हाल के बताउँ, साथी

तिलारूपा आचार्य (अधिकारी)
ओहायो, अमेरिका

सिङ्गो विश्व नै,
असह्य पीडामा
दुखेको छ आज….
सँगै म पनि, दुखेको छु
एक कर्मठ योद्धा झैँ
यो अदृश्य युद्ध लड्न
जुटेको छु आज
हाल के बताउँ साथी
आँखाको आँसु नै सुकेको छ आज !

एक सूक्ष्म जीवाणु जाति
महामारीको रूप लिएर
जताततै फैलाउँदै छ…
अत्यन्तै अनौठो सन्नाटा
हाहाकारको कालो बादल फिँजाएर
प्रत्येक स्वास प्रश्वासमा
पत्तै नपाई
गर्छ भीषण आक्रमण
देख्दा देख्दै…..
शरीर गलेको छ आज
हाल के बताउँ साथी
आँखाको आँसु नै सुकेको छ आज !

चुलिँदो छ प्रकोप दिनहुँ
थुप्रिँदोछन् शवहरू यहाँ
विशाल पहाड झैँ…..।
कुन दियो,
कहाँ, कहिले निभ्छ
कसैलाई पत्तै हुँदैन
तिम्रो गाउँमा मात्र,
कहाँ हो र?
मेरो सहरको शेर पनि
ग्रस्त भई ढलेको छ आज
हाल के बताँउ साथी
आँखा आँसु नै सुकेको छ आज !

पर्दालाई न जन्ती यहाँ
मर्दालाई न मलामी छन् आज
लाग्छ,
सास फेर्न
छाडिसकेको छ संसार
आफ़्नु गुमाउनुको पीडा
कसलाई छैन र ? साथी
कुन प्रहर,पल छ र यहाँ
आफन्त नछुटेको आज
हाल के बताउँ साथी
आँखाको आँसु नै सुकेको छ आज !

न तिम्रो जातलाई छोड्यो
न मेरो धर्मलाई छोड्यो
के रङ्ग ? कुन वर्ग?
धनी गरिब भनेन उसले
कर्म नै धर्म ठान्नेहरूले
आफू मरेर भए नि
बचाउँदै छन् अरू
निश्वार्थ भाव
माथि उठेको छ आज
को पराइ, को आफ्नू
सम्मान व्यवहार र सद्भावमा
घमण्ड तुहेको छ आज
हाल के बताऊँ साथी
आँखाको आँसु नै सुकेको छ आज !
!!!!!!!!!!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *