हामी को हौँ

गंगाराम रिजाल
नेसभिल टेनिसी, अमेरिका


हामी हौँ गिरिकन्दरा घुमी घुमी संघर्ष गर्ने जन।
हामी हौँ यस धर्तीका शिखरमा बोल्ने खुसी हौँ मन॥
हामी हौँ घर गाऊँका मिलिजुली सङ्कष्ट टारी दिने ।
हामी हौँ सुख दुःखका समयका डुङ्गा ती तारिदिने॥

हामी त्यो मनभित्रका कुसुम हौँ फुल्ने रसस्वाद हौँ।
हामी त्यो रसरंङ्गका वरिपरी हेर्ने सधैँ याद हौँ॥
हामी त्यो बनपाखका जडीबुटी खोज्ने कविराज हौँ।
हामी हौँ सब वैद्यका मनमुटुहौँ वैरिमा बाझ हौँ॥

हामी हौँ घर गोठमा कतिकति पैदल हिँड्यौँ खाली नै।
हामी हौँ त्यहि धानले ढुकुीमा भर्ने कतै डाली नै ॥
हामी हौँ रूखमा चढी बडरका हाँगा तिनै काट्दथ्यौँ ।
हामी हौँ ती मकै दिएर घरको खोजी गहूँ साट्दथ्यौँ॥

हामी हौँ पसीना बगाई तनमा आरोग्यमा पौडने।
हामी हौँ घिउ दूधनै पिई निकै सङ्घर्षमा दौडने ॥
हामी हौँ त्यहीबारी खेत तिरको कान्लो खनी जोतने।
हामी हौँ घर द्वार गोबर लिई चोखो भनि पोतने ॥

हामी हौँ ढिकीमा कुटेर कनिका त्यो धानको चामल ।
जाँतोले पनि पिस्दथ्यो यही पिठो भन्थ्यौ अनि सामल॥
हामी हौँ दूध ठेकिमा दहि झिकी पार्थ्यौँ मदानी लिई ।
हामी हौ बटुकाभरी दूध मही आनन्द मान्थ्यौँ पिई ॥

हामी हौँ महकाडी हात भरित्यो चाट्ने खुदो सख्खर।
हामी हौँ कति स्वादिला अरूपनि खान्थ्यौँ कुराउनी तर॥
हामी हौँ फलफूल बोटतिर गै टिप्दै कपाकप दिने ।
हामी हौँ अहिले तिनै सबकुरा संझेर मनमा लिने ॥

हामी हौँ दिनहूँ हिटी अनि कुवा धारातिरै धाउने ।
हामी हौँ दिनरात गाग्री भरीको पानी सधैँ पाउने॥
हामी हौँ फरिया कमीज र गुन्यौँ चोली पटुकी कसी।
हामी हौँ पगरी र कोट त्यसमा टल्कीन्थ्यो आट्मा बसी॥

हामी हौँ ति अनार भ्यागुर तरूल् खोज्दै बनै घुम्दथ्यौँ।
हामी हौँ नि सुगन्धका कुसुमका बास्ना सधैँ चुम्दथ्यौँ ॥
हामी हौँ बर पीप्पलै नजिक गै चौतारी छाया तिर।
हामी हौँ गई बस्न पाउनसके शान्ती हुने मन स्थिर ॥

हामी हौँ जब भारी बोकी पिठमा डोको अनि ढाकर।
हामी हौँ मृदुभाषी संस्कृति सँगै भिन्नैछ आफ्नो थर॥
हामी हौँ नि अनेकमा सबमिलि हौँ एक मालासरी ।
हामी हौँ यही धर्तीका वरिपरी जुट्नु हो केके गरी ॥
१०
हामी हौँ दशमी,तिहार यी दुवै भेलाभई नाचने ।
हामी हौँ यही संस्कृति विच सधैँ खेल्दै जहाँ बाँचने॥
हामी हौँ शिरमाथि टोपी खुकुरी सिउरिदिने कम्मर।
हामी हौँ शिरउच्च शैल सरिका नेपाली हौँ अम्मर ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *