सूर्योदय
उँभो, असीम छ ।
उँधो, अस्वच्छन्द छ ।
दैलो ? मैलो छ ।
कोइलो, आउने छ ।
अवनि मुस्काउने छ ।
अन्तर रमाउने छ ।
जागरण दृगमा छ ।
कुसुम अब फक्रने छ ।
भँवराको ताँती लर्कने छ ।
धरा एक पटक सुखी रहन्छ ।
ढकमक्क सुख फुल्छ ।
पीढा, व्यथा खोइ, कहाँ भूल्छ ?
रोगका किटाणुलाई यहाँ स्थान छैन ।
यो सख्त रोमाञ्च गर्ने चौतारो हो ।
यो रुने ठाउँ होइन ।
यहाँ श्मशान मौलाउँदैन ।
यहाँ सबै सुखी रहन्छन् ।
खग । स्वतन्त्र नाच्नेछन् ।
सँगी । राग थरी गाउनेछन् ।
वट–पत्र । नथाकी नाच्नेछन् ।
यहाँ त मेला चल्नेछ ।
रमणी कहिल्यै थाक्दैनन् ।
बरु अगम बन्नेछन् ।
स्थिति रम्य हुनेछ ।
फूर्तिलो धाक छाउने छ ।
कंगाल धरा ढोगेर भाग्नेछ ।
ए ! यहाँ त बढेखाना हुने रे ।
सब यहाँ आमन्त्रित छन् ।
ख्वाइन्छ, खाइन्छ, रमाइन्छ ।
आनन्दमा सबै रमाउँछन् ।
* * * * * *
कालले बिदा लिन्छ ।
श्मशानमा होश जाग्छ ।
ऊ बौरिन लाग्छ ।
ऊ मौलाउन थाल्छ ।
अब आनन्द उस्मै हराउँछ ।
खोइ अघिको अगम?
ऊ अचेत जड भयो?
खोइ अघिको जागरण?
खोइ अघिको दृगतृष्णा?
खोइ अघिको मंगलाचरण?
उसकै छायाँमा लुक्यो?
थकाइले खूब सताउँदैछ ।
कालले खूब मताउँदैछ ।
लठ्ठ भएर निदाउँछ ।
मानौं ब्रह्माण्डमा हलचल भयो ।
हरे ! विस्फोटन र तुफान आउँछ रे ।
अनि पछि लगत्तै भूकम्म पनि आउँछ रे ।
कति साँघुरो अवनि?
कति निम्जो धरा?
सौख सेलायो, रोग मौलायो ।
सब यहाँ पीढाले ग्रस्त छन् ।
कुनै डाक्टर–वैद्यले अब पार लाउँदैनन् ।
सबैको एउटै सवाल छ —
यहाँ त्यो अमर मयङ्क चाहिन्छ ।
जुन हिजो थियो ।
जुन अस्ति थियो ।
अब आशय एउटै छ ।
झिनो भए पनि आशा लिऊँ है ।
कतै पुनः आउँछ कि ?
त्यो हाम्रो सूर्योदय ।
मिति: ०५/०१/१९९५