हामी
बादल थापा
काठमाण्डौ
हामी
सुपारी झैं
कतै बिस्कुन छरिएका
कतै सोली बनेका
जसरी खाए पनि हुने
जसरी टोके पनि हुने
जसरी सिध्याए पनि हुने
घण्टौँसम्म चबायो
पिच्च थुक्यो सकियो
के नै रह्यो र ?
भलादमीको मुखमा
सगुनको रुप
बेपारीको मोमोलाइ
बटुवाको बाटो काट्ने मेरो
कस्ले के पायो
कस्ले के गुमायो
समयले नै बोल्नेछ
आशा नगरे पनि भयो
बा…………….आमा
अब आशा नगरे पनि भयो
बुहारीले दिन्छे र खाउँला
भन्नै पर्दैन अब
उ त आफ्नै लागि
लागि परेकी छे
आफैंले गरी त हेरौं
आफ्नोपनमा मज्जै अर्कै छ
बुवाले छोरालाई अह्राउने
केटाले केटी विवाह गर्ने दिनहरु
अमेरीका र बेलायत
सत्य युगको कथा मान्ने दिनहरु
अब आशा नगरे पनि भयो
संस्कार र संस्कृति त आज–भोलि
भूमण्लडीकरणको भूतले निलिसक्यो
केटाहरु गर्ववती हुन्छन्
किन चाहियो बुहारी बित्थामा झण्झट
अब त केटालाई केटा र
केटीलाई केटी भन्दा पनि लाजै मर्नु हुन्छ
उत्तर र दक्षीणको ध्रुवदेखि
आकाश र जमिनसम्म सबै
आमसञ्चार र इन्टरनेटले खाइसक्यो
अमेरिका र बेलायतको कुराले टोलाइए छ भने
मान्छे हाँसोको पात्र मात्र हुनेछ
अब आशा नगरे पनि भयो
सीताको सत्यनिष्ठता
बुद्धको शान्ति
गान्धीको अहिंसा
कुनै बेला पागल कुकुरले टोक्ता
मान्छे बहुलाएर बर्बराएको हुनु पर्छ त्यो
हलि राजाले छोरी सीता
खेत जोत्ता भेटाए रे
सम्भव छ ?
कथा नै अधुरो छ
बाटामा भेटेको लाश देख्ता
बुद्धको पनि होस फर्क्यो रे
हाम्रोमा मर्नेको संख्या यकिन छ ?
गान्धी जति नै अहिंसावादी भए पनि
जीवनमा उसलाई भन्दा ठूलो धोका कसैलाई भएन
आफ्नैले गोली ठोक्यो
बा………आमा
अब आशा नगरे पनि भयो
कसैले दिन्छ र खाउँला
अब भन्नै पर्दैन
इतिहास साक्षी छ
दिनेहरुले कहिल्यै पनि
मन खुलाएर दिएका छैनन्
लोभ र लाल्ची मानिसको पैतृक गुण हो
कहिल्यै मेटिन्न
देखावटीमा दिएता पनि
बारम्बार आफैंले लिएको
पछि आफैंले हैकम चलाएको पाइन्छ
अरु अरुलाई नभनूँ आफैं गरुँ
आफ्नोपनमा मज्जा नै अर्कै छ
बिस्तारै आदत बस्छ
पछि बानी परे पछि
हरेक कुरा आफैं गर्न सकिन्छ
प्रजातन्त्रको नाममा सापटी
उधारो र पैँचो माग्दा
त्यसको अर्थनै रहन्न
प्रजातन्त्र भनेको
बुहारी–घरकी छोरी हो
सासु– आमा हो
छिमेकी आफन्त हो
सबै आफन्त मानव हो
अब कसैको आशा नगरे पनि भयो
बुहारीले दिन्छे र खाउँला
अब भन्नै पर्दैन |