सेतो बालुवाको संसार
शुकदेव अधिकारी
ओहायो, अमेरिका
म त्यहीँ थिएँ । मेरो टाउकोभन्दा माथि तातो आकाश अनि खुट्टा तातो बालुवामा थिए । हो, म त्यहीँ ठिङ्ग उभिएको थिएँ । त्यो ठाउँ मेरा लागि बिल्कुलै नयाँ थियो । नयाँ संसार ।
अनन्तसम्म सेतो बालुवा छ । न केही हरियो छ, न कुनै पंक्षीको आवाज नै । केवल रापिला हावाका झोंक्काहरू ओहोर-दोहोर गरिरहन्छन् । जसमा कुनै वेग छैन । मानौं यिनीहरू बाटो बिराएर यस मरुभूमिमा हराएका छन् वर्षौंदेखि ।
मलाई त्यो संसारको त्यो दृश्य राम्रो पनि लागेन र नराम्रो पनि लागेन । आकाश मेरै हो । म यसकै छहारीमा जीवनका रंगहरू खोज्ने गर्दथेँ । सपनाका टुक्राहरू जोडेर एउटा सुन्दर सपना सजाउने गर्दथेँ । हराएका रहरहरू बटुलेर मुस्काउन सिक्दथेँ । तर यो बालुवामा आफ्नोपन पटक्कै छैन । न यसले मलाई चिन्दछ न म नै यसलाई । तर म यही बालुवाको सहारा लिन बाध्य छु अहिले ।
यस्तो बालुवामा पनि कुन सुन्दर वस्तु लुकेको होला र ? हुन त प्रकृतिका सबै सृजनाहरू सुन्दर नै हुन्छन् सुन्दर हेराइमा ।
बालुवा माथि बालुवाको खात ।
यहाँ केही पनि छैन तर यहाँ सबै थोक छ । बालुवामा बालुवै टुसाउँछ, बालुवै उम्रन्छ अनि बालुवै फल्छ । बालुवाकै खेत बालुवाकै धान, बालुवाकै हलो र बालुवाकै गोरु, बालुवाकै पहाड र बालुवाकै मैदान । बालुवाकै महासागर र बालुवाकै महादेश । बालुवाकै महल र बालुवाकै झुपडी । बालुवाकै देवकोटा र बालुवाकै मुनामदन । बालुवाकै सेक्सपियर र बालुवाकै हेमलेट ।
खुल्ला, खुलस्त र खुल्लमखुल्ला आकाशमुनि एकाएक बादल लागेजस्तो हुन्छ । एउटा अजंगको जीवको आकृति मेरा आँखाभित्र छिऱ्यो । आँखा सातो गएर फर्कन्छन् । फेरि त्यसलाई हेरेँ ।
कत्रो ? चरो ? कि के ? सूर्य नै ढाक्ने । विचित्रको जीव ! मस्तिष्कमा उत्तर छैन ।
जीव मेरै नजिक अवतरण गर्छ बालुवामा । घरजस्तै खडा भयो मेरा सामु त्यो जीव । तीनतले घर । प्रचण्ड गर्मीबाट मुक्ति पाएँ मैले उसको छायाँमा । उसले आफ्नो त्यही संसारको बासिन्दा भएको बतायो । बालुवाको संसारको प्राणी । उसको अनुहार हेर्न मुन्टो सिधै ठाडो पार्नुपर्थ्यो मैले ।
‘आज अन्तरवैश्विक सम्मेलन हुँदैछ मेरो संसारमा’ उसले भन्यो । मेरो परिचय खोज्यो उसले । म पृथ्वीबाट आएको मानिस- मैले भनेँ । मेरो शरीर राम्ररी नियाली उसले मुख खुम्च्यायो । प्लास्टिक आगोमा हाल्दा खुम्चिएजस्तै, अनुहारभरि मुजैमुजा । ऊ हाँसेको हो कि रिसाएको पत्तै भएन ।
‘पहिलाको सम्मेलनमा त पृथ्वीबाट अर्कै जीव पो आएको थियो । ऊ ठूलो थियो म समानको । चार खुट्टा, खस्रो छाला, लामो अनि बटारिएको घाँटी । ठूलठूला दारा भएको । तिमी त हेर्दै मरनच्याँसे, न्याउरो, फिस्टे देखिन्छौ । मानिस रे …..? कस्तो जीव हो यो ? कहिलेदेखि पृथ्वीमा छ यो प्राणी ?’ उसले आश्चर्य प्रकट गऱ्यो ।
मलाई लाग्यो उसले डाइनोसरसको कुरा गऱ्यो । जुरासिक पिरियडमा पनि अन्तरवैश्विक सम्मेलन भएको हुँदो हो । डाइनोसरस त्यहाँ गएको हुँदो होआफ्नो सहांरअघि, पृथ्वीको प्रतिनिधि ।
कति लामो आयु जुरासिक पिरियडदेखि अहिलेसम्म, एउटै जीव । म छक्क परेँ ।
त्यत्तिकैमा विभिन्न ग्रहहरूबाट थरिथरिका जीवहरू टुप्लुकिए । विचित्रका प्राणीहरूको ओहिरो देखेर म हेरेको हेरै भएँ । शिष्टाचार, परिचयको आदानप्रदान भयो । मलाई देखेर आश्चर्य प्रकट गरे सबैले । जुपिटरबाट आएको जंगेले त जुरुक्क उठायो मलाई एउटा हातले । उसको काँधनेर पुऱ्याएर फेरि भुइँमा राख्यो । मेरो हंसले ठाउँ छोडिसकेको थियो, त्यति माथि पुग्दा । उनीहरूका लागि चर्चाको विषय नै बनेँ म । सानु गुडिया ।
मार्सबाट आएको जीवले पृथ्वीमा मानिस छन् भत्रे कुरा थाहा पाएको रहेछ । तर यस्ता फिस्टेचाहिँ होलान् भनेर उसले सोचेको पनि रहेनछ । उनीहरू मलाई घरजत्रो हेर्न आतुर रहेछन् । तर ठीक विपरीत ।
कस्ताकस्ता प्राणीहरू सृजना गरेका रहेछन् ईश्वरले । कसैका थाम्नै नसकिने जस्ता सिङ, कसैको बडेमानको पुच्छर त कसैका बुद्ध एयरका भन्दा दुईगुणा ठूला पखेटा र उतिनै ठूलो चुच्चो । लगभग सबै ग्रहका प्रतिनिधिहरू उपस्थित थिए त्यहाँ । होस्ट ग्रहको प्राणी जोसँग मेरो पहिला परिचय भएको थियोसबैलाई आआफ्नो स्थानमा बस्न आग्रह गर्छ । विचित्रका जीवहरू आआफ्ना तरिकाले घ्याच्च, थच्च, टुसुक्क, टक्र्क्क बसे बालुवामा । म पनि खुरुरु कुदेर हरियो ग्रह लेखेको ठाउँमा उभिएँ । बस्ने त कुरै भएन । उनीहरू बसेका अवस्थामा पनि मेरो कुरा सुनाउनलाई भऱ्याङ लगाएरै भन्नुपर्ला जस्ता अजËका ती जीवहरू ।
मार्सको त्यो प्राणी अरू प्राणीहरूसँग कानेखुसी गर्दै थियो मलाई हेर्दै । के भन्यो थाहा भएन ।
सभापतिका लागि अर्कै सौर्यमण्डको ग्रहग्लिज ५८१ का जीवलाई डाकिएको रहेछ । उसको आकार भने मान्छेसँग मिल्दो तर धेरै ठूलो थियो ।
सभाको उद्घाटन सेता ससाना ढुङ्गा बर्साएर गरियो । एउटा ढुङ्गो मेरा टाउकामा बजारियो तल खस्ने क्रममा । म थचक्क भएँ । उनीहरूका लागि त्यो फूल समान ।
उद्घोषकले छलफलका एजेन्डाहरू अघि साऱ्यो ’यस सौर्यमण्डलका हालसम्मका ग्रहहरूका अवस्थाहरू, प्रदूषणको मात्रा, प्राणीहरूको सङ्ख्या, वैज्ञानिक आविष्कार, अन्तरग्रहको सम्बन्ध, बिगब्याङ थ्योरी, ब्ल्याक होल, महाप्रलय र भावी योजनाहरू ।’
प्रदूषण, जीवहरूको सङ्ख्या र वैज्ञानिक आविष्कारमा मेरो संसार निकै अगाडि छ भन्ने मलाई लाग्यो । सबै ग्रहका प्राणीहरूले आआफ्ना ग्रहका विषयमा बोले । त्यहाँको अवस्था र योजनाहरूको जानकारी गराए पालैपालो ।
म भन्दा पछिको बक्ता थियो मार्सको प्राणी । आफ्नो ग्रहको अवस्था दिनानुदिन प्रतिकूल हुँदै गएको जानकारी गरायो उसले । त्यहाँको वातावरणमा प्रदूषण बढेको छ । जसका कारण मार्सका धेरै प्राणीहरूको ज्यान गुमेको छ ।
एकाएक ऊ आक्रोशित भएर ठूलो स्वरमा चिच्याउन थाल्यो‘मेरो संसारको प्रदूषणको कारण पृथ्वी हो, त्यहाँका प्राणी हुन् । ऊ त्यो फिस्टे मानिस हो ।’ मलाई देखाउँदै भन्यो उसले । मेरो मुटु काम्न थाल्यो । ती ठूला पञ्जाले कऱ्याककुरुक पार्यो भने !
‘आविष्कारका नाममा रसायनयुक्त धुवाँ फालेर हाम्रो ब्रम्हाण्डलाई नै प्रदूषणले भर्दैछन् यिनीहरू । अबका केही वर्षमा कुनै पनि ग्रह प्रदूषणमुक्त रहने छैन । पृथ्वीको त के कुरा त्यति सुन्दर पृथ्वीको हालत बरा । यी फिस्टेहरूले कहालीलाग्दो बनाए सुन्दर पृथ्वीलाई । हरियो ग्रह भनेर चिनिने त्यो पृथ्वी अब धेरै दिन रहने छैन । त्यसको रंग कालो भइसकेको छ । सुन्दर पृथ्वीका शरीरमा खोपेर, काटेर, प्वाल पारेर छियाछिया बनाएका छन्, यिनीहरूले । पृथ्वीका अरू प्राणीहरू पनि सिध्याइसके यी राक्षसहरूले । यिनीहरू पृथ्वीलाई आफ्नो मात्र सम्झन्छन् । ती निर्दोष प्राणीहरूको निर्मम हत्या गर्छन् आफ्नो स्वार्थका खातिर । यिनीहरूकै कारण ब्रम्हाण्डमा सी.एफ.सी.को मात्रा बढेको छ । ओजोन तहमा प्वाल परेको छ । जसका शिकार हामी सम्पूर्ण ग्रहका प्राणीहरू भएका छौँ । त्यतिले मात्र कहाँ पुग्नु । यिनीहरूको भावी योजनाअनुसार अब मेरो विश्व मार्समा समेत मानवबस्ती बसाल्ने रे … यो कहाँसम्मको अत्याचार हो ? यसरी नै छाडा छोड्ने हो भने यी फिस्टे मानिसहरूले सारा ब्रम्हाण्डलाई नै आफ्नो बनाउँछन् केही वर्षमै । अनि पूरै ब्रम्हाण्ड खरानी भएर ब्ल्याक होलमा बिलिन हुनेछ । यिनीहरूको पृथ्वी प्राणी बस्न योग्य हुनेछैन केही समयपछि । त्यसको अस्तित्व लोप हुनेछ । पृथ्वी खरानी भएर उड्नेछ ब्रम्हाण्डमा । नपत्याए हेर्नुहोस् पृथ्वी उदाउने बेला भएको छ ।’
क्षितिजतिर देखायो उसले । सबैका आँखा त्यतै दौडिए । एउटा कालो, धुवाँले छोपेको पिण्ड रोइरहेजस्तो देखियो अन्तरिक्षमा ।
‘त्यही हो पृथ्वी । बिचरा ! कति सुन्दर थियो पहिले । कुपात्रमा परेपछि अमृत पनि विष बन्दो रहेछ । त्यो हरियो संसार उदाउँदा मेरो विश्वका सबै प्राणीहरू रमिता हेर्न निस्कन्थे खुशी भएर । तर आज ………. हरे…..’ उसले सुस्केरा हाल्यो ।
ऊ बोल्दै थियो । के के भट्भटायो मेरा दिमागमा पस्न छाड्यो । आतिइन थालेँ । छाती फुलेर आयो । दिमागमा एउटै कुराले हिर्काउन थाल्यो भोलि रहने छैन मेरो पृथ्वी । हरे !…. मेरो पृथ्वी….. ! त्यहाँका सम्पूर्ण प्राणीहरू भोलि रहने छैनन् ! मेरा सन्तति भोलि….. ! न नेपाल रहन्छ….न सगरमाथा नै !
भोलिको घाम पृथ्वीमा उदाउन पाउने छैन । मानव इतिहास खरानी भएर उड्नेछ । न मन्दिर रहन्छ न त्यसको देवता नै । न कवि रहन्छ न कविता नै । न देवकोटा रहन्छन् र सेक्सपियर नै ।
छाती भक्कानिएर आयो तर, आँसु आउन सकेन आँखामा । आङ सिरिङ्ग फुलेर आयो तर, शब्द आउन सकेन आवाजमा । मेरो मन पटक्कै तयार भएन भोलिको संहारलाई आत्मसात् गर्न । मनले ईश्वरलाई सम्झ्यो हे मेरो ईश्वर… सक्छस् भने बचाइदे… । म नरहे तँ पनि रहने छैनस्….. ।’
म बिउँझे । मेरै विस्तरामा थिएँ । पसिनाले भिजेको थियो पुरै शरीर ।