सौदा सम्बन्ध

बुद्धमणि ढकाल
केन्टकी, अमेरिका

ज्ञानु बजार गएको दिन अबेरसम्म आलेटाले गरेर बिताउथी। घरको सौदा भर्न आमा वा भाउजुसँग बजार गएको दिन पनि ऊ बेलामा घर फर्किन्नथी।

“आज प्रह्लादले फोन गर्छु भनेको छ। बेलुकासम्म पर्खनु छ – वहाँ बिहान भएपछी उसले फोन गर्छ।”

“के तैंले त्यही एउटा मान्छे मात्र देखेकोछेस्। यति टाढा भैसक्यो। के थाहा उसले अर्कैतिर सोच्दै छ कि? अरुको मनमा कहाँ पस्न सकिन्छ र ज्ञानु। ” आमाको खबरदारी हुन्थ्यो।

प्रह्लाद र ज्ञानुको चिनजान त्यही उच्च माविमा भयो – प्लस टु को कक्षा लिँदा। दुवै कमर्सका विद्यार्थी। बिहानको कक्षा। प्रह्लाद एउटा पुरानो खटेरो साइकलमा बिहानको घाम झुल्के सँगै त्यहाँ पुग्थ्यो। उसको बाबु भारतको कुनै ठाउँमा ज्यालादारी गर्न गएको थियो – छोरालाई पढाउने खर्च जुटाउन।
आमा शिविरको बाङ्गे बजारमा सब्जी फलफूल बेच्थिन, बिहान बेलुका अलि पोषिलो खानेकुरा जुटाउन। प्रह्लादको बाबु वर्षमा एक चोटी मात्र घर आउन सक्थ्यो – दशैं ताका।

“प्रह्लाद-आमा, यो छोरालाई राम्रै कलेज पढाउनु पर्छ। घरको रेखदेख तेरो जिम्मा भो।” प्रह्लादको बाबुले भनेको थियो घरबाट हिड्ने बेला। अभावमा पिसोल्टिएको अभिभावकले आफ्ना सन्तानप्रति गरेको लगानी भनेको शिक्षा नै हो। प्रह्लादका बाबु -आमा यो लगानी गर्नमा सचेत थिए।

बसपार्क नजिकै खुलेको एक मात्र इन्टरनेट क्याफेमा भीड लाग्ने गर्छ। ज्ञानु क्याफे खोल्नुभन्दा अघि नै त्यहाँ पुगी। प्रह्लादसँग दुई घण्टा याहू च्याटमा कुराकानी गरी र घर फर्की।
“प्रह्लाद आउने भन्दै छ। तर आउनु अघि आमासँग कुरा गर्छु भनेको छ। जाऊँ न आमा भो। “

“मैले के भन्नु र। तेरो र उसको के कुरा भैराको हो, मलाई थाहा पनि छैन।” आमाले अनभिज्ञता जनाइन्।

बेलुका आमालाई बेलीविस्तार लगाई ज्ञानुले – प्रह्लाद र उसको परिवार बारेमा।

प्रह्लाद, उसकी आमा र एक बहिनी टेक्सास राज्यमा पर्ने डल्लासको बाहिरी सहरमा बस्छन। उनीहरु पथरी शिविरको सेक्टर बि मा थिए। न्यु होराइजन अकादेमीमा कक्षा दश सकेर प्रह्लाद त्यही उच्च माविमा पढ्दै थियो। उसले त्यहाँ भर्खरै घर किनेको छ। गाडी छ। म एक दुइ पटक शिविर घुम्ने निहुँमा प्रहलादको छाप्रोमा पनि पुगेकी छु। उसको बाबु पुनर्वास हुनुभन्दा एक वर्ष अघि मलेरियाको कारण बितिसकेका। ऊ डल्लास छेउ एमाजन कम्पनीको गोदाम घरमा रातीको काम गर्छ।
“मैले उसकी आमासँग बातचित नगरी ढुक्क हुन सक्तिन। यति टाढाको कुरामा तिमेरु दुईजनाको कुराले मात्र कहाँ हुन्छ। अमेरिका भन्दैमा हामफाल्नु हुदैन छोरी।”

xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx

सन् २०१७ को क्रिश्मस छुट्टी हुने समय पारेर प्रह्लादले हवाई टिकट किन्यो। यसो गर्दा उसलाई आफ्नो सुविधाको छुट्टीमा काटिने दिन कम हुने भयो।
“म दिसम्बर २२ मा त्यहाँ झर्छु। एक महिनाको भ्याकेसन मिल्यो मलाई। बिराटनगरसम्म प्लेनमै आउँछु |” प्रह्लादले ज्ञानुसँग फोनमा बोलेको आमाले सुनिन्।

“तैंले बस्तीको केटीको भर परेर गल्ति पो गर्दैछस कि? रात रात भर काम गरेको पसिनाको पैसा पठाएको छस्। भोलि त्यो केटी अर्कैसँग हिडदिई भने तेरो विश्वासमा चोट लाग्छ। फेरि अलिकति जात पनि मिलेन। होश गरेर जिन्दगीको निर्णय गर्नुपर्छ। घर बसाल्ने कुरा हो।”

“चार वर्ष भयो त्योसँग चिनजान भएको। म उसको परिवारका अरुलाई पनि चिन्छु – आमा दाजु भाउजु। राम्रै घर-परिवार छ। किराँत धर्मका मान्छे हुन् – धार्मिक र अनुसाशित |”

प्रह्लादले आमालाई आश्वस्त पारेर आफू ढुक्क हुन खोज्यो।

पछिको दिनमा आमाको स्याहार गर्न प्रह्लादले ज्ञानुको भर गरेको हुँदो हो। ‘होमकेयरमा दर्ता गरेर ज्ञानुलाई घरमै जागिर मिलाउने बन्दोवस्त गर्छु’ , योजना भन्यो आमालाई।
“तपाईंको स्याहार पनि हुने, पैसा पनि घरमा आउने। “

२०१७ भरि प्रह्लादले काममा आठ घण्टाभन्दा बढी जति समय ओभरटायम पाउथ्यो, गर्यो। उसलाई बिहे र यात्रा खर्च जुटाउनु परेको – ज्ञानुलाई डल्लास एयरपोर्ट ल्याउञ्जेल सम्म खर्च पेल्नुथियो।

XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX

बुद्ध एयरको बिमानले बिराटनगर एयरपोर्टमा टेक्दा दिउँसो १२:०७ बजेको छ। आज ज्ञानु रोमान्चित छे – आफ्नो मान्छे भेट्ने पुलकित पर्खाइमा। बेला बेला व्याकुल भएकी छे – कुन बेला ऊसंग मिलन होला भनेर।

‘ म बिहानै बिराटनगर झर्छु – ८:५० को उडान छ काठमाडौँबाट’, प्रह्लादले भनेको सम्झी।

‘यो समयको गति किन रोकिएको होला। अनि हाम्रो देशमा समयमा केहि काम गर्न नहुने रोग कहिले सम्म होला।’

ज्ञानुको मनोवाद त्यतिबेला टुंगियो जुन बेला उसले प्रह्लादलाई ठूला दुई सुटकेश गुडाउदै, एउटा हाते झोला बोकेर ऊतिर आउँदै गरेको देखी।

पर्खाईको पट्यार अन्त्य भयो – ऊ ढुक्क भई।
मुटुको धड्कन बढ्यो – ऊ अलि आत्तिई।

एयरपोर्ट बाहिर ज्ञानुले ट्याक्सी बोलाई र चर्को दलाल गरी। निकै खारिएको वाक-शिल्पले एउटा ट्याक्सी मिलाई- दमकसम्म जाने सर्तमा।

‘ म लजमै बस्छु केहि दिन। ‘

‘क्याम्पमा कोहि छैन?’

‘छ फुपूको छोरा। तर बस्न जाँदिन। भेट्न जान्छु।’

ट्याक्सीको यात्राभरि खास कुरा भएन। बस्ने लजको टुङ्गो लागेपछि प्रह्लादले भन्यो, “मैले आमासँग भेट्न र विस्तृत गफ गर्नुपर्छ। विश्वासको जग बसाल्नु पर्छ।”

ooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooo
“काम के गर्नुहुन्छ वहाँ?”

“अनलाइन समान बिक्री गर्ने एउटा ठूलो कम्पनीको गोदाम घरमा काम गर्छु, रातीको।”

“हाम्रो ज्ञानुले त खास त्यती पढेको छैन। के काम गर्ने उसले त्यहाँ गएर ?”

“काम जस्तो पनि गर्न पाइन्छ अमेरिकामा। काम सानो ठूलो हुदैन अनि कसैले कामलाई हेला गर्दैन। तर ज्ञानुलाई यहीं केहि शिपमुलक पढाई गर्न म उपाय खोज्छु।”
“जाने कगजपत्र नहुञ्जेल वा भिसा नलागुन्जेल ज्ञानुले केहि अँग्रेजी अनि सीप सिक्नुपर्छ। बरु छिट्टै बिहेको साइत तोक्न पाए हुन्थ्यो। मेरो एक महिनाको मात्र छुट्टी छ।” प्रह्लादको आग्रह हुनेवाला सासुसँग |

बिहे पछि प्रह्लाद ससुराली घरमा डेरा सर्यो – अमेरिका नफर्कुन्जेललाई ।

…………………………………………………………………………………………………………………………………………………………………………………..
ज्ञानुकी साथी रेश्मा उसलाई भेट्न आएकी छ।

‘ज्ञानु आज बिराटनगर गा’को छे,’ आमा भन्छिन्। “ज्वाईंको के सामान किनेर पठाइदिनु छ रे।”

महिनामा एक फेर शहर जान्छे – बिराटनगर वा काठमाडौँ सम्म। कहिले कागज बुझाउन त कहिले के सामान किनेर पठाउने निहुँमा।

‘हिजो आज ज्ञानुको हाउभाउ नै अर्को दर्जाको भएको छ,’ साथीले सम्झी, बोलिन।

ज्ञानु साँच्चै बद्लिएकी छ। उसको चाल चलनबारे कानेखुसी गर्नेको सङ्ख्या बढेको छ। अमेरिकी डलरले नयाँ स्मार्टफोन आएको छ, फेसबुक खोलिएको छ। फेसबुकले देखाएको सन्जालको छायाँ दुनियाँ रमणीय लाग्छ ज्ञानुलाई।
रुपरङ फेरिदै छ। फेशनको तडक भडकमा चासो बढेको छ , फ़ुरुङ्ग छ जिऊ अमेरिका उड्न पाउने आशले।

‘यो गाउँको एकहोरो विरसिलो जिन्दगीबाट मुक्त हुने दिन कहिले आउँछ, वाक्क भैसकें।’
फेसबुकमा चिनजानका साथी सङ्गीहरु भेटिएका छन्। कोही अस्ट्रेलिया, कोही क्यानाडा र धेरै अमेरिकामा।
.
नजिककी एक हितैषी कुसुमसँग दिनहुँ च्याट भैरहन्छ :

‘जिन्दगी कस्तो चल्दै छ?’

‘रमाइलो छ’

‘कस्तो रमाइलो ?’

‘सबै कुराको सुविधा, कुनै कुराको अभाव छैन। राम्रो गाडी, राम्रो घर, घुमफिर।’

‘तिम्रो के हुदैछ आउने ?’

‘पैसा पठाउदै छ उसले ?’

‘…………………………’

प्रह्लादले पठाएको पैसाले ‘कम्प्युटर र ल्याङ्गुएज’ सिक्दै छे ज्ञानु। सिक्नु त के बहानामा डलरको रवाफ बढ्दै छ।

‘डल्लास-फोत्वर्थ अन्तरास्ट्रिय विमानस्थलमा ओर्लेको दिन कस्तो होला?’ ज्ञानुको दिवास्वप्न अझ भड्केको छ।

प्रह्लादसँग भएको फोनवार्तामा उसले अमेरिकी जीवन शैली सबै बुझ्दैछे |

प्रह्लाद भन्छ , “तिमी यहाँ आएपछि अझ रमाइलो हुनेछ। रमणीय ठाउँ घुम्न जाऊँला। सँगै बजार जाऊँला, ठूला सुपरमार्केटमा सौदा किन्न जाऊँला।”

” पछिको दिनलाई आजबाटै योजना बनाउन थाल्नु पर्छ। घरमै बसेर जागिर हुने ठाउँ छ यहाँ। होम हेल्थ केयर अथवा घरैमा स्वास्थ्य सेवा दिने केही संस्थाहरुमा काम गर्न सजिलो हुन्छ। आफ्नो घरको काम पनि गरिने, पैसा पनि हुने। बाहिरको काम गर्न गइहाल्नु पर्ने वाध्यता छैन।”

ज्ञानु सम्झिन्छे –
के अमेरिका गएर पनि घर भित्रै जिन्दगी काट्ने हो त ? मलाई त अमेरिकाका ठूला सहर र रमाइला ठाऊँहरु घुम्न जाने इच्छा छ। जीवनको भरपूर अनुभूति गरौँ लागेको छ। तर ऊ भन्छ घरमा बस्, आमाको हेरचाह गर्। तर जे होस् अमेरिका त जसरी नि गइनेछ।

केहि हप्ता अघिदेखि ज्ञानुको फेसबुकमा न्युयोर्कतिर बस्ने एक तन्नेरी जोडिएको छ। बेला बखत च्याट हुन्छ। सामान्य चिनाजानी, साधारण गफको विषय।

“अब धेरै दिन छैन, पासपोर्ट दुतावासमा बुझाएको छ। भिसा पर्खेर बसेको छु”, रेश्मालाई भनेकी छ ज्ञानुले।

“प्रल्हादले उतै बाट टिकट किनिदिन्छ होला नि?” रेश्माले सोधी तर उत्तर जान्न खास चासो राखिन।

भिसा लागेर आएको रात न दिन कुनै बेला पनि ज्ञानुको अन्तर्मनमा अँध्यारो भएन। जिन्दगी अकस्मात कुनै परीको देशमा पुगे जस्तै भयो। ‘अलिस इन वन्डरल्याण्ड’ जस्तै। प्रह्लादले टिकट किनेर यात्राको विवरण (आइटिनेरी) पठाएपछि त जिउ यति हल्का भयो कि, कुनै जादुगरी बनावटी जहाजमा पनि उड्न तयार छे ऊ।
न्युयोर्कको तन्नेरीले शहरको झल्को हुने धेरैवटा फोटो ज्ञानुलाई पठाइसकेको छ। ज्ञानुको यात्रा विवरणमा नेवार्क लिबर्टी एयरपोर्टमा उसले डल्लासको लागि अर्को जहाज फेर्नु पर्ने छ। करीब तीन घण्टा पर्खेर डल्लास-फोर्त्वोर्थ उड्नु पर्ने छ।

अप्रिलको पहिलो दिन अमेरिकी धर्तीमा उज्यालो हुँदा एयर इण्डियाको ७४७ विमानले नेवार्क लिबर्टी विमानस्थलको धावनमार्गमा टेक्ने छ। तन्नेरी विमानस्थलको प्रतिक्षा कक्षमा पुग्ने छ। ज्ञानु डल्लासको जहाज लाग्ने गेट नम्बर ४८ नगई बाहिर निस्कने छ – प्रतिक्षा कक्षमा।
तन्नेरी समान टिप्ने घुमाउरो पेटी छेउको काउचमा बसिरहने छ – ज्ञानु आउने दिशातिर आँखा फ्याँकेर।

डल्लास विमानस्थलमा तीन बजी पुगेको प्रह्लाद बेलुका आठ बजी सम्म पर्खिरहन्छ। उसलाई मान्छे हराएको खोजी कहाँ गर्ने, कसलाई उजुरी गर्ने थाहा छैन ; अलमल्ल पर्छ, टोलाउछ र आफैँभित्र हराउँछ। बिहे पछि छोडेकी श्रीमति भेटेर आउने स्वर्गीय अनुभूतिको साटो तातो लाभाले छोपे सरि पसिनै पसिना भएको छ। पागलपन सिञ्चित भैरहेको छ |
त्यस तन्नेरी र ज्ञानुबीच अस्वभाविक बढेको सान्निध्यबारे रहस्य वोध हुन प्रह्लादलाई अरू थप समय चाहिने भयो – ऊ ज्ञानुको अवतरण हुने आशमा आकाशमा विचरण गरेका हरेक विमानमा ज्ञानु ज्ञानु देखिरहेको छ। आधा रात छिप्पियो, प्रह्लाद विमानस्थल प्रतिक्षालयमा छटपटी काटिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *