स्यालभीय
शिवलाल दाहाल
केन्टकी, अमेरिका
कोरोनाका बिरामीले अस्पताल भरिभराउ भएपछि
स्यालभीयाले एकप्रकारले आफूलाई बिर्सिई
ऊ साथीभाइसँग भन्ने गर्थी
‘स्वास्थ्यकर्मीले बिपदमा सेवा नगरे कहिले गर्ने ’
हुन पनि ऊ
निष्ठाकी प्रतीक थिई
साहस र उत्साहकी प्रतिमूर्ति थिई
ऊ सधैँ
कर्मलाई अघि सार्थी
र मानव सेवालाई नै धर्म ठान्थिई
केही दिन अघि
उसकी मिल्ने साथी ओल्गालाई
उही रोगको सङ्क्रमणले चुडालेर लग्यो
त्यसले उसको मन एक तमासले फाट्यो
तर पनि उसले आफूलाई सम्हाली
दुई साताको लगातार कामपछि
स्यालभीयले एक दिनको बिदा पाई
आमासँग दिनभरि घर बस्न पाउँदा
स्यामुल खुब रमाएको थियो त्यो दिन
बेलुका सुत्ने बेलामा स्यालभीयले
कताकता भित्र छाती दुःखेको महसुस गरी
तर त्यसलाई उसले वास्ता गरिन
खासमा त्यो दिन थकान मेट्न अलिक लामो सुत्ने बिचारमा थिई ऊ
भोलिपल्ट
दुई घण्टा ढिलो हुँदासम्म काममा नपुगेपछि
स्यालभीयको फोन बज्यो
हतार हतार स्यामुलले फोन टिप्यो र बोल्यो
‘माई मदर डजन ह्वेक अप
आइ एम हङ्ग्री’