हिटलर र यहूदी’ उपन्यासबारे संक्षिप्त चर्चा
भक्त घिमिरे
अमेरिका
अघिल्लो अंकको रहल……..
वि.सं. (२०४० मा?) प्रकाशित कोइरालाको ‘हिटलर र यहूदी’ उपन्यास लेखनशैली र विषय छनौटको दृष्टिले नेपाली औपन्यासिक साहित्याकाशमा पहिलो कृति थियो । महाभारतको युद्ध र यदुवंशी कृष्णको जीवनचरित्र दर्शाउँदै मान्छेको जीवनप्रति मूल्यबोध गराउन उत्प्रेरित गर्ने शास्त्रीय धरोहर गीताको युद्धकाललाई यस उपन्यासको पृष्ठभूमि बनाएका छन् कोइरालाले । मानवतावादी अवधारणाको वकालत गर्दै गीताको नयाँ ढङ्गले व्याख्या गर्ने कोइरालाको प्रयास रहेको देखिन्छ यस उपन्यासमार्फत । प्राचीनकालीन सामाजिक-राजनीतिक जीवनमा कौरव र पाण्डवबीचको युद्धले पनि कुनै समस्या समाधान गरेको थिएन । दोस्रो विश्वयुद्धको समयमा हिटलर र यहूदीबीचको युद्ध पनि समस्याहरू ज्यूँका त्यूँ राखेरै सकियो । यसकारण युद्धलाई कुनै पनि सवालमा समस्या समाधानको कड़ीको रूपमा लिन नसकिने जिकिर गर्दै युद्धविरोधी, मानवमूल्य र समानताको दार्शनिक-सामाजिक अवधारणाबाट उपन्यासको मूल जग उठाइएको छ ।
एक मान्छेले अर्को मान्छेका सम्बन्धमा सोच्दा वा व्यवहार गर्दा आफूसमान सोचेर गर्ने अनि हरेक तरहका भावना आदान-प्रदान गर्दा समानताको दृष्टि अप्नाउने विधि वा गुणलाई मानवतावाद मानिन्छ । एउटा मान्छेले अर्को मान्छेको कल्याणका खातिर काम गर्ने आदर्शवादी सोच वा सिद्धान्त मानवतावाद हो । मानवतावादप्रति विश्वास राख्ने, यस सिद्धान्तलाई समर्थन वा अनुशरण गर्नेहरूलाई नै मानवतावादी दार्शनिक, साहित्यकार, समाजसेवी वा अरु केके भन्ने गरिएको छ । आफ्नो स्वतन्त्रताको सदुपयोग गर्दै अरूको इच्छाको सम्मान गर्नसक्ने खूबी असल मानवतावादको कड़ी हो । आफ्नो सोच, धारणा र विचारको समायोजन गरी सारा मान्छेहरूको भलाईका लागि स्वनिर्देशित रहनु नै खासगरी मानवतावादी बन्नु हो । जन्मपछि मान्छेको मृत्यु निश्चित छ । मान्छे अनिच्छावश जन्मन्छ र जन्मनेसाथ चिच्याएर रुन्छ अनि नचाहँदै ऊ मर्छ र मर्नेबेला पनि अनेक शोक-विलाप गर्छ । आफ्नो इच्छाविपरीत यसरी मर्नुपर्ने बाध्यतालाई ध्यानमा राखेर उसले कर्म गर्नुपर्छ । परोपकारी कर्म गर्नका लागि नै मान्छेले शरीर प्राप्त गरेको छ । उसले व्यक्ति, समाज र राष्ट्रका लागि केही गर्ने विचार राख्दछ यदि भने त्यस अनुरूपको कर्म गर्न उसले पाउनुपर्छ । यो अधिकारवादी वकीलहरूको अवधारणाजस्तै एउटा सोच हो । दानवीय अवगुणहरूलाई त्यागेर मान्छे-मान्छेमा आपसी सद्भावनाको विकास हुनुपर्छ, भन्ने दृष्टिकोण नै खासगरी मानवतावादी अवधारणा हो । मूलरूपमा झण्डै झण्डै नियतिवादलाई स्वीकार्दै परिस्थितिसित सम्झौता गर्ने मनाशयको कोइरालाको सो उपन्यास यस्तै यस्तै अवधारणाहरूबाट अभिप्रेरित छ ।
अब कोइरालाको उपन्यासमाथि नै केन्द्रित बनौं । विभत्स नरसंहारको कहालीलाग्दो इतिहास निर्माण गरेर गएको दोस्रो विश्वयुद्ध, प्रत्येक मान्छेहरूले बोकेर हिँड़्नुपरेको त्यो युद्धको पीड़ात्मक मनोदशाबाट प्रभावित भएर लेखिएको यो उपन्यासमा कोइरालाले पौराणिक गीताको व्याख्या पनि खूबै नयाँ शैलीमा गरेका छन् । उपन्यासमा खड़ा भएको ‘म’ पात्र स्वाथ्योपचारको लागि विदेशयात्रामा रहँदा भेटिएका पात्र र त्यसबेला घुमेका ठाउँहरूमा देखिएका दृश्यले मानव मनलाई दिने पीडाहरू यो उपन्यासको केन्द्रविन्दुमा रहेका छन् । यसमा विशेष गरेर युरोपभित्र साक्षात्कार गरिएका दृश्यहरू “ध्वस्त घरहरू, पाटो लडेका गिर्जाघर, पुलहरूको खम्बामात्र या रेलका लाइन बांगिएर पाखाबाट पानीमा तेर्छो परी डुबेका करङजस्ता लिक र सड़के पुलहरू, प्रकृति र कालको मुख ढाक्न नसकेका दृश्यहरूले युरोपलाई राक्षसगृह बनाएको दृश्य वर्णन गरिएको छ । ‘म’ पात्रलाई केन्द्रीय दृष्टिविन्दुमा राखेर लेखिएको यो उपन्यासमा आत्मकथात्मक, संवादात्मक र पत्रात्मकशैलीको प्रयोग गरिएको छ । मान्छेले आफ्नो इच्छाअनुसार जीवनयापन गर्न पाउनुपर्ने मानवतावादी चिन्तन मुखरित भएको यो उपन्यासले युद्धप्रति घृणाभाव प्रकट गर्दै हिंसालाई दुत्कारेको छ । चाहना र अनियन्त्रित इच्छाको विषय पनि उपन्यासको मूलमर्म बनेको छ । उपन्यासकारले आफ्नो कृतिमा मार्मिकता भोगेका पात्रहरूप्रति सहानुभूति प्रकट गरेका छन् । बहुपात्र संयोजन गरी लेखिएको यो उपन्यासमा हिटलरको अन्धभक्ति, षड्यन्त्रकारी चाल र स्वार्थी प्रवृत्तिले नै इल्जे, थियोडोरा, लियोनार्ड, यहूदीहरू, निर्दोष पक्ष तथा विपक्षमा लड्ने सिपाही, गोल्डवर्गकी भतिजी आदिको प्रतिष्ठामा आघात पुगेको दुःखद् यथार्थलाई अभिव्यक्त गरिएको छ । उपन्यासको पृष्ठ ७८ मा लेखिएको छ,‘‘यस्ता खण्डहरू भूगोलमा मात्र होइन, त्यहाँ बाँचेका मानिसहरूको हृदयमा त्यसले छोडेर गएको खण्डहर असह्य छ ।’’ यसमार्फत हिटलरलाई गीताको मायावी राक्षसको रूपमा दर्शाइएको छ । हिटलरले प्रतिशोध लिनलाई जतिसुकै पाशविक बन्न पनि हिच्किचाहट नगरी विभत्स मानवसंहार गरेको उपन्यासले जिकिर गरेको छ ।
हुन त हिटलरका केही समर्थक इतिहासकारहरूले कलाका पारखी किशोर हिटलर कलाकारिताको अध्ययनका लागि भियना कला प्रतिष्ठानमा भर्ना लिन जाँदा प्रतिष्ठानमा ‘अधिकार जमाएर बसेका यहुदी प्रोफेसर’-हरूले उनलाई प्रवेश नदिएकाले उनी यहुदीविरुद्ध जीवनभर लागेका दाबी पनि गरेका छन् । उनी कलामा पारंगत नभएका र भियनाको कलाप्रतिष्ठानमा कहिल्यै नगएका पनि कसैले दाबी गरेका छन् । उनकै आमा यहूदी थिइन्, त्यसर्थ हिटलरले ग्यासच्याम्बरमा थुनेकाहरू यहूदी हुनकै कारणले मात्र मारिएका होइनन् भन्ने तर्क पनि छ । तर जसो भए पनि यहूदीविरुद्ध हिटलरको पाशविकतालाई कुनै तहमा ग्राह्य भने ठान्न सकिन्न । कोइरालाले पनि उपन्यासमार्फत हिटलरको यही अवगुणलाई केलाउने प्रयत्न गरेका छन् ।
उपन्यासको पृष्ठ १०३ मा लेखिएको छ,‘‘भित्र के भइरहेको छ भन्ने बटुवाहरूको जिज्ञासामा त्यहाँ रहेका दासमुटु भएका आधारहीन, विवश भइसकेका सिपाहीका मुखबाट ‘आलु पोलेको’ भन्ने जवाफ आयो ।’’ साठी हजारभन्दा अधिक यहूदीहरूलाई काँचो आलु पोलेझैं जलाइएको ठाउँ ‘ग्यासचेम्बर’-बाट दुर्गन्ध निस्केर हिटलरको शिविरबाहिर बस्नेको समेत मुटु कामेको तथ्य उपन्यासमा रहेका यस्ता जनजिज्ञासाका यस्ता प्रश्नहरूले प्रष्ट पार्छन् । उपन्यासकारको तर्कानुसार ती सिपाहीहरूलाई जीवित मानव पोलिएको दृश्यले पनि खास्सै असर गर्दैनथ्यो, किनकि उनीहरू यसमा अभ्यस्त भइसकेकै थिए ।
तत्कालीन जर्मनहरूमा मानवीय संवेदना हराइसकेको भान हुन्थ्यो भन्ने आशयमा एउटा अभिव्यक्ति यसरी दिइएको छ उपन्यासमा- ‘‘जर्मनहरूको सौकलाई हेर्दा पनि उनीहरूमा मानवीय संवेदना बाँकी नरहेको प्रतीत हुन्छ । किनकि क्याम्पको कमान्डरकी दुलही नाकका खाडल तल किच्च परेर हाँसेको जस्तो देखिने डरलाग्दो सेतो खप्पर राख्थिन् । उनको टेबल ल्याम्पको पर्दा पनि मान्छेको छालाको थियो ।’’ उपन्यासको कथावस्तुमा बाँच्ने कतिपय पात्रहरू बाँच्न नचाहेर पनि मूल्यहीनता संगालेर निश्चित मृत्यु पर्खेर बाँचिरहेका छन् । उपन्यासमा गहन भूमिका लिएकी पात्र थियोडोरा भत्केको घरमा बस्छे । यो विश्वयुद्ध शुरु हुँदाताका करिब १५ वर्षकी झैं देखिने र युद्धसमाप्तिपछि ४५ वर्षकी बुढियाझैँ देखिने (पृष्ठ ८२) उमेरभन्दा अधिक नारी चातुर्य भएकी नारी पात्र हो थियोडोरा । ऊ युद्धका कारण बुबा, आमा, भाइ र आफ्नो दिलको मालिक प्रेमी गुमाउन विवश पात्र हो, जसले सिपाहीबाट बलात्कृत् हुनुपर्यो । अर्की पात्र इल्जे जो बालिका नै भने पनि हुने तर रोगी आमा र अशक्त, गनगने बाबुसहित आफ्नो पापी पेट भर्नका लागि ओठमा रातो कागज चपाएको रङ र आँखामा ध्वाँसो अनि तेलको कालो दलेर ठूली भएको देखाउँदै आफूलाई यौनव्यापारमा संलग्न गराउन बाध्य भई । अर्को पात्र लियोनार्ड सन् १९१४ को लडाइँमा त्यसै बत्तिएर आएको फुटेको छड्के फलामे टुक्राले घुँडामा लागेर खोरण्डो भयो । उसकी प्रियसी डोरिस उसँग अब केवल एउटा खुट्टा बाँकी भएकोले आधा मानिस सम्झेर उसैले सग्लो ठानेकी मान्छेसँग पोइल गई ।
उपन्यासमा सबै पात्रको जीवन दुःखदायी छ । अत्यन्त माया गर्ने प्रेमी गुमाएकी थियोडोरा, चाँडै ठूली हुन विवश इल्जे, एउटा खुट्टा लिएर बाँचेको लियोनार्ड यो सुन्दर संसारमा बाध्यतामा बाँचेका छन् । मान्छे संघर्ष गर्दै जीवनलाई अघि बढाउन चाहन्छ । जीवन भनेकै प्रेम र मायामा अड़िएको छ भनिन्छ । यदि जीवनमा माया र प्रेम नपाउने हो भने त्यसको महत्व र उपयोगिता नै के रह्यो र ? मान्छेले मान्छेलाई पीडा दिनु मानवीय व्यवहार होइन । घृणा गर्नु विरक्तिको अर्को रूप हो । थियोडोरा, इल्जे, लियोनार्ड, यहूदी मान्छेहरूबाटै उपेक्षित, अपहेलित र तिरस्कृत भएका छन् । यो क्रियाकलाप साँच्चै मानवता विरोधी चरित्र हो । थियोडोराको वैवाहिक बन्धनमा बाँधिने इच्छा हुँदाहुँदै युद्धमा प्रेमीको मृत्यु भएको छ । इल्जेले युद्धपश्चात आफूलाई बिहे गर्ने पुरुष पाएकी छैन । लियोनार्डले खुट्टा गुमाएको कारण प्रेमीकाको सुख प्राप्त गर्न सकेन । यहूदीहरूले युरोपमा जन्मेको कारण मृत्युवरण गर्नुपरेको छ । यस किसिमको भयावह एवं कारुणिक घटनाले मान्छे साँच्चि नै त्रस्त बनेको छ । शक्तिसम्पन्नहरूले शक्तिहीनहरूलाई दबाउने चलन अझै कायम रहेको छ । यस किसिमको युद्धको अन्त्य भई मानवले स्वतन्त्रतापूर्वक बाँच्न पाउनु पर्ने विचार नै ‘हिटलर र यहूदी’ उपन्यासको मानवतावादी मान्यता हो ।
युद्धपश्चात् त्यहाँ बाँचेका पात्रहरूको जीवन भोगाइबाट उपन्यासकारको मन विरक्तिएको छ । यति भीषण युद्ध भयो, असंख्य मानवीय क्षति भयो, युरोपको भुखण्ड नष्ट भयो । यी सबैको प्रमुख कारक जर्मनीको शासक हिटलर हो भन्ने मनाशय उपन्यासले प्रस्तुत गरेको छ । युद्धको विरोध गर्नु र मानवताको वकालत गर्नु यो उपन्यासको मुख्य उद्देश्य हो । युद्ध मानवीय संवेदनाशून्य र आकांक्षाको प्रतिफल हो भन्ने सन्देश उपन्यासमा पस्किइएको छ । प्रत्येक क्षण मानवीय संवेदनाशून्य भएर व्यक्तिले जीवनमा इच्छा रोज्छ भने त्यसको परिणाम अरू मान्छेलाई मात्र होइन, स्वयं उसका लागि पनि घातकसिद्ध हुनसक्छ । आफूबाट सधैँ मानवहितको लागि काम होस् र आफू उदाहरणीय व्यक्तित्व बन्न सकियोस् भन्ने चाहना राख्ने हरेक व्यक्तिले आफूमा असल चरित्र धारण गर्न प्रयास गर्नुपर्छ । असल चरित्र भनेकै मानवीय संवेदनाले भरिएको ‘आफू’ बन्नु हो । जसबाट सधैँ असल इच्छा नै रोजिन्छ, उसका हरेक कर्मको प्रतिफल उसका लागि पनि असल नै बन्छ भन्ने धारणा व्यक्त गर्दै यो उपन्यासका पात्रको जस्तो दुःखद् अवस्थाको सामना गर्नु नपरोस्, यस्ता घटनाहरू इतिहासका रूपमा पुनःनदोहोर्याउन सबैलाई उपन्यासकारले आग्रह र सचेत पार्ने प्रयत्न पनि गरेका छन् ।
नेपाली साहित्याकाशमा आधुनिक नेपाली उपन्यास लेखनको दोस्रो चरणमा पारिजात र धु्रवचन्द्र गौतम आदि सशक्त प्रतिभाभन्दा पछि आफ्ना मौलिक औपन्यासिक कृति लिएर देखापरेका कोइरालालाई मिथकीय उपन्यासिकताका प्रयोक्ता विशेषण पनि दिइएको छ । साहित्यलेखनको उत्तरार्द्धचरणमा उपन्यास विधामा देखापरेका उनको जेल जीवन नै उपन्यासलेखनको प्रेरक विन्दु मानिएको छ । दोस्रो विश्वयुद्धको अवशेषलाई मुख्य विषयवस्तु बनाएर लेखिएको ‘हिटलर र यहूदी’ कोइरालाको मौलिक उपन्यास हो । श्रीमद्भागवत गीतामाथि प्रश्नचिन्ह लगाउँदै लेखिएको यो उपन्यासमा ‘अरूलाई जुधाएर कमजोर पारी आफू भगवान बन्नचाहने अमानवीय प्रवृत्तिको विरोध गरेर मानवमात्र भएर बाँच्नुपर्छ भन्ने विचार अघि सारिएको कुरा यसअघि माथि नै प्रस्तुत गरिसकिएको छ ।
बहुआयामिक व्यक्तित्वका धनी साहित्यकार कोइरालाका जीवनदर्शन, यौनकुण्ठा, मनोदशा र मनोविज्ञानमिश्रित ‘दोषी चस्मा’ र ‘श्वेत भैरवी’जस्ता कथाहरु साथै ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘नरेन्द्रदाई’, ‘मोदिआइन’ र ‘बाबु आमा र छोरा’ जस्ता उपन्यासहरु सबै तहका पाठकहरूमा अनौठो छाप छोड्न सफल रचना हुन् । अस्तित्ववादी दृष्टिविन्दुमा लेखिएको यस उपन्यासमा भने एकातिर हिटलरले गीताको चरम अध्ययनलाई मानवसंहारका निम्ति दुरुपयोग गरेको पाईन्छ भने अर्कातिर उपन्यासका पात्रहरु जीवनको अस्तित्व खौज्दै भौतारीरहेका मात्र पाइन्छन् । परम्परागत नेपाली समाजको र त्यसमा पनि ब्राह्मण परिवारको सदस्य ‘म’ पात्र पत्नीलाई छोडेर औषधोपचारको लागि विदेशिन्छ र उसलाई आफ्नो रीति र पारिवारिक जिम्मेवारी भुल्न धेरै समय पनि लाग्दैन । यौन र उत्श्रृङखल्ताको भंगालोमा ऊ बाह्य स्त्री रेवा को आलींगनमा कस्सिन पनि हिच्किचाउँदैन । यहाँनेर मानवीय व्यवहारका ‘स-न’ दुवै पाटा खुलस्त देखाउनु उपन्यासकारको मूल अभिप्राय देखिन्छ ।
साँच्चै नै ‘हिटलर र यहूदी’ नामको उपन्यास लेखेर कोइरालाले मानवतावादको दृष्टिमा नेपाली साहित्यको धरातललाई विश्वसामु उठाइदिए । विश्वसाहित्यको उच्च कलात्मक स्तरीयतासहित यस उपन्यासलाई मानवप्रेमप्रति उत्प्रेरणा जगाउने नमूना कृति मानिएको छ । यसै उपन्यासमार्फत नेपाली कथा साहित्यमा सर्वप्रथम मनोविज्ञान र यौनमनोविज्ञान भित्र्याउने यी स्रष्टा नेपाली साहित्यजगतमा वैचारिक परिवर्तनका सूत्रधार नै थिए । स्वः मोतिराम भट्टको समयमा झैं नेपालमा शमशेरहरूको राजपाट चलिरहेको थियो र राणाकालीन राजघरानाका विरुद्ध विद्रोहको शंखघोष गरेका थिएनन् भने वी.पी. कोइराला पनि भानुभक्तजस्तै नेपाली साहित्यमा नयाँ प्रविधि भित्र्याउने श्रद्धाका पात्र बन्नेथिए । शृंगारयुक्त साहित्यिक शब्दहरू गुथेर भानुभक्तले कविता लेखे, बाल्मिकीको संस्कृत रामायणलाई नेपालीमा उल्था गरे भनेर मोतिराम भट्टको तार्किक पेशीबाट प्रभावित बनेका युद्ध शमशेर राणाले भानुभक्ताचार्यलाई ‘आदिकवि’ भने पनि हुन्छ भन्दिनाले उनी आदिकवि बनेका थिए । तर वी.पी. कोइरालाले जनाधिकारका लागि, नागरिक स्वतन्त्रताका लागि विद्रोह गरे । राणाकालीन निरंकुश शासनलाई जनसंघर्षको बलमा घुँड़ा टेकाए । यसकारण उनी श्रद्धापात्र बन्नको सट्टा तत्कालीन नेपालका लागि विद्रोही बने, अझ राणाहरूको शब्दावलीमा त उनी ‘कुलंगार’ नै बने । एक नेपाली र अर्को नेपालीबीच मनमुटाव हुँदा, एकले अर्कोलाई श्राप दिँदा, कुभलो चिताउँदा वा गाली गर्दा धारै हात पारेर ‘‘तेरो घरमा कांग्रेस पसोस्’’ भन्ने जमानामा कांग्रेसकै नेता बनेका वी.पी. कोइरालाको छवि कुन रूपमा प्रदर्शित थियो, यसै पनि प्रष्ट हुन्छ । तर यथार्थमा मूल्यांकन गर्ने हो भने आज पनि नदी प्रवाहजस्तै सर्वदा नयाँ गतिमा अघि बढ़िरहेको नेपाली साहित्यको महासागरमा विचरण गरिरहने नाम हो विश्वेश्वरप्रसाद कोइराला अर्थात ‘महामानव’ वी.पी. बाबू । व्यक्ति एक, व्यक्तित्व अनेक भन्ने गुणयुक्त सम्बोधनले सुशोभित बनेका वी.पी.लाई राजनीतिक दृष्टिले विरोधी ठान्नेहरूले पनि साहित्यिक दृष्टिले सम्मानको हार पहिर्याउँदै आएका छन् आजसम्म । राजनीतिक क्षेत्रमा आजीवन लागेर जनहितकारी प्रजातन्त्र र समाजवादको पथप्रदर्शन गर्दै, समकालीन नेपाली जनतालाई नेतृत्व दिँदै अघि बढेका उनलाई नेपाली साहित्यमा पनि अग्रज नेतृत्वका अवर्णनीय हस्ति नै मानिन्छ । तत्कालीन समकक्षी गुरुप्रसाद मैनाली, बालकृष्ण सम, पुष्कर शमशेरजस्ता कथाकारहरूभन्दा पृथक विचार अघि सारेर कथा साहित्यमा मनोविज्ञान र यौनमनोविज्ञानको प्रवेशलाई सर्वग्राह्य बनाएका थिए कोइरालाले ।
कोइरालाले कथा र उपन्यासको रथ हाँकेर आफू सारथी बन्दै सीमाबद्ध नारीजमातलाई स्वतन्त्र, आत्मविश्वासी र पुरुषको अधीनमा नरही छुट्टै अस्तित्व कायम गर्न सक्ने स्वभिमानी वर्गको गन्तव्यमा पुर्याउने काम गरे । त्यसैले उनको लेखकीय योगदान साहित्यिक इतिहासको प्रशंसनीय र उल्लेखनीय दर्जामा कायम छ । कोइरालाका कृतिहरू नेपाली साहित्यका भण्डारमा महत्वपूर्ण सम्पत्तिका रूपमा रहेका छन् । उपन्यासका क्षेत्रमा उनको योगदान प्रशंसनीय छ । नेपाली साहित्यको विकास तथा उन्नतिमा कोइरालाको गहनतम भूमिका रहेको कसैले नकार्न सक्दैन । एउटा नामूद ऐतिहासिक विषयवस्तु समेटिएको ‘हिटलर र यहूदी’ कोइरालाको चर्चित औपन्यासिक कृति हो । विश्व साहित्यकै दाँजोमा मानवतावादी कृतिको नमूनाको रूपमा रहेको यस उपन्यासलाई विश्वका विभिन्न भाषामा अनुवाद गरिने हो भने यो मानवतावादतर्फ विश्वलाई डोर्याउने एउटा साधन नै बन्नसक्छ । यस सन्दर्भमा केही चर्चा अघि सार्न वाञ्छनीय ठानेको छु ।
नेपाली साहित्यमा मनोविज्ञान तथा यौनमनोविज्ञान भित्र्याउने कथाकार तथा नारीअस्तित्वको खोजी गर्ने उपन्यासकारको रूपमा प्रसिद्ध बनेका विश्वेश्वरप्रसाद कोइरालाको योगदानलाई सगरमाथाको उच्चाइले पनि छेल्न सक्दैन । उनले भौतिक, सामाजिक र आर्थिकजस्ता अमूर्त मानवीय सम्बन्ध तथा यसबाट उत्पन्न पीडा, बाधा वा सफलतालाई मात्र कथा र उपन्यासभित्र समेट्ने परम्परालाई तोडेर मान्छेभित्र रहेका अदृश्य उथलपुथल, मानवीय भावना, रतिराग र प्रेमभावसमेतलाई केलाउने काम गरे । समाजले जतिसुकै वर्जित, निन्दनीय कामको संज्ञा दिए पनि यो मानवमनको अन्तस्करणको प्रवृत्तिलाई रोक्ने प्रयत्न गर्यो भने कुण्ठाग्रस्त भएर ऊ समाजलाई काम नलाग्ने बन्नसक्छ अथवा कुण्ठाबाट पैदा भएको वैराग्य भावनाले समाजकै अस्तित्वमा हानि पुर्याउँछ भन्ने अवधारणा उनका साहित्यिक कृतिहरूमा मुख्य विषय बनेको पाइन्छ । उनका उपन्यासहरूको मुख्य पक्ष भनेको मानव जीवन, दर्शन र मानवतावादी अवधारणा नै हो । “मान्छे शरीर मात्र होइन, केवल शरीर बाँच्नु त पशुजीवन बाँच्नुसरह हो । मान्छे बन्न मन र हृदयको प्रयोग हुनुपर्छ, मान्छेलाई बुझ्न उसको मनमा, हृदयभित्रै प्रवेश गर्नुपर्छ”- भन्ने मानवतावादी दृष्टिकोण उनका उपन्यासहरूमा जताततै पाइन्छ । समाजका सुक्ष्म तन्तुहरू केलाउँदै सांस्कृतिक विचलन र उद्दण्डता अनि पौराणिक विषयवस्तुहरूलाई दही मथेझैं मथेर व्यक्तिको मानसपटलमा पस्न खोज्नु कोइरालाको साहित्यिक भनौं या औपन्यासिक विशेषता र गरिमा पनि हो ।
सन्दर्भ सामग्री …
१. कोइरालाको उपन्यास-हिटलर र यहूदी- साझा प्रकाशन ।
२. कोइरालाको साहित्यिक जीवन सम्बन्धी विभिन्न अंग्रेजी पत्र-पत्रिकाहरू ।
३. गोपाल शर्माको अन्तर्राष्ट्रिय मानव अधिकार (विसं २०३७) ।
४. तुलसी भट्टराईको बी.पी.कोइराला चिन्तन र प्रयोग- (विसं २०५८), हिमशिखर प्रकाशन ।
राम्रो छ धरै राम्रो तपाई को प्रगति होस्
अमेरिका बस्नु हुन्छ भानु |
भाव र विचार छैन उनको सानु|
हजुर को पर्गती आगाडी बड्ने नै छ , हाम्रो सुवोकामना हुनेनै छ|
हजुर लाइ धन्ने बाद
अति राम्रो नयाँको अपेछा