स्वदेश
यतिराज अजनबी
एड्अलेड, ष्ट्रालिया
अहिले विदेशमा छु
यहाँ दुःखैदुःख छ
तै पनि यो दूर देशमा रमाए झैँ गर्दै छु
केही कमाउँदै छु केही गुमाउँदै छु
यो जिन्दगीको बाँसुरी बजाउँदै छु
म गाउँदै छु र नाच्दै छु
मेरा पुर्खा यो परलोकमा
यसरी नै केही बेर गाएर
केही बेर नाचेर
उहिल्यै फर्केका छन् स्वदेश
मेरी आमा फर्केको पनि बर्सौं भइसकेको छ
मेरा बा भिसाको पर्खाइमा छन्
थाह छैन भिसा बाको पहिला आउँछ या मेरो
यो सब त्यो स्वदेशको सरकारको सदिच्छामा भर पर्छ
परदेशमा बस्ने समयावधिको निर्धारण
परदेशकै सरकारले गर्छ
तर यो परदेशमा रहने म्यादको निर्णय
त्यो स्वदेशले नै गर्छ
स्वदेश फिर्तीको लागि खासै भिसा चाहिन्न
तर प्रवेशपत्र अनिवार्य छ फर्कन त्यो स्वदेश
जहाँ पुगेपछि मैले कहीँ फर्कनु पर्नेछैन
अन्ततः अनन्तसम्म म त्यहीँ लीन हुने छु
आतुर छु त्यो आतुरकालको
व्याकुल छु पुग्न त्यहाँ जहाँबाट आएँ म यो परदेशमा
जहाँ फर्केपछि फर्कने छन् मेरा सुदिनहरू
हुनेछन् दूर मेरा दुर्दिनहरू
त्यो हुस्सु जस्तो फुसफुसाइरहने
श्रीखण्ड जस्तो अखण्ड मगमगाइरहने मन्द बतास बहने
मन्दिरमा निरन्तर धुवाइरहने धूपको जस्तो धुवाँभित्र हराएको
वाद्यबिनै दिव्य सङ्गीत बजिरहने अलौकिक ठाउँ
बादलका सफेद सुमेरुहरू माझ अवस्थित मेरो गाउँ
त्यो चाँदीको छानो
चाँदीको भित्तो र
चाँदीकै भुइँ भएको मेरो दरबार फर्कने त्यो दिनको
बडो बेचैनीका साथ प्रतीक्षा गरिरहेको छु
महाप्रस्थानको त्यो पलको आगमनको
प्रत्याशामा हडबडाइरहेको छु
त्यो मृत्युशय्यामा सुत्न
यो मृत्युलोकको स्वर्ण शय्यामा छटपटाइरहेको छु
यो मरुदेशको उष्णतामा उजाडिएपछि
त्यो स्वदेशको कल्पवृक्षको छाँयाको शीतलता कल्पिरहेको छु
यो परलोकमा त
जताततै छन् मेरो अनेकन् साथी-सँगी
जब फर्कने छु म स्वलोक
स्वयम् मात्र हुने छु मेरो साथमा
छोडेर यो कर्मभूमि
जब उड्ने छ त्यो विमान मेरो स्वदेशतर्फ
उनीहरूले बिदाइमा हल्लाउनेछन् हातहरू
जसरी हल्लाएका थिए
शुभेच्छुकहरूले मेरो परदेश प्रस्थानमा