सुँगुरको पत्र खसीलाई : परिचयात्मक टिप्पणी
शिवलाल दाहाल
केन्टकी, अमेरिका
केही समय अघि स्रष्टा नैनसिँह सारू मगरका एकै पटक छवटा कृति प्रकाशित भएका छन् । त्यस मध्ये सुँगुरको पत्र खसीलाई कविता कृति हो । ज्वाइँ चिन्नु छोरी दिनु (एकाङ्की), जनातिले हजुरबुबा देख्नुपर्छ (निबन्ध), माटो खन्नु देश नखन्नु (कथा) र प्रेम गर्नु भर नपर्नु गजलमा शीर्षकगत एकाम्यता छ । यी भनाइहरूमा इच्छार्थक, शिक्षापरक र उपदेशात्मक दृष्टि छ ।
यस सङ्ग्रहमा जम्मा ९६ वटा कविता सङ्ग्रहित छन् । आकारका दृष्टिले यी कविता लघु आकार कविता हुन् । तिनको शैली पनि फरक फरक छ । केही कविता कथात्मक छन्, केही विवरणात्मक, केही गीतिपरक । त्यसो त नैनसिहँले करिब दुई दशक अघि नै एउटा साहित्यिक दोभान तरेका थिए । त्यो दोभानबाट यता कति यात्रा गरे, कति साधना गरे, यी कृतिहरूले दर्साउने छन् ।
उनका कविताको विषयवस्तु छ -हामी वरिपरिको परिवेश, आफ्नै समाजको विगत र वर्तमान, त्यही समाजको संस्कार- संस्कृति, त्यही समाजको अर्घेल्याइ, बेथिति र विभान्त्रि । लाग्छ यी कविताको हेतु कर्तव्य, ज्ञान-गुन, प्रेम, सद्भाव र आदर्शको पाठ पढाउनु हो ।
बिचारका दृष्टिले यी कविता पुरानो पाराका लाग्छ । हाम्रो समाजका मूल्य मान्यता, रीतिथिति र परम्पराका झलक तिनमा पाइन्छ । उनका कविताले शिक्षा, उपदेश र सामाजिक आदर्शको खोजी गर्दछन् । यी कविता पढ्न बौद्धिक कसरत गर्नु पर्दैन । भाषाको सामान्य ज्ञान भएका जो कोहीले पनि यी कविता पढ्न र बुझ्न सक्छन् । गाउँघरको चलनचल्तीको भाषा र शब्दहरू प्रयोग गरेर कविता रचना गरिएको छ । कतिपय कविता सरल भएर पनि विचारणीय छन् ।
उनका कवितामा हाँसो, ठट्टा छ । त्यही हस्याैलीभित्र कता-कता बिचारको गाम्भीर्य पनि छ ।
शैली-शिल्प र संरचनामा मात्र होइन परिष्कृतिका दृष्टिले पनि कविता भित्र समस्या छन् । ती समस्याहरूको चिरफारतिर म लाग्दिन । गुण र दोषको मापन गर्ने पल्ला त पाठक र अध्येताहरूसँग हुन्छ नै । किताब हातमा परेपछि उनीहरूले आफ्नो आफ्नो जिब्रो अनुसारको स्वाद लिने नै छन् ।
लेखकलाई कृति सफलताकाे कामना ।