हारेको मान्छे
सि एम निरौला
पेन्सिल्भेनीय, अमेरिका
म त आफैभित्र हारेको मान्छे
अनि आफ्नैसँग हारेको
युद्ध हारेकाे सिपाहीझैँ
पखेटा काटेको पन्छीझैँ
न पटटट बोल्न सक्छु
न फटटट उड्न
हो म निरीह छु
म आफै भित्र अनपेक्षित हारेकोछु
म स्वतन्त्र छु
तर आफैले रचेको जन्जीरमा छु
म सुसम्पन्न छु
तर
भित्रभित्रै भिखारीझैँ भिख माग्दैछु
मलाई स्वतन्त्र भएर पनि स्वतन्त्रता छैन
इष्टमित्र र आफन्त परसस्त हुँदाहुँदै पनि
एक्लोपनको महसुस गर्ने म
सधैँ भरिभराउ घर एक्लो महसुस गर्छु म