सौरेनी

कवि

शिवलाल दाहाल
खुदुनाबरी, झापा

सौरेनी–
एउटा अग्लो डाँडो, पहाडको थुम्की
कुनै समय एक युगको शिखर थियो
कुनै समय एक सभ्यताको उचाइ थियो,

त्यसबखत सौरेनी
अँध्यारोमा घाम भएर उदाइदिएको थियो
त्यसबखत सौरेनी !

सीमानामा पहरेदार भएर उभिदिएको थियो
त्यसबखत सौरेनी,
जंगलमा धान,मकै, गहूँ र ऊखू भएर फुलिदिएको थियो
त्यसबखत सौरेनी
पाखा-पखेरामा हिरा भएर चम्किदिएको थियो ।

कसैलाई लेखा-जोखा छैन
कालान्तरमा त्यही सौरेनीले
कतिचोटि
धुपी र सल्लाको बोटमा आत्मदाह गरिसक्यो
कतिचोटि,
धामधुमको बगरमा गोली थापिसक्यो,
कतिचोटि
सुन्कोस र मानसमा बगिसक्यो,
कतिचोटि
पोक्ची र कान्छी भएर बलाकृत भइसक्यो,

कसैलाई लेखा-जोखा छैन
सौरनीको बिगतको कथा
मात्र बाँचिदिएको छ ऊ
खण्डहर इतिहासको गर्भमा
चिरहरण गर्न खोजिएकी द्रौपदी जस्तो !

भदौ १६,२०६८ (ऋषि पञ्चमी)

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *