‘भलेचखे’ प्रजातन्त्र

भक्त घिमिरे / अमेरिका

केही शब्दहरू व्यवहारमा जतिसुकै चाम्रा भए पनि सुन्नमा अति राम्रा हुन्छन् । ती शब्द बोल्नमा शालीन र मान्यतामा मीठा पनि हुन्छन् । तर, व्याहारिक प्रयोगमा कर्ताहरुको तालमेल नभएर अर्थको बेअर्थ बन्दछन् ती शब्दहरू । यस्तै शब्दहरूमध्ये सुन्नमा स्वादिलो शब्द हो ‘प्रजातन्त्र’। हो यही शब्दभित्र छिरेर प्रजाको तन्त्रबारे चर्चा गर्न यहाँ खोजिँदैछ । अँ…हो, म प्रजाको तन्त्र नामक एउटा सामाजिक स्थितिका बारेमा लेख्न खोजिरहेको छु । त्यो कुन स्थिति भने समाजको भलेचखे अवस्था वा प्रजातन्त्र । सबैलाई जिज्ञासा हुनसक्छ, के हो वास्तवमा यो भलेचखे प्रजातन्त्र ? प्रजातन्त्रको यो रूप त हामीले कदापि देखेको र सुनेको होइन ! यो असामञ्जस्यको गाँठो खोलौं न त ! यो भलेचखे प्रजातन्त्र हो-भनिने, लेखिने र चल्ने-खेल्ने, प्रजातन्त्रका दुई अलग रूपहरू ।
रुसका जारशाही, नाजी नाइके हिट्लर, इटलियन मुसोलिनी र यस्तै संसारका विभिन्न कुख्यात तानाशाहहरूसँगै आजका नयाँ लोकपद्धतीय शासनतन्त्रका हिमायती समेतले एउटै भाका र लयमा फलाकेको यो शब्दलाई आज पनि प्रयोग गरिँदैछ । यस शब्दको अर्थमाथि जति ठूलो प्रहार हुन्छ, त्यही आक्रमणकारीको पक्षबाट त्यसको नाइकेले ठूल्ठूलो स्वरमा कराएर भन्छ, ‘‘आज प्रजातन्त्र खतरामा परेको छ ।” मानौं ‘प्रजातन्त्र’उसका बाजेले पुर्ख्यौली जिलोमा राखिदिएको उसैको वपौती होस ! कुरा अघि नै शुरु भइसकेको छ- सर्वहारा, विपन्न, अशिक्षित तथा निम्न र मध्यमवर्गीय जनतालाई मीठा-मीठा हावा मिठाई चखाएर सपना देखाउने यो शब्दका दुई रूपहरू अहिले व्यापक प्रयोगमा छन् । ती दुई रूपमध्ये एउटा हो, भनिने-लेखिने प्रजातन्त्र र अर्को हो चल्ने-खेल्ने प्रजातन्त्र । ‘प्रजातन्त्र’शब्दलाई परिभाषित गर्नेहरूमध्ये अब्राहम लिङ्कनले यस शब्दलाई निक्कै सुन्दर रूप दिएका थिए । प्रजातन्त्र भनेको ‘‘जनताद्वारा, जनताकै निम्ति, जनताको सरकार’’, भन्ने लिङ्कनको परिभाषा पुनर्व्याख्या गर्दै यस शब्दलाई कुख्यात धर्मान्ध तानाशाह र सामन्तीहरूले पनि ढालको रूपमा वर्काई-फर्काई प्रयोग गरे । यसबाहेक थप विभिन्न मीठा-मीठा परिभाषाहरू पनि हामीले घोकेर भाषणमा, परीक्षामा, पत्र-पत्रिकामा पस्किनुपर्छ, त्यसै अनिच्छावश ! हो, त्यो नै हो ‘भनिने-लेखिने’प्रजातन्त्र !

‘चल्ने-खेल्ने’प्रजातन्त्र भनेको तपाईं-हामीले भोगेका र भोलि भोग्नुपर्ने अनेकौं तन्त्र-मन्त्रहरू, शासकीय यन्त्र-संयन्त्रहरू हुन् । विभिन्न दल-बदल र व्यक्तिले, विभिन्न अर्थ र प्रयोजनमा जनताका घाँटीमा झुण्डाइदिएका सिद्धान्तका गलगाँडहरू हुन् । देशका बहुसंख्यक जनता श्रमजीवी छन्, आफ्नै पसिनाको श्रममा जिएका छन्। आफ्नै पौरख धानेका छन् । तर, श्रमचोर शोषक र शासनका सरदारहरू मुफ्तको डकार्दै महलको कौसीबाट तिनै श्रमजीवीविरुद्ध डुक्रिन्छन्! सरकारी भत्तामा पोसिएका साँडेहरू दरबारको कौसीबाट ओर्लेर सोझै जनतामाथि घोड़ा चढ्छन् । चेतना र एकताको अभावमा श्रमजीवीहरू सधैं तल पर्दै आएका छन् । पर्याप्त राजनीतिक चेतना भएका, आफ्नो अधिकारप्रति सचेत मान्छेहरू औंलाको भरमा गनिन्छन्, तिनै पनि संकटका बेला कुना पस्छन् । अशिक्षा र खोक्रो राजनीतिक चेतनाले एकातर्फ प्रजातन्त्रमा प्वाल पारिरहन्छ भने अर्कोतर्फ स्वार्थी तत्वहरूको पञ्जामा कैदी बनेको ‘प्रजातन्त्र’ उनीहरूकै स्वार्थसिद्धिको भर्याङ बनिदिन्छ !

देश वा राज्य नामको एउटै खोरभित्र ‘बाघ’र ‘मृग’हरू छन् । एउटै नियम-कानूनको सिमानाभित्र रहेका उनीहरूप्रति सम्बोधन गर्दै संवैधानिक उद्घोषणा गरिन्छ,‘‘ए बाघ , ए मृगहरू ! ए…चील र कुखुराहरू, ए सर्प र भ्यागुत्ताहरू हो…, तिमीहरू सबै संविधानिक नजरमा बराबर स्वतन्त्र छौ, मिलेर बस !” बाघ र मृग एउटै जाति नभए पनि एउटै कित्ताका प्राणी हुन्, दुवै स्थलचर ! चील र कुखुरा दुवै पंक्षी हुन्, बराबर ! साँप र भ्यागुत्ता दुवै अण्डाबाट हुर्कने समान रूपका प्राणी हुन् । यो अवस्थामा एकै ठाउँ बाघ र मृगहरू, कुखुरी र चीलहरू, साँप र भ्यागुत्ताहरू बराबर स्वतन्त्र हुँदा नतिजा के हुन्छ ? अनुमान सबैले गर्न सक्छन् ! तर, प्रश्न, जिज्ञासा र उत्सुकता कसैले व्यक्त गर्नसक्दैन !

बाघ र मृगको तुलना मान्छेसित कसरी हुन्छ ? कुखुरी र चीलबीचको नापतौलसित मान्छेको हिसाब कसरी जोड़िन्छ, निश्चय पनि यहाँ यो प्रश्न उठ्नसक्छ ! बाघ र मृग, कुखुरी र चील वा साँप र भ्यागुत्ता भनेका शक्तिशाली र शक्तिहीन प्राणीका प्रतीक हुन् । मान्छेलाई शक्तिशाली र शक्तिहीन, यो व्यवस्थामा सत्ता-शक्ति र धन नामको ऊर्जाले निर्धारण गरिदिन्छ ।

सभाभवनको कक्षमा रातो कार्पेटमाथि विदेशी जुत्ताले टेक्नेहरू, विदेशबाट मगाइएका वाहनमा रातो बत्ती र साइरन साथ सवार हुनेहरूमा मौजुद अहंकार अनि खेत-बारीका आली-कान्लामा नंग्रा खियाउनेहरूको झुकाई तथा समर्पणबीच ठूलो अन्तर हुन्छ-बाघ र मृगहरूबीच कोरिएको अन्तरजस्तै ! समान स्वतन्त्रताको अधिकारमा बाघ र मृगहरू एकै ठाउँ ! कति हास्यास्पद ? हो, यही स्वतन्त्र बाघ र मृगहरू एकै ठाउँ रहनुपर्ने व्यवस्थाको नाम हो, ‘भनिने-लेखिने’ प्रजातन्त्र ।
‘चल्ने-खेल्ने’प्रजातन्त्रमा सर्वोपरी तहमा पूँजीपतिहरू हुन्छन् । व्यक्तिगत नाफाको व्यापारिक जोड़घटाउमा निर्लिप्त पूँजीपतिहरूकै बोलवाला हुन्छ शासनमा । यस्तो व्यवस्थामा पूँजीपतिका निम्ति प्रजातन्त्र समात्ने हतासो मात्र बन्न पुग्दछन् दल र नेताहरू । पूँजीपतिहरू एकाधिकार प्राप्त पूँजीको विकास गर्न उद्योग धन्धामा लगानी गर्छन् भने शासनमा आफ्नो वर्चस्व टिकाउन राजनीतिमा पनि लगानी गर्छन् । छलकपटमा बलियो र सौदाबाजीमा योग्य दल वा नेतालाई आफ्नो पूँजीको शक्तिले गल लगाएर सत्ताको धरान चढाउँछन् । अनि तिनै दलका दलाल नेताहरूलाई प्रयोग गर्दै श्रमजीवी जनताको पसिना चुसिरहन्छन् पूँजीका गुठीवालहरू । दिनको दुई सय भुक्तान गरेर पाँच सयको श्रम लुटिरहन्छन् । सबै दल वा नेताहरू खराबै हुन्छन् भन्ने छैन । तर, यति कुरा पक्का हो, खराब नभई कोही पनि लामो समय सत्तामा टिक्दैन ।

चुनाव त यिनीहरू जुवाजस्तै खेलिदिन्छन् । उनीहरूको चुनावी जुवामा छक्का हान्ने शकुनी पूँजीपतिहरू पछाडी बसेर दाउ हेर्छन् । पूँजीपतिका अदृश्य मतियार, साझेदार, सरदार र बैदारहरू नै चुनाउको भर्याङबाट माथि उक्लन्छन् । देशको संसद होस कि राज्यको विधानसभा वा दरबारको भारादारी बैठक, लखपति र करोडपति, काजी, डिट्ठा, ठेकेदार, मण्डल, सरदार, बैदार अनि साँच्चै राजनीतिज्ञ परे पुराना मन्त्रि र कर्मचारीहरू मात्रको भीड हुन्छ । सबै अकुत पूँजीका दास ! के, साँच्चै जनता नामका गरीब निम्नवर्गीयहरू जनप्रतिनिधि बन्नसक्दैनन् ? सक्दैनन् । किन भने उनीहरू आफूजस्तै गरीबहरूको कल्याण खातिर प्रतिबद्ध हुन्छन् , पूँजीपतिबाट लिलाम हुन रुचाउँदैनन् ! त्यसर्थ पूँजीपतिहरूका नजरमा उनीहरू जनप्रतिनिधित्वका लागि योग्य हुँदैनन् ! पहिले त उनीहरू चुनावमा उठ्नै हिम्मत गर्दैनन्, उठिहाले पनि चुनाव हार्छन् ।

चल्ने-खेल्ने प्रजातान्त्रिक व्यवस्था मान्छेको शालीन मानसिकता र चेतनामा आधारित नभई पूँजीको वर्चस्वमा भर पर्नेगरेको छ । सरकारी कर्मचारीहरू, जसलाई ‘स्थायी सरकार’को उपनाम पनि दिइन्छ-जनता र सरकारबीचका पुल ! विचराहरू- पदासिन हैसियत र पूँजीकै बलमा शासकहरूकै इशारामा नाच्न बाध्य हुन्छन् । स्वास्नीको गहना, छोराछोरीको शिक्षा, आफ्नो मनोरञ्जन, ठीक समयमा तलब र पदोन्नति-यतिमै उनीहरूको जीवन सकिन्छ ! जनता नामका निरिह पिप्साहरू उनीहरूका अगाडि निर्जिव वस्तुसरह हुन् ! यस्तो भान हुन्छ, मानौं-कर्मचारीहरू त सधैं ‘माथि’-बाट ओरालो झरेको आदेशको भरमा चाहे-नचाहेको नाच नाच्ने यन्त्रमानवमात्र हुन् । उनीहरूमा स्वविवेक छैन, निर्क्योल गर्ने स्नायु तन्तु नै छैन !

धूर्त दलालहरूको सहयोग नभए पूँजीको भरमा चलेको व्यवस्थाका नेताहरू अपांग नै बन्छन् । बूथ क्याप्चरिङ, धम्की, हूल-हुज्जत, मारपिटदेखि हत्यासम्म त्यो व्यवस्थाको चुनाव मैदानमा अनिवार्य हुन्छ । अनि जसले बढ़ी बल र पूँजीगत शक्तिप्रदर्शन गर्छ चुनावी विजय पनि उसैको पक्षमा हुन्छ । त्यसैले यो चल्ने-खेल्ने प्रजातन्त्रका यी वैशाखीहरू, इमान र संवेदना सबै मालिकको ताकमा बन्दकी राखेका यी दलालहरूलाई पनि प्रजातन्त्रकै अभिन्न अंग मानिन्छ । हुकूमको भरमा आँखा चिम्लेर दौडिने प्रशासन वा प्रहरीहरू आफ्नो दायित्व पूरा गरी पुरस्कार थाप्न निर्दोषलाई पनि समात्छन् र धुलाई गर्छन्-मौका परे फरेबी मुद्दा हाल्छन् ! झूट्टो प्रमाण पेश गर्छन् । यिनीहरू निर्धा र कमजोरहरूका निम्ति बाघ अनि बलिया पूँजीपतिहरूका लागि वैशाखी बन्दछन् । अर्काको अपराध खुट्याउने यिनीहरू आफ्नो अपराध चिन्दैनन् । आफूभन्दा माथिल्लो पदको हाकीमबाहेकका सर्वसाधारण जनता र अरु कोहीसित नम्र बोल्न र सहानुभूति राख्न यिनीहरूलाई सिकाइँदैन पनि । हुकूम र हैकमको चेपमा पेलिएर बाँचेका यिनीहरूलाई पनि पूँजीगत प्रजातन्त्रकै खम्बा मानिन्छ ।

जतिसुकै तन्काए तन्किने र छोट्याए छोट्टिने कानूनहरू सम्पत्ति हुनेहरूका निम्ति जुवाको पासा र नहुनेहरूका निम्ति ‘यमढोका’बराबर हुन्छन् । कानूनहरू किताब, कचहरी र वकीलका खल्तीहरूमै सीमित हुन्छन् । त्यहाँभन्दा बाहिर गएपछि कानून कानूनकै रूपमा बाँच्न सक्दैन- पूँजीगत बिनीयोजन गरिन्छ, अर्थमा विनीमय हुन्छ ! वकील नामका कालो वर्दीमा सजिएका कानूनका ठिकादारहरूकै हातमा बांगिरहन्छन्, टुक्रिरहन्छन् कानूनका महलहरू ! त्यसैले यो कालो वर्दीभित्रका कानून व्यापारीहरू पनि प्रजातन्त्रकै अंग मानिन्छन् ।

पूँजीगत प्रजातन्त्रमा देशभरिका सरदारहरू भेला भएर कहिले कुर्सीमाथि आफू र कहिले आफूमाथि कुर्सी राख्ने ‘संसद’नामको महलभित्र जनताको हक-हित किटान गर्ने हेमान्यको कागजी महल खडा गर्छन् । तर, कहिल्यै प्रत्यक्ष अर्थ नखुल्ने शब्दहरू जोडेर ती कागजी महललाई अमूर्त र अप्रासंगिक बनाइदिन्छन् ताकि पछि आफ्नै डकैती समूहका सदस्यहरू डाकागिरीमा पक्रा परे कानूनबाट खुस्काउन नेताहरूलाई सजिलो होस् । सामान्य मान्छेले कहिल्यै नबुझ्ने शब्दजालहरूको भारी हुन्छ संविधानमा । यो संसद नामको महलभित्र सधैं पूँजीकै आडमा सरकार बनाउने र ढाल्ने युद्ध भइरहन्छ । संसदमा सासंदको खूब किनबेच चल्छ सब्जीमण्डीमा राखिएका आलु, कोपी क गोलभेड़ाजस्तै । अभ्यासगत रूपमा यसबाहेक संसदमा अरू केही पनि हुँदैन । अरूका नेतालाई पछार्ने र आफ्ना नेताका कर्तुतहरू ढाकछोप गर्दै उसलाई सत्ताको भर्याङ चढ़ाउने बाघचाल खेलमा सांसदहरू सधैं निर्लिप्त हुन्छन् । यिनलाई त झन यो पूँजीगत प्रजातन्त्रका आमा-बाबु नै ठानिन्छ !

संसदबाटै जनताका महानतम महलहरू बनिन्छन्-बुनिन्छन् तर, आधा बाटोमै चुहेर गन्तव्यमा पुग्दासम्म संसदीय आस्था पकाउने भाँडाहरू रित्तै हुन्छन् ? संसदमा जातीय, वर्गीय, लैङ्गिक उत्पीडनको नाश गर्ने धेरै उपायहरू तय गरिन्छ यद्यपि, उत्पीडनको समाप्ति कहिल्यै हुँदैन । किनकि, उत्पीडनका सूत्र र मतियारहरू कानून बनाउने र त्यसलाई व्याख्या गर्नेहरू नै हुन्छन् । जनताले यो कुरा बुझे विरोध हुन्छ, त्यसपछि दमन शुरु हुन्छ । त्यसबेला चेतना छिप्पिएको भए जनविद्रोहको झिल्का उड्न थाल्छ । जनविद्रोहलाई धमिल्याउन र आफ्नो व्यवस्थालाई निर्विकल्प बनाउन पूँजीका मालिकहरू निक्कै हतारिन्छन् । उनीहरू आफ्नो निहित स्वार्थरक्षाको निम्ति आतंक शुरु गर्छन् र जनताको थाप्लोमा त्यसको अभियोग थोपर्छन् । आतंककै वहानामा पुलिस र सेनालाई यन्त्रझैं मान्छे मार्न र ज्यादति गर्न खटाइन्छ, मान्छेको हितरक्षार्थ बनेका दलहरू, नेताहरू सबै कतै धरपकड त कतै मान्छे मार्ने उद्योगमै सामेल हुन्छन् । आतंक हटाउने नाममा उनीहरू आतंकबाटै जनतालाई त्राही-त्राही बनाउँछन् तर, आतंक उत्पन्न गर्ने तत्वलाई पनि जिउँदै राख्छन् । किनकि फेरि आफ्नो उद्योग बढाउन उनीहरूलाई आतंक जन्माउने त्यो हतियार भविष्यमा प्रयोजनीय छ !
उनीहरूमा व्यक्तिगत र धेरै माथि उठे गुटगत हितको कुरा नै मूल हुन्छ । आमूल परिवर्तन र रूपान्तरणको कुरादेखि उनीहरू निकै डराउँछन्- किनकि त्यसले त यथास्थितिलाई फेरबदल गरी नयाँ परिपाटी जन्माउँछ । नयाँ परिपाटी पूँजीको शासनका मालिकहरूको पक्षमा नहुनसक्छ, त्यो नयाँ स्थितिमा जनता नामका प्राणीहरू सचेत बन्नसक्छन्, भोलिको शासनमा मालिकहरूको हालीमुहाली नचल्न पनि सक्छ ! त्यसैले आफ्नै बोलवाला चल्ने पूरानो व्यवस्था टिकाइराख्न उनीहरुको हरसम्भव प्रयास रहन्छ । भनिने-लेखिने र चलखेल गर्ने प्रजातन्त्रबीचका भिन्नता यिनै हुन् । भोक, रोग, शोक र विभिन्न समस्यालाई भर्याङ बनाएर सत्तामा उक्लिएका दल र नेताहरू चुनावपछि जनताबाट टाडिँदै जान्छन् अनि व्यक्ति तथा अभिजातवर्गको स्वार्थसित नजिकिँदै जान्छन् । आम जनताप्रतिको इमानदारी, उत्तरदायित्व वहन गर्दै उनीहरूको अबोधपन हटाएर जनचेतना बिजारोपण गर्नको सट्टा विभिन्न माध्यममार्फत जनतालाई हुकूम सुनाइन्छ-‘‘सानु मान्छेले राजनीतिमा चासो नदिनू-सत्ताको विपक्षमा राजनीतिक कुरा गर्नेहरूको कुरै नसुन्नू । खास कुरा लेख्ने पत्रिकाहरू कहिल्यै नपढ्नू-राजनीति घिनलाग्दो खेल हो-यसमा पस्न चाहनेहरूले सर्वस्व त्याग्न तयार हुनू-अरुले भनेको सबै झूटा र हामीले भनेको सबै साँच्चो सम्झिनू-शक्ति नभएकाहरूले सत्ताको कुरै नगर्नू-ठूलो मान्छेलाई कहिल्यै जवाफ नलाग्नू, प्रश्न नगर्नू-मुखिया सेठले गरेको गालीलाई पनि अर्ती सम्झिनू-तर, आश्रय लिएर बसेको कसैले राम्रै कुरा गरे पनि नचाहिंदो बाठो भएको अभियोगमा उसैलाई टिपेर झटारो हान्नू’’- आदि आदि ! पूँजीको प्रजातन्त्रमा जनतालाई दिइने शिक्षा यस्तै यस्तै हुन्छ ।

पूँजीको प्रजातन्त्रमा प्रत्येक गौंडा-गल्फामा पूँजीकै काँटी-कप्जा ठोकेर आफ्नो घर बलियो बनाएका हुन्छन् त्यस प्रजातन्त्रका ठिकादार-सरदार र बैदारहरूले । त्यसैले त्यसलाई हेरफेर गर्न, जनजीवनको कल्याणखातिर त्यो व्यवस्थालाई रूपान्तरित गर्न सर्वसाधारणको चेतनादेखि नै आधारभूत परिवर्तन चाहिन्छ । सचेततापूर्ण असंलग्नता नै त्यसलाई लडाउने एउटामात्र निर्विकल्प उपाय हो । ध्वंश, निर्माण अनि फेरि ध्वंश-भन्ने राजनीतिक सिद्धान्तको मियोमा घुम्ने हो भने पुरानोलाई भत्काउने, राम्रोजतिको संरक्षण गर्ने, थोत्रेलाई फाल्ने, थप आवश्यक पुनर्निमाण गर्ने अनि विस्तारै समूल एकताको शासनविहीन अर्थात स्वशासित समाज व्यवस्था खड़ा गर्नु जरुरी हुन्छ । त्यसको तात्पर्य के भने प्रजातान्त्रिक शासनपद्धति जनताको स्वतन्त्रता निर्धारित गर्ने एउटा संक्रमणकालीन स्थिति हो । राजनीतिकै कुरा गर्ने हो भने यो द्वन्दात्मक भौतिकवादको नीतिगत विचारले सच्चा जनतन्त्रलाई दिशानिर्देश गर्नसक्छ । सबै पुराना समाज-व्यवस्थाहरू तोडेर समानतापूर्ण नयाँ परिपाटी, भेदभावविहीन समाज निर्माणले मात्र पूँजीको शासन र जनहितकारी प्रजातन्त्रबीचको अन्तरद्वन्दलाई निर्मूल पार्नसक्छ ।

मृत्युको डर, अनिश्चित भविष्यको खतरा, पारिवारिक भविष्यको चिन्ता, जिउने साधनको अभाव, अशिक्षाको मार, असामाजिक तत्वहरूको आक्रमण हुने खतरा आदिको भावगत हतियार चलाएर जनतालाई सधैं रोगी मानसिकतामा कैद गरिन्छ । जनता आफ्नो आकांक्षालाई ध्यान दिने शक्तिशाली नेतृत्व खोज्न र पाउन सधैं लालायित छन् तर, विश्वसनीय, इमानदार नेतृत्व नपाएर उनीहरु गलतलाई सही ठान्ने गर्दछन् । सधैं भ्रममा राखिएका जनताले भ्रमकै आडमा सपनाहरू बुनिरहेका हुन्छन् । यसरी नै इमानको राजनीति दिनदिनै मरिरहेको छ, शुद्ध प्रजातन्त्र, जनताको तन्त्र दिनदिनै सडिइरहेको छ । यसलाई सञ्जीवनी बुट्टी बाँध्न हात पसार्नेहरू नै यसका हत्यारा भैरहेका छन् । जनताले यो कुरा बुझेर ठोसरूपमा प्रतिक्रिया व्यक्त नगरेसम्म यो क्रम जारी नै रहनेछ । पद र पदासीन व्यक्तिहरू साटेर, झोला-टोपी र गठ्ठाका नामहरू फेरेर यो परिपाटी फेरिँदैन । यसलाई फेर्न समग्र व्यवस्थामा आमूल परिवर्तन चाहिन्छ । नयाँ फल फलाउन र पकाउन त्यहाँको बूढो रुखलाई जरैदेखि उक्काएर नयाँ बोट रोपिनुपर्छ । सामान्य परिवर्तन होइन, रूपान्तरण र गुणान्तरणको पहल चाहिन्छ ।

आजको विश्वमा जनता नामका निर्दोष प्राणीहरूलाई स्वतन्त्र, उन्मुक्त र निर्वाध चलखेल योग्य बनाउन चेतनाको विकास जरुरी छ । एकल, नेतृत्वको हैकम छोडेर समूहनिष्ठ नमूना नेतृत्वको विकास, निजी सक्रियतासितै समाजमुखी पहल, एकल निर्देशन पन्साएर निर्णयमा साझेदारीको विकास आवश्यक भएको छ । अनि सचेत गराउँदै उनीहरूलाई सही राजनीतिको बाटो हिँडाउनुपर्ने भएको छ । यस्तो नेतृत्वको अभाव आज संसारकै अनुभव बनिरहेको छ । अधिकांश ठाउँका नेतृत्वले निजी वर्चस्वको होडबाजीमा नोकर-चाकर लगाएर आफ्नै कुरामा राम्रोपनको ढोल पिटाउनशिवाय अरुथोक गर्न भ्याएकै छैनन् । त्यसर्थ नै बबुरो प्रजातन्त्र सधैं टुहूरो छ, बेसहारा र निरिह छ । यस्तै छन् सर्वत्र भनिने-लेखिने र चल्ने-खेल्ने प्रजातन्त्रका रूपहरू !
सम्बन्धित शासक-वर्गबाटै आश्रय पाएका र एउटै भान्सा बाँड्नेहरूले त जसो गरेपनि राम्रो र उत्तम नै भनिदिन्छन् ! त्यसैमा मख्ख पर्ने व्यक्तिगत लाभका महत्वाकांक्षी नेतृत्वलाई अब सिर्कना लिएर घोकाउनुपर्ने भएको छ-लागत र निर्देशनबिनै, लठैतहरूको प्रयोगबिनै, चोचो मिलाउने र चेब्रे पार्नेभन्दा अलग्गै रहेका- प…रकाहरूले, भान्सा-ढस्ना नबाँड्ने अलग पर्यवेक्षकहरूले निर्क्योल गरी राम्रो भनिदिएको कुरा पो सत्य, असल वा राम्रो हुन्छ ! संसारभरि बढ्दो असुरक्षा महसुस गरिरहेका जनतालाई डटेर शुद्ध प्रजातन्त्रको रक्षा गर्ने साहस दिलाउन मृत्युसित जुवा खेल्न सिकाउनुपर्ने भएको छ । नहिच्किचाई मृत्युमाथि घोडा चढ्ने जनताको मनोबल बनाउनुपर्ने भएको छ । व्यवस्था परिवर्तन गर्न संघर्षप्रतिको प्रतिबद्धता हुनुपर्छ । चारजनाले ‘चिकन रोष्ट’को खाजा खाए, पाल्तु कुकुरलाई गलैंचामा सुताए, परिवारले नयाँ लुगा छालको छाल फेर्न पाए र दिनका दिन मान्छेहरू आफ्नो यश-आरामको दर्शन गर्न आए भन्दैमा त्यो प्रजातन्त्र जनताको प्रजातन्त्र हुँदैन । आज भनिने-लेखिने गरेको जनताको प्रजातन्त्र त भ्रममात्र भएको छ ! यद्यपि, पीडा, दर्द र व्यथाहरूले आकाश छुने भएपछि, दमनको मात्रा सतही भएपछि, चेतनाको बिर्को उघ्रिएपछि, अन्तर-संघर्षको अंकुर छिप्पिएपछि विद्रोहले पक्कै पनि बाटो पहिल्याउने छ । आशा गरौं, क्रियापछिको प्रतिक्रिया, यो वैज्ञानिक सत्य अवश्य लागू हुने नै छ !

One Reply to “‘भलेचखे’ प्रजातन्त्र”

  1. jetho

    यो लेख पद्द्दा मोलाई नेपालमा भैरयाको गति बेदी को याद आयो अनि मोलाई लक्छा यो लेख चै सहारा नेपालीले पद्नु पर्चा अनि राम्रो गर्री भुजीन्छा के हो प्रजातन्त्र अनि राजनिती भनेको र अगी सर्नुपर्छा र नेपालमा भयको सहारा कर्तुत हरु मेटाउनु पर्चा हामी जनता मिलेर.र मो के भन्ने चनाछु रैटर जयूलय भने एस्तो लेख हरु धरै लेखर सहारा नेपालीलाई हौसयला बदैदिनु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *