स्मार्टफोन
देवी पोखरेल
एडिलेड, अस्ट्रेलिया
अमेरिका बस्ने एक नातेदार काकाले
फेसबुकको म्यासेन्जरमा –
‘हेलो! भतिज के छ?’
भनेर म्यासेज पठाउनु भयो
मैले मेरो स्मार्टवाचको स्क्रिनमा देखेँ।
अफिसको कामले व्यस्त भएकाले
पछि जवाफ दिउँला भनेर
त्यस म्यासेजलाई त्यतिकै छाडिदिएँ।
‘बा-आमालाई कस्तो छ, भतिज?’
भन्ने अर्को म्यासेजको पनि जवाफ नदिँदा
काकाले खै के सोच्नु भयो कुन्नि
र, जङ्गिँदै लेख्नु भएछ –
‘त्यहाँ स्मार्टफोन हुँदैन कि कसो?
छैन भने म यहाँबाट पठाइदिऊँ?
आइफोन त यही बन्छ नि,
कि जानिँदैन चलाउन?
मेरो आइटी पढेको नाति छ – सिकाइदिन्छ’
त्यसपछि त काममा ध्यानै गएन
मनमा कुतकुती लागिरह्यो,
असिनपसिन हुँदै सोचमग्न भएँ ।
साठी वर्षीय त्यो चुनौतीलाई सहज रूपमा लिनै सकिन
मलाई कता कता पोल्न थाल्यो
हाँस पनि उठ्यो के भन्या होला काकाले त्यस्तो,
साथै रिस पनि झनक्कै उठ्यो
मेरो घोर उपहास गरेकोझैँ लाग्यो
एकै क्षण आँखा चिम्लिएर सिलिङतिर फर्के
काकाको त्यही अनुहार देखेँ जो मलाई
स्मार्टफोन कै विषयमा नाना थरी कुरा गर्दै
निरन्तर खिसी गरिरएको थियो,
सूचना प्रविधिको युगमा पनि
ढुङ्गेयुग मै रहेको भन्दै गिज्याइरहेको थियो,
दक्ष प्राविधिकले झैँ अब्बल ज्ञान सिकाइरहेको थियो।
निरीह म, मेरो आफ्नै माया लागेर आयो
लाज लागेर आयो
आँखा खोल्ने बित्तिकै
ती सबै म्यासेजहरू डिलिट गरिदिऊँ झैँ लाग्यो
हैन! फेरी जवाफ फर्काइदिऊँ
अनि जवाफमा मेरो स्मार्ट फोनको फोटो नै खिचेर
पठाइदिऊँ जस्तो लाग्यो
फेरि साठी वर्षीय काकासँग
के प्राविधिक युद्ध लड्नु होला र जस्तो लाग्यो।
त्यस लज्जास्पद घटनाबाट अन्यत्र ध्यान केन्द्रित गर्न
एस्प्रेसोको चुस्कीसँगै
झ्यालबाट बाहिर हेरेँ
तल बगैँचामा दुई चार युगल जोडी अङ्कमालमा
आलिन हुँदै सेल्फी लिइरहेका थिए
कोही फलैँचामा बसेर फोन थिचिरहेका थिए त
कोही फोनमा कुरा गर्दै, कसैको कानमा हेडफोन
रोडमा दौडिरहेका गाडीका हुलमा
उबर चालक यात्री टिप्न वा झार्न दौडेका देखिन्थे
यी सबै दृश्यहरू अवलोकन गर्दै
कल्पनामा मस्त भइरहँदा
काकाको बेजोड बम रुपी चुनौतीलाई सम्बन्धमा जोड्दै
ती म्यासेजको जवाफ
हृदयको सफा पानामा कोर्न थालेछु।
प्रिय काका!
हो स्मार्टफोन त साधारण फोन मात्र नभएर
फेसबुकको फिड, म्यासेन्जर, स्टोरी, लाइभ
ट्विटरको लघुब्लग ट्विट – रिट्विट,
ईन्सटाग्राममा फोटाको ह्यासट्याग,
स्न्याप च्याटको क्षण साटासाट,
गुगलको खोज, विश्व मानचित्र आदि,
युट्युबको भिडियो र मौद्रिकिकरण,
टिकटकको ओठे कला,
स्पोटिफाइको गीतसङ्गीत,
जस्ता अनेकौँ सञ्जाल र प्रविधिको मेला हो।
क्याण्डीक्रस र पबजीको खेला हो।
साथै विश्वलाई सानो ग्राममा परिणत गर्ने जादुको छडी
जीवनलाई ठुलै हदसम्म सरल पार्ने यन्त्र,
सारा संसार अटाउने सौर्य मण्डल नै हो
एउटा बटनका भरमा ब्रम्हाड नै
प्रत्यक्ष प्रसारण गर्ने अनुपम आधुनिक आविष्कार हो।
परन्तु काका !
यस आविष्कारले हाम्रो,
फुर्सदलाई दासी बनाएको छ,
समयलाई घुँडा टेकाएको छ,
तनमा लागूपदार्थ भन्दा कडा नसा चढाएको छ,
मित्रतालाई जुटाउनुभन्दा फुटाएको छ,
पाहुनालाई चिडियाएको छ,
शरीरमा आलस्य थपेको छ,
निन्द्रा हराम गरेको छ,
अध्ययन लेखनको बानीलाई शून्य पारेको छ,
पारिवारिक सन्तुलन खलबल्याएको छ,
घरलाई सुनसान तुल्याएको छ,
डिनर टेबलमा हुने गफगाफलाई सिद्ध्याएको छ,
चुलो चौकोमा माकुराको जालो लगाएको छ,
कति बा-आमालाई छोरा-छोरी भोकै राखेको छ,
सबै उमेर र पुस्तालाई गाँजेको छ,
प्रतिष्ठित सभ्य समाजलाई असभ्यताको सङ्घारमा पुर्याएको छ,
सामाजिक वैभवलाई बिटुलो बनाएको छ।
त्यसैले काका मलाई यो मेरो स्मार्टफोन
निल्नु न ओकल्नु भएको छ
जाने पनि नचलाई समुद्रमा मिल्काइदिऊँ जस्तो लागेको छ
र स्मार्टफोन मात्र हैन
मोबाइल फोन पूर्वको समयमै फर्कने रहर लागेको छ
काका! यो घाँडोविहीन सरल जीवन जिउन मन लागेको छ।