‘हाम्रो नेपाली भाषा’का सम्बन्धमा केही कुरा
खिम खतिवडा
मिनिसोटा, अमेरिका
हामी नेपाली भाषी भूटानीहरू तेस्रो मुलुकमा पुनर्वास भएर बसोबास गर्न थालेको लगभग दस वर्ष हुन लागेछ । यो लामो समयमा हामीमध्ये धेरै जसोले आर्थिकरूपमा धेरै उन्नति गरेका छौँ, यसमा कुनै शङ्का छैन । यस उन्नतिले हामीलाई देश छोडेर भाग्दाका पीडाहरू र दुई दशकसम्म शरणार्थीको बिल्ला लगाएर दिन प्रतिदिन मर्दै–बाँच्दै बिताएका ती कहालीलाग्दा दिनहरू बिर्सन धेरै मद्दत गरेको छ । तर, यसरी भौतिक रूपमा केही उन्नति गर्न सफल भएता पनि आध्यात्मिक, सांस्कृतिक, साहित्यिक एवं भाषिक रूपमा भने हामी अझै पिछडिइरहेको अनुभव धेरै स्वाभिमानी महानुभावहरूबाट नभएको पनि होइन ।
म ‘गिलास आधी खालि छ’ भन्नुभन्दा ‘आधी भरि छ’ भन्न रुचाउँछु र मेरो दृष्टिमा अमेरिका लगायत विभिन्न राष्ट्रमा पुनर्वासको विकल्प रोजी स्थयी बसोबास गर्दै आएका हाम्रा नेपाली भाषी भूटानी तथा अन्य विदेशी नेपाली साहित्यकारहरूबाट पनि नेपाली भाषा र साहित्यका विविध विधाहरूमा, विशेष गरी गीत र गजलका क्षेत्रमा धेरै प्रशंसनीय कार्यहरू भइरहेका छन् । म ज्ञात–अज्ञात ती सम्पूर्ण नेपाली साहित्य प्रेमी महानुभावहरूलाई अन्तर्हृदयबाट धन्यवाद दिन चाहन्छु । तर मेरो व्यक्तिगत चिन्तन र प्रयास भने विशेष गरी तेस्रो मुलुकमा बसोबास गर्ने नेपाली भाषी समाजमा भोलिका दिनहरूमा पनि ती गीत, गजल र कविता सुन्ने श्रोताहरूको खडेरी नपरोस् भन्ने रहेको छ ।
आज हाम्रो समाजमा लक्ष्यहीन भएर बरालिने अनि गलत बाटो समात्ने युवाहरूको (यहाँ युवा भन्नाले युवा–युवती दुवैलाई सम्बोधन गरिएको हो) संख्या धेरै पुगिसकेको छ र यसतर्फ हामीमध्ये धेरै व्यक्तिहरूको अझै आँखा पुग्न सकेका छैनन् । हुन त यो एउटा मानव स्वभाव पनि हो– ‘जबसम्म आफ्नो घरमा आगो लाग्दैन, तबसम्म कानमा तेल’ हालेर सुतिरहन्छ । तर घरमा आगो लाग्नुुभन्दा पहिल्यै कुवा खन्नु चाहिँ बुद्धिमत्ता हुन्छ । आज अमेरिकामा मात्र आत्महत्या गरी जीवन समाप्त गर्ने भूटानी अमेरिकीहरूमा अधिकांश युवाहरू रहेका छन् । त्यस्तै कुसंगत र कुलतको बाटो समात्ने पनि धेरै जसो युवावर्ग नै छ जोे हाम्रो समाज र देशको भविष्य हो । आज पुनर्वासको विकल्पलाई रोजी तेस्रो मुलुकमा आएका हामी सम्पूर्ण नेपाली भाषी भूटानीहरूका सामु हाम्रा यी युवावर्गलाई कसरी सही दिशा निर्देश गर्ने र भोलिका दिनहरूमा अन्य भाषाभाषी एवं सांस्कृतिक समुदायका व्यक्तिहरूसँग पौंठेजोरी खेल्दै आ–आफ्नो कर्मभूमिमा उच्च पद वा ओहोदामा पुग्न सक्ने मात्र होइन आफ्नो भाषा र संस्कृतिको छाती तानेर परिचय दिन सक्ने बनाउने भन्ने एउटा जटिल प्रश्न, अझ भनौं कडा चुनौति खडा भएको छ । यो एउटा छुट्टै चिन्तनको विषय हो र आजको मेरो विषय हाम्रो भावी पिँढीलाई कसरी प्रभावकारी ढङ्गले नेपाली भाषा शिक्षण गर्ने र यस विषयमा म के योगदान गर्न सक्छु भन्ने रहेको हुँदा म यो भन्दा बढी यस विषयमा केही भन्न चाहन्नँ । मेरो विचारमा समस्या देखाउनुभन्दा पनि ‘म मेरा व्यक्तिगत तर्फबाट त्यसको समाधानमा के र कति योगदान दिन सक्छु’ भनी चिन्तन अनि प्रयास गर्नु उचित हुन्छ । म यस समस्याको समाधानका लागि अफ्नो व्यक्तिगत तर्फबाट विभिन्न अभ्यासहरू गरिरहेको छु र चाँडै विभिन्न सामूहिक कार्यक्रमहरू लिएर पनि आउनेछु ।
प्रत्येक समाजको परिचय उसको धर्म र संस्कृतिले दिन्छ र संसारमा कुन संस्कृति कति धनी छ भन्ने कुरा त्यसको भाषा र साहित्यले दर्शाउँछ । आफ्नो भाषा, साहित्य र संस्कृति प्रति माया नहुनेहरूका लागि मेरो भन्नु केही छैन । ‘केही छैन’को तात्पर्य उहाँहरूलाई मेरो कुनै प्रश्न पनि छैन र उहाँहरूका प्रश्नको कुनै उत्तर पनि दिन चाहन्नँ । मानसिक रूपमा स्वस्थ प्रत्येक वयस्क व्यक्ति आफ्नो विषयमा निर्णय गर्न, अझ प्रष्टसँग भन्नु पर्दा ऊ ‘आफ्नो परिचय’ कसरी दिन चाहन्छ त्यसमा ऊ स्वतन्त्र हुन्छ र हुनु पनि पर्छ । त्यसैले म यहाँ मात्र नेपाली भाषा, साहित्य र संस्कृति प्रति माया गर्ने र यसको उत्थानका लागि केही गर्नुपर्छ भनी प्रत्यक्ष वा अप्रत्यक्षरूपमा नै भए पनि सहयोग गर्न चाहनेहरूका समक्ष आफ्ना विचार प्रस्तुत गर्न चाहन्छु ।
नेपाली भाषा शिक्षण एवं संवर्धनका बारेमा पनि हाम्रो समाजका कतिपय विज्ञहरूबाट धेरै राम्रा चिन्तन अनि प्रयासहरू भइरहेका छन् र त्यस्ता सचेत विज्ञहरूको अग्र पङ्क्तीमा पर्नुहुन्छ केन्टकी, अमेरिका निवासी युवा विद्वान् डा. लक्ष्मीनारायण ढकालज्यू र मेरा आदरणीय अग्रज श्री गंगाराम लामिटारेज्यू, जसले हाम्रो भूटानी समाजमा नेपाली भाषा र साहित्यको विकासमा अतुलनीय योगदन पुर्याउनुभएको छ । Bhutaneseliterature.com मा प्रकाशित डा. ढकालज्यूको “प्रयोग भए मात्र भाषा बाँच्दछ, भाषा उत्पत्तिका सम्बन्धमा केही वैज्ञानिक चिन्तनहरू” फेसबुकमार्फत भर्खरै पढ्ने मौका मिल्यो । उहाँको नव वर्षमा भाषा उत्थानका लागि हातेमालो गर्न सबैलाई गरिएको आह्वान र त्यसमाथि भएका टीका टिप्पणी पनि पढियो ! त्यहाँ कतिपय मित्रहरूका टिप्पणीहरू ‘मेरो घरमा आगो लागेकै छैन’ भन्ने खालका पनि देखिए तर जे होस्, डा. ढकालज्यूका विचारहरू सारगर्भित छन्, वैज्ञानिक छन् अनि समय सापेक्ष छन् । संस्कृत पृष्ठभूमिबाट आएर पनि यसरी स्वतन्त्र अनि समय सापेक्ष विचार राख्ने विद्वान्हरू हाम्रो समाजमा विरलै छन् । उहाँको यस भाषा उत्थानको अभियानमा एउटा सानो टेवा मात्र पुर्याउन सकेँ भनेँ पनि म आफूलाई धन्य ठान्नेछु ।
नेपाली भाषा शिक्षण एवं संवर्धनका सम्बन्धमा यसरी केही चिन्तन अनि प्रयासहरू भइरहेका भए तापनि देश, काल र परिस्थितिअनुरूपको पाठ्यपुस्तकको खाँचो भने अझै छँदै छ । हाम्रो सन्दर्भमा नेपाली भाषा शिक्षणका बारेमा कुरा गर्दा हाम्रो समाजका चौथो (कतिपय तेस्रो पनि) पिँढीका लागि नेपाली भाषा मातृभाषा होइन, मावली भाषा भइसकेको छ । आफ्नो भाषा र संस्कृति प्रतिको हाम्रो प्रेम यस्तै हो र यसको संवर्धनका लागि हामी सबै एक जुट भएर सशक्त रूपमा लाग्न सकेनौं भने अबको बीस–पच्चीस वर्षपछि बूढा वा कुप्रा मावली तिरै जानु पर्ला ! त्यसैले हामीले अब नेपाली भाषा एकातिर दोस्रो भाषाका रूपमा पढाउनु पर्ने परिस्थिति छ भने अर्कातिर भाषा शिक्षणलाई रोचक अनि प्रभावकारी बनाई बाल–बालिकाहरूमा रुचि जगाउन आधुनिक भाषा शिक्षण पद्धतिलाई अपनाउनु पनि नितान्त जरुरी छ ।
हामीले मिनिसोटा, अमेरिकामा लगभग एक वर्षदेखि सामूहिक रूपमा नेपाली भाषा सिकाउने जमर्को गर्दै आइरहेका छौँ । यस्तै प्रयासहरू अमेरिकाका अन्य राज्यहरूमा पनि भइरहेका छन् र मलाई लाग्छ हाम्रा नेपाली भाषी भूटानी लगायत अन्य नेपालीहरू भएका क्यानाडा, अस्ट्रेलिया लगायत अन्य मुलुहरूमा पनि यस्ता कार्य अवश्य भइरहेका होलान् । यस सम्बन्धमा अरूहरूका अनुभव के छन् मलाई थाहा भएन, तर मैले यस एक वर्षको अन्तरालमा धेरै तीता मीठा अनुभव र चुनौतिहरूको सामना गरेको छु । मेरो अनुभवमा देश, काल परिस्थितिअनुरुप अथवा भनौं समय सापेक्ष्य पठ्यपुस्तकको अभाव पनि एउटा प्रमुख समस्या रहेको छ । मैले आधुनिक भाषा शिक्षण पद्धति अपाएरै लेखिएका भए पनि नेपालबाट प्रकाशित पाठ्यपुस्तक हाम्रो समाजका लागि उपयुक्त देखिनँ किनकि नेपालबाट प्रकाशित प्रायः सबै जसो पाठ्यपुस्तकहरू नेपाली परिवेशमा (राजनैतिक, सामाजिक, धार्मिक, भौगोलिक आदि) लेखिएका छन् । त्यसैले हामीले यहाँ शुरुशुरुमा ‘माइलो गुच्चा खेल्छ’, ‘आमा चिठी लेख्नुहुन्छ’ भनेर सिकाउनु भन्दा ‘माइकल आइप्याड्मा भिडियो हेर्छ’, ‘आमा फेसबुकमा च्याट् गर्नुहुन्छ’ भन्दा धेरै प्रभावकारी शिक्षण हुन्छ । साथमा ती सम्पूर्ण पाठ्यपुस्तकमा हप्ताको कम से कम ६-७ घण्टीको लागि आवश्यक पाठ्यसामग्री एवं क्रियाकलापहरू राखिएका छन् । यसरी हेर्दा घण्टीको ४० मिनटको दरले मात्रै हिसाब गर्ने हो भने पनि हप्तामा कक्षामै थोरैमा चार–पाँच घण्टा पढाउनु पर्ने हुन्छ र दश वर्षको भाषा शिक्षणको आफ्नै अनुभवका आधारमा भन्दा अरू सात–आठ घण्टा गृहकार्यका लागि छुट्याउनु पर्ने हुन्छ ! अब हाम्रो सन्दर्भमा कुरा गर्दा हामीले हाम्रा विद्यार्थीलाई हप्तामा एक–दुई घण्टा (शनिवार वा आइतवार) कक्षामा पढाउनुपर्ने हुन्छ र गृहकार्य दिने सम्भावना पनि कमै रहन्छ । त्यस्तै बर्खे बिदामा घुम्न जानुपर्ने सभ्यता, कहिले के अनि कहिले के को सभ्यता पनि जोड्दा वर्ष भरीमा हामीसँग चानचुन ७०–७५ घण्टा (हप्ताको १.५ घण्टाको दरले) रहन्छ । त्यस्तै हामीले आरम्भमा सुनाइ र बोलाई शीपहरूलाई प्राथमिकता दिनु पर्दछ किनकि हाम्रा नानीहरूले शुद्धसँग नेपाली बोली मात्र दिए भने पनि ठूलो उपलब्धि हुन्छ । यसका साथसाथै हामीसँग योग्य नेपाली भाषा शिक्षक-शिक्षिकाहरूको अभाव बढ्दै जाने सम्भावना पनि छँदै छ ।
आफू सानैदेखि नेपाली अनि संस्कृत भाषा र साहित्यको विद्यार्थी हुन पाउनुको सौभाग्य र नेपालमा नौ–दश वर्ष नेपाली अनि संस्कृत भाषा शिक्षण सहित पाठ्यपुस्तक लेखनको अनुभवलाई पनि एकत्र गरी मैले तेस्रो मुलुकमा बसोबास गर्ने हामी नेपाली भाषीहरूको आवश्यकतालाई ध्यानमा राखेर ‘हाम्रो नेपाली भाषा’ नामक नेपाली पाठ्यपुस्तकको लेखन कार्य आरम्भ गरेको छु । यो पाठ्यपुस्तक भाषा शिक्षणका अत्याधुनिक सिद्धान्तमा आधारित, सम्प्रेषणात्मक, अनि विद्यार्थी केन्द्रित रहेको छ । यस पुस्तकमा सुनाइ, बोलाई, पढाइ र लेखाइ जस्ता भाषाका सम्पूर्ण शीपको विकासलाई ध्यानमा राखिएको भएता पनि सुनाइ र बोलाइलाई बढी जोड दिइएको छ । यो पाठ्यपुस्तक अत्यन्त सरल अनि रोचक शैलीमा लेखिएको छ । यो पुस्तक पढाउन नेपाली विज्ञ शिक्षक-शिक्षिकाको कुनै खाँचो पर्दैन । यदि तपाईँ सामान्य रूपमा नेपाली पढ्न र लेख्न सक्नुहुन्छ भने मात्रै पनि यो पुस्तक सजिलैसँग पढाउन सक्नुहुन्छ तर यसको तात्पर्य विज्ञ शिक्षक-शिक्षिका चाहिँदै चाहिँदैन भन्ने पनि होइन । यदि कक्षामा गएर तालिम प्राप्त शिक्षक-शिक्षिकाको निर्देशनअनुसार क्रियाकलापहरू गर्दा भाषाको सिकाइ चौगुना हुन्छ । यस पुस्तकमा रहेका आकर्षक रङ्गीन चित्र, विभिन्न शीपमूलक तर सरल अभ्यास र क्रियाकलापहरूले पनि विद्यार्थीको रुचि जगाउन पर्याप्त सहयोग गरेका छन् । यस पुस्तकमा भाषा र व्याकरणलाई सँगसँगै लगिएको हुँदा नेपाली व्याकरण पढाउनका लागि छुट्टै पुस्तकको खाँचो पर्दैन । परिशिष्टमा राखिएका शब्दभण्डार, व्याकरणका आवश्यक नियमहरू, आदर्श प्रश्न पत्र (वार्षिक मूल्याङ्कन पत्र) जस्ता विभिन्न विषयवस्तु पनि यस पुस्तकका थप आकर्षण रहेका छन् । भाग १ देखि भाग ५ सम्मको श्रृङ्खलामा प्रकाशित गर्ने उद्देश्यले आवश्यक एवं समय सापेक्ष्य पाठ्यक्रम निर्धारण गरी लेखन कार्य आरम्भ गरिएको यस पाठ्यपुस्तकको पहिलो र दोस्रो भाग छिट्टै मुद्रणका लागि जाने तयारीमा छन् भने अरू भागहरू प्रतिवर्ष क्रमशः प्रकाशित गर्दै जाने उद्देश्य लिइएको छ । आशा छ मेरो यो सानो प्रयास हाम्रा भावी सन्ततीलाई नेपाली भाषा र साहित्य प्रति अलिकति भए पनि रुचि जगाउन सफल हुनेछ ।
यस पठ्यपुस्तकका दुईवटा भागहरू तुरन्तै प्रकाशित हँुदैछन् तर यी पुस्तकलाई तेस्रो मुलुकमा बसोबास गर्ने हाम्रा सम्पूर्ण विद्यार्थीहरूको हातमा पुर्याउने, यसको अभ्यास गराउने अनि यसमा रहेका कमी कमजोरीहरूलाई सच्याउन सकारात्मक सुझाव दिने जिम्मा भने मैले हाम्रा नेपाली भाषा, साहित्य तथा संस्कृति प्रेमी सम्पूर्ण विज्ञ गुरुहरू तथा अभिभावकज्यूहरूका हातमा सुम्पिएको छु र, अवश्य पनि सकारात्मक सुझाव, मार्गनिर्देशन अनि हौसला पाउने छु भन्ने पूर्ण आशा लिएको छु ।
अब मात्र केही दिन प्रतीक्षा गर्नुृहोस् मेरो तर्फबाट पुनर्वासको विकल्प रोजी तेस्रो मुलुकमा स्थायी बसोबास गरिरहेका नेपाली भाषी भूटानी समुदाय तथा स्थायी वा अस्थायी रूपमा विदेशमा बस्दै आएका अन्य नेपाली समुदायका लागि नव वर्ष सन् २०१७ सालको कोशेली— देश, काल अनि परिस्थिति सुहाउँदो नेपाली पाठ्यपुस्तक ‘हाम्रो नेपाली भाषा’ तपाईँको हातमा आइपुग्ने छ !
[लामो समयसम्म शिक्षण पेसामा संलघ्न खतिवडाले नेपाली र संस्कृतमा एम्.ए तथा बि. एड् सम्म अध्ययन गरेका छन् । उनलाई khatiwadakhim@gmail मा सम्पर्क गर्न सकिनेछ – संपादक]