स्मृतिका पानाबाट..

–ईश्वर प्रवासी/ युटा, अमेरिका

धेरै पछि मेसेन्जरमा उसले ‘हाई’ लेखेर पठाई । मलाई ताज्जुब लाग्यो । यतिका वर्षसम्म गुमनाम ऊ आज अकस्मात कसरी सलबलाई…? यो प्रश्न मेरो मगजमा अनुत्तरित बन्यो ।

२०६१ साल ताका बिर्तामोड एमिटी कलेज पढ्ने क्रममा ऊसँग भेट भयो । मेरी एकजना सम्बन्धित आफन्त चेली मार्फत म ऊसँग परिचित हुन पुगेको थिएँ । ऊपनि मेरै कक्षामा अध्ययनरत रहिछ ।

एक दिन तिनै सम्बन्धित चेली दीपाले कुरो राखिन्, “भावना पनि तिम्रै कलेजमा वाणिज्य सङ्कायमा अध्ययनरत छ, कहिलेकाहीँ बोल्नु नि ? ऊ साह्रै फरासिली छ ।” “आच्य ! दिदी के आधारमा बोल्दै जानु हो ? मलाई केटीहरूसँग सितिमिति बोल्न आउँदैन । त्यही माथि केटीहरू साह्रै भाउ खोज्ने खालका हुन्छन् ।” मैले त्यतिकै टारिदिएँ । तर, दीपा दिदीले मेरो पिछा छाडिनन् । सायद, उनी भावना र मलाई एउटा राम्रो साथी भएको हेर्न चाहन्थिन् । दीपा दिदीको एकोहोरो ढिपीले म पनि आजित भइसकेको थिएँ । भेट भयो कि, “भावना यस्ती छ, उस्ती छ..!“ उफ् !

हदै भएपछि मैले पनि उत्सुकता जनाइदिए झैँ गरेँ । “कस्ती छ हौ दिदी त्यो भावना ? खोइ मेरो कक्षामा त यो नाम गरेको कोही पनि भए जस्तो लाग्दैन त ??”
“ऊ गहुँगोरी अग्ली, हँसिली छ । सलक्क परेको शरीर, लामो कपाल, मिलेका आँखीभौँ, छोटो नाक, पातला ओठ…, आहा ! हिरोइन जस्ती छ ”
दीपा दिदीले एकै सासमा बेलिबिस्तार लगाइन् । दीपा दिदीको कुरा सुने पछि भोलि पल्ट भावनाको सोधखोज गरेर चिनापर्ची गर्ने निर्णय गरेँ । अनि साँझपख कोठा तिर फर्किएँ ।

मनमा एउटा अनौठो कौतुहलताले डेरा जमायो ।
“साँच्चै भावना, दीपा दिदीले भनेजस्तै राम्री भए, मेरा यी नयनले यतिका दिनसम्म किन खिच्न सकेनन् उसलाई… ? म भित्र स्त्रीआकर्षणको कमी हो या मेरो आँखाको मोती विन्दु…??” त्यो रात अनेक थरी मनोवादको हुरी चल्यो दिमागमा । बिस्तारामा ओल्टे-कोल्टे फेर्दाफेर्दै घडीले रातको २ बजेको सङ्केत गर्‍यो । तकिया अँगालोमा कसेर उही भावनाको कल्पना गर्दै बलजफत निदाएँ ।

बिहान एक्कासि कसैले ढोकामा ढकढक गर्‍यो । झल्याँस्स ब्युँझिएँ । आँखा मिच्दै ढोका खोलेर हेरेँ, ग्वालाले दूध लिएर आएको रहेछ । एककप दूध दिएर खोइ के के बरबराउँदै आफ्नो बाटो लाग्यो । दूध लिएर चिया बनाएँ । चिनी सकिएको रहेछ । बट्टा टक्टकाएर केही रहलपहल हालेँ । फिक्का चिया खाएँ त्यो दिन । अल्छी गर्दै बिहानको नित्य कर्म सकेर खाना बनाएँ । त्यस बेलासम्म घाम निक्कै माथि आइसकेको थियो । यसो घडी हेरेँ । बिहानको साढे दश हिर्काई सकेको रहेछ ।

“ओहो आज पनि ढिला होला जस्तो छ…!” हतपत ड्रेस लगाएर कलेज तिर दगुरेँ ।
“खोइ तिम्रो घाँटीमा टाई ?” गेटैमा प्रिन्सिपल सरको कर्कश आवाज कानमा आएर एक्कासि ठोक्कियो । यसो घाँटी छामेँ । हतार हतारमा टाई झुन्ड्याउनै बिर्सेछु ।
“टाई मुसाले खाएछ “ – केही गैर जिम्मेवार जवाफ फर्काएछु, प्रिन्सिपल सर जोडले रिसाउनु भो । कक्षा कोठामा पसेपछि निक्कै आत्मग्लानि भयो ।

कक्षामा सरसरती नजर डुलाएँ । सायद, दीपा दिदीले भने जस्ती हिरोइन चिन्न व्यग्र थिएँ म । यो हो कि , उ हो कि .. ! अंह सहजै ठम्याउन्न सकिनँ । दुईवटा पिरोईड मन नलागी नलागी कटाएँ । त्यसपछि ब्रेक टाइमको घण्टी बज्यो । सबै सँगीहरू हुल बाँधेर बाहिर हानिए । म भने लास्ट बेन्चमा त्यतिकै झोक्राएर बसेँ ।

“हेल्लो ! सरोज भनेको तिमी नै हो ?“ –कसैको चर्को स्वरले झल्याँस्स भएँ । यसो टाउको उठाएर हेरेँ । छेवैमा एउटी सुन्दर षोडसी मुस्कुराएर उभिरहेकी थिई । माथि देखि तलसम्म एकै निमेषमा नियालेँ । पक्कै पनि, भावना भनेकी यही हुनुपर्छ । वास्तवमा, ऊ दीपा दिदीले भने भन्दा शोभन महसुस गरेँ ।
“सरोज मै हो त ।” तुरुन्तै छोटो जवाफ फर्काएँ ।
“ए को को न होला भनेको त….?” खिसी गरे झैँ बोली भावना । म पनि अवाक् भएँ । उसले छेवैमा बस्दै फेरि थपी – “दीपाले तिम्रो कुरा गरेर वाक्कै लाउने भन्या…।” यो पटक थोरै मुस्कुराउँदै बोली ।
म पनि किच्च हाँसे । सोचेँ, सायद मलाई जस्तै उसलाई पनि दिक्कै लाएछन् क्यार !
“अब देखि हामी साथी बन्ने है ।” उसले हात अगाडि बढाई । मैले पनि उसका मुलायम हातमा हात मिलाउँदै खुसी व्यक्त गरेँ । हामीले छोटो भलाकुसारी गर्‍यौँ । ब्रेक टाइम सकिएको जनाऊ घण्टी बज्यो । भावना आफ्नो यथास्थानमा फर्केर बसी । म पनि तेस्रो विषयको समय अवधिका लागि तयार भएर बसेँ ।

यसरी एवम् रीतले हाम्रो बोलचाल बाक्लिँदै गयो । बाहिर भेटघाट, एकअर्काको नोट साटासाट, क्यान्टिनमा चियापान देखि लिएर हाटबजार सँगै घुमफिरले हाम्रो सम्बन्ध निक्कै प्रगाढ बनिसकेको थियो। पत्तै थिएन, उबेलासम्म भावनाप्रतिको मायाले मनमा विकराल डेरा जमाइसकेको रहेछ । उसलाई एकदिन नदेख्दा पनि आफूलाई नितान्त एक्लोपन महसुस हुन थालिसकेको थियो ।

समयको रफ्तारसँगै दोस्रो वर्षले फड्को मार्‍यो । भावना र म वाणिज्य दोस्रो वर्ष पनि एउटै कक्षामा व्यवस्थित भयौँ । म उत्तिकै प्रफुल्लित थिएँ । दिन, हप्ता र महिना गर्दै केही समय बितिसकेछ । म अझ उन्मत थिएँ भावनासँग । उसको मप्रतिको निकटता पनि उत्कर्षमा थियो । कलेज दोस्रो वर्षको करिब करिब ६ महिना टिक्नै लाग्दा भावना एकाएक गायब भई । दिन हप्ता गर्दै महिनौँ बित्दा पनि उसको हाजिरी कलेजमा भएन ।

मलाई उसको अनुपस्थिति सामान्य लागिरहेको थिएन । कयौँ पटक उसको कोठामा भेट्न नगएको भने होइन । तर ढोकामा झुन्डिएको भोटे ताल्चाले आफैँलाई बारम्बार गिज्याइरहे जस्तो लाग्न थाल्यो । त्यसैले त्यो बाटो नै हिँड्न छाडिदिएँ । दीपा दिदीबाट कुनै मेलो मेसो बुझिन्छ कि भनेर उनको डेरासम्म पनि गएँ । तर उनीहरू पनि अन्यत्रै कोठा सरिसकेछन् ।

म एकतमासले अनियन्त्रित हुँदै गएँ । मन बहलाउन साँझपख दुईचार पेग सोमरस चढाउन थालिसकेको थिएँ । पछि भावनाका कोही निकटसुत्रबाट गाइँगुइँ सुनेँ, भावना उसको पहाड घर फर्किएर गई । दिमागमा एउटै प्रश्नको उत्तर खोजिरहन्थेँ, “आखिर किन भावना यसरी जान्छु पनि नभनी अकस्मात सुइँकुच्चा ठोकी त…?? अरू केही दिन नसके पनि बिदाइको हात हल्लाएर शुभयात्रा त भन्न सक्थेँ नि…! “

आज यही प्रश्नको जवाफ दशकौँ पछि मिल्दै थियो मलाई । सामाजिक सञ्जालले वर्षौँ पछि छुट्टिएको हाम्रो सम्बन्धलाई फेरि जोड्दै थियो । तर हामी हिजोको भौतिक धरातल भन्दा कोसौँ टाढा थियौँ । मनमस्तिष्कले अनेकन् वाद प्रतिवाद गर्‍यो । एउटा सिङ्गो पूर्ववृतान्त दिमागमा उथलपुथल भएर आयो । एक हिसाबले भावनाको मेसेजको प्रतिउत्तर फर्काउने भावदिशामा थिएन मन ।
यति बेला सम्म अरू दुईचार वटा मेसेज छोड्न भ्याइसकेकी थिई भावनाले । “यदि तिमी त्यही सरोज हौ भने प्लिज, मेरो मेसेजको रिप्लाई देऊ ल…? ”

मैले पनि आफूलाई सम्हाल्न सकिनँ । विगतका इतिबृति गुनाँसाहरु एकैचोटी शब्दहरूमा पोखेँ । यस बेलासम्म रात निक्कै छिप्पिइसकेछ । फोन अफ गरेर सुतेँ ।

भोलिपल्ट भावनाको लामो प्रतिउत्तरले मेरा आँखा रसाए । हाम्रो वियोग पछि मैलै ऊप्रति साँधेको दृष्टिकोण एकाएक बदलियो । कसैको वास्तविकता नबुझी मनमा त्यसरी वैरभाव पालेकोमा आफैँलाई पछुतो भयो ।

“म बुवाको असामयिक निधनको खबर सुनेर पहाड घर फर्किएँ । उहाँको तेह्र दिने संस्कार पश्चात् घरको कार्यभार सबै मेरो काँधमा आइपर्‍यो । आमा र साना ती कलिला भाइ बहिनीहरूलाई एक्लै छाडेर फेरि सहर झर्न मेरो जिम्मेवारीले दिएन । बुवाको निधनले विक्षिप्त मैले, फेरि तिमीलाई पत्राचार गर्ने कुनै माध्यम भेटिनँ । यद्यपि यो कुराले तिमीलाई चित्त दुखेको भए, आई एम सरी ल सरोज…! ”
भावनाका यी करुणादायी शब्दहरूले मलाई छोइरह्यो ।

आजकाल भावना वैदेशिक रोजगारीका लागि इजरायलमा रहिछ । विवाह गरेर दुईजना बच्चा पनि भइसकेछन् । श्रीमान् गाउँमै सानोतिनो रोजगारी गर्छन् रे ।

म पनि यता अमेरिकामा छु । हिजोआज हाम्रो प्राय फोनमा कुरा भइरहन्छ । म कहिलेकाहीँ उससँग हाम्रा स्मृतिका पुराना कुराहरू कोट्याउँछु ।

अचेल हामी राम्रा साथी भएका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *