हाम्रा पुराना जीवनशैली

गंगाराम रिजाल
टेनिसी, अमेरिका

पुरानै गाऊँका रसमय तिनै यादहरूले।
कतै झ्याली घण्टी तिरिरीरी बजाएनि अरूले ॥
बज्योहोला ट्याम्को पिटिपिटी निकै चड्कनदिँदा।
भयो भित्रि मन्मा रहरअति संझीकन लिँदा ॥

दमाहाको डुम् डुम् भईंकन बनै गुञ्जय हुने ।
अनि रेट्दा माथि स्वर भरिदिँदा अन्तर छुने॥
त्यही सारङ्गीको टिनिनिनी ध्वनि बज्दछ जहाँ।
झझल्कोले कस्तो हृदय भरिनै चोटछ यहाँ॥

फुके नर्सिङ्गानै तुतुथुडी थुडी पारीकन त्यो।
उचाल्दा झ्याम्टाको स्वरभरी दिने तालसब भो॥
सबैनाचे बाँचे त्यही रितहरू आखिर थिए।
रहेनन् ती आज दिनहरू सबै यादबनिए॥

सुरीलो वंशीको मधुरस ध्वनि भिन्न स्वरमा।
हुँदा नाच्ने औधी घुमीघुमी सबै आँगन महाँ।
थिए आफ्ना छुट्टै रहर भरिका मौलिक विधी।
नदीनाला खोला बन उपवनैहुन् सब निधि ॥

बन्यो है चोयाकै खिपीखिपी भुने ढाकर अनि।
भयो त्यस्तै डोको घुम र त्यही पेचा अरूपनि॥
रहेनन् ती आज वरपर कतै चित्र सजियो ।
भऱ्यौँ डालाभित्र मुरी मुरी मकै फापर थियो ॥

उता थुन्से बोकीकन दिदीहरू हाट बिचमा।
कतै अग्ला भीर नदितिर कतै साँघुरी त्यहाँ॥
लुकामारी खेल्ने बरपिपल छाँयाँ तिरबसी ॥
उकालीमा तोक्मा भरदिने निकै ढाकर कसी ॥

भकारीमा सुक्थ्यो थरिथरी निकै बिस्कुन भरी।
सबैले बेरिन्थ्यो शिशिर अघिनै दिब्य पगरी॥
बनिन्थ्यो है डोको अरूपनि भए बाँस सुरिला।
कुनै नाङ्लो थुन्से नभई नहुने चट्ट घुरिला॥

ढिकी जाँतो पाथी हरबखत मानु नजरमा ।
कुँडे ठेकी गाग्री खुकुरी दुँदियारोनि घरमा॥
सधैँ यस्ता वस्तु नभई नहुने जीवन थियो
भऱ्यो बिज्ञानैले कतिकति अनेकौँ चिज दियो॥

बल्थे बत्ती जुनकिरीसरी काठकै त्यो दियालो।
झिल् मिल् गर्ने सबथरी नयाँ बल्नआएछ पालो॥
खेल्थ्यौँ गुच्छा वरपरसबै साथीभाई जुटेर।
पाक्थ्यो भान्सा भुसझिकी सधैँ धानलाई कुटेर॥

१०

लेख्ने साहसभो खुलेन मनमा लाखौँ पुराना अझै।
जोडौँ शब्दकहाँ परेँ सकसमा खोजौँम अर्को कतै॥
यस्तै छन् अनगिन्तीका विगतका हाम्रा चिनारीहरू।
राखौँला जब शारदा हृदयमा टुप्लुक्क बस्दा अरू॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *