हजुरबा जस्तै पिताजी
डिल्लीराम रेग्मी
ओहायो, अमेरिका
ओहायो, अमेरिका
कति टाढा सम्म जानुपर्ने हुन्छ पिताजीसँग
हजुरबा जस्तो पिताजी हुनलाई,
पिताजी जस्तै पिता हुनलाई।
मलाई त यो पनि थाहा छैन
कि
त्यहाँसम्म पुग्न उमेरले लान्छ
या अनुभवले?
अनि आफैँ एक्लै कति हिँड्नु पर्ने हुन्छ
या दौडनु पर्ने हुन्छ?
अनि मनलाई आफूसँग कति चोटि छुट्टाउनु पर्ने हुन्छ,
पिताजी जस्तै पिता हुनलाई?
हजुरबा सबेरै उठेर बिहानीको कार्य सकी
चिया पिउनु हुन्छ
अनि सोचाइको अखबार पल्टाउनु हुन्छ।
के पिताजी पनि
हजुरबाका बारेमा सोच्नुहुन्छ?
यस्तै कस्तै!
नजिक या टाढा, हजुरबा जस्तै भएर?
अनि पिताजी जस्तै म पनि
त्यस्तै गरौला? पिताजी जस्तै पिता बन्नलाई?
अनि यसो गर्नलाई त्यति टाढासम्म
या चियाको चुस्किसँगै त्यस्तै सोच्नलाई
उमेरले लान्छ या अनुभवले??
यानि यस्तो सोच्न दिमागले कति भ्याउला?
अनि कति पटक गोठ सार्नु पर्ने हुन्छ?
घर खोज्नलाई, किराया मेटाउनलाई
मन देखि नजिक या टाढा?
हजुरबा जस्तै पिता बन्नलाई
या पिताजी जस्तै पिता बन्नलाई
अनि यसो गर्नलाई, त्यति टाढासम्म
उमेरले लान्छ या अनुभवले??