सारा विरानो भयो……

कवि
कवि

डिल्लीराम शर्मा आचार्य
नर्वे

डम्डम् शव्द बजेन डम्बरु यहाँ झंकार भै कानमा
देख्छू यो सब शुन्य झैँ छ जग यो शुन्यै छ उद्यानमा ।
खोज्छू भित्र पसेर क्यै प्रकृतिमा कस्तो रहस्यै छ जो
चिन्दैनन् किन आज वृक्ष वनका सारा विरानो भयो ?

ढूंगा, फूल, सलील वृक्षवनका भाग्छन् लजाई पर
पंक्षी जंगलका, पशू र छहरा डर्ले हुँदै थर्थर ।
काँपेका किन आज देख्छु वनमा धर्ती त्यही छैन यो
चिन्दैनन् किन आज पत्थर लता सारा विरानो भयो ?

खोज्छन् ढोल, मृदूल जंगलमहाँ ती सभ्यताका कण
पंक्षीको रब भिष्ठ छैन यसमा सुन्छौ तिमी घर्षण
नङ्गा छन् रत शुन्य झैँ जगतनै डुल्छन् अँध्यारो छ यो
चिन्दैनन् किन सुन्दरी अझै सारा विरानो भयो ?

माटो, पत्थर एक हो जगतको वैशाम्य नै के छर
प्रार्थक्यै विधिभित्र चित्र गहिरो निर्माणमा अन्तर ।
भाग्छन् यी त मदेखि लज्जितहँुदै ओडेर घुम्टो अहो !
चिन्दैनन् किन आज लज्जित भई सारा विरानो भयो ?

दौढेका धनमा छ शुन्य मनमा नाता विना उन्नति
एक्लो जीवन डुल्छ शुन्यपथमा आतुर छन् ती कति ?
कुल्चेको छ शरीरले सरिर नै हेर्दा अचम्मै छ जो
चिन्दैनन ्किन आज मित्रहरुले सारा विरानो भयो ?

फुर्सद् छैन बरा ! छ आतुर सधैँ दौढीरहेको दिन
नाता आत्मिय छैन भित्ररसको यस्तै वित्यो जीवन ।
आई काल टिपी कपक्क मुखमा हालेर निल्ने भयो
चिन्दैनन ्किन आज जीवनलिला सारा विरानो भयो ?

खोज्दैछु त्यसभित्र जीवन नयाँ उद्यानमा कुञ्जमा
फुल्दैनन् वनपुष्प मुर्छित भई बस्छन् लुकेरै यहाँ ।
भेट्नै मुस्किल भो सहस्य यसको खोजेर जीवन् गयो
चिन्दैनन् किन आज पुष्प वनका सारा विरानो भयो ?

पंक्षी दण्डित छन् पशूहरु सबै दण्डीत हुन्छन् सधैँ
धर्ती दण्डित छन् समुद्र जलका जन्तूहरू दण्डितै ।
दैवीदण्ड समान हुन्छ हिमको वर्षा हुँदामा अहो
चिन्दैनन् प्रकृति प्रकोप बडदा सारा विरानो भयो ?

साह्रा जीवन ठप्प हुन्छ छिनमै हेमन्त शीशीरमा
त्यै भित्री पनि खोज्छु मिष्ठरसका धारा परून् मूखमा ।
दण्डित् छन् कि कतै स्वयम् प्रकृतिनै झैँ लाग्छ भित्री अहो ।
चिन्दैनन् किन आज ईश्वर यहाँ सारा विरानो भयो ?

खोज्छू राम र कृष्ण, बुद्ध भृकुटी देखिन्न है क्यै गरे
खोज्छू वेद पुराण–आदि इतिहास् भन्छन् अनौठो छ रे ।
छैनन् नाम निशान यी मुलकमा ब्रह्माण्डको सार त्यो
चिन्दैनन् किन आज वेद इतिहास् सारा विरानो भयो ?

देखिन्छन् कि कतै भनी नयनले खोज्छ्रू छ शुन्यै पथ
आफ्नै प्रिय विरानु बन्छिन यहाँ के पाउँछौं दौलथ ।
नाङ्गा छन् किन नग्न आज दुनिया यै सभ्यता दर्शियो
चिन्दैनन् किन आज बुद्ध, भृकृटी सारा विरानो भयो ?

यै भित्री पनि भव्य, सभ्य रितका उद्योग मौलाउँछन्।
दानी छन् समदर्शी छन् जगतमा यै नाम फैलाउँछन्
गर्छन् भव्य विकाश अस्त्रहरु छन् संसार थर्काइयो
चिन्दैनन् किन आज अस्त्र निमुखा, सारा विरानो भयो ?

आफ्नो हुन्न कुनै पराइ घरमा जोडिन्छ नाता कति
भन्ने यै मनमा छ संशय ठुलो त्रासीद छन ्दम्पत्ति ।
मान्छन् सार, असार छैन जग यो दैवीकलामा छ जो
चिन्दैनन् किन दम्पति, दूखित छन् सारा विरानो भयो ?

हावा, बादल, चन्द्र, सूर्य, रजनी तारा निलाकाशका
माटो, पत्थर, फूल, वृक्ष, लतिका सामान बज्जारका ।
गर्दैनन् किन–प्रेम क्षुब्ध सब छन् त्यो सत्यता अल्पियो ?
चिन्दैनन् किन आज मौन सब छन् सारा विरानो भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *