हाम्रो टोपी

जय हुमगाइँ
क्यानाडा
पहिचान राम्रो चिनारी हाम्रो
टोपीले जनाउँछ
नेपाली टोपी सिरमा लाउँदा
राष्ट्रिय झल्काउँछ।
अत्यन्त प्यारो नेपाली टोपी
हेर्दामा सानु छ
त्यै पनि यसको स्थान भने
सिरको माथि छ।
देशको सान नेपाली टोपी
नेपाली सिर सिरमा
हर्षले मन प्रफुल्लित हुने
यो टोपी दिवसमा
चाहिँदैन अवसर चाड र पर्व
यो टोपी लाउनलाई
सुटमा लाए नि सुरालमा लाए नि
सुहाउँछ सबैलाई।
मन्त्रालय धाउँछ गोठालो गर्छ
सँग सँग साथैमा
हाकिमको साथमा दरबार छिर्छ
कोही बेला गोष्ठीमा।
मेला र पातमा पसिना पुच्छ
निदार र गालामा
आँखालाई छोप्छ पलटेर सुता
पारिलो घाममा ।
सानु छ टोपी त्यै पनि यसलाई
दुई हातले उठाइन्छ
नाम्लाको डाम घटाउन यसलाई
थाप्लामा लगाइन्छ।
नेपालको पनि सिरमा उच्च
हिमालको टोपी छ
नेपाली भनी चिनाउने हामलाई
यो ढाका टोपी छ।
जाँदिन कहिले भन्दैन यसले
जुवा र भट्टीमा
रोदीमा जान्छ मारुनी नाच्छ
मादलको तालमा ।
खुकुरी सँग सँगसँगै पुग्छ
गोर्खाली पल्टनमा
लडेर युद्ध जितेर आउँछ
हँसिलो मुहारमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *