सुशील रेग्मीको “भुल्नै सकिनँ” लाई नियाल्दै गर्दा

समीक्षक
समीक्षक

धर्मेन्द्र तिम्सिना ” क्षितिज”
ओहायो, अमेरिका

भूटानको दागाना भन्ने ठाउँमा स.न. १९८७ मा माता तिला रेग्मी र  पिता टिका रेग्मीका जेठा सुपुत्रका रूपमा जन्म लिएर हाल अमेरिकाको एक्रोन ओहाइयोमा बसोबास गर्दै आएका गजलकार सुशील रेग्मी नेपाली साहित्यका  उदाउँदा तारा हुन् । विशेष गरेर नेपाली साहित्यको गजल र रुबाई विधामा कलम चलाउने यी गजलकार अरूभन्दा फरक सिर्जना गर्न माहिर भएकाले, आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । वहाँको नाम भूटानी सिर्जनशील समुदायमा अथवा भूटानी समाजमा नचिन्ने र नजान्ने कमै होलान् । हँसिलो स्वभाव अनि सानै देखी अलि छुच्चो अथवा अन्याय भएको देखिनसहने क्रान्तिकारी स्वभाव भएका रेग्मीका मित्रहरूले उनको व्यवहारको सधैँ उच्च सम्मान गरेको पाइन्छ । उनी पीडामा पनि दिल खोलेर हाँस्न जान्दछन्, जसको मुस्कानमा सिर्जनाका बिस्कुनहरू छरिएको पाइन्छ ।

 

भुल्नै सकिँन - गजल सङ्ग्रह
भुल्नै सकिँन – गजल सङ्ग्रह

नेपाली साहित्यलाई विष्वव्यापीकरण गर्नुपर्छ भनेर सधैँ जोड दिइरहने साहित्यकार रेग्मीले आफ्ना सिर्जनाहरू कापीमा मात्र सीमित नराखेर, कृति प्रकाशन गर्दै पाठकहरू सम्म पुगेर अपार माया पाइसकेका छन् । वहाँको पहिलो कृति “भुल्नै सकिन” गजल सङ्ग्रह मातृभाषा संरक्षण समूहको दोस्रो प्रकाशनको रूपमा स.न. २०१६ सालमा प्रकाशन भैसकेको छ । जम्मा ६१ गजल समेटेर प्रकाशन गरिएको यस संग्रहलाइ सरसर्ती हेर्दा गजलकार, गजल लेख्न माहिर गजलकार भन्न सकिन्छ । उनका हरेक गजलहरू मन छुने खालका छन् । यस कृतिलाई जसले पल्टाएर पहिलो गजल पढ्नेछ उसले सङ्ग्रहको अन्तिम गजल नपढुन्जेलसम्म पाना पल्टाइरहनेछ भनेर ठोकुवा पनि दिन सकिन्छ ।

रेग्मी गजल र रुबाई मात्र लेख्दैनन्, समय समयमा अन्य विधामा पनि कलम चलाउन सफल वहाँ गीत पनि कोर्ने गर्दछन् । वहाँले लेखेको “मेरी आमा” बोलको गीतले धेरै चर्चा पाइसकेको छ । बिर्ख गुरुङ र सुशील रेग्मीद्वारा  संयुक्त रूपमा लेखिएको सो गीत सरन गुरुङको “सुहाना” अल्बममा समेटिएको छ । यो गीत युटुब मा धेरै हेरिएको अनि रुचाइएको गीत पनि हो साथै वहाँका अरू गीतहरू पनि आउने तरखरमा छन् ।  यसरी वहाँको साहित्य सिर्जनालाई सरसर्ती हेर्दा वहाँ एक प्रखर सर्जक हुन् भन्दा अत्युक्ति नहोला ।

 

विद्यालय जीवनदेखि नै फाट्ट फुट्ट छोटा कविता लेख्न सुरु गरेका रेग्मीले १२ कक्षादेखि चाहिँ पूर्ण रूपमा नेपाली साहित्यमा प्रवेश गर्नुभएको हो । वहाँले फाट्टफुट्ट कलिला कविताहरू कक्षा ८ मा पढ्दैदेखी लेखेपनी वयस्क सिर्जनाहरू भने गजल र रुबाईबाट सुरु गर्नुभयो र अहिले पनि त्यसैले निरन्तरता पाइरहेको छ । छरितो ढङ्गबाट चोटिलो प्रहार गर्न माहिर रेग्मीका सबै गजल र रुबाईहरु प्राय प्रसंशनीय छन् । समाजमा जस्तो देखिन्छ त्यसैलाई ऐनाजस्तै शब्दमा उतार्ने क्षमता भएका साहित्यकार सधैँ आँखा उघारै राखेर कान थाप्दै समाजमा भइरहेका घटनाक्रमलाई नियालिरहन्छन् भन्ने कुरा वहाँको कृति भुल्नै सकिनमा समावेश जीवन्त सिर्जनाहरूले छर्लङ्ग पार्दछन् ।

गजलकार - सुशील रेग्मी
गजलकार – सुशील

हुन्न,  उम्रँदैको  तीनपाते  बन्नु हुँदैन
सबै थोकमा म नै निपुण भन्नू हुँदैन।

उसले गर्छ मूल्याङ्कन तिम्रो बारेमा
तिमी आफैँ म चैँ महान गन्नु हुँदैन।

 

गजलकार, माथिका गजलका शेरहरुमा रमाउँदै आफू मात्र जान्ने अनि ठुलो ठान्ने प्रवृती भएकाहरुलाई दुख्नेगरी झटारो हानिरहेका छन् । आफूले आफैँलाई मूल्याङ्कन गर्नुभन्दा अरूले गरेको राम्रो भन्दै समाजलाई सन्देश दिन खोजिरहेका रेग्मी सिर्जनामा मात्र होइन समाजप्रति पनि उत्तिकै दायित्वबोध गर्दछन् भन्ने कुरा यसै गजलका शेरहरुबाट छर्लङ्ग हुन जान्छ ।गजलकार रेग्मी, प्रेमिल गजलहरू लेख्न पनि अति मन पराउँछन् । वहाँका सिर्जनामा जवानीका उन्मादहरु शब्द बनेर बैँस कुरिरहेको पाइन्छन् । हरेक दृष्टिकोणलाई हेरेर सिर्जना गर्नसक्ने वहाँका प्रेमिल गजलका शेरहरु पनि तल हेरौँ ।

जुनी जुनी तिम्रै दिलमा छाउँछु मट्याङ्गग्री
हजार जन्म तिम्रै भएर आउँछु मट्याङ्गग्री।

रिसाउँदा  नि राम्री  देख्छु खुसी हुँदा रम्दा
तिम्रो  साथ  हुँदा सधैँ  रमाउँछु मट्याङ्गग्री।

वहाँले मायाप्रेम, समाज मात्र नभएर राष्ट्र अनि राष्ट्रियताको कुरा गर्न भ्याएको पाइन्छ । माटो नहुनुको पीडा, राष्ट्र नहुनुको दर्द कस्तो हुन्छ भनेर आफ्ना सिर्जनामा राख्न खोजेका छन् ।

मेरो देश, मेरो भूटान कस्तो छ होला ?
मेरो गौरव, मेरो सान कस्तो छ होला ?

हिमालको  काखमा  सधैँ  रम्दै बसेको
अहा ! मेरो जन्मस्थान कस्तो छ होला ?

आफूले सानै छँदा आफ्नो माटो छोडेर फेरि फर्कन नपाएपछि, आफ्नो देश कस्तो छ होला भनेर राष्ट्रियताको खोजी गरिरहेको उनका सिर्जनाहरूबाट बुझ्न सकिन्छ । आफू जन्मेको मातृभूमि, सधैँ प्यारो हुन्छ भन्ने सन्देश पनि रेग्मीले दिन खोजेका छन् । माटो, राष्ट्र अनि राष्ट्रियतालाई गजलकार उच्च सम्मान दिइरहन्छन् भन्ने उनका माथिका शेरहरुबाट प्रस्ट हुन जान्छ ।

यसरी रेग्मीको गजलकृती भुल्नै सकिनलाई सरसर्ती हेर्दा यो कृति नेपाली साहित्यमा एक अब्बल गजलकारले लेखेको अब्बल कृति हो भनेर भन्न सकिन्छ । वहाँको यस कृतिभित्र जस्ता राम्रा सिर्जनाहरू छन् त्यस्तै वहाँको पुस्तकको पहिलो पानाको आवरण तस्बिर पनि रहेको छ । एकातिर कसैको पर्खाइमा आँसु झारिरहेका आँखाहरूले पर क्षितिजपारीको गाउँलाई सम्झिरहेको अनि अर्कोतिर जन्मभुमिबाट, नेपाल हुँदै विदेशसम्म आइपुग्दा आफ्नो माटोलाई कहिल्यै भुल्न नसकेर आँसु झारिरहेको सन्देश आवरण तस्बिरले दिन खोजेको छ । आवरण तस्बिरलाई हेर्दा देश, माटो र राष्ट्रलाई गजलकारले आफ्नो मुटुमा राखेर कहिल्यै भुल्न नसकेको छर्लङ्ग हुन्छ ।

अतः : वहाँको सिर्जनशील यात्रा अझ प्रगाढ बन्दै जाओस् ,वहाँका सिर्जनाले अझ चुस्त दुरुस्त बन्ने अवसर पाउन, वहाँको कलम अझ तिखारिँदै जाओस्, हार्दिक शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *