सिन्दूर

जय हुमगाईँ
क्यानडा
सिन्दूर नाथो नसम्झ कहिले नारीको धन हो
शरीर शुद्ध पारेर नित्य निधारमा लाउने हो
सिन्दूर शक्ति ठुलो छ बुझौँ लर्तरो नठानौँ
जोडेर नाता दाम्पत्य जीवन विश्वमा करोडौँ।
सिन्दूर द्वारा दाम्पत्य जीवन विधिले जोडिन्छ
जोडेको नाता जीवन भरि सिन्दूरले सजिन्छ
बन्धनले बाँधी कुमारीत्वको परिभाषा ढलाउँछ
लाएर हिँड्दा निधारमा सिन्दूर दुर्दशा भगाउँछ।
हतियार सहित शत्रुलाई देखे बाघ पछि सर्दछ
लप्पक सिन्दूर निधारमा देखे दुष्टको आँट घट्छ
गमक्क गम्की घरकी रानी  सिन्दूर लगाउँछिन्
नलगाए सम्म निधारमा सिन्दूर अशुभ कल्लिन्छिन ।
हुँदैन कहिले पुरानो चलन सिन्दूर लगाउँदा
नलगाए सिन्दूर अशुभ ठान्छन् मोठ मन्दिर जाँदा
सम्बन्ध नयाँ घर थर अर्को सिन्दूरले गराउँछ
रगतको नाता फितलो पारी पाहुना बढाउँछ ।
सिउँदोमा सिन्दूर लपक्क पार्दा के राम्रो देखिन्छ
लगाउँदा चट्ट मिलाएर पहिरन झन् राम्री देखिन्छ
सिन्दूर सँगै दिन रात उनको जीवन चलने भो
ऐनामा हेरि मसक्क मस्की सिन्दूर लाउने हो ।
सिन्दूरको नाता स्त्री जातीलाई नङ-मासु जस्तै हो
छुट्दा लगाउन सिन्दूर एक दिन भित्री मन कुँदो हो
तरङ्गित हुन्छ मन उनको रुन्छ यो नाता नटुटोस्
कर्म खोटो नभए सम्म  यसको साथ कहिले नछुटोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *