हौ राजा भाइ, नीति मिलेन यार !
भक्त घिमिरे
अमेरिका
राजालाई विष्णु भगवानको अवतार ठानेर ईश्वरसमान सम्झनुपर्ने र उच्च-आदरभावमा सम्बोधन गर्नुपर्ने परम्पराकै मान्छे हुँ म । “मौसुफ सरकार” र “दयासागरका जुनाफमा” भनेर कैयौं अनुनय-विनय र पुकार पत्रहरु त यिनै हातले पनि कति लेखिए । तर, ती सबै आग्रह-विन्तिहरु हावा मिठाईसरह बनेको इतिहास हामी अझै आलो घाउझैं बोकेर हिँडिरहेकै छौं । राजालाई एउटा रहस्यमयी, तिलस्मी परिकल्पनाको आकृति सम्झेर हिमालका ओडारहरुमा पाइने प्राकृतिक मूर्ति र मानवनिर्मित प्रतिमाहरुमा सजिएको अलौकिक विम्ब ठान्दा कहिल्यै जनलहरमा राजा र राजपरिवारसित आत्मीयभाव बढेन । त्यसैले राजालाई त्यो मित्थकीय शक्तिदेवता नसम्झेर आफ्नै गाउँ-घरका हितेरी मितेरी वा आफ्नै घरपरिवारको सदस्यसरह, काका, बडाबाबू, मामा, भाञ्जा, भतिजा, दाजु वा भाइसमान ठान्दा आत्मीयता बढ्ने अपेक्षामा सोचिरहेको छु । पदले राजा भए पनि तिमी मभन्दा उमेर र अनुभवले कान्छो भएका कारण तिमीलाई जिग्मे गेशार नाम्गेल ‘भाइ’ भनेर सम्बोधन गरेकोमा अन्यथा नलिनू ।
भाइ गेशार,
तिमीले नभए पनि हामीलाई तिम्रा बा’ले विभिन्न रणनीति अपनाएर देशबाट लखेटेको तीनदशक लाग्न थाल्यो । यस अन्तरालमा देशभित्र र बाहिर धेरै उचार-चढाउ, आरोह अवरोहहरु देखाहा परे । सुनकोश, मानस, गंगा-यामुना र कोशी कर्णालीमा कति हो कति पानी बग्यो । धेरै जलतरंग, छल्काहरु हामीले पनि पार गरिसक्यौं ।
हाम्रा देश फिर्ने प्रयास र तिम्रा बा’का हामीलाई छेक्ने प्रयासबीच धेरै अन्तरसंघर्षहरु भए । दक्षिणमा चलेको आन्दोलनलाई जातीय रंग पोतेर ओझेलमा पार्न तिम्रा बा’सफल भए पनि पूर्वको तेजलाई छेक्न निक्कै हम्मे पर्यो । त्यहाँका आदिवासी सार्छोपहरु स्वतन्त्रताको खोजीमा चिच्याउन थाल्दा तिम्रा बा’का हनुमानहरु उठेर गोम्छेन लामा (पूजारी) लाई मारे पनि । कैयौं सर्वसाधारण गाउँलेहरुलाई कैद गरेर राजनीतिक बन्दी बनाइएको कुरा पक्कै पनि तिमीबाट लुकेको छैन । तिमी स्वयंले चेमगाङ जेलको निरीक्षण भ्रमण गरी बन्दीहरुको रखवालीमा गएको खबर हामीले पाएकै छौं । देख्यौ होला तिम्रा बा’ले आफूसँग राजनीतिक पौंठेजोरी खेल्ने प्रतिद्वन्दी सम्झिएका मान्छेहरु कस्ता कस्ता रहेछन् । जुनीभरी खेतीबाली र जंगल गोठ गरेर बसेका कैयौं सर्वसाधारण गाउँलेहरु अझै पनि तिम्रा शासनको कैदमा रहेका छन् । देशमा शान्ति त के शान्तिको लक्षण पनि छैन । तर, तिम्रा बा’ले देशमा जेसुकै भए पनि त्यसतिर विश्वको ध्यान केन्द्रित नहोस भनेर “कुल राष्ट्रिय खुशीयाली” को नारा चर्काए र त्यसैको धूनमा ढोल-झ्याम्टा बजाइरहे । भर्खरै तिम्रा बा’ कै पालाका डाकवाला छिरिङ तोब्गेले अन्तर्राष्ट्रिय मञ्चमै उभिएर भन्दिए,“हाम्रा राजाले जनताले नचाहेको प्रजातन्त्र दान दिएर अचाहिँदो काम गरेका छन् । तर, उनले यो काम राष्ट्रलाई खुशी राख्न गरेका हुन् त्यसकारण हामी विश्वलाई जनता खुशी पार्ने कडी सिकाउन अगि बढेका छौं । विश्वले हामीबाट पनि केही सिकोस् ।” उनले भनेजस्तै त्यहाँबाट विश्वले सिक्ने हो भने त सत्रौं शताब्दिका नरसंहारका कथाहरु फेरि लेखिने छन् ।
प्रचारको लागि यस्ता अनेक ढोल ढ्यांग्रो बजाउने अभियानहरु चलिरहे । जहिल्यै पनि तिम्रा बा’ले आफ्ना डाकवालाहरु पठाएर विश्वमा हामी त्यस देशका असल नागरिक थिएनौं, थिएनौ र हुन सक्तैनौं भन्ने प्रचार गर्न लगाइरहे । यता लखेटिएका हामीहरुले अन्तर्राष्ट्रिय तहमा गरेको तिम्रा बा’को नीतिविरुद्धको वकालत पनि रोकिएन ।
गेशार भाइ,
यही अन्तरालमा देशको जटिलतम समस्या सुल्झाउन नसकेर तिम्रा बा’ले तिम्रो टाउकोमा ठूलो जिम्मेवारी खन्याएका छन् । यसो गर्नुमा उनको राजकीय उदारता, देशको अस्तित्व र जनताप्रतिको दूरदृष्टिभन्दा पनि दरवारीया शक्तिसञ्चय र अंशबण्डामा तिम्री आमा र अरु तीनवटी सौतेनी आमाहरुको आपसी तानातानलाई सन्तुलनमा राख्नु मूल उद्देश्य थियो । यसमा तिम्रा बा’को खूबी साँच्चै दूरदर्शी मान्नुपर्छ ।
यतिमात्रै होइन, तिम्रा बा’ले सन् 1990 कै हाराहारीतिर आफ्नै तजबिजले निम्त्याएको भारतीय पृथकतावादी उल्फा र बोडोको भूटान भित्रको उपस्थितिले भारत सरकारसँग तिम्रा बा’को सम्बन्ध निकै चिसिएको थियो । त्यसबेलामा निर्वासनमा रहेका भूटानका थुप्रै दल र तिनका अगुवाहरुलाई समातेर भारतले थिम्पूसमक्ष बुझाउने अनि त्यसको सट्टामा भूटानमा रहेका उल्फा-बोडो पृथकतावादीहरुलाई समातेर भारतमा जिम्मा बुझाउनुपर्ने थुप्रै सौदाबाजीका लेनदेनहरु भए । तर, 90 ताका देशबाट नागरिकहरुलाई लखेट्ने सिलसिलामा सहायक ठानेर आफैंले निम्त्याएका हात-हतियारले सुसज्जित ती लडाकूहरुलाई बिच्क्याउन तिम्रा बा’लाई हिम्मत पनि थिएन । र पनि, दिल्लीबाट ठूलै दवाब बढेपछि भारतकै सैन्य सक्रियतामा भूटानभित्र ती उल्फा-बोडोविरुद्ध अप्रेशन हुने भयो ।
त्यतिबेला खास गरी तिम्रै जेठी आमापटिका भाइ जिगेल वाङचुक अक्सफोर्ड विश्वविद्यालयको चालू शिक्षा त्यागेर देशको चिन्तन गर्दै आइपुगेर सो अप्रेशनमा शशरीर खट्ने भए । उनको यो जोश र ऊर्जाले तिम्रा बा’लाई निक्कै चिन्तित तुल्यायो । खास गरिकन भूटानभित्र भएका भारतीय पृथकतावादीहरुलाई लखेट्न दिल्लीको आग्रह मान्नुपर्छ भनेर जिगेलले नै तिम्रा बा’लाई निक्कै अघिदेखि प्रेशर गरिरहेका थिए रे । उनी त्यतिबेला 19 वर्षका लक्का जवान थिए । तिमी त अलिक ठूलै भइसकेका थियौ । तर जिगेलको तुलनामा तिमी तिम्रा बा’सित उति धेरै सहमत थिएनौ रे ! राजकाजको मुद्दामा त अझ धेरै तिमी विमति नै राख्थ्यौ रे । जे भए पनि जेठी रानीको पुत्र भारतका शसस्त्र-विद्रोहीसँग आमने-सामने भिड्न जान लाग्दा तिल्मिलाएका तिम्रा बा’ छोरोको ढिपी अगाडि गलेर आफू पनि अप्रेशन फिल्डमा जाने भए । तिम्रा बा’ र तिम्रा भाइ जिगेल युद्धमैदानमा जाने हुँदा केही दरबारी अंगरक्षक र आरबीएका सैन्य जवानहरु पनि जानुपर्ने नै भयो । तर, युद्धमैदानमा अन्य सबै भारतीय सैन्य भूटानको पहिरनमा सजिएका थिए रे.. । अर्थात देख्नमा भूटानका सैनिक अप्रेशनमा थिए तर, पोशाकले मात्र । बुद्धको भूमि भूटानमा सन् 2003 को दिसम्बर 15 का दिनदेखि धेरै गोली चले, धेरै बमबारी भयो । पूर्वी भूटानको पानबारी भन्ने वनारण्यमा दोहोरो आक्रमण हुँदा तिम्रा बा’ स्वयंलाई हातमा र तिम्रा भाइलाई शरीरको कुनै भागमा भारतीय विद्रोहीको गोलीले चोट लागेको तथ्य केवल कथामात्र होइन; जो तिमीबाट लुकेको पनि नुहुनुपर्ने हो ।
यति धेरै चुनौती मोल्दै भारतीय पृथकतावादीहरुलाई भूटानबाट हटाउँदा पनि भारतले राजनीतिक सौदाबाजीमा धोका दिएको तिम्रा बा’ र तिमीले नै राम्रो महसुस गरेका छौ । नेपालमा शरणार्थी बनेका हज्जारौं मान्छेलाई बाटो छेकीदिन र रोङथोङ क्यूनले दोर्जीलाई भूटानमा जिम्मा लाउने थिम्पूको शर्त अनि चिनसितको सीमासम्बन्धी कुनै वार्ता एक्लै नगर्ने र भूटानभित्रका भारतीय पृथकतावादीलाई दिल्लीसमक्ष बुझाउने दोहोरो सौदाबाजीमा तिमीहरु दुवैपक्षले एक एकवटा काममात्र इमानदारीपूर्वक गरेका छौ । भारतले भूटान जान चाहने हज्जारौं भूटानी शरणार्थी मान्छेलाई अन्तर्राष्ट्रिय सीमानामा छेकेर त्यो इमानदारी पालन गर्यो । यसरी नै तिमीहरुले पनि उल्फा र बोडोको नाममा तिनका केटाकेटी र आईमाई-बुढाबुढीलाई समातेर दिल्लीसमक्ष बुझाएर दिल्लीसितको कसम पूरा गर्यौ । तर, यहाँनेर जटिल कुरो के भो भने भारतले छेक्ता छेक्तै पनि सन् 1996 को अगष्ट र दिसम्बरमा दुईपटकसम्म भूटानभित्र पसेर शरणार्थीका टोलीहरुले तिम्रा बा’को नीतिलाई विश्वसामु उदांगो बनाइदिए । विश्वव्यापी रूपमा तिम्रा बा’ र तिनका मतियारहरुले ठूलो बेइज्जती कमाए । इतिहासमा तिम्रा बा’को शासनकाल मानवताविरोधी कुख्यात पाशविक युगको रूपमा अंकित भएको कुरा तिमीलाई राम्रै थाहा हुनुपर्छ । यसरी विश्वव्यापी बदनामी कमाइरकेहा बेला स्वः रोङथोङ क्यूनले दोर्जीलाई सुपुर्दगी गराउन नसकेर भारतको कूटनीतिसँग हारेका तिम्रा बा’ले तिमीलाई गद्दीमा राखेर राजनीतिक सन्यास लिएका हुन् ! अहिलेसम्म तिम्रा बा’को बदनामी मेट्न तिम्रै बा’ का “हनुमान” हरु विश्वभरि ‘राष्ट्रिय खुशीयाली’-को झ्याम्टा बजाउँदै हिँडिरहेका छन् !
यही सिलसिलामा हामीलाई अमेरिकालगायतका विभिन्न देशहरुले अपनाए र हामी ती देशका जनता बनिसकेका छौं । तर, हामीलाई आफ्नो देश भूटानप्रतिको धेरै माया छ । यो माया त्यतिकै ओइलाउने र मर्नेवाला पनि छैन । हामी त्यतै जन्मिएका मात्र हैन, भविष्यमा अलि स्थापित बनेपछि यतै जन्मिएका सन्तानले हाम्रा सन्तानले पनि हाम्रो इतिहास पढ्ने छन् र तिम्रा बा’को इतिहासतिर धारे हात लाउनेछन् । तिम्रा बा’को चिहानसमेत कोट्याउन आउन सक्ने छन् । त्यसैले अब तिमी तिम्रै बा’ले राजनीतिको च्याउ उमार्म थुपारेको परालभित्र अण्डा राखेर ओथरा बसिरहन्छौ कि आफ्नै नयाँ गुँड निर्माण गरेर नयाँ इतिहासको थालनी गर्छौ, हेर्न बाँकी छ ।
राजा भाइ,
एक्लै घोत्लिएर सोच र अग्रगामी, दीर्घकालीन निर्णय गर । हामीले त्यो देश र तिम्रा बा’को कर्तुत बिर्सिने परिकल्पना पनि नगर । तर, यसो भन्दैमा तिमीलाई धम्की दिएको पनि नसम्झ । हाम्रो सोचाइ अत्यन्तै सकारात्मक छ । तिमीमा हामीले तिम्रा बा’को भन्दा केही बेग्लै लक्षण देखेर मात्र यति कुरा भन्ने आँट म गरिरहेको छु । तिमी अक्सफोर्ड र क्यामब्रीजमा पढेका विद्वान छौ र म यी कुरा तिमीलाई भनिरहेको छु । हामी हाम्रो देशलाई र देशबासीलाई अत्यन्त माया गर्दछौं । हामी भौतिक रूपमा फर्किएर तिम्रो राजगद्दी खोस्ने-मास्ने कुरो गर्ने छौं भनेर गलत सोचाइ पनि नराख । हामी तिमी र त्यो देशका सारा सन्ततिलाई उन्नतिपथमा चलेको देख्न चाहन्छौं । हामी त्यस देशमा भौतिक, सामाजिक र सांस्कृतिक विकासका योजनाहरु चलाएर तिनमा लगानी पनि गर्न चाहन्छौं । हामी हाम्रा परिवारका सदस्यहरुलाई भूटानमा तिम्रै शासनकालमा शान्ति र सुख मिलेको देख्न चाहन्छौं ।
मान्छे हुनुको सम्मान र नागरिक हुनुको नैसर्गिक हक-अधिकारको ग्यारेण्टी मागिरहेका शान्तिप्रिय मान्छेहरुलाई देशबाट निकालेर लखेट्ने अनि “जनताले नचाहेको प्रजातन्त्र दान दिने” तिम्रा बा’को नाममा गाइएको भक्तिगान र आरती अहिले निक्कै मधुरो हुनथालेको कुरा तिम्रै कतिपय कदमहरुबाट पनि प्रष्ट भइरहेको छ । त्यही भएर तिम्रै बा’को पालादेखिका ती “हनुमान” हरु झन् झन् चिन्तित हुँदैछन् र जति चिन्तित हुन्छन् त्यति नै ठूलो स्वरमा ‘राष्ट्रिय खुशीयाली’-को झ्याम्टा बजाइरहेका छन् । शायद तिमी तिम्रा बा’ भन्दा अलि बेग्लै किसिमको राजा हुन चाहन्छौ भन्ने संकेतहरु देखिएका हुन् कि-यस्तो हाम्रो आशा मात्रै हो, तिमी नै जान है भाइ ! मानवता भन्ने कुरो तुलनात्मक रूपमा तिम्रो दिमागमा अलि बढी छ कि; हाम्रो यो अपेक्षा तिमीले कसरी पूरा गर्छौ; तिम्रै हातमा छ !
तिमीले शासन आफ्नो हातमा लिएको लगत्तै सन् 2007 मा दिल्ली गएर सन् 1949 देखि स्थापित भारत-भूटानको असमान सम्झौता (सिञ्चुला सन्धि)-लाई आंशिक शंसोधन गराएर आफू अलिकति भए पनि बेग्लै खाले राजा हुन चाहेको संकेत त देखाएकै थियौ । तर, अहिले आएर तिम्रा बा’ ले दशकौंदेखि सुगाझैं रटाएका ती दास-दासी (विभागीय मन्त्री र सरकारी कर्मचारी) हरु र तिमीबीचका कार्यव्यापारिक भिन्नताले तिमी केही न केही फरक चाहन्छौ भन्ने कुरा प्रष्ट देखाउन थालेको छ ।
गेशार भाइ,
अब खास कुरो, मैले खोल्न खोजेको कुरोको चुरो सुन । तिम्रा बा’ले इतिहास मेटेर सपरिवार भूटानबाट लखेट्तै शरणार्थी बनाएका मान्छेहरु 20 वर्षपछि अमेरिकालगायत विश्वका विभिन्न भागमा पुनर्वासित भए । ती धेरै मान्छेमध्ये अमेरिकी नागरिक बनिसकेका मेरा एक मित्रले सम्मानका साथ पर्यटक भएर तिम्रो राजकीय मुलुक भूटान आउन चाहेछन् । र, भ्रमणका लागि राहदानीको आवेदन गरेछन् । भूटानको दस्तुर अनुसार पर्यटक भिसा पाउने संकेत पाएपछि महंगो पर्यटक ज्याला एक हजार एक सय अमेरिकी डलर तिरेर अध्यागमनको प्रक्रिया पनि पूरा गरेछन् । भूटान पुगेर दशकौं पहिले आफू सानो छँदा छुटेका आफन्तहरुलाई भेटेर लामो अन्तरालको दुःख, सुख बाँड्ने सपना बुन्दै सौदापातको किनमेल पनि सकेछन् । तर, लगभग आधा वर्ष बित्न लाग्दा–“तपाईंको भूटान भ्रमणको भिसा रद्द भयो, तपाईंलाइ भूटान भ्रमणको अनुमति छैन”, भन्ने ब्योहोराको पत्र भूटानबाट प्राप्त भएछ । उनले पर्यटन भिसा नपाउने कारण चाहिँ उल्लेख गरिएको पाइएन । त्यति मात्र होइन, तिरेको दस्तुर रकम फिर्ता लिन पनि ती मित्रले धेरै चुनौती मोलेर अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नेसम्मको चेतावनी दिनुपर्ने भएछ । यस उदाहरणबाट तिम्रो दरबारमा बसेका ढोके-बैठके दासदासीहरूमा तेस्रो देशमा पुनर्वासमा गएर उतैको नागरिक भइसकेका भूटानीहरूप्रतिको भावना कस्तो छ भन्ने प्रष्ट हुन्छ ।
तिमीले तिम्री नवविवाहिता रानी जेत्सुन पेमाबाट भर्खरै तिम्रो दरबारको उत्तराधिकारी छोरो जन्माएका छौ । यस्तो समाचार हामीले कहिल्यै सुन्न नपरोस् कि कुनै दिन तिमीले पनि सन्तानसँगको वियोग भोग्नुपर्यो ! यदि भोग्नैपर्यो भने त्यतिबेला साँच्चै तिमीले अनुभव गर्नेछौ सन्तानवियोगको पीडा कति दर्दनाक हुन्छ । युद्धमैदानमा उत्रिएको तिम्रो भाइ जिगेललाई पछ्याउँदै तिम्रा बा’ले देखाएको सन्तानमोहको प्रसंग कोट्याएर मैले माथि नै यसबारेमा तिमीलाई झक्झकाएको छु ।
तिमीले यो कुरा राम्रो गरी महसूस गरेका छौ र परिवार पुनर्मिनलको अधिकारको मान्यता पनि राख्छौ भन्ने कुरा भर्खरैको तिम्रो एउटा निर्णयले छर्लङ्ग देखाएको छ । तिमी जुनसुकै उद्देश्यमा दक्षिण भूटानको भ्रमणमा आए पनि एक नेपालीभाषी परिवारको भव्य आतिथ्यमा परेछौ । सकेसम्म श्रद्धा-सुमन चढाएर त्यो परिवारले तिमीलाई मिष्ठान्न (खिर) भोज खुवाएछन् । धेरैवर्ष अघि शरणार्थी बनेको आफ्नो एक छोरो अहिले अमेरिकी नागरिक बनिसकेको र सारै उसको मुहार हेर्न मनलागेको त्यो घरकी आमाले तिमीसमक्ष विन्ती बिसाइछन् । तिमी आमाहरुको ममता बुझ्ने खाले बनेछौ शायद; त्यसैले ती आमाको विन्ती सुनिसकेपछि तिमीले केही चिन्तित र गम्भीर हुँदै “हुन्छ, तर” भन्दै रोकिएछौ । “हुन्छ” शब्दमा हर्षित बनेका ती अनुहारहरु “तर” शब्दमा अत्तालिएछन् । त्यसपछि विस्तारै उठेर तिमीले निश्चित समयसीमा तोक्तै “यतिदिन भित्र आएर सोझै आमासँग भेट्ने र फर्किने, यदि तोकिएको समय कटेमा विधि अनुसार पर्यटन शूल्क तिरेर फर्किनु पर्ने” आदेश दिएछौ । तिम्रो सोही आदेश अनुसार ती मित्रले भूटानमा आफ्नो परिवारसँग सौहार्द्र भेटघाट गरी फिर्ता भइसकेका छन् । तिम्रो यो मानवीय संवेदनाको सम्मान गर्ने चेतनाप्रति हामी धेरै खुशी पनि भएका छौं ।
तर, नैतिक असन्तुलन र ठोस कानूनी प्रावधानको अभावमा मनपरी भएको देखेर आफ्नो देशको अवमूल्यन हुने य़थार्थप्रति चिन्तित पनि छौं ।
एकातिर तिम्रो मन्त्रालय, पर्यटन विभाग- पर्यटन शूल्क तिरेर देशको आर्थिक उन्नतिमा समेत टेवा पुर्याउँदै आफ्नै परिवार सदस्यहरुसित भेट्न देशमा आउन चाहने पूर्वनागरिकलाई अनुमति दिँदैन । अर्कोतिर तिमी व्यक्तिगत रूपमा एउटी आमाको पुकार सुन्दैमा देशको नीति र कानूनविपरित आदेश जारी गर्दै हिँड्छौ ! हामीले यहाँ के बुझ्नुपर्ने हो भन्देउ न भाइ-भूटानको नीति, कानून कि त यति दुब्लो छ जसले जतिबेला चाह्यो उतिबेला खारेज गर्नसक्छ अथवा तिम्रा बा’को पालादेखि दरबारमा शिकारी कुकुरझैं पालिएका हल्दार, जम्दारहरुले बनाएको नियम-कानून तिमीलाई मन परेको छैन ! र, राजा हुनुको बेग्लैखाले सर्वाधिकार तिमीले प्रयोग गर्नथालेका छौ ? के हो खास कुरो एकपल्ट भन्देऊ न राजा भाइ ! होइन भने त, तिम्रो र तिम्रै राजकीय विभागको नीति मिलेन यार !