै आनन्दानुभूति पनि गराउँदछ। यदि यी गुण हाम्रा लेखनमा छन् भने हामी अवश्य पनि साहित्यका विद्यार्थी हौँ। आजको परिप्रेक्ष्यमा हामी अध्येताहरूले  हाम्रा लेखनमा यी विन्दुहरूलाई ध्यानमा राखेर परिश्रम गर्न आवश्यक देखिन्छ।

साहित्य भन्ने वस्तुको विकास समाजको बौद्धिक विकासमा निर्भर हुँदो रहेछ। जति जति व्यक्तिको बौद्धिक चेतना फराकिलो हुँदै गयो साहित्यमा पनि त्यति नै  परिमार्जन र विकास हुँदै जाने हुन्छ,यसमा कुनै दुर्इ मत छैन। अर्को कुरो लेखनकलाको विकास र परिमार्जन पनि त्यतिनै महत्वपूर्ण विषय हो। अत: साहित्यकारले सदैव अध्ययनशील,अनुसन्धानशील र प्रयोगधर्मी हुन जरूरी देखिन्छ।

यो साहित्य भन्ने तत्व नित्य हुन्छ,यसमा समाज प्रमुख हुँदैन,अपितु साहित्य नै प्रमुख हुन्छ । किनकि समाज नष्ट हुन सक्छ,तर साहित्य नष्ट हुँदैन। अत: लेखकले समाज केन्द्रित भएर लेख्न आवश्यक छ। त्यसैले भनिन्छ ‘साहित्य समाजको आत्मा हो भने समाज साहित्यको शरीर हो’। यसरी साहित्यले लोकोपकारी भावना राख्दै समाजलाई नेतृत्व गर्दछ र समाजलाई डोर्याउँछ, बाटो देखाउँछ र समाजको हित गर्दछ।

जब समाजमा नैतिक मूल्यको पतन हुन्छ त्यति बेला साहित्यले त्यस नैतिक मूल्यलाई पुनर्स्थापना गर्न सक्नु पर्दछ। साहित्यकारले समाजमा फैलिएको कुरीति,विसंगति,असमानता,अन्याय र अत्याचारहरूका विरुद्ध कलम चलाउँछ। त्यसैले साहित्यकारले   समाजका  सामाजिक,धार्मिक,आर्थिक,राजनैतिक,शैक्षिक र समसामयिक  समस्याहरूमा जागरुक हुँदै उक्त समस्याहरूबाट समाजलाई बचाउन कलम चलाउँछ र चलाउनु पर्दछ। यसरी यी उपर्युक्त सम्पूर्ण विषयहरूलाई ध्यानमा राखेर साहित्य लेखनको संस्कार विकसित गरेका खण्डमा अवश्य पनि आशानुकूल स्तरीयताको मार्ग प्रशस्त हुन सक्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *