स्वतन्त्र


डिल्लीराम रेग्मी
ओहायो, अमेरिका

हरेक दिन बिहान हुने बित्तिकै
फेरि सुत्ने इच्छा जागेर आउँछ
तर सोच्छु दिनको हरेक घण्टाको हिसाब कसले राख्ला?
त्यसैले दिनभर जाग्राम बसिरहन्छु।
घडीका सुईहरू चलेको देख्दा
उनीहरूलाई मानौँ बोझ भएको छ, खै केको?
जालोमा अड्के झैँ भएका छन्
मिनट र सेकेन्डका काटाहरू।

झ्यालबाट बाहिर नियाल्दा
हवा, पात-बिरुवा, चरा-चुरुङ्गी, धर्ती-आकाश
सबै प्रफुल्लित रमाइरहेको देख्छु
यिनीहरूलाई मैले पहिले
बेफिक्र यसरी रमाएको देखेको थिइन
यो खुसी यिनीहरूलाई शताब्दीयौपछि आएको देखिन्छ।
मानव सभ्यतालाई वर्षमा केही दिन
यसरी नै पिँजरामा राखे प्रकृति अमृत हुँदो हो!

यस्तै सोचिरहँदा
छेवैको रुखको हाँगामा बसेको एउटा पन्छीले केही सङ्केत गरेझैँ लाग्यो
नजर मिलाउनासाथ उसले मलाई
केही भनेझैँ मलाई भान भयो
सायद उ भन्दै थियो – “किन, के भयो ए मानव, दुखित देख्छु नि?
विभक्त भत्किएको मन लिएर मलाई किन हेर्छौ?
किन, केही दिन बन्द कोठामा बस्दा
संसार खुम्चिएझैँ भयो?
तिमी त पन्छी पाल्ने सोख राख्ने गर्थ्यौ त”!
म अलमल्ल परेँ
आज सृष्टिको रूप अर्कै देखियो
चराहरू खुल्ला आकाशमा उडे
दुनियाँ पिँजरामा देखियो।
सूर्यलाई सधैँ एउटै चिन्ता लागिरहन्छ
कि अँध्यारो कतै नहोस्
तर यसपालि यो ब्रह्माण्ड नै
अमाबसलाई अङ्गाली हिँडिरहेछ
आजकाल खतराको कुनै कुरै छैन
खतरा त सबैलाई सबैदेखि छ।
सुनसान सडक देख्दा एउटै प्रश्नले सताइरहन्छ
सडकमै जीवन बिताउनेहरूको हालत के होला?????

Leave a Reply

Your email address will not be published. Required fields are marked *