सिन्दूर घोप्टिएको दिन
बुद्धमणि ढकाल
केन्टकी, अमेरिका
दोरोने कान्छाकी छोरीले अर्को बिहे गरिछन्। ऊ आफैले रोजेको केटोसँग बा-आमाले परम्परा अनुसारको विधिवत बिहे गरिदिएका थिए। त्यहाँ उनले आफ्नो घर बसाल्न नसकेपछि फर्केर माइतीघर गइछन्। पारपाचुके गर्न अदालत गएका थिए रे – लोग्ने स्वास्नी मिलेरै।
बा-आमाले छोरीलाई चाहिने भन्दा बढी विश्वास गरेका रहेछन्। निर्भय पुल्पुलिएकी। आमाको चेपारे बानीले उसको घरप्रति खास चासो नै रहेनछ। बिहेपछिको एक महिना नबित्दै बेलुकाको छाक सधैँ जसो माइतीघरमै खाएर सुत्न मात्रै लोग्नेसँग जान्थिन रे। सासू चाहिँको गनगन थियो – हामीले पकाएर दिएको खाँदिन ।
त्यो नयाँ ठाउँमा अलि धेरै स्वतन्त्रता, थोरै नैतिक जिम्मेवारी। उहिलेका कुरा खुइलिए। घर परिवारका मूल्यको धज्जी उडाउन मिल्ने ठाउँ।
त्यस्तै भयो दोरोने कान्छाकी छोरीको चरित्र निर्माण। त्यो ठाउँमा बसाइँ गएदेखि उनी रङ्गीन दुनियाँमा डुब्न थालिछन्। एउटा हाते फोन उसको पेवा जस्तै। देख्नेले भन्थे रे – यो फलानाकी छोरी जति बेला पनि फोनमा झुण्डीनछे, के काम गर्छे त्यो ? हो पछि आमैले पनि सुन्नुभएको रे – ओढ्नेभित्रै गुनगुन बोलेको। बाउ-आमासँग खै गर्दा उल्टै आमैलाई गालो गरेका अरे – साथीसँग बोलेका, याद नगर्नू।
बाबुलाई लागेकोथ्यो “ हाम्री छोरी सबै थोक गर्न जान्ने छे । उनीहरू लोग्ने स्वास्नीको राम्रै मेल छ । सासू-ससुराले भनेर के हुन्छ । ”
आमालाई लागेकोथ्यो – छोरीलाई त्यहाँ सही नसक्नु भएको छ । सधैँ भरिको सासूको कचकच । ससुरा अलि छिद्र आँखा भएका । अति भयो भने छोड्दा के नापिन्छ र ? “
आमैलाई पिर छ – नातिनीले अडिएर घर गरिखान सकिन ।
यो बिहे भन्दा अघि एक छिमेकका केटाले उनलाई मन पराएका थिए रे । आमालाई पनि खूब दिल लागेको थियो । पछि ‘यिनको धेरै केटासँग लसपस छ, मलाई ठिक लागेन’ भनेर अन्तै केटी माग्न गए ।
“खोक्रे बोक्रे माया-प्रीतिमा भुलेर यिनले आफैलाई मूल्यहीन परेकी हुन्,” मामाले भन्ने गरेका छन् ।
सदाका लागि माइत फर्किने सुर कसेपछि तीन चार दिन देखि आफ्ना समान गाडीमा हालेकी रे । एक रात अबेर सम्म गाडीमै फोन गर्दै बसेकी सासूचाहिँले भेटिछन् ।
उनको लोग्नेलाई सन्तान चाहिएको छिट्टै । एक दिन ज्योतिषीलाई हेराएर फर्केपछि लोग्नेसँग भनिछन् – तिमीसँग मेरो सन्तान हुँदैन भने ज्योतिषीले, भइहाले पनि लामो आयु रहँदैन रे ।
बिहे नामको एउटा नाटक भर्खरै सकिएको छ दोरोने कान्छाको घरमा ।
छोरीले नयाँ ज्वाइँ भित्र्याएकोमा फुरुङ्ग छन् बाबु आमा ।
काममा दिउँसो अरू दुई सहकर्मीसमेत चमेना घरमा ‘लन्च’ खान जुटेका थिए त्यस दिन । एउटीले सोधी “तिमीले त अर्को बिहे गरी छौँ होइन ? कतातिरको केटा हुन् नि ?”
अर्कीले सपनाको कुरा गर्दै थिई । “मैले त बिहेको भोलिपल्टै सिन्दूरको बट्टा घोप्टिएर भुईँभरि पोखिएको सपना देखेँ । उसले बलात्कार गर्न र यातना दिन खोजेको त्रासदी सपना देख्न थालेँ । साँच्ची नै छ महिना पछि ऊसँग खटपट सुरु भयो । सिन्दूर पोते र गहना जिम्मा लाएर म त्यहाँबाट निस्केँ । अहिले म स्वतन्त्र र स्वनिर्भर छु । ”
“मैले त्यसको सेखी झार्न अर्को बिहे गरेँ । मैले आफैले रोजेर बिहे गरेको तर त्यो घरमा खुसी र स्वतन्त्र हुने मैले ठाउँ पाइन । उसले हिर्कायो, मैले पनि फर्काएँ । मलाई सिन्दूर पोते चुराले भरिएर पुरानो ढाँचाकी दासी श्रीमती हुन मन परेन । फेरि त्यस्तो घरमा सन्तान जन्माएर ती सन्तानको खुसी देखिन मैले । सिन्दूरको पोको मेरो पनि पोखिएको थियो; त्यही निहुँमा झगडा परेको” – उसको कथाको पोयो फुक्यो ।
पहिलीले बोली – “हिजो आज डिभोर्स गर्न सजिलो छ । अंश-वण्डाको कुरै आउँदैन । न लिनु न दिनु पर्ने । ”
साँचो कुरा: अंशको भाग वण्डा लगाइदिने आधार प्रमाण भेटेन त्यो वकिल / अदालतले । त्यसैले दोरोने कान्छाकी छोरी आफ्ना निजी सामान मात्र गाडीमा हालेर, सिन्दूर पोतेका सबै सङ्केत चिन्ह जिम्मा लगाएर त्यहाँबाट निस्केकी थिई ।