हामी आडम्बरी छौं
–भक्त घिमिरे-पेन्सिलभेनिया/अमेरिका
यो संसार आडम्बरी छ…हामी आडम्बरी छौं…लोकलाजको कथित आब्रुक राख्नका लागि हामी आडम्बरी बनेका छौं । “बन्नैपर्छ त के गर्नु…इज्जत राख्नै पऱ्यो !” यथार्थ लुकाएर किन ढोंगी बन्छौ-भनेर कसैलाई सोध्यो भने यस्तै उत्तर पाइन्छ ! मानौं हामी वनावटी ढोंग, छल वा आडम्बरी नभइकन इज्जत धान्नै सक्तैनौं । त्यही आडम्बरलाई हामी कहिलेकाहीं नैतिकता पनि भन्छौं । हामी बाहिरी आँखाले हेर्दा कपड़ाले ढाकिएका छौं तर, मनका आँखामा नाङ्गै छौं । मनका आँखाले शरीरका कुन कुन अङ्ग कहाँनेर छन् भन्ने देखिरहे पनि मान्छेले बाहिरी आडम्बर अडिग राख्न महँगा कपड़ा शरीरको ह्यांगरमा झुण्डाएर हिँडेझैं समाजको ओरालो गति देखेर पनि हामी रमिते नै बनिरहेका छौं ।
हाम्रो परम्परागत चिन्तनमा एउटा जब्बर पक्ष छ । त्यो के हो भने वेद, पुराण, धर्मशास्त्र, ईश्वर, देवी-देवता र योगीसम्प्रदायको प्रबल वकालत गर्नेहरूमात्र महाज्ञानी हुन, असल मानिस हुन् । ती कुराको बारेमा तर्क, टिप्पणी, अन्वेषण, विश्लेषण, समालोचना आदि गर्नेहरू अल्पज्ञानी, पाखण्डी, धर्म-संस्कृति, परम्पराका विध्वंशकारक, महामूर्ख हुन् भन्ने बुझाइ । कुनै पनि प्रसंगमा दार्शनिक कुरामाथि विश्लेषण, टिप्पणी गरिदिए उनीहरु सजिलै अभियोग लगाइदिन्छन्-“लौ यो त चार्वाकको चेलो रहेछ । वेदलाई नमान्ने बुद्धावलम्बी रहेछ; मार्क्सवादी वा भौतिकवादी रहेछ; इशाई रहेछ”-आदि आदि ! घोर अचम्म त अझ के छ भने, जसले चार्वाकको सिद्धान्तबारे एकसुता पनि अध्ययन गरेकै छैन उसैले चार्वाक दर्शनको वर्णन गर्न खोज्छ । जसले वेद वा बौद्धदर्शनको अध्ययन गरेकै छैन उसैले हिन्दू वा बौद्धदर्शनको व्याख्या गर्नखोज्छ । जो नयाँ नयाँ ताजा ताजा सम्प्रदायमा लागेर तडक-भडकमा रमाइरहेका छन् त्यस्ताहरुले देवी-देवता र धर्मका बारेमा धेरै नै व्याख्या गर्छन् । उनीहरुको कुरा सयमा सय पत्याएर -हो हो- नभन्दिए सराप्न नै थालिहाल्छन् ।
स्थापित मूल्य-मान्यताको समीक्षा गरेर देश-काल र परिस्थिति अनुकूल सामाजिक-सांस्कृतिक विधि तय गर्न-गराउन चाहनेहरुलाई निरुत्साहित बनाउनका लागि यथास्थितिका वकीलहरुद्वारा त्यसो गरिन्छ । स्थापित मूल्य मान्यता भनेका केही निश्चित समयका लागि तोकिएका विधानहरु हुन् । ती सधैं अजम्बरी हुँदैनन् । तिनको विस्थापन हुन्छ र नयाँ नियमहरु स्थापित हुन्छन् ।
यी सबै कुरा जानेर पनि तत्कालीन राजसत्ता र मान्यताविविपरीत नयाँ नियम-विधिको स्थापना गर्नचाहनेहरुका विरुद्धमा त्यस्ता अनर्गल आरोप लगाइन्छ । तर, कृष्णले उहिल्यै राजा इन्द्रको पूजा गर्न छोडेर गोवर्धन पर्वतलाई पुज्न भनेको कुरामा धेरै चर्चा र व्याख्या गरिँदैन । हस्तिनापुरका राजाहरु, कृपाचार्य, द्रोणाचार्यजस्ता गुरुहरुका विरुद्ध पनि कृष्णले युद्ध गराएका कुराको सप्रसंग व्याख्या गरिँदैन ! यशु, बुद्ध र रामानुज, मेहराज ठाकुर, तुकाराम, रामकृष्ण परमहंश, तुलसीदास, कवीर आदि अनेकन आदर्श आस्थाका योगीपुरुषहरुले पनि उनीहरुभन्दा पहिले स्थापित मूल्यमान्यताकै विरुद्धमा नयाँ मत, पन्थ र सम्प्रदाय खडा गरेका थिए ।
यथास्थितिवादी कट्टरपन्थीहरूले बुझ्नैपर्ने कुरा के हो भने समाजमा बिस्कुन फिँजाइएको ईश्वर, धर्म, संस्कृति र अध्यात्मवादी अवधारणाबारे चार्वाकदर्शी, बुद्धवादी, भौतिकवादी, मार्क्सवादी आदिले मात्र मतभेद देखाएका होइनन् ! संसारका सबै धार्मिक दर्शन र धर्मशास्त्रभित्रै तमाम आपसी मतभेदहरू भरिएका छन् ।
वेदलाई अपौरुषेय, ईश्वरवाणी मान्ने ६ वटा पूर्वीय दर्शनहरूले पनि ईश्वरको रूप र कामको बारेमा अलग अलग विचार प्रवाह गरेका छन् । चीनका ताओवादी, यूरोपका मुसावादी, प्लेटोवादी, इरानका जडवादी, बाइबल मार्गी, इस्लामपन्थी हुँदै प्राचीन वैदिकदेखि वर्तमान बहाईपन्थीसम्मका चिन्तनदर्शनमा अनेक मतभेद र अन्तरविरोध छन् । तीबारे उदाहरणसहित केही चर्चा गरिहेरौं है ।
पूर्वीय परम्परामा न्याय, वैशेषिक, सांख्य, योग, मीमांसा र वेदान्त वेदलाई मूल ईश्वरीय वाणी मान्ने छ वटा प्राचीन आस्तिक दर्शनहरु हुन् । मूलरूपमा वेदलाई ईश्वरवाणी र अकाट्य प्रमाण मानेर ईश्वरको अस्तित्व स्वीकार्ने हुनाले तिनलाई आस्तिक दर्शन भनिएको हो । यद्यपि, वेद ईश्वरका वाणी हुन् भन्ने कुरा तथ्य र परीक्षणबाट कसरी प्रमाणित हुनसक्छ ? भनेर मज्जाले वेद पढेकाहरुलाई नै सोध्यो भने, कि त बेस्सरी रिसाएर गाली गरिदिन्छन्, कि त यसले वैदिक दर्शनको विरोध गऱ्यो भनेर लाञ्छना लगाइदिन्छन् । उनीहरु किन यसो गर्छन् भने उनीहरुसित यसको ठोस उत्तर हुँदैन । “हामीले भन्यौं नि त, हामीले भनिसकेपछि प्रमाणित भइहाल्यो निः, ब्राह्मणको वचन कहिल्यै असत्य हुँदैन, हामीले भनेपछि पनि विश्वास नगर्ने”-भन्ने जस्तो उनीहरुको आशय हुन्छ । सातौं शताब्दिमै जयन्त भट्टको न्यायमञ्जरीले वेदलाई अपौरुषेय नभई पौरुषेय बताइसकेको थियो ! पौरुषेय भनेको मानवद्वारा परिकल्पित वस्तु ! यहाँनेर यवन, मुगल, पादरी अथवा म्याक्समुलरहरुलाई दोष खन्याएर हाम्रो शास्त्रका विरोधाभासहरुबाट भाग्न मिल्दैन है । जयन्त भट्ट र उनका कृतिबारे सुन्दै नसुनेकाहरुलाई त ठीकै छ । तर, त्यो बुझिसकेपछि निर्णय गर्न गाह्रो हुन्छ, किनभने जयन्त भट्ट पनि नामुद ब्राह्मण थिए । ऋग्वेदको एउटा ऋचाले भन्दछ–“हे इन्द्र, तिमी चिताएको फल दिनेवाला हौ । हामी शत्रुहरूका गाई लुट्नको लागि लडाईमा जाँदैछौं । तिम्रो सहयोगले हामी शत्रुहरूको आवेग र शक्तिलाई समाप्त पार्दै आफ्नो उद्देश्यमा सफल बन्नेछौं”- (ऋ.वे. ८/४/२१/११) ।
के ऋग्वेदको यो ऋचा ईश्वरवाणी हो भन्ने प्रमाणित हुन्छ? के ‘सम्पूर्ण विश्व सृष्टि गर्ने ईश्वर’-ले गाई लुट्न चाहने एकथरीलाई जिताउन र अर्काथरीलाई हराउनका लागि इन्द्रलाई विन्ति गर्ने कुरा तर्कसंगत हुन्छ ? धर्मशास्त्रका ‘महाज्ञानी विद्वान’ भनिएकाहरु वेदका ऋचाहरूले व्यक्त गर्ने यस्ता तात्पर्यमा साङ्गोपाङ्गो अर्थतिर न आँखा लगाउँछन् न त ध्यान नै दिन्छन् !
मैले यति कुरा भनिरहँदा बिर्सिनै नमिल्ने निर्विवाद एउटा कुरा के छ भने वेदमा मानवीय जीवनदर्शन प्रशस्तै छ ! वेदले तत्कालीन सामाजिक विश्वास र चेतनास्तर अनुसार असल व्यक्तित्व विकास, सभ्य समाजनिर्माणको वकालत गरेको छ । कथित परलोकलाई होइन, हामी बस्ने यो धर्तीलाई सुन्दर, शान्त मानव बस्ती बनाउने कामना वेदले गरेका छन् ! वेदमा जस्तै अरु अरु शास्त्रीय ग्रन्थहरुमा पनि अनुशासन, न्याय, वीरता, करुणा र कतै कतै अति तिलस्मी स्वैरकल्पनाका चमत्कारहरु उल्लेख भएका छन् ।
होइन, जुनसुकै ग्रन्थ पौरुषेय होस् कि अपौरुषेय, यो जगतलाई, मानवसमाजलाई सुन्दर, शान्त बनाउने लक्ष्यमा कुनै वस्तु काम लाग्छ भने उपयोग गरे भइहाल्यो निः ! वेद लेख्ने ती ऋषि पुर्खाहरुलाई श्रद्धार्पण गर्ने सिलसिलामा उनीहरुलाई नै भगवान, ईश्वर, देवता, परमेश्वरजस्ता उपनाम दिइएको थियो भनेर बुझ्दा के बिग्रिन्छ र ? यतिबेला त अझ मूल वेदमात्र होइन, सम्पूर्ण आस्तिक षड्दर्शनलाई अपौरुषेय भन्न थालिएको छ । तर, आस्तिक वैदिकदर्शनहरु नै आपसमा बेस्सरी बाझेका छन् भन्ने कुरा यी ‘अपौरिषेय’ तक्मावालाहरु सुन्नै चाहँदैनन् !
ईश्वर र सृष्टिबारे आस्तिक वैदिकदर्शनमा बाझिएका कुरा हेरौं !
न्यायदर्शनले भन्छ- ईश्वर नै जगतको सृष्टि, पालन र संहारकर्ता हो । जगतको निमित्त ईश्वर नै कारण हो । त्यसले ब्रह्माण्ड, काल (समय), आकाश, मन र आत्माबाट जगतको सृष्टि गर्छ ।
वैशेषिक दर्शनमा भनिएको छ-ईश्वरले पृथ्वी, जलस्रोत र वायुका परमाणुहरुबाट संसारको सृष्टि गर्दछ ।
सांख्यदर्शनले भन्दछ सम्पूर्ण विश्वसिर्जनाका मूल दुई तत्व हुन्–प्रकृति र पुरूष । मूल सांख्यदर्शनको अन्तर्यमा पुरुषलाई ईश्वर नभएर जीवमात्र बताइएको छ । त्यसैले मूल सांख्यलाई ईश्वरवादी नभएर निरीश्वरवादी अथवा अनिश्वरवादी मानिन्छ ।
मीमांसा दर्शन (पूर्व मीमांसा) भन्दछ कि संसार अनादिकालदेखि चल्दै आएको छ, यसको न कहिल्यै सृष्टि हुन्छ न कहिल्यै अन्त्य । पूर्व मीमांसा दर्शनका प्रणेता जैमिनीले ईश्वर र आत्मको भूमिकाबारे धेरै व्याख्या गरेका छैनन् ।
यता उत्तर मीमांसा अथवा वेदान्त दर्शनका प्रणेता बादरायणको दाबीमा ब्रह्मा नै सबै सृष्टिमा व्याप्त छ । ब्रह्म नै संसारको निम्ति कारण (कर्ता) र उपादान कारण (भौतिक वस्तु) हो । माथि उल्लेख गरिएका पाँचवटा दर्शनहरु ईश्वर, जीव र भौतिक पदार्थलाई अलग–अलग तत्व मान्ने द्वैतवादी हुन् भने वेदान्तदर्शनचाहिं ब्रह्म र जगतलाई एकतत्व मान्ने अद्वैतवादी चिन्तनको उपज हो ।
वेदान्तदर्शन भित्रै पनि ईश्वर र सृष्टिबारे भिन्ना-भिन्नै मतका अनेक शाखा छन् । शंकाराचार्यको वेदान्तले भन्छ-ब्रह्म नै बृहत सत्य हो; जतग मिथ्या हो । शुरुमा शंकराचार्यबाटै द्वैत-अद्वैत्यवादी चिन्तनधारा बिजारोपित भएको छ । यता रामानुज वेदान्तलाई विशिष्टाद्वैत (जीवमा पनि ईश्वरको प्रधानता भएको तर अस्तित्वमा अलग) भनिन्छ । यसैगरी निम्बार्कीय शाखा द्वैताद्वैत छ भने माधवाचार्यको वेदान्त द्वैतवादी छ भने बल्लभाचार्यको वेदान्तलाई शुद्ध अद्वैतवादी दर्शन मानिएको छ । वेदलाई प्रमाणग्रन्थ मान्ने छवटा दर्शनको बीचमा त यति धेरै मतान्तर छन् भने विश्वका अरू दर्शनहरूमा ईश्वर र सृष्टिबारे कत्ति द्विविधा होलान् ?
चीनको ताओ दर्शनअनुसार, “ताओ नै सम्पूर्ण सृष्टिको मूल गर्भ हो । अन्तमा ताओमै सृष्टिको विलय हुनेछ । ताओलाई जसले जान्दछ; त्यसले उसको व्याख्या गर्न सक्दैन, जसले व्याख्या गर्छ त्यसले उसलाई जान्दैन ।”
इशाई बाइबलले भन्छ–ईश्वर (यहोबा)-ले सातदिन लगाएर पृथ्वी, आकाश, सूर्यचन्द्र आदिको सृष्टि गर्यो र त्यसपछि विश्राम लियो । हाम्रा केही पुराणले भन्छन् शेषशायी विष्णुको नाभीबाट कमल उम्रियो । त्यसमा ब्रह्मा प्रकट भए । ब्रह्माको कानेगुजीबाट दुइटा दैंत्य निस्किए । तिनै दैंत्यलाई मारेको हाडछाला र मासुबाट पृथ्वीको सृष्टि भयो । कतिपय पूर्वीय धार्मिक दर्शनले अवतारवाद मान्दछन् ।
यहुदी र इशाईहरुले यशु मसिहा (ईश्वरको दूत) लाई ठूलो महत्व दिएका छन् तर, इस्लामले अवतारवाद मान्दैन ! इस्लामले भन्छ– “ईश्वर (अल्लाह) मान्छे वा अरू कुनै वस्तु वा जडमा जीवको रूप लिएर प्रकट हुँदैन ! जो स्रष्टा हो त्यो कहिल्यै सृष्टि बन्न सक्दैन । मानिसले राम्रो कविता लेख्न सक्छ; तर, कवि आफैं कविता बन्न कहिल्यै सम्भव छैन । मानिसलाई ईश्वर (अल्लाह)-को दर्शन वाणीको रूपमा मिल्दछ । त्यो वाणी दैवी ध्वनीको रूपमा आउने गर्दछ ।”
तपाईं जति धार्मिकदर्शन वा ग्रन्थहरू पढ्दै जानुहोस् यस्ता अनेक मत-मतान्तर र बातविवादहरू पाउनुहुनेछ । धार्मिक अभियानमा जुटेका ‘द्रष्टा’हरुलाई यी मतान्तर र विरोधाभासबारे जिज्ञासा राखेमा उनीहरु सहजै भनिदिन्छन्-“तपाईंको भक्तिसमर्पण नै केही हदमा अपुरो रहेछ । सम्पूर्णरूपमा त्याग दर्शाउँदै मेरो शिष्यत्व ग्रहण गर्नुहोस् । सबै कुरा छर्लङ्ग हुनेछ । जीवन, जगत र ब्रह्म बुझ्न मेरो पन्थशिवाय अरु कुनै विकल्प छैन । अरुका सम्प्रदायमा गएर पार पाउने कुनै उपाय छैन !”
दर्शनचेतनामा देखिने यस्तो निरीहताबाट के प्रष्ट हुन्छ भने बुख्याँचा बनाएर समाजलाई देखाइने ईश्वर एउटा वायुरूपी हात्ती जस्तै छ जसलाई थरीथरीका धर्मभिरुहरू अन्धाले हात्ती छामेजस्तो गरी त्यसको रूप र आकार प्रकारको वर्णन गर्दछन् ।
यदि संसारको सृष्टिकर्ता भनिएको ईश्वरकै वाणीबाट शास्त्रहरु आएका थिए भने ती सबै एकैखाले हुन्थे; एउटै कुरालाई आस्थाको केन्द्र मानिन्थ्यो । सबैका लागि धर्मदर्शन एउटै हुन्थ्यो अनि ‘महाज्ञानी’ र ‘ठूला दार्शनिकहरू’ले त्यसलाई स्पष्ट चिनेर अरुलाई पनि चिनाउन सक्थे ! त्यसको रूप, गुण, चरित्रलाई समानरूपमा बुझ्ने थिए । जब त्यसलाई ‘ईश्वर द्रष्टा’ हरूले असमान रूपमा बुझ्दै आएका छन् भने प्रष्ट छ त्यो काल्पनिक कुरा हो । ईश्वरको नाममा विभिन्न काल्पनिक रूप खडा गरेर त्यसलाई चिन्ने सबभन्दा ठूलो ज्ञानी मै फलानो हूँ भन्दै त्यसबारे प्रश्न उठाउनेहरू अज्ञानी, अल्पज्ञानीमा पटमुर्ख हुन् भन्ने भनाइ कत्तिको तर्कसंगत, यथार्थपरक र वस्तुवादी हुन्छ? जापानमा बेटरी हालेर बज्ने पानाशोनिक रेडियो नेपाल वा भारततिर ढुंगा-गिट्टी हालेर बजाउन सकिन्छ ? अथवा अमेरिकातिर त्यही रेडियो पानी हालेर बजाउन सकिएला ?
कुरो जे भए पनि, मानिसहरुले विभिन्न चमत्कारी शक्तिलाई ईश्वरको रूपमा मान्दै ल्याएकाले यो यस्तै थियो वा यस्तो छ भनेर एकमुष्ट किटान हुन सकेको छैन; सक्तैन पनि ! समष्टिमा सद्गुणलाई ईश्वर र दुर्गुण अथवा दुष्टतालाई दानव, दैंत्य, राक्षस आदि मानिएको हो ।
त्यसैले धर्म, संस्कृति र परम्पराप्रति गर्वगर्ने जुनसुकै दार्शनिक, मत वा सिद्धान्तका पक्षधर, विद्वान, संस्कृतिप्रेमी, इतिहास अन्वेषकहरूले फरक मतमाथि घृणा र आक्रोश नपोखी ती सबै मत-सिद्धान्तहरुको विस्तारपूर्वक अध्ययनमा ध्यान दिनु राम्रो हुनेछ !
मैले यसो भनिरहँदा मप्रति धारे हात लगाउनेहरु थुप्रै देखिन सक्छन् । किनभने जिउज्यान छोडेर धर्मको झण्डा र नारा उरालिरहेका चेलाहरुलाई विश्लेषण र विमर्शसित कुनै चासो हुँदैन । तर्कसँग मतलब हुँदैन । तथ्यसँग आम चेलाहरुको कुनै सरोकार हुँदैन । तर्क र तथ्यको आधारमा धारणा बनाउने भएका भए तिनीहरू भारत र नेपालतिरका केही तिलस्मी बलात्कारी ‘बाबा’ हरुका एकोहोरा चेला बन्ने नै थिएनन् । चेलाहरूको काम हो- आँखा चिम्लेर विश्वास गर्नु । चेलाहरूको काम हो – आफूले विश्वास मानेको मत या नायक व्यक्तिको कसैले आलोचना गर्यो भने मर्यादाका सबै सीमा नाघेर, आलोचना गर्नेमाथि आँखै चिम्लेर जाइलाग्नु । चेलाहरू कसैको रक्षा र कसैमाथि आक्रमण दुवै, आँखा चिम्लेरै गर्दछन् । किनभने भक्तहरूका नाइकेले उनीहरूलाई आँखा खोलेर, विवेकपूर्ण ढंगले सोच्न हानिकारक हुन्छ भन्ने सिकाएका हुन्छन् । चेलाहरुलाई दुईवटा मात्र जिम्मा दिइएको हुन्छ- अन्ध -समर्थन वा अन्ध-विरोध गर । धेरैलाई भ्रम छ- चेलाहरुले आफ्नो मतको समर्थनमात्र गर्छन् । होइन, त्यस्तो हुँदैन । चेलाहरू विरोध पनि उत्तिकै कडा गरी गर्छन् जति बलियो समर्थन उनीहरु गर्दछन् ।
उनीहरू आलोचनाको विरोध गर्छन् । तर्कको विरोध गर्छन् र तथ्यको पनि विरोध गर्छन् । चेलाहरुको लागि तर्क र तथ्य भन्ने कुरा विकृत कुरा हुन् । तपाईं चेलाहरुले अँगालिरहेको कुराको आलोचनामा तर्क प्रयोग गर्नुस, चेलाहरु तर्कमाथि जाइलाग्ने छन् । तपाईं अझ तथ्य पेश गर्नुस्, उनीहरू तपाईंमाथि पनि जाइलाग्न सक्छन् । चेलाहरूले कसैलाई समर्थन गरेका छन् भने त्यो ईश्वर या सो सरह हुन्छ । जसरी ईश्वरको विरोध गर्दा धार्मिक कट्टरहरू -तेरो बास नरकमा होस भनेर सराप्न थाल्छन्, त्यसै गरी चेलाहरुले समर्थन गरेको व्यक्ति वा नायकप्रति तपाईंले समालोचनात्मक टिप्पणी गर्नुभयो भने तिनीहरू तपाईंलाई –लाज नराखी गाली गर्छन् । कुरानवालाहरु त अझ त्यस्ता समालोचकहरुको हत्यासम्म गरिदिन्छन् ।
भुगोल, सामाजिक चेतना र राजनीतिक परिबन्दका हिसाबले धर्मदर्शनमा अलि अलि सैद्धान्तिक पृथक्ता जस्तो देखिए पनि सबैका नाइकेहरुमा देखिने समानरुपको दुःख, व्यथा एकैखाले छ, त्यो के हो भने – उनीहरूले आफ्ना चेलाहरुलाई नम्र, अध्ययनशील, तार्किक र शालीन हुन कहिल्यै सिकाएनन् । सिकाए त आत्मरक्षाको नाममा लडाकुजस्तै बन्न सिकाए । हिंस्रक र हत्यारा बन्न सिकाए । खुकुरी, बारुद, बम र रगतको विजयश्री गाउन सिकाए !
धर्म र संस्कार-पद्धतिबारे यत्राविधि कुरा गरिसकेपछि वास्तवमा धर्म के हो भन्ने चर्चा पनि त गर्नैपऱ्यो । शास्त्रीय मतमा धर्मबारे गरिएको एउटैमात्र नमूना भए पनि चर्चा गरिहालौं न त !
“स्वकर्मनिरतो यस्तु धर्मः स इति निश्चयः।” महाभारत वनपर्व २०८.९ । अर्थात आफ्नो कर्ममा लागिरहनु नै धर्म हो ।
“उदार मे विद्वांसो धर्म प्राहुर्मनीषिणः ।” महाभारत वनपर्व ३३.५३ । अर्थात मनीषीहरु उदारतालाई नै धर्म भन्दछन् ।
“दण्ड धर्म विदुर्बुधा ।” महाभारत शान्तिपर्व १५.२ । अर्थात ज्ञानीहरुले दण्डलाई धर्म मान्दछन् ।
“सत्यं धर्मस्तपो योगः ।” महाभारत शान्तिपर्व १६२.५ । अर्थात सत्य नै धर्म हो । सत्य नै तप अथवा सत्य नै योग पनि हो ।
“दातव्यमित्ययं धर्म उक्तो भूतहिते रतैः । महाभारत शान्तिपर्व २५९.१८ । अर्थात सबै प्राणीको हितमा लागिरहने पुरुषहरुले दानलाई धर्म बताएका छन् । ती दानहरुमा मुद्रादानमात्र होइन, क्षमादान, श्रमदान आदि सबै पर्दछन् ।
यद्यपि, धर्मको मर्म र गुह्य अर्थ नै नबुझी त्यस्ता कथित भक्त चेलाहरु यति सहजै भन्दिन्छन् कि ‘फलानोले धर्म परिवर्तन गऱ्यो ! चिलानो विदेशीले हाम्रो देशको धर्म नास्यो !’ मानौं धर्म भनेको कुनै फेशन स्टायलको लुगा होस् जसलाई जतिबेला चाह्यो उतिबेला फेर्न सकिन्छ । मानौं ‘धर्म भनेको कसैले जंगलमा छरेको मकै होस्’ जसमा जतिबेला चाह्यो गोठालाहरुले आफ्ना पशु चराउन् ! मानौं धर्म भनेको कुनै जमिन्दारले साँध- सिमाना लगाएर ओगटेको खेत-बारी होस् ।
धर्मलाई सही अर्थमा बुझ्ने हो भने त्यो कुनै परिवर्तन हुने, परिवर्तन गर्न/गराउन सकिने वा फेर्न/मास्न सकिने त्यस्तो वस्तु हुँदै-होइन । शास्त्रकै मत खोज्ने हो भने पनि ‘धर्मलाई जबरजस्ती फेरेर थप धर्म हुँदैन, त्यसका विपरित पापमात्र हुन्छ !’ हो, कथित धर्मपरिवर्तनको नाममा आफ्नो वैदिक संस्कार छोडेर अन्य विश्वासपद्धति अपनाउँदा पाप लाग्छ रे मानौं । अरु विश्वासपरम्परा छोडेर वैदिक अथवा हिन्दू संस्कृति अप्नाउँदैचाहिं पाप लाग्छ कि लाग्दैन ? यदि त्यसो हो भने अहिले पश्चिमी मुलुकका सडकहरुमा लाखौं श्याम-श्वैतचर्मीहरु हरेराम हरेकृष्णको नारा अलाप्तै हिँडेका छन् ! ‘आफ्नो विश्वासपद्धति छोडेका ती ‘पापी’हरुलाई शताब्दियौंदेखि वैदिक परम्परा मानी ल्याएकाहरुले किन ठूल्ठूला मञ्च र मालामा स्वागत गरेका होलान् ? यसको तात्पर्य के भने आफ्नो विश्वासको मत फलाक्नेहरुको संख्या घटेमा पाप लाग्छ र बढेर धेरै भएमा धर्म हुन्छ ! कुरो त उही संख्याकै त रहेछ निः ! ‘निन्दा र स्तुतिमा कुनै भिन्नता नदेख्ने धार्मिक महात्मा’हरुको आदर्श यहींनेर छर्लङ्ग हुन्छ ।
यथार्थमा धर्म कहिल्यै फेरिँदैन । विश्वासमात्र फेरिन्छ । प्राचीनकाल (कुमारिल भट्ट र शंकराचार्यको समय) मा जैन र बौद्धका शरणमा जानु महापाप ठान्ने वैदिक ब्राह्मणहरुले नै केही सयवर्षपछि “बुद्ध पनि विष्णुकै नवौं अवतार हुन्;” भन्नथाले । यसको नमूना तपाईंले खोज्नुभयो भने जतासुकै पाउनुहुनेछ । बौद्धदर्शनलाई घोर नास्तिक, अनास्थावादी बताइएको छ । तर, तिनकै प्रदर्शक बुद्धलाई नारायणावतार पनि भनिएको छ । भन्नमात्र होइन, लेखी पनि रहेका छन् । थुप्रै पुराणहरुमा बुद्धलाई विष्णुको नौ अवतार बताइएको छ । यो धर्म फेरिएको हो कि विश्वास फेरिएको हो ?
यति हुँदाहुँदै पनि हाम्रो समाजका धेरै मान्छेले अहिले धर्म फेरिन्छ भन्ने भ्रम पालेका छन् । धर्म फेर्दा अझै धेरै धर्म मिल्छ भन्ने लफडामा अल्झिएका छन् । कतिलाई फलानो धर्म त्याग्नुपर्छ वा फलानो धर्म लिनुपर्छ भनिएको छ । धर्मप्रति आम मान्छेको कमजोर बुझाइलाई भऱ्याङ बनाएर धर्मका गल्लामाल व्यापारीहरुले यस्तो चालबाजी चालेका छन् । धर्मको नाममा यस्तो चाल-चुक्ली किन भएको हो ?
वास्तवमा धर्म त्यही हो, जुन काम तपाईं साँचो मनले, सत्यताको आधारमा पूर्ण विश्वासका साथ सम्पन्न गर्नुहुन्छ । तपाईंले गरेको त्यो काम नै धर्म हो जसभित्र परिश्रम, इमान्दारी र सर्वहितको लक्ष्य मिसिएको छ । अथवा परोपकारको लक्ष्यमा केन्द्रित कर्म नै धर्म हो । यस्ता कर्मले कर्ताको जीवन सरल र सहज हुन्छ भने भोक्ताको पनि हित हुन्छ । खासमा तपाईंले गर्ने त्यो कर्म असलमा धर्म हो, जसले अरुको दुःख, पीडा, समस्या, अभाव टारिदिन्छ । धर्मबारे धेरै शब्दजाल बुनिरहनु आवश्यक छैन । यसलाई सीमित शब्दमा बुझ्दा हुन्छ, मान्छेको धर्म भनेको उपकार हो । कल्याणकारी काम हो । कुनै स्वार्थ नराखी कसैप्रति पूर्णत सेवाभावले गर्ने काम नै धर्म हो । असहायप्रति तपाईंले दर्शाउने दया र स्नेह पनि धर्म हो । कसैको जीवन बँचाउन गरिने पुण्यको काम पनि धर्म हो । सत्य र साँचो कुरामा सधै अडिग रहनु पनि मनुष्यको धर्म हो ।
मनुष्यको मात्र होइन । सूर्य, जल, पवन र सम्पूर्ण प्रकृतिको पनि आफ्नो धर्म हुन्छ । जलधी सधैं बगिरहन्छ । सूर्य सधैं उदाइरहन्छ । पवन सधैं बहीरहन्छ । प्रकृतिका यी वस्तुहरुले पनि साम्प्रदायका गुरुहरुले झैं आफ्नो हुँदो गरिदिनेका लागिमात्र उपभोगको अधिकार दिने हो भने यो चराचर कस्तो हुन्थ्यो होला ? प्रकृतिले ‘पानी अचल’ जातकाहरुलाई मात्र प्राण-उर्जा दिन्छु’ भन्दिनु हो भने तमाम ‘पानी चल’ उच्च जातकाहरुले केको सास फेरेर बाँच्थे होला ! यसरी एउटा मान्छेले अर्को आफूजस्तै मान्छेलाई दोहन गर्ने, हेयभाव राख्ने, तुच्छ साबित गराउने, श्रम लिने, सम्मान लिने तर, सट्टामा शोषण र तिरष्कार दिने दमनकारी, घिनलाग्दा चलनहरुलाई पनि समाजमा धर्म भनेर परिचित गराइएको छ !
कुरो त्यतिमै टुंगिदैन । धर्म भनिएका गतिविधिभित्र अन्य थुप्रै चल्तीहरु सामाजिक व्यवहारमा प्रायोजित छन् । पूजापाठ गर्नु, देवतालाई भेटी चढाउनु, मन्दिर धाउनु, बिहान-बेलुकी आरती गर्नु, पुराण लगाउनु, ब्रत बस्नुलाई पनि धर्मकै रूपमा व्याख्या गरिएको छ । तर, यस्ता विधिहरु सामान्य निर्विवेकी मानिसलाई अनुशासित बनाउने, सामाजिक बन्न सिकाउने धेरैमध्ये केही उपाय मात्र हुन्, धार्मिक बन्नु भनेको यति नै होइन । जबसम्म यी कुरालाई तपाईंले विधीपूर्वक बुझेर गर्नुहुन्न भने सबै आडम्बरमात्र हुन् । यदि यी कुराको अर्थ र मर्म बुझेर, विधीपूर्वक गर्नुहुन्छ भने चाहिं त्यसबाट पनि तपाईं दैनिक जीवनमा लाभान्वित हुनुहुनेछ । किनभने यी सबै विधी-विधानले तपाईंको मन र शरीर शुद्ध/स्वास्थ बनाउन सहयोग पुऱ्याउँछन् । तथापि जति नै ढिप्पी गरे पनि यी आफैंमा धर्म पटक्कै होइनन् । यी विधि-विधानहरु मानिसलाई केवल नियमबद्धता पालन गराउने अनुशासनका आधार हुन् ! दर्शनचेतना र अध्ययनबिना धर्मको नाममा जन्ती, मलामी र गल्लावालहरुको जागिर थमाउन गरिएका गतिविधिले धर्म बढाउँदैनन्, बरु ढोंगी आडम्बर विकसित गराउँदछन् ।
तपाईंले मनाउने चाडपर्व, जन्म, न्वरान, विवाह आदि विधिहरु हिन्दू, इशाई, बौद्ध, मुश्लिम कुन पद्धतिबाट गर्नुभयो भन्ने कुराले धर्मलाई खास फरक पार्दैन । वास्तवमा हामीले धर्म भनिरहेका यी कुरा धर्म होइनन्, पद्धतिमात्र हुन्; सांस्कृतिक विश्वासका आधारहरु मात्र हुन् । सामाजिक जीवनलाई सन्तुलित ढंगले डोहोर्याउने प्रयासमा केन्द्रित प्रणालीमात्र हुन् । आफैंमा यी कुनै पनि धर्म होइनन् ।
मैले एकजना सन्यासीसित सोधेको थिएँ-धर्म कति थरीका हुन्छन् ? उनले मलाई लौकिक र अलौकिक-दुइथरीका भनेर उत्तर दिएका थिए । अब समष्टिमा मलाई ‘अलौकिक धर्म’ का अभियन्ताहरुसित एउटा जिज्ञाशा राख्न मनपऱ्यो । भारत विभाजन हुँदा पाकिस्तानपटि परेका हिन्दूहरु मुसलमान भए । भारतपटि परेका केही मुसलमानहरु पनि हिन्दू बने । उसो भए ती मुसलमान बनेका हिन्दूहरु र हिन्दू बनेका मुसलमानहरुले धर्म फेरे कि हुलिया र विश्वास फेरेका हुन् ? ती मुसलमान बनेका हिन्दूहरु मरेपछि पहिले स्वर्ग वा वैकुण्ठमा आधा भोग गरेर अल्लाहको जन्नततिर जान्छन् ? हिन्दू बनेका मुसलमानहरु पहिले अल्लाहको जन्नतमा पुगेर स्वर्ग वा वैकुण्ठतिर आउँछन् ?
हिन्दू धर्म होइन, इशाई धर्म होइन, मुश्लिम (इस्लाम) वा बौद्ध धर्म होइनन्; संस्कारका आधारमात्र हुन् । सांस्कृतिक विश्वासका स्रोतहरु हुन् । यी कुनै पनि पद्धतिलाई नियमपूर्वक एवं अनुशासित ढंगले आत्मसात गरेर जोकोहीले आफ्नो जीवनलाई सही र सन्तुलित रुपमा जिउन सक्छ भन्ने सामाजिक विश्वासहरु हुन् । चराचर जगतसँग जोडिएर कसरी जीवनको सौन्दर्य खोज्ने भन्ने कुरामा यी पद्धतिले आंशिक टेवा देलान् । तर, सबैले आ-आफ्नो विश्वासको दर्शनमा आधारित रहेर आफ्नैमात्र जिद्धिलाई सर्वोच्च दर्शनको रूपमा एकलौटी दाबी गर्नेहरु समाजमा हाबी हुञ्जेलसम्म प्राचीन ऋषिहरुले गरेको सुन्दर मानवसमाजको परिकल्पना कहिल्यै कारकसिद्ध हुने छैन !
वेद हुन् कि जुनसुकै शास्त्रीय ग्रन्थहरु हुन्, तत्कालीन समाज व्यवस्थाको प्रतिनिधित्व गरेर लेखिएका हुन्छन् । निश्चय पनि शास्त्रहरुले तत् तत् समाजले गरेका विश्वासका आधारमा नैतिकता, शालीनता, वीरता, उग्रता, कटुता आदि आदि कुराको व्याख्या गरेका हुन्छन् ।
यसरी मानिसहरुले धर्मको नाममा आफू जन्मेको भूगोल, हावापानी र प्रकृतिको लयसँग तालमेल मिलाउँदै विभिन्नखाले संस्कार एवं पद्धतिको विकास गरेका छन् । त्यसैले आफ्नो सामाजिक जीवनका लागि कुन पद्धति अपनाउने भन्ने कुरामा तपाईं आफैंले विवेकपूर्ण निर्णय लिनुपर्दछ । विवेक प्रयोग नभएमा बाँधेको बाख्रो डोऱ्याएझैं तपाईंलाई अर्काले घिस्याउँदै तान्नेछ । तपाईंले अर्को हिँडेकै बाटो हिँड्नुपर्नेछ, अर्काले खाएकै चीज नरुचे पनि, उलिक उलिक आउँदै भए पनि रुचाएको स्वाङ पारेर खानु पर्नेछ ।
लु सम्झनुहोस्, तपाईं एउटा निर्जन टापुमा अवस्थित सानो गाउँमा बस्नुहुन्छ । तपाईं संस्कारले हिन्दू पद्धति अँगाल्नु हुन्छ । हिन्दू संस्कार मान्ने अर्को कुनै मानिस त्यो टापुमा रहँदैन भने तपाईंको लागि त्यहाँका सारा इस्लामपन्थी, बौद्धमार्गी वा इशाईहरु ‘पापी’ हुँदैनन् । पराई हुँदैनन् ! यदि तपाईंले आफूबाहेकको चिन्तन धारामा विश्वास गर्नेहरुलाई आफ्ना विरोधी ठान्नुभयो भने तपाईंको बाँच्ने सामाजिक आधार कमजोर हुनेछ भन्ने तपाईंको अन्तस्करणले जानकारी दिइहाल्छ । तर, तपाईं बस्ने टापुमा आफ्नो संस्कारपद्धति मान्ने मानिसहरुको संख्या बढ्दै गएको खण्डमा, तपाईंको बहुमत दर्बिलो हुनथालेको खण्डमा यदि तपाईं महामूर्ख, शठ हुनुहुन्छ भने तपाईंले आफूबाहेकका संस्कार मान्नेहरुसित शेखी गर्न थाल्नुहुनेछ; उनीहरुको शाख गिराउने अभियानमा लागिहाल्नु हुनेछ । पूर्वीय समाजमा जातीय-लिंगीय विभेद, छुवाछूतजस्ता रुढ परम्पराहरु यसरी नै विकसित भएका हुन् । शासक र शासितहरुबीचको बेमेललाई धर्ममा मिसाएर सामाजिक वर्चस्वको खिचडी पकाइएको हो ।
त्यसरी नै यदि तपाईं इशाई पद्धति अपनाउनुहुन्छ; तर, सज्जन र विवेकी हुनुहुन्छ भने सारा हिन्दू वा अन्यहरु ‘सैतान’ हुँदैनन् । यस्ता विभेदका झेली शब्दजाल त तिनीहरुले नै समाजमा छरेका हुन्, जसले धर्म र संस्कारको भेद नबुझी त्यसलाई आफ्नो उपार्जनको धन्दा बनाएका छन् । आफ्नो घमण्डी वर्चस्वको भऱ्याङमात्र बनाएका छन् ।
किन हुन्छ त ‘धर्म’को व्यापार ? तपाईंलाई यदि कसैले फलानो धर्म लिनुपर्छ, फलानो सम्प्रदायमा लाग्नुपर्छ भनेर दश सिल्लीका गफ जोत्छ, कुनै विज्ञापन कम्पनीको ‘ब्रोकर’झैं ‘नन-स्टप ’लेक्चर दिन्छ भने त्यो व्यक्ति व्यापारी हो भनेर तपाईंले प्रष्ट बुझ्नु जरुरी छ ।
‘धार्मिक साम्राज्य’ विस्तार गर्ने लालसामा अहिले समाजमा छ्यापछ्याप्ती यस्ता व्यापारीहरु सक्रिय छन् । उनीहरुले सोझा, निमुखा व्यक्तिलाई आफ्नो फन्दामा पार्ने गरेका छन् । यसरी उनीहरुलाई आफ्नो जत्थामा समावेश गरेपछि उक्त व्यक्तिमाथि आफ्नो अघोषित शासन चल्छ भन्ने नियतबाटै यस्तो काम हुन्छ । जब तपाईंले उनीहरुको शर्तबमोजिम ‘धर्म परिवर्तन’ को बहानामा आफ्नो विश्वास फेर्नुहुन्छ, तब अनेक किसिमको स्वार्थ तपाईंमाथि लादिनेछ । तपाईंमाथि भावनात्मक ‘ब्ल्याकमेलिङ’ शुरु हुनेछ । तपाईंलाई उनीहरुले पूर्णत आफ्नो जत्थामा सामेल गरिसकेपछि उनीहरुले तपाईंबाट अतिरिक्त श्रम र आर्थिक लगायतको लाभ लिनेछन् । उनीहरुले आफ्नो प्रचार सामग्रीदेखि अन्य थुप्रै वस्तु तपाईंलाई भिराउने छन् । यसरी तपाईं थाहै नपाई उनीहरुको एक इमान्दार ग्राहक बन्नुहुनेछ ।
तूलनात्मक चेतनाका कुरा गर्ने हो भने पूर्वीय दर्शनले असल मानवताको ज्ञान बाँड्ने प्रयत्न त गरेकै छ । कुरान भन्छ– मुसलमान बन । इस्लाममा भरोसा गर । बाइबल भन्छ– इशाई बन । यशुमाथि विश्वास गर । तर, वेद भन्दछ– ‘मनुर्भवः’ अर्थात मनुष्य बन ! (ऋग्वेद १०-५३-६) । यद्यपि, वेदका ‘मालिक’ ठानिएकाहरु कहिल्यै पनि यो मर्मलाई बुझेर असल मनुष्य बन्न सकेनन् ।
“अयं निजः परो वेति गणना लघुचेतसाम् | उदारचरितानां तु वसुधैव कुटुम्बकम् ||”
यो भनाइ केवल विज्ञापनको भावनात्मक नारा बनेर रह्यो ।
वैदिकहरुमाथि अरुले सजिलै अतिक्रमण गर्ने सिलसिला चल्नुको मूल कारण के भने हाम्रो समाज विभिन्न योगी सम्प्रदायका वर्गीकरणमा बाँडिएर होडबाजीमा सबैले आफ्नो नामको डम्फू बजाइरहेका छन् । यसरी सांस्कृतिक आधारहरु धर्मको नाममा ‘कुमालेको हाँडी’ बनिरहेका छन् ! मानवता भित्रभित्रै संक्रामक कीटाणु लागेर क्षतविक्षत बनिरहेको छ !
सन्दर्भ स्रोतहरुः
–सर्वदर्शनसंग्रह-माधवाचार्य https://archive.org/details/Sarva-darsana-sangrahaOfMadhavacharya
–शास्त्रीय अर्थभेदः आस्तिक र नास्तिक-भक्त घिमिरे http://bhutaneseliterature.com/archives/19850
–ऋगवेदः
-(महोपनिषद्, अध्याय ४, श्लोक ७१)
–Lao-tzu and the Tao-te-ching, Michael LaFargue, SUNY Press, 1998, ISBN 978-0-7914-3599-1
–न्यायमञ्जरी-जयन्त भट्ट
–Bhatta Jayanta; Csaba Dezsö (2005). Much Ado about Religion. New York University Press. pp. 15–17. ISBN 978-0-8147-1979-4.