हाम्रो साहित्यको नवीन बाटो

भक्त घिमिरे/अमेरिका

लेखक
लेखक

‘साहित्य’ शब्द एउटै भए पनि यसलाई हेर्ने दृष्टिकोण विभिन्न छन् । विषयको आशय, शैली र लक्ष्यका आधारमा साहित्यलाई पनि विभिन्न धारमा वर्गीकृत गरिन्छ । परम्परावादी, यथास्थितिवादी, सुधारवादी, प्रगतिवादी र यस्ता धेरै के के ! यद्यपि, यो सन्दर्भमा लाग्नभन्दा पनि पहिले नेपाली साहित्यको स्तरबारे कुरा गरौं । आजकल नेपाली साहित्यको स्तर विश्व साहित्यको हाराहारीमा पुगिसकेको दाबी पनि गरिँदैछ एकातिर भने केही विकसित देशहरूको साहित्यसँग दाँजेर नेपाली साहित्य समानान्तर हुन नसकेको विलाप अलाप्तै निराश र हतास मनहरू पनि छन् नेपाली साहित्य जगतमा ।
अर्कोतिर समाजमा बुद्धिजीवीको ‘लालमोहर’ पाएका केही मान्छेहरु नेपाली साहित्यका आउँदा दिनहरू अड्कलेर ओठ लेप्र्याउँदै अंग्रेजीमा बोल्न-लेख्न चाहन्छन्, अंग्रेजीकै विकासमा जोड दिइरहेका छन् उनीहरू । अफ्नोबाहेक अरु भाषालाई सिद्ध प्रकारले प्रयोजनमा ल्याउनु त ठीक छ, यो आवश्यक पनि छ । तर, यसो हुँदैमा आफ्नो अस्तित्व इतिहास बोकेको हाम्रो कला-संस्कृति बोकेको नेपाली भाषा-साहित्यलाई त्याग्नुपर्छ भन्ने होइन ! अयथार्थ र अतिरञ्जित सोचको परिणामबाट आएका यी दृष्टिकोणहरूलाई आजका साहित्य सर्जकहरूले मेटाउन प्रयत्न गर्नुपर्छ ।
वास्तबमा नेपाली साहित्यलाई विगतको परिप्रेक्ष्य र आजको सापेक्षतासँग दाँजेर मूल्याङ्कन गरिनुपर्छ । नेपालभित्रको कुरा गर्दा विसं २००७ भन्दा पहिले र त्यसपछिको नेपाली साहित्यलाई दाँजेर विकासको लेखाजोखा गरिएमा नतिजा उत्साहवर्द्धक आउन सक्छ । त्यहाँ अवश्य नै स्तरको अन्तर देखिन्छ । नेपालको मात्र सेरोफेरो लिएर कुरा गर्दा विगतमा शासकका गुणगान गर्ने, वीरगाथा फलाक्ने र त्यसपछि यौनमुखी रसरंगका भावनात्मक पुतली नचाउने नेपाली साहित्य आज आएर समग्र जीवन र जगतको बारेमा बोल्ने भएको छ; के यो प्रगति हैन र ?
आफ्नै अन्तरनिहित साहित्यिक विकासको गति तथा गुणस्तरलाई नियालेर पहिले मूल्याङ्कन गर्नु आवश्यक छ । त्यसपछि मात्र छिमेकी राष्ट्रहरूको साहित्यमा दाँज्दै अन्ततः युरोप र अमेरिकाको साहित्यस्तरमा दाँजेर नेपाली साहित्यको विकासस्तरको मूल्याङ्कन गर्नु उपयुक्त हुनसक्छ । यसरी गरिएको अध्ययन र मूल्याङ्कनमात्र वैज्ञानिक पद्धतिको हुन्छ । नेपाली साहित्यका सर्जकहरूले विश्वसाहित्यको दाँजोमा पुग्ने महत्वाकांक्षा लिनु नहुने अर्थ लगाउन खोजिएको होइन । तर, पहिले आफ्नै र नजिक मुलुकहरुको क्षेत्रीय साहित्यको अनुभवबाटै शिक्षा ग्रहण गरी हाम्रो साहित्यका अपूर्णताहरूलाई पन्छाउँदै वस्तुवादी ढाँचाबाट नेपाली साहित्यको विकासतर्फ सबै साहित्यकारहरू लाग्नुपर्छ ।
नेपाल बाहिर भाग्सु-देहरादूनदेखि दार्जीलिङ, सिक्किम हुँदै आसाम, मणिपुर र बर्मासम्म नेपाली साहित्यको हरियाली लोभ लाग्दो छ । तर, यी सबैभन्दा छुट्टै अस्तित्व समेटेर रहेको, भूटानको नेपाली साहित्यको सेरोफेरोमा कुरा गर्दा हम्मेसी सबैले हिसाब लाउनै मान्दैनन् । “भूटानमा पनि नेपाली साहित्य थियो-छ र…?” जस्ता प्रश्नहरु यही पंक्तिकारका कान छेड्न आइपुगेका छन् कतिपटक ! यसको जड कारण त्यहाँ न्यून शिक्षास्तर र पछौटे अर्थतन्त्र अनि राजनीतिक प्रक्रियाबाट लागू गरिएको जातीय र भाषागत दमनलाई दृष्टिगत गरी हेर्न नजान्ने, क्षेत्रीय राजनीति र सामाजिक इतिहासबारे ज्ञान नभएका मानिसहरुले यसरी प्रश्न सोध्नु सामान्य पनि हो । यी सबै कुराको पृष्ठभूमि केलाएर बुझ्ने हो भने भूटानी ‘नेपाली’ साहित्यको अहिलेको स्तर निराश भइहाल्नुपर्ने हैन, खुशी हुनुपर्ने स्थितिमा छ ।
शताब्दियौंदेखि भूटानमा नेपाली बोलीचाली प्रयोगमा थियो र करीब १०० वर्षको अन्तरालबाट भूटानमा नेपाली लेखनको पनि उपयोग भएको छ । सरकारी अड्डा-अदालतमा समेत औपचारिक तहमा पुगेको नेपाली भाषालाई केही दशकदेखि राजनीतिक शिकार बनाइयो । तर, व्यावहारिक चलनचल्तीमा नेपाली भाषा बोल्न नदिएर, सरकारी प्रयोगबाट नेपाली भाषालाई हटाएर, यसलाई गैर-कानुनी घोषणा गरी, नेपाली पाठ्यपुस्तक जलाएर पनि भूटानमा यो भाषा मासिएको छैन । सन् १९९० को उथलपुथलपछि पनि छत्रपति फुयाँलले भूटानभित्रै बसेर ‘नेपाली भाषा शिक्षक’ भन्ने पुस्तक प्रकाशन गराएका छन् । यद्यपि, त्यो पुस्तकको महत्वलाई पनि राजनीतिक रूपमा भञ्जन गराइयो र, सो पुस्तक अहिले लगभग प्रतिबन्धित झैं रहेको छ ।
यसरी करीब अढाई दशकदेखि भूटानको नेपाली भाषा त्यहाँको राजनीतिक कोपभाजनबाट पीडित बनेर आएको छ । नेपाली भाषाको अध्ययन, शिक्षणबाट वञ्चित भएर सिंगो दुई पुस्ता हुर्कीइसकेको छ । त्यो अवस्थामा भूटानभित्रबाट नेपाली साहित्यको विकासमा हामीले के अपेक्षा गर्ने ?
यसविपरीत निर्वासित अवस्थामा भने भूटानको नेपाली साहित्य बहुपक्षीय प्रयासबाट विकसित र स्तरीय हुँदै आएको छ । शरणार्थी जीवनकालमा एकातिर साहित्य परिषद्-भूटानलगायतका संगठनहरुको तत्परताबाट शिविहरुमा भाषा-साहित्यको भरोसायुक्त अध्ययन-अध्यापन अनि शरणार्थी प्रभावित क्षेत्रका केही सद्भाव राख्ने युवाहरुको प्रयासमा लेखन अभ्यासले शरणार्थी जीवनकालको भूटानी साहित्य निकै जुर्मुराएर उठ्यो । प्रभावित क्षेत्रका प्रकाश आङ्देम्बे जस्ता युवासर्जक र शिविरभित्रैका कतिपय चेतनशील युवाहरुको अग्रसरतामा एक हुल शरणार्थीहरुले उल्लेख्य ढाँचामा लगनशील बनेर भाषा-साहित्यको श्रीवृद्धि गराए । यसरी धेरै भूटानी साहित्य पारखीहरुको अग्रसरता सँगै निर्वासनको भूटानी नेपाली साहित्यको विकासखातिर अमूर्त नै भए पनि प्रकाश आङ्देम्बे र उनीजस्ता धेरै नेपाली युवाहरुको योगदानलाई अकाट्य मानिनेछ । भूटानी शरणार्थीको नयाँ पुस्तामा उनीहरुले एक झमट भरिदिएको जोश, साहित्यिक उमंग र ऊर्जा शरणार्थीको पुनर्वाशपछिका पाँचवर्षसम्म पनि ताजै छन् । यो जाँगर अझै फष्टाएर विकसित भइरहेको छ ।
यस सिलसिलामा साहित्यका विभिन्न विधाहरूमा नवीनतम कृतिहरूको रचना, साहित्यिक संस्थाहरूको स्थापना र तिनले गर्ने अन्तरक्रिया, विचार गोष्ठी तथा सम्मेलनहरू त हुँदै आएकै छन् । अब भने अन्य भाषाका सामग्रीहरूको नेपालीमा अनुवाद तथा प्रकाशन गराउनेहरुलाई सामान्य पुरस्कार दिनेजस्ता योजना बनाएर अघि जानसके प्रतिभाहरुमा नयाँ उत्साह जाग्दछ र भूटानको नेपाली साहित्यको उज्वल भविष्य आशा गर्नसकिन्छ । आजसम्मका यस्ता शुभसंकेतहरुलाई पनि काफी प्रगतिको सूचक मान्न सकिन्छ ।
अबउसो भूटानी सेरोफेरोमा नयाँ खोलिएका साहित्यिक संगठनहरुले पुरानाहरुलाई ‘बुढो गोरु’, ‘शठ प्रौढ’, ‘अदक्ष’ वा ‘सडेगलेको विचार बोक्नेहरुको जमात’ नभनेर बिनाशर्तरूपमा खुल्ला सहकार्यको हात बढाउनु जरुरी छ । पुराना संस्थाहरूले पनि नयाँ जन्मिएका र जन्मने संस्थारूलाई ‘सौता’ नठानेर उनीहरूसँग सहकार्य गर्दै भाषा-साहित्यको गुणस्तर श्रीवृद्धिमा साझेदारी अपनाउनुपर्छ । यति गर्नसकेमा हाम्रो साहित्यिक भविष्य उज्यालो छ । आजको अवस्थाले भूटानको नेपाली साहित्यले पनि प्रगतिशील धारा अंगाल्दै अघि बढ्नसक्ने प्रशस्त सम्भावनाहरु देखिएको छ । यद्यपि, भूटानी नेपाली साहित्यिक वाङ्मय नै नछिप्पिएकोले विभिन्न प्रतिकुलतारू पार गर्नुपर्ने अवस्था पनि कायमै छ । यो दोसाँधको घडीलाई हामीले सजिलो तरिकाले अवतरण गराउनु जरुरी छ । यहाँ घुर्क्याउने र धारेहात लगाउँदै ‘सराप्ने’, आठाने-चारानेको मान-भाउ खोज्ने होइन; विवेक लगाएर सहकार्यको हात बढाउने, जस्तो जति बोझ आइलाग्छ सहज तरिकाले सकेसम्म बोकेर दायित्व वहन गर्दै सक्रिय बन्नेबेला हो यो । किनभने हामी सांस्कृतिक संक्रमणकालमा छौं र अलिकति विचार पुगेन भने विलयनको विन्दुमा पुग्न सक्छौं !
साहित्यको प्रगतिशील धाराको कुरा उठी हाल्यो, यसकै बारेमा अलिकति कुरा गरिहालौं । हाम्रो साहित्यको परम्परावादी ढाँचालाई रूपान्तरण गर्दै प्रगतिशील धारा दिने सन्दर्भमा केही महत्वपूर्ण ऐतिहासिक तथ्यहरुलाई मूल्याङ्कन गर्नु जरुरी छ । पहिलो कुरा त, केही समय अघिसम्म भूटानको नेपाली साहित्य कर्मकाण्डी हिसाबले चलेको थियो । संस्कृतका विज्ञहरुको अधीनमा रहेको थियो समग्र भूटानको नेपाली साहित्यिक धरातल । भाषालाई माथिल्लो तह दिनका लागि साहित्यको अग्रसरता हुनुपर्छ तर, नेपाली भाषाको सरोकारमा संस्कृतका साहित्यिकहरु अग्रसर रहेपछि बढीजसो ‘पठनी’ र ‘घोकनी’ मा मात्र सीमित रह्यो भूटानको नेपाली साहित्य; ‘बुझनी’ हुनसकेन ! ‘बुझनी’ नभई लेखनी हुने कुरै भएन । भरखरैसम्म पनि भूटानको नेपाली शैक्षिकक्षेत्रमा ‘कि त दार्जीलिङ अथवा वनारसमा पढेर आएको हुनुपर्ने’ जस्ता पूर्वशर्तहरु तेर्छिन्थे । भूटानभित्र भाषा-साहित्यप्रतिको उच्च आस्था र अध्ययन, मनन, अनुसन्धान अनि विश्लेषणमा चासो दिने जिज्ञासु प्रतिभाहरुको अभावका कारण यसो भएको मान्न सकिन्छ । तर, आजको युवा ऊर्जा हेर्दा हाम्रो साहित्यले अब त्यो दुर्दशा भोगिरहने छैन ।
देशभित्रकै कुरा गर्ने हो भने पहिलो कुरा त साक्षरताको कमी, भाषाको प्रयोजनबारे सचेतनाको कमी, असुरक्षाको भावना, एकाध सर्जकहरूलाई आर्थिक स्रोत-साधनको अभाव, सरकारी शैक्षिक संस्था र साहित्यिक प्रतिष्ठानबाट पक्षपात, असहयोग र मुख्य गरी जातीय द्वेष फैलाउने सोचबाट बनाइएका पूर्वाग्रही सरकारी नीति र व्यवहारका कारण भूटानको नेपाली साहित्यलाई त्यो जातीय विद्वेषको जञ्जालबाट छुटकारा दिएर प्रगतिपथमा पाइला टेक्ने बनाउन निकै कठिन देखिन्छ तर, असम्भवचाहिं होइन । यी सबै परिस्थितिका कारण समाजभित्रै आपसी हौसला र उत्साहको समेत कमी रहेको छ । छत्रपति फुयाँलको पुस्तकले बजारको मुख देख्न नपाउनुमा यस्तै कुराहरु कारक रहेका छन् ।
यता निर्वासित समाजभित्र पनि केही चुनौती र बाधाहरु नभएका होइनन् । रुढीग्रस्त अन्धपरम्पराका दास, धर्मभीरुहरु साहित्यलाई धर्म र सम्प्रदायकै एउटा अंगको रूपमा अघि सार्न खोज्छन् भने अर्का थरीहरू धर्मको नाम जोडिएपछि त्यो विशुद्ध साहित्य हुनै नसक्ने कुरामा जोड गर्छन् । एक खाले तर्क के छ भने,“साहित्यले जहिले पनि न्याय र समानता, जनपक्षीय आधारहरु केलाएर अघि बढ्नुपर्छ । सत्ता र शक्तिका भाटहरुलाई साहित्यको औचित्य थाहा हुँदैन र हुन जरुरी पनि छैन । विभिन्न नामका धर्म-सम्प्रदायको प्रचार अभियान चलाएर हिँड्नेहरु सधैं सत्ता र शक्तिसित बढी निकट हुन्छन् । सर्वसाधारण जनताले न्याय र पक्षपातविहीन समाज निर्माणबारे कुरा गरेको उनीहरुलाई मन पर्दैन । त्यही भएर धर्म मिसिएको साहित्य समग्र समाजको लागि काम लाग्दैन ।” यसै गरी अर्को विचारको तर्क के छ भने, “धर्म भनेको अनुशासन र नैतिकता सिकाउने पाठ हो । निश्चित नियम र विधिवत् चलनको विकास गरेर मात्र समाजले आफ्नो दीर्घकालीन अस्तित्व धानेर बाँच्न सक्छ । भाषा- साहित्यको औचित्य पनि समाजको अस्तित्वरक्षाकै उद्देश्यमा अडिएको हुनाले धर्म र साहित्यको लक्ष्य एकै हो, एकै हुनुपर्छ ।” अब साहित्य लेख्छौं-लेखाउँछौं भन्ने हामीले यी दुई विचारका धारहरुलाई अलग दिशामा ध्रुवीकृत हुन नदिई माझको संयोजनविन्दु फेला पार्नुपर्ने भएको छ ।
भूटानको नेपाली साहित्यमा यस्ता पृथक धारहरु भर्खरदेखि सक्रिय बन्नथालेका छन् । कुरो जे भए पनि यस्ता तर्कहरु कहिल्यै टुंगोमा पुग्दैनन् । सबै आ-आफ्नै विचारमा अघि बढ्न सक्छन् । तर, यति कुराचाहिं सबै साहित्य सर्जकले अवश्य मनन् गर्नैपर्छ, शक्तिको पूजा नगरीकन न्याय र समानताको कुरा, मानवीय संवेदनाहरुको रक्षाको कुरा सबै सिर्जनाले समेट्नु अनिवार्य हुन्छ । धर्मको नाममा शक्ति र सत्ताको पूजागान आरती घुमाइएका सिर्जनाहरु त शक्ति र सत्तासँगै ढलेर जानेछन् । महात्मा गान्धीले साहित्य लेखे, लक्ष्मीप्रसाद देवकोटाले साहित्य लेखे । उनीहरु दुवै धार्मिक दृष्टान्तका प्रखर योद्धाहरु थिए । तर, उनीहरुले जातीय र धर्ममा रहेका रुढीग्रस्त जड्ताहरु साहित्यमा कहिल्यै लादेनन् । स्वच्छन्द आकाशमा स्वतन्त्र उड्ने चरीजस्तै साहित्यलाई उनीहरुले प्रत्येक मानवहृदयहरुमा विचरण गर्ने बनाए । हाम्रो साहित्य पनि यसरी नै समग्र मान्छे, अझ विशेष गरी थिचिएका, पिसिएका आर्तहरुको पक्षमा वकालत गर्ने खालको हुनुपर्छ । भौगोलिक सिमानाहरुले कोरिएको ‘भूटान’ नामको देश भन्ने ठाउँ हाम्रो लागि रहेन । तर, हाम्रो हृदयमा सिंगो राष्ट्र कायम छ । हाम्रो राष्ट्रियता फेरिन्छ । हामी विभिन्न देशका नागरिक बन्नसक्छौं । तर, हाम्रो भावनाको राष्ट्रिय संवेदना कहिल्यै मर्नेवाला छैन । किनकि त्यहाँबाट हामी, हाम्रा अग्रजहरु रहरले देश छोडेर हिँडेका थिएनौं ! त्यसैले अन्यायपूर्वक त्यसरी लखेट्ने शासकको इतिहासलाई चुनौती दिन पनि हामी आफ्नो भाषा-साहित्य र इतिहासको रक्षा गर्ने जिम्मेवारीप्रति गम्भीर हुनुपर्छ !
अब थप चुनौतीहरुका बारेमा पनि कुरा उठाउँ । भूटानी परिप्रेक्ष्यमा देशभित्र हुनेहरुमा असुरक्षाको खतरा छ भने देश बाहिर हुनेहरुमध्ये कसैमा अभाव र महामारी छ त कसैमा भाषा-साहित्यको औचित्य महसूस भएकै छैन । यस्ता अधिकांश मानिसहरुका लागि साहित्य भनेको बुद्धिविलासको साधनमात्र हो । नेपाली भाषा-साहित्यको अध्ययनले अन्तर्राष्ट्रिय स्तरमा रोजगार उपलब्ध हुँदैन । “नेपाली सिकेर के गर्ने जागिर पाइन्छ र ? हामीले यहाँ अंग्रेजी नजानेर कत्रो संकट भोगेका छौं । हाम्रा छोराछोरीले यो दुःख नभोगुन् । बरु उनीहरुले नेपाली बिर्सेर केही हुँदैन”, अमेरिकामा बस्ने एकजना अभिभावकको यो उद्धरणमा हाम्रो साहित्यिक सरोकारका कुराको आँकलन गर्नसक्ने मर्म लुकेको छ । बाहिरबाट हुने दमन र आक्रमणभन्दा पनि हाम्रो साहित्यमा आफ्नै समाजबाट आएका यस्ता चुनौतीलाई सम्बोधन गर्न हामी चुकिरहेका छौं । त्यसबाहेक सर्जकहरूभित्रैको नकारात्मक अन्तरद्वन्द यसका लागि अझ खतरा सावित भएको छ । सबै आफैं-आफ् सर्वेसर्वा । दम्भ र घमण्डको कुम्लो बोकेर एकले अर्कोलाई धारेहात लाउने संस्कार हामीमा फैलिइरहेको छ । यो खाले फाटो र विभाजनले साहित्यको प्रगतिमा गतिरोध आउँदैछ, वैचारिक परिवर्तन नभएसम्म सधैं आइरहन्छ ! हाम्रो यस्तो वर्तमानप्रति भूटानको नेपाली भाषा-साहित्यका बुजुर्ग सचेतकहरूले ठ्याम्मै कपाल दुखाएका बुझिएको छैन । अबउसो भूटानी साहित्यकारहरूले आफूभित्रका जडसूत्रवादी चिन्तन प्रणाली र यान्त्रिक शैलीजस्ता दोष तथा दुर्बलताहरूबाट टाडिँदै सिर्जनात्मक प्रयोग, कलात्मक परिष्कार तथा समाजको हितमा समयानुकुल रूपान्तरणतर्फ लागेर आफ्ना भावना र विचारलाई नवीनता दिन जरुरी छ । र, यही नवीनतालाई साहित्यमा प्रगतिशीलता वा प्रगतिवाद भनिएको हो । यसैलाई हाम्रो साहित्यको नवीन बाटो मान्नु जरुरी भएको छ ।
प्रगतिवाद कुनै फेशन होइन, साहित्यको प्रगतिवाद भनेको साहित्यलाई विश्वदृष्टिकोणमा आधारित रहेर बुझ्ने एक वैज्ञानिक पद्धति हो । केही आधारभूत प्रस्थापना र नीतिहरूबाट निर्देशित प्रगतिवादी साहित्यका केही अपरिहार्य आधारहरू छन् । मुख्यतः द्वन्दात्म भौतिकवाद र ऐतिहासिक भौतिकवादी जीवनदर्शनको आधारमा समाजको अध्ययन गर्नु र मार्क्सवादी सौन्दर्यशास्त्रको आधारमा जनपक्षीय कलात्मक कृतिहरूको रचना गरी यथास्थितिलाई फेरबदल गर्दै अग्रगामी फड्को मार्नु साहित्यको मूल दिशा हुनुपर्दछ । यस दिशामा सबै शोषित-पीडित समुदायलाई देश, काल र परिस्थिति अनुसार विज्ञानसम्मत भावनात्मक विधिमार्फत उत्प्रेरित गर्नु प्रगतिवादी साहित्यका अपरिहार्य आधारहरू हुन् । प्रगतिवादी साहित्य स्वच्छन्दतावादी होइन, यो सामाजिक प्रगति तथा शोषित जनसमुदायको सर्वांगीण मुक्तिको लागि प्रतिबद्ध पक्ष हो ।
हुन त, “निश्चित सीमा नाघ्न नसक्ने, संकुचित सृजना गर्ने र नारावादी साहित्यको मुहान”, भनेर पनि प्रगतिशील लेखकहरूलाई आरोप लाग्ने गरेको छ । तर, प्रगतिशील साहित्यका स्रष्टाहरूलाई लगाइने यो आरोप, आरोपमात्र हो । एकपक्षीय दाबीमात्र हो । वर्गहरूले बनेको जुनसुकै समाजमा सामन्तवादी बुर्जुवा लेखकहरू पनि आफ्नै वर्गहित, आफ्नै वर्गीय शासकहरूद्वारा निर्धारित घेराभित्र बसेर लेखिरहेका हुन्छन् । त्यो नाघेर बाहिर जाने छूट उनीहरूलाई हुँदैन । त्यसो गर्नेलाई त्यहाँ पनि दण्डित वा वहिष्कृत गरिन्छ । सबै ठाउँ आ-आफ्नै दृष्टिकोण अनुसार अनुशासनको पक्ष हुन्छ-हुनैपर्छ । होइन भने त्यो राजनीतिमा छाडातन्त्र भएजस्तै छाडा साहित्य हुनपुग्छ; छाडा समाजको छाडा प्रतिविम्ब हुन्छ ।
त्यसरी नै भन्ने हो भने सामन्ती व्यवस्थामा लेखक वा स्रष्टाहरूमाथि जति बन्देज हुन्छ, त्यस्तो अरु कुनै व्यवस्थामा हुँदैन र प्रजातन्त्रमा समेत पुराना सामन्ती भग्नावशेषहरू पुनर्ताजगी लिएर आएका हुन्छन् । त्यहाँ कि त पूरै बन्देज हुन्छ नत्र स्वतन्त्रता भए अति हुन्छ, निर्दिष्ट हुँदैन, उडन्ते हुन्छ । तर, प्रगतिवादमा समीक्षात्मक स्वतन्त्रता हुन्छ, सिर्जनात्मक एकरूपता हुन्छ । त्यहाँ सिर्जना हुन्छ र समाजको समग्र जीवन हुन्छ ! अब हाम्रो साहित्यमा कुन वैचारिक दिशाको बाटो खन्ने हो, यसको जिम्मेवारी तपाईं हाम्रो हातमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *