‘श्वेतपत्र’ का सामाजिक-ऐतिहासिक पक्ष

डा. खेम दाहाल
धरान, नेपाल

१. प्रारम्भः
कवि खेमनाथ दाहाल (२००९, लाबृ, तेह्रथुम) को महाकाव्य ‘श्वेतपत्र’ (२०६७) पन्ध्र सर्गमा पूर्ण भएको छ । यस महाकाव्यमा सर्गहरू फरक फरक लम्बाइका छन्, प्रथम सर्गमा अनुष्टुप छन्दका दुई–दुई जोडी श्लोकका गुच्छा सैंतीसवटा छन् । त्यसै गरी क्रमशः सर्ग दुईमा त्रिचालीस, सर्ग तीनमा छत्तीस, सर्ग चारमा पचहत्तर गुच्छा रहेका छन् र सर्ग पाँचमा पैंसठ्ठी जोडी श्लोक रहेका छन् । त्यसैले सर्गको आकार सानोठूलो हुने देखिन्छ । यसमा हरेक सर्गमा एउटा उपशीर्षक रहने व्यवस्था पनि पाइन्छ । यसको शीर्षक ‘श्वेतपत्र’ हुनुलाई अलिक फरक आँखाले हेर्नुपर्ने भएको छ । भूमिकामा प्रा. गोपीकृष्ण शर्माले भनेका आधारमा अब हिँड्ने यात्रा पथको निर्देशन गर्ने महाकाव्यको शीर्षक ‘श्वेतपत्र’ अर्थपूर्ण हुनेछ । त्यस्तै भूटानी नेता र समाजसेवी टेकनाथ रिजालले ‘यस्तो कृति भूटानले नै लेख्नुपर्थ्यो’ भनी आफू ढिलो भएको अभिव्यक्ति प्रकाश गर्नुभएको पाइन्छ । यो क्रान्तिचेतको एक सही इङ्गित हो भन्ने कुरा प्रारम्भ गर्दा लागेको छ ।

२. विषयप्रवेशः

महाकवि वाल्मीकिले ‘वाल्मीकि रामायण’ सम्पूर्ण रूपमा ‘अनुष्टुप’ छन्दमा लेखेका छन्-
‘पुत्र व्यसनजं दुःखं
यदेतन्मम सम्प्रतम् ।
एवं त्वं पुत्रशोकेन
राजन् कालं करिष्यसि ।’ (महाकवि वाल्मीकि)
कवि दाहालले यही अनुष्टुप छन्दलाई विषय प्रकाशको आधार बनाएका पाइन्छ । ‘आपस्तका कुराहरू’ शीर्षकमा नाटकीकरण गर्दै साना ठानिएर हेपिएका तीन राष्ट्र नेपाल, सिक्किम र भूटानलाई यहाँ दिदी–बहिनीको स्थान दिएर मञ्चन शुरु गरिन्छ । यहाँ मानौं राष्ट्रहरू दिदी–बहिनी हुन्, जेठी नेपाल, माहिली सिक्किम र कान्छी भूटान आफ्ना समस्यालाई दर्शकका सामुन्ने राख्दै हुन्छन् ।
‘भन्थिन् नेपाल जेठी हुँ, सिक्किम माइली अरे । कान्छी भूटानले भन्थिन् तिनी छैनन् खुशी अरे ।’ कविको आफ्नो उपस्थिति तीन बहिनीको भलाकुसारीको बीचमा रहेको देखाउ“दा परिधीय दृष्टिबिन्दुको ठाउ“मा टेकिन्छ । पात्रको अगाडि लेखक पात्र छेउमा उभिएको अर्थात् आफ्नो उपस्थिति रहेको सूचना गरिएमा आन्तरिक परिधीय दृष्टिबिन्दु हुन्छ (श्रेष्ठ, २०६० ः १०) ।

‘जब थाले“ म यो लेख्न सोचे“ धेरै कुराहरू
अतीव गोप्य यो वार्ता भङ्ग गर्दा झनै अरू ।’

यस काव्यमा पात्रबाहेक अर्कै समाख्याता रहेको कुरा यी माथिका भनाइले देखाउँछन् । पृथ्वीको अन्न पानी खाएको पनि हो, दोष काट्नका लागि दुःख पाएका तीन बहिनीका बीचमा नाटकमा झैं पात्र प्रवेश गरेको शैली एक शिल्पप्रविधि पनि हो । अहिले विधामिश्रणको युग आएको छ, एउटै विधाको अधिकार हट्दै गएको युग आजको उपलब्धि हो (भट्टराई, २०६२ ः ७९–८७) । कथाभित्र कविता र नाटकभित्र कवितादेवी रमाएकी सुन्दरी जस्तै लाग्न थाल्छिन् ।

तीन हिमाली राष्ट्रहरू गम्भीर समस्यामा परेका छन् । क्रान्तिकारीले ल्याएको क्रान्तिबाट जनतामाथि परेको भौतिक र मानसिक आघात नेपाल (दिदी) को समस्या हो । यसको प्रारम्भ वि.सं. २०५२ देखि भयो र २०६२ मा चर्कियो । यस क्रममा सेना र क्रान्तिकारीसम्मको द्वन्द्व, साधारण मानिसको हताहत, अड्डा र व्यक्ति घरहरूको विनाश तथा राजा ज्ञानेन्द्रको निर्गमन–निष्काशनसम्मका प्रमुख चरणहरू नेपाल आमाले भोगेकी हुन् । दोस्रामा भूटानको समस्या वि.सं. २०४७ पछि नेपालमा पञ्चायती शासन समाप्त भएको समय तथा भूटानमा नेपाली मूलका (‘लोत्सोम्पा’ भूटानको आधाभन्दा बढी भाग ढाकेका आदिवासी) भनिएका नागरिकलाई सांस्कृतिक समस्यामा हुँडल्दै एकै धर्म र संस्कारभित्र पस्न बाध्य गराएर शुरु गरिएको दमनले उग्र रूप लिएपछि भूटानबाट यस्ता नागरिकहरू लखेटिएका हुन् । ट्रकमा हालेर मेची नदीका किनारमा ल्याइदिने र फर्कन नदिने भारत यसको सहायक गुप्त रूपको नियामक हो । त्यस समस्याले नेपालभरि दया लाग्ने अवस्था सिर्जना गरेको छ । शिविरहरूमा शरणार्थी जीवनयापन गर्ने भूटानी नेपालीको अवस्थाबाट दिदी भनिएकी नेपाल भूमिको गरिबीमाथि अझ चर्को अवस्था थपिन्छ । त्यसै गरी सिक्किमलाई माइली भनिएको छ जसको अस्मिता ठूला राष्ट्रबाट लुटिएको, पराधीनका तहको बनाई आफ्नो नियन्त्रणमा लिँदै विस्तारवादी सोचको प्रयोग भूमि बनाइएको छ । यस विषयलाई पात्रका संवादमा रूपान्तरण गरिन्छ (दाहाल, २०६७ : ४) । हिमाली शृङ्खलाका सन्तति सिक्किम (माइली) ले प्रस्तुत गरेको संवादमा नेपालमाथि श्रद्धा गरिन्छ । आफू थाहा नभएको कतिपय गुणहरू अरूबाट इङ्गित हुन्छन् ।

‘मूली हौ कुलकी हाम्री तर देख्दछु निर्बल
तिमीभन्दा त हामी छौं सारै नै अझ दुर्बल ।
तथापि आँसु झार्दैनौं कसैका कहिले अघि
डर लाग्छ झरे आँसु पराई हाँस्छ रे भनी ।’

भूटानका वेदनालाई विश्वसामु राख्न प्रस्तोता परिधीय दृष्टिविन्दुमा उभिन्छन् । बलिया पाखुरा भएका नेपालीहरूले जङ्गल फँडानी गरेर बस्ती बसाए, सहर र गाउँको विकास गराए, खेतीको लागि उर्वर जमिन रहरलाग्दो देखाए । यी नेपाली मूलका भूटानी (लोत्सोम्पा) हरूले गरेको परिश्रमलाई सम्मान गरिन्छ । सहर र उद्योग बनाउने एउटा निहुँमा यिनलाई अन्त सार्ने, धर्मसंस्कृति मेटाइदिने र भूटानी धर्मको पालना अनिवार्य गराउने कानून ल्याएर दुःख दिएको प्रसङ्ग उठाइन्छ ।

‘कान्छी बुझ्दिन यो मोरी लाटी जन्मिछ वंशमा
मेरो अस्तित्व लुट्नेको तँ छस् है वक्रदृष्टिमा ।’

जसले जेठीको सीमावर्ती क्षेत्रमा आतङ्क रोप्छ, माहिलीको अस्मिता खोस्छ र कान्छीका शासकलाई उक्साएर नेपाली मूलका वीर सन्ततिलाई पराईको व्यवहार गर्छ । यसमा उपायको निर्देशन भएका श्लोकमा पद अन्त्यमा यति भएका काव्यगुणले युक्त श्लोक हेर्न सकिन्छ–

‘अरूका पासमा जान्नँ समस्या बीचमा लिई
हाम्रा साझा समस्याको गरौं निधान लौ मिली ।’

पदका बीचमा यति (जिब्राको गति रोकिनु) भएमा काव्यदोष हुन्छ, त्यस्तो दोष यी श्लोकमा छैन, आठ अक्षरको अन्त्यको जान्न, लिई, समस्याको र मिलीमा यति वा विश्राम रहन्छ ।

पराजय भोग्नेको आवाज प्रखर हुनुपर्छ भन्ने विश्वदृष्टिको चेतना एउटा नीति हो । यसको प्रमाणका लागि पराजय भोग्ने राष्ट्रहरूको समस्या टड्कारो पारिएको परिदृश्यमा नाटकीय शिल्प सफलतातिर उन्मुख रहेको पाइन्छ ।

‘भन्थिन् छट्पटिई आफैं भएर भाव विह्वल
सबका सामुमा झल्क्यो विदीर्ण भाव केवल ।’ (सर्ग–१, श्लोक–२०)

यसमा भूटानको समस्याको एउटा विम्बात्मक आकार आउनेछ र ऊ मानवीकरण गरिएको पात्र बोलेको नाटकीय स्वरूपमा विधामिश्रणको कारिगरी देख्न सकिन्छ ।

‘गर्ला विकास छोराले छिट्टै होला समुन्नत
भन्ने आशा थियो मेरो तर पार्यो कलङ्कित ।
आफ्ना स्वजन मारेर राजतन्त्र बचाउने
बुझेन कसको चाल ? आफैंलाई फसाउने
छिमेकीको भलो चिताउने विश्वराजनीतिमा ।’

छद्म रूपले मत्स्यन्याय भयावह भएको पीडा प्रकाश गर्दा भूटानवको भूमि (राष्ट्र) बोलेको छ । माता भएका नाताले पनि सबै सन्तान बराबर छन् भन्नुपर्ने कारण रहेको हुन्छ । ती भूटानी र अभूटानी (नेपाली मूल) भनिएका विभेदहरू साँगुरा गल्ली हुन्, तिनलाई भत्काएर ठूला सडकमा व्यापक बिस्तार नगरी नहुने भन्ने विषय सरल र सरस रूपमा आउनु यस प्रसङ्गको कला पक्ष हो । यी हेपिएका राज्यमा भने आपसी मेलमिलाप राम्रो छ ।

‘टुक्र्याई यिनको आत्मा गर्नु शासन त्यो गरी
हुँदो रहेछ लासैमा बलात्कार गरे सरी ।’

उपमा अलङ्कारको विकास गरिएका अनेक श्लोकमा वर्णन गरिने विषय उपमेय बलले शासन गरेको स्वरूप, उपमानको स्वरूप लिई आएको स्थिति भनेको लासमा गरिएको बलात्कार हो, समान धर्म भनेको दुवैमा देखिएको कायरता हो भने ‘सरि’ वाचक शब्द आएको छ । यसमा हिमालयलाई पिता भनिएको छ, भूटान, नेपाल र सिक्किम उनका छोरीहरू हुन् भनिएको छ । हिमवत खण्डको परिचय गराउँदा पूर्वमा ब्रह्मपुत्र नदी हुन्, उत्तरमा कैलाश र प्रतीच्च (पश्चिम) मा हिन्दुकूल पर्वत हुनु तथा यी दुईको बीचमा उक्त राज्य रहनु भौगोलिक सीमाको मान्यता हो, सम्मान पनि हो । भारत खण्ड एक थियो, आपसमा झै–झगडा शुरु भयो, राज्य टुक्रामा विभाजित भयो । यसरी भाइभाइमा खिचाखिच भएपछि हजार वर्षसम्म मुस्लिम भूपति भए, धर्मको परिवर्तनका प्रयास आए, कतिले भागेर यसको संरक्षण गरेका थिए । धर्मको हस्तक्षेप गरिएपछि शासकको नाङ्गो रूप चिनिनेछ र उसका हैकमको प्रतिकारमा उत्रने उपाय खोजिनेछ ।

हिमाली शृङ्खला भएका मुलुकमाथि फिरङ्गीले आक्रमण गरेको अवस्थामा नेपाल राष्ट्र अखण्ड र अविचलित रहेको हो । पश्चिम काङ्गडा र पूर्वमा सिक्किमसम्म यस राज्यको विस्तारमा आएको हो । यी तीन राष्ट्र नेपाल, भूटान र सिक्किम भूगोलका हेराइमा मात्र भिन्न भएका हुन् र भाषा, संस्कृति, धर्म र रीतिरिवाजमा एउटै छन् । यस प्रसङ्गमा रुस, फ्रान्स, जर्मन जस्ता राष्ट्रहरू पनि संयमित हुन सकेनन्, टुक्रामा रूपान्तरण भए भनिएको छ ।

विश्वको राजनीति, अर्थव्यवस्था र अहिले टुक्रिएका स्थितिमाथि कवि दाहालको गम्भीर चिन्ता सर्ग दुईले देखाउँछ (दाहाल, २०६७–१८) । शक्तिशाली रुस हाम्रै अगाडि टुक्रा–टुक्रामा विभाजित भएको इतिहास छ । यसको स्मरणमा साम्राज्यवादले साम्यवाद सहन गर्न नसकेको हो । यसको परिप्रेक्ष्यमा टिटो, युगोश्लाभ अहिले वर्तमानमा छन् भने पुरानो युग सत्य, त्रेता, द्वापर युगमा अश्वमेघजस्ता युद्धहरू भए, ती युद्धहरू विकासका वाधक थिए । युद्धका कारणमा नारी, राज्यलिप्सा र दम्भ प्रमुख कारक ठानिएका छन् । महाभारतको युद्धमा युद्धको कारण द्रौपदी हुन् । नेपालका तर्फबाट प्रकाश गरिएका विषयहरू आफैं कथासँग जोडिँदा मुलुकका सीमाहरू मिच्ने, कालापानी, सुस्ता, दशगजाका घाउहरू कोट्याइएका छन् ।

सिक्किमले गरेका कामको आलोचना भएको छ, नेपालले पनि धैर्य गरेमा राम्रा दिनहरू आउने आशा गरिएको छ । आमा भएर भूटानले सन्ताप भोग्नुपर्ने दिन आउनेछ, किनकि सन्तानहरू अहिले पनि माताको अति–आदर गर्दैछन् । सिक्किमले अस्मिता गुमाएको छ, किनभने आफ्ना सन्तानमा झगडा छ । यी विषयलाई सर्ग २ ले उच्च प्राथमिकताका साथ प्रस्तुतीकरणमा ल्याउँछ ।

कवि दाहालले सिक्किमका तर्फबाट दिदी नेपालसँग राखेका गुनासाहरू सर्ग तीनमा उपस्थित गराएका छन् । (दाहाल, २०६७– १८–२५) । सिक्किमले आफ्नो कमजोरी, माथिकाले गरेको अपमान, तलकाले राखेको वक्रता, राजनीति आदिको सारांश गर्दै अस्मिता गुमेको स्थितिमाथि प्रकाश पारेको छ । यी भने सामान्य कुरा होइनन्, ठूला राष्ट्र चीन र भारतका गहिरा नीतिहरू हुन् । यसको टिप्पणी

‘चीन ठूलो भयो भन्ने गर्छौ बात तिमी सदा ।
म त मान्दिनँ आत्माले नगर्नु त्यसले गर्यो ।’

सिक्किमे सन्ततिले त्यस समयमा गरेका भूलहरू, भारतका अधीनमा परेको विषय, चीन रमिते मात्र भएको सन्दर्भ र क्रियाकलाप आपत्तिका विषय हुन् । छिमेकी मर्दा र पर्दा काम लाग्छ भनिए तापनि बैरी झैं चुपचाप रमिता हेर्ने अधम भएको एक सन्दर्भ विचारणीय छ । यसमा नेहरू र चाउको अघोषित सम्झौता भएको, चीनले तिब्बतलाई अधीनमा ल्याएको भन्नेजस्ता आशङ्काहरू प्रवल छन् । सिक्किमले तिब्बती शरणार्थीलाई शरण दिएको र चीनले सिक्किमको समस्यामा मुख बन्द गरेको पनि भनिएको पाइन्छ । यस सन्दर्भमा संयुक्त राष्ट्रसङ्घ जस्ता संस्थाहरू समेत छन् तर ती सबै शक्तिका पुजारी बन्छन् भनिन्छ । इरान, अफगान, श्रीलङ्का जस्ता राष्ट्र अशान्ति छ तर राष्ट्रसङ्घले ती राष्ट्रको समस्या हल गर्न सकेन भन्ने आरोप छ ।

‘चारैतिर म देख्दैछु शकुनिजनको बल ।
तथापि हार मान्दिनँ हुँदैन पीर यो चिरा ।’’

यसमा रूपक अलङ्कारको गरिमामय प्रस्तुति रहेको छ, मूल प्रसङ्गलाई कपटी पासाको आरोप लागेको छ ।

नेपालले बोलेको संवादमा सिक्मिकको अस्मिता र चीनको भूमिका सर्ग चारमा सम्प्रेषित हुन्छ । सिक्किमले चीनलाई दोष लगाए पनि नेपालले चीनको पक्षमा बोल्छ । सिक्किमले आफैं भारतको भर परेर, राजाप्रजाको सोच नपुगेर अधिनस्थ हुनु परेको बताइन्छ । काव्यमा चीनलाई व्यवहार कुशल, सिक्किमलाई सोचाइहीन, तिब्बतलाई द्वैधचरित्रको भनी नाटकीय पाठबाट बहिनीलाई बुझाइन्छ । नेपालकी पुत्री भृकुटीलाई चीनले देवीजस्तै ठानेको कुरामा चीन महान् छ । तिब्बतका दोषी कर्महरूमा दाउपेच र गलत नीतिका निर्णयहरू रहेको सारसंक्षेप गरिएको छ । अनुष्टुप छन्दमा श्लोकमा भारत पराधीन भएको, गान्धीको सत्याग्रहले पुनःस्वतन्त्र भएको र त्यस्तो कूटनीति गोराहरूबाट भारतले सिकेको हो भनिन्छ । सिक्किमले घोषित रूपमा कसैसँग सहयोग नमागेको दोष पनि लागेको हो ।

भारतको नीतिमाथि सारांश गरिन्छ, वृद्ध बाझ झैं सन्धि गर्ने, मौका परेमा गल्छिँडा ढुकेर हुर्मत लिने, असल मित्रको नाटक गर्ने, जलस्रोत र सुन्दर हिमालमा आँखा गाड्ने नीति असल छिमेकीको होइन भनिन्छ ।

‘चाहन्छ यसले जैले छिमेकी उसका मुनि ।
सहारा उसको माग्ने मगन्ते झैं बनून् भनी ।’

छिमेकी उपमेय, मगन्ते भिखारी उपमान, दुवैका दिनहीन स्थिति समान धर्म र ‘झैं’ वाचक शब्द रही उपमा अलङ्कारका पूर्णोपमा भेद विकसित भएको पाइन्छ ।

युगचेतनालाई सचेत स्रष्टाले अवलम्बन गर्दछन् । यसका लागि वरिपरिको सामाजिक र भौगोलिक वातावरण उत्तरदायी हुन्छ । यस चेतनालाई ‘विश्वदृष्टि’ भनिन्छ । विश्वदृष्टि भनेको कुनै समयको उपलब्धि हो, यी ऐतिहासिक र सामाजिक तथ्यहरू, सोचाइ र व्यवहारहरू, व्यक्तिबाट होइन, समाजबाट विकसित भई पुरानाबाट नयाँमा रूपान्तरण हुने र स्थापित हुने गर्छन् । (गोल्डम्यान, १९८०– ११३) । यस्ता विचारमा नेपाल तथा दक्षिण एसियाका मुलुकहरू प्रायः आतङ्कबाट पीडित देखिएका परिप्रेक्ष्यमा नेपालभित्र सल्काइएको जनयुद्ध सं. २०६० का वरिपरि डरको कारण र त्यसबाट त्रसित मानसिकता त्यस समयले दिएको युगचेतना हो । यसको उदाहरणमा दाजुभाइका बीचमा काटाकाट भएको अर्थहीन क्षति एक प्रमाण हो (दाहाल, २०६७ – ४२) । यस मारामारका कारण धेरै होलान्, राजसत्ताको अन्त्य एउटा कारण देखिएको छ । यस जनयुद्धका बेला आमाको छाती रक्तरञ्जित भयो, यस्तो दुःखदायी क्रान्ति हिजो रोकिएको जस्तो भए पनि त्यस्तै स्वार्थी व्यक्तिको सक्रियता आज पनि रहेको हुनाले सचेत बन्नुपर्ने अवस्था अबको विश्वदृष्टि जस्तै छ । यसलाई पुनः अर्को बुँदामा विमर्श गरिनेछ । लेप्चाहरू पहिलेदेखि नै सिक्किममा बसोवास गर्थे, भोटेहरू पछि आए । लेप्चाहरू सोझा थिए । ती सोझाहरूमा अन्याय गरियो –

‘बने सन्धि भएपश्चात् तिब्बती नवशासकी ।
लेप्चा ती बिचरा सोझा भए केवल शासित ।’

भोटेलाई नेपाली सेनाको डर थियो, त्यसबाहेक नवशासक बनेर पुराना जनता लेप्चामा शासन गर्नसक्ने स्थिति थियो । त्यस स्थितिमा भोटेले इष्ट इन्डिया सरकारलाई सहयोगको आह्वान गरेर नेपाली सेनाबाट बच्ने ठान्यो, तर इस्ट इन्डिया कम्पनी सरकारले जरैसम्म खोल्ला कि भनी सोचिएन छ । (दाहाल, २०६७– ५९) । राजाले म र मेरो भन्ने साँगुरो सोच राखेर देशमा अशान्ति फैलाएपछि अरू पराईलाई हडप्न सजिलो भएको विषय आकर्षक छ । लुब्बक पेर्सी गम्भीर विषयलाई नाटकबाट प्रकाश गर्ने धर्म आख्यान प्रधान साहित्यमा हुने शिल्पको सङ्केत गर्छन् (लुब्बक, १९९३ – १५७) । यस महाकाव्यलाई पनि लागू भएको हेर्न सकिने रहेछ, ‘श्वेतपत्र’ महाकाव्य ऐतिहासिक आधार टेकेर नाटकीय ढङ्गमा प्रस्तुत हुन्छ ।

३. अनुभूतिको संरचनाः

कुनै कृतिको विषयलाई विकसित रूपमा ल्याउँदा त्यसको स्रोत र पृष्ठभूमिले पाठ खेलेको हुन्छ । यस पृष्ठभूमिलाई अध्ययन गर्ने लेखकले धेरै कुरा समाजबाट अवलम्बन गर्दछन् । त्यसको आधार वस्तु, इतिहास र पुराना ग्रन्थहरू हुन्छन्, रेमन्ड विलियम्स (१९२१–१९८८) ले मैथ्यु आर्नोल्डको ‘कल्चर एन्ड एनार्की’ पढेर ‘कल्चर एन्ड सोसाइटी’ लेखेको विषय यसैको परिणाम हो (पाण्डेय, १९८९ – १६३) । यसमा अध्ययन कर्ताले केकस्ता विषय समेटिए तथा केकस्ता विषय छाडिएका रहेछन् भनी परीक्षण गर्छन् यस पुस्तकका शब्दको अर्थको विकासको नक्साका साथासथ समाजको जीवन र चिन्तनको विकासको नक्सा पनि सामुन्ने आउँछ । यस प्रक्रियामा शब्दको अर्थको संरचना सामाजिक जीवन र चिन्तनको संरचनाको द्योतक बनिदिन्छ भन्ने धारणा रेमन्ड विलियम्सबाट ग्रहण गरिएको छ । यसको प्रमाणका लागि रेमन्ड विलियम्सले ‘किङ् लियर’ तथा ‘हेमलेट’ (विलियम सेक्स्पियरका नाटकहरू) को अध्ययन गरेर सामाजिक सम्बन्धित र सङ्केत गर्दा भ्रष्टसत्ताको वैयक्तिक अनुभूति र सामाजिक गतिशीलताका बीचमा अन्तर्विरोधको अभिव्यक्तिमा निहित तनावबाट नाटकको भाषा र विषयले विशिष्ट रूप लिएको ठहर गरेका छन् । इङ्गलेन्डमा गृहयुद्धको प्रभावबाट उत्पन्न सङ्कटले नाटकको रूपलाई प्रभावित पार्यो भनिन्छ (पाण्डेय, १९८९– १९२) । यस प्रसङ्गमा सन् १९३० को दशकमा मार्क्सवादी आलोचकहरू समाज र साहित्यको सम्बन्ध खोज्ने सिलसिलामा सतहीपना र बलात्को प्रवृत्ति अवलम्बन गर्न पुगे । यसमा अर्को सोझो कुरा बेलायती मार्क्सवादी आलोचकले स्वच्छन्दतावादीसँग मार्क्सवादी विचारलाई मिसाइदिए (विलियम्स, १९९३– २७१) । त्यसकारण यसमा कलाकारले विशेष गरी इतिहास र यथार्थलाई मनन गर्नुपर्ने देखिन्छ ।

कवि दाहालले इतिहास, जीवन अनुभूति र राजनैतिक अस्थिरतालाई आधा र बनाए र एउटा अनुभूति प्रकाश गर्न योग्य ठानेका छन् । यस प्रकाशनमा राज्यले निष्पक्ष बन्नुपर्ने र आलोच्य बन्नु नहुने स्थितिको माग गरेको पाइन्छ । नेपालबाट राज्यसंस्था फालिने कारणहरू प्रकाशमा आएका छन् जसलाई अनुभूतिमा लिँदा सामन्तवादको आधार र राजसंस्था भएको पाइएको, अत्याचार तथा कुशासनको भारी नै राजाले बोके भन्ने विषयलाई सरल शब्द र अनुष्टुप छन्दमा श्लोकमा प्रकाश गरिएको पाइन्छ । नेपालको अनुभूतिले नेपालकै हिसाबले भूटानी राजा फालिने र जनताले फर्किएर आफ्नो ठाउँमा सुखशान्ति पाउने भविष्यवाणी गर्दै राज्यसत्ताको दोष बढेको देखाइन्छ । सिक्किमका जनताको, नेपाली मूलका प्रियजनको अभिलाषाले माग गर्दछ–

‘हामी भन्दा अझै साना कैयौं राष्ट्रहरू पनि ।
स्वतन्त्र देश छन् आमा ब्रह्माण्डमा अझै पनि ।’

राजसत्तँ गुम्ने कारणहरू राजाले भारतमाथि गरेको विश्वास, विस्तारवादीले क्रमशः साना हिमाली राज्यहरू हडप्ने नीति लिएको कुरामा एउटा विश्राम गरिन्छ । सिक्किमका राजाले आफ्नै गल्तीका कारणले परतन्त्र बन्नुपर्ने दिनको निमन्त्रणा गरेको अनुभूति यस प्रसङ्गको मूल आधार हो ।
सिक्किमका जनताले परतन्त्रका साथै उच्च स्तरको जीवन भोग्न पाएको एउटा तर्क प्रशासनले अगाडि सार्न सक्छ, त्यसको अनुभव राष्ट्रिय चेतनाको भावनामा नपुग्ने जनताले शिक्षादीक्षा र भोजनादि पाएको गौरव पनि गर्लान् । तर यथार्थमा अर्काको दास भएको स्थिति आत्मा दुख्ने खालको हुन्छ । सिक्किमले आमाको रूपमा बोल्दा, आफ्ना भूलहरू प्रकाश गर्दा अहिले विकसित अनुभूति प्रशस्त छोइने प्रकारको पाइन्छ, जस्तै–

‘लुटिएँ कि म त्यो बेला निष्क्रिय कसरी भएँ
सक्रिय हुनुपर्नेमा रमिते झैं म नै भए ।’

यस प्रसङ्गले चेतना ढिलो गरी आएको सम्बन्धलाई सामन्तवाद, विस्तारवादको आलोचना नगरी नहुने स्थिति अनुभव गरिन्छ ।
नेपालीहरूलाई परेको मर्का एक प्रसङ्गले अनुभूतिको संरचना भई आएको छ । यसमा सन्धि गरी नेपालका नदीनाला आफ्ना बनाउने, वर्षामा कोसीको बाढी नेपाली गाउँतिर ढोलिदिने, कालापानी र सुस्ताजस्ता धेरै ठाउँमा सीमा मिच्ने काम भएको स्थिति मत्स्यन्यायका ढपको पाइन्छ (दाहाल, २०६७– १०९) । नेपालमा भूटानीलाई शरणार्थी बनाउने खेल भारतले खेलेको हो । पहिलेका सन्दर्भहरू इतिहास झैं झलमल भएका छन्, भारतले नेपालसितको युद्धमा पानीनाली काटेर अपराध गरेको इतिहास सत्तरीजना केटाकेटी तथा आइमाईले हातमा खुकुरी देखाई गोरालाई चुनौती दिएको नालापानीको इतिहास स्रोतका रूपमा प्रयोग गरिएको छ । विस्तारवादीले नालापानी, खलङ्गा र मकवानगढी खोसेको इतिहास हिमाली राज्यले भुलेको छैन । पहिलेदेखि अहिलेसम्म भारतले आफू पराधीन भएको इतिहास भुलेर छिमेकीमाथि अपराधको कूटनीति गर्दा मन भित्रभित्र अङ्कुश राख्ने र बाहिर मित्र राष्ट्रको पाठ खेल्ने गरेको अनुभूति स्थापित हुने देखिएको छ ।

४. ‘विश्वदृष्टि’

कुनै समयको एउटा प्रबल चाहनालाई ‘विश्वदृष्टि’ भनिन्छ । यी तथ्य र चाहनाहरू पहाडी मुलुक नेपाल, भूटान र सिक्किमका जनताले राखेका अभिलाषाझैं प्रकाश गरिएका छन् । ‘श्वेतपत्र’ का जनता नेपाली, भूटानी, सिक्किमी हुन् जहाँका राजाले सेनाका बलमा राज्य चलाएका हुन् । सिक्किम र नेपाल दुवैले राजा छन् भन्ने आशा राखेका थिए तर राजाले प्रजामाथि नै अत्याचार गरेपछि विनाश भयो । सधैं सत्य नभए पनि सयौं वर्षसम्म सत्य हुने किसिमको विचार विश्वदृष्टिमा हुन्छ । यसमा पहाडी मुलुकका अभिलाषाहरू परिभाषित हुनेछन् र परतन्त्रको पीडा हटाउने निकास बनिनेछ । त्यसका लागि हिम्मतका साथ आउनेछन्, युद्धको दुन्दुभि फुक्ने तथा भूललाई सुधार गर्ने विचारको जनचेतना पहाडी देशहरूको विश्वदृष्टिका तहमा पुगेको तथ्यात्मक सोचाइ र व्यवहारको समष्टि एउटा चाहना हो । अल्पविकसित राष्ट्रहरूले राख्नुपर्ने प्रेरणाको विषय भोकभोकै बसेर भए पनि स्वाधीनता बचाउनुपर्छ । रामका पालामा सीताको अपमान भएको पुरानो मिथक, कृष्णका पालामा यलम्बरको मिथकले प्राचीन युग र त्यसबेलाको नीतिलाई निर्देश गरेका छन्, त्यसैले यस कृतिको विषय व्यापक रहेको र समीक्षामा अटाउन सहज नहुने पनि छ ।

५. महाकाव्यका लक्षण र आधारः

महाकाव्यमा रस र ध्वनिको उचित निर्वाह हुनुपर्छ । ध्वनि काव्यको आत्मा हो, ध्वनि वाच्य र प्रतीयमान अर्थ हो, ध्वनि शब्द र अर्थद्वारा व्यक्त हुने काव्यविशेष हो (उपाध्याय, २०६१–१९१) । भित्री अर्थलाई अभिव्यञ्जन गर्ने काव्यलाई ध्वनि काव्य भनिन्छ । प्रा. केशवप्रसाद उपाध्यायले पूर्वस्रोतलाई आधार मानेर परिभाषा गरेका आधारमा सहृदयप्रशंसित र सहृदयीजनलाई आल्हाद प्रदान गर्ने काव्यात्मा मानिएको वाच्यार्थ र प्रतीयमान अर्थ व्यङ्ग्यार्थ ध्वनि हो (उपाध्याय, २०६१– १९२) । यस मान्यताले यस्तो अभिव्यक्तिमा सह्दयी पाठकलाई आनन्द दिने गुणयुक्त शब्दहरू देखिएका छन्, यस काव्यमा प्रतीयमान अर्थभन्दा वाच्यार्थको स्थान प्रबल भई बसेको छ ।

‘बेच्ने छैनन् तिनी मान कोसी, काली र गण्डकी
बरु फर्काउलान् चा“डै दिएको देश बन्धकी’

यस प्रसङ्गमा प्रतिद्वन्द्वीको पाठमा छिमेकी मित्र राष्ट्र रहेको छ, उसका कार्यहरू आलम्बन विभाव रहेका छन्, तिनका मेची कोसी खरिद गर्ने प्रयास उद्दीपन विभाव रहेका छन्, उनका हाँकपूर्ण विषयहरू तिम्रो देशको क्रान्तिकारीबाट भारतको शान्तिमा आँच आयो भन्ने आरोप अनुभाव, नाकाबन्दी गर्ने प्रयास अनुभाव र विपक्षीमाथि लगाइने सोच, धैर्य, रोमाञ्च आदि व्यभिचारिभाव भएर वीर रसको निष्पत्ति भएको पाइन्छ (दाहाल, २०६७– १२३) । देशवासीको भलाइमा राज्यले देखाउने वीरताको प्रशंसाभित्र युद्धवीर र धर्मवीरका उदाहरण पाइन्छन् ।

भूटानीहरू भनी शरण पाइरहेका नेपालका शिविरमा कष्टको जीवन बिताइरहेका शरणार्थीहरू आफ्नो देश फर्कन चाहन्छन् । भारतले तिनलाई ट्रकमा हालेर मेचीकिनारमा छाड्न जान्दछ, फर्किएर जान प्रतिबन्ध लगाउँछ । नेपाली मूलका भनी धपाइएका नेपालीहरू त्यस भूमिको उर्वर रूप देखाउने परिश्रमी साधक हुन्, राजाले आफ्नो स्थिति नबुझेर धपाएको सत्य इतिहासमा कलङ्क हो ।

‘माया मारेर के जान्थे आमालाई रुवाउँदै ।
वर्षौंवर्ष तिनी लड्छन् फर्किन काखमा अझै ।’ (पृ. १५२)

वीररसका रसिला शब्दमा वीरको प्रशंसा भएका वाच्यार्थप्रधान यी शब्दको ध्वनिको व्यङ्ग्यार्थ प्रधान तहको अर्थ दिन नसकेको स्थिति पाइन्छ । कतै प्रतीकको प्रयोगबाट प्रँचीन महाभारतको कथा झल्कन्छ, त्यसमा वाच्यार्थभन्दा परको अर्थ खोज्न सकिन्छ । ‘शकुनि’ शब्दका विम्बले ‘महाभारत’ को जाली खेलजस्तै भूटानको राजनीतिलाई ठानेको पाइन्छ । नेपाली मूलका मानिसहरू राम शाहका पालामा मागेर लगिएका थिए । तिनीहरू यस वाङ्चुकको राज्यसत्तँभन्दा पुराना आदिवासी थिए भन्ने निचोड ऐतिहासिक तथ्यबाट प्रकाश गरिन्छ (दाहाल, २०६७ –१६१) ।

‘सरयू यमुना गङ्गा नाच्दै आनन्द नादले ।
शान्ति सन्तोष–सन्देश समुद्रान्त पुर्याउँथे ।’

यहाँ समुद्रान्त शान्ति–सन्तोष सन्देश पुर्याउनु रूप वस्तुबाट रामराज्यमा लोकव्यापी प्रेमरूप वस्तुको ध्वनि छ (सिग्द्याल, २०२८– ४१) ।

‘किन गर्दै छ राजाले प्रवृत्ति कालिदासको
लाग्छ कुकर्मले आफै“ दिन गन्दै छ अन्तको ।’

यसमा कुकर्मको प्रवृत्तिको वस्तु प्रकाश गरिँदा हास्यरूप किंवदन्तीसिक्त वस्तुध्वनि विकसित हुन्छ ।

यसमा दाहालका काव्यले अझ व्यञ्जना शक्तिका पछि लाग्ने, प्रशंसाको ढङ्गबाट विषयको आलोचना गर्ने सामर्थ्यको विकास गर्दै जानेछ । अर्को महाकाव्यबाट सर्किनीको गर्भाधान, बालकको हत्यापछि अबलामाथि खुकुरी प्रहार गर्नेको आलोचना व्यञ्जना शक्तिबाट गरिँदाको रूप यस्तो छ –

‘भो जानें मैले पुरुष तेरै रहेछ पौरुष ।
वीरता तेरो अमर रहोस् विश्वमा सदैव ।।’ (‘मानव’ महाकाव्य)

६. निष्कर्ष –

यो सेतो कागजमा लेखिएको राजकीय विज्ञप्ति झैं जनताका छोराले तयार पारेको वार्तापत्र हो ।

‘श्वेतपत्र’ ले हिमाली देशहरूका समस्या र तिनका समाधानको निष्कर्ष दिन्छ । वीरताका धनी स्वाधीन हुने भूटानीले एक ढिक्का भएर क्रान्ति गरेमा आफ्नो प्राप्ति निश्चित हुन्छ । अन्तर्राष्ट्रमा शरणार्थी ओसार्ने नीतिमा कालो स्वार्थ हुनसक्छ । भूटानतर्फ हेर्दा बाबुछोरा राजामा राजाको संस्कार नभएको स्थिति छ । यसमा राष्ट्रसङ्घ र दातृसंस्थाहरू सबैको बाँच्ने आधार दानदातव्य भएकाले सिक्किम, भूटान तथा नेपालका समस्या टार्न यिनीहरू असमर्थ छन् । भूटान आमाले आत्मनिर्भर बन्नुपर्छ, कुर्सीको विवादले सिक्किमले त्यस्तो रूप लियो । आफू आफूमा ठूलो द्वन्द्व चर्काउनु हुँदैन, पराईको भरमा सुरक्षा हुँदैन । यसको प्रमाण भारतीय सेनाले सिक्किमका सेनालाई निशस्त्र पारेझैं अन्त पनि पारिने भएकाले आफ्नो समस्या आफैं समाधान गर्न सक्नु सुरक्षाको उपाय हुने देखिन्छ ।

यस महाकाव्यमा नाटकीय प्रस्तुतीकरण रहेको छ । नाटकले गम्भीर विषयलाई सजिलो पारिदिन्छ । विषयलाई पालैपालो भनिने क्रममा हिमालयले अन्त्यतिर बोलेको देखाइन्छ र सिक्किमको समस्यामा नेपालले किन हेरेन भनी सोधिएको छ । सिक्किमका राजामा स्वार्थ देखिँदैन । राजा र प्रजाले भारतीय हुन चाहेका छैनन्, तर भारतीय हुनु परेको इतिहास दुःख लाग्दो छ । अन्त्यको स्थितिमा हिमाल, नेपाल, भूटान र सिक्किमले परामर्श गरेका छन्, लक्षणाप्रधान श्लोकहरू पनि छन् –

‘अशान्ति ‘रअ’ ले रोप्छ हिंसाको मार्ग खोज्दछ ।
शान्ति छिमेकमा पाए यसको शिर दुख्दछ ।’ (पृ. २२२)

शिर दुख्नुको अभिप्राय अभिधाले बिरामी भई टाउको दुख्नु भन्ने भए पनि विशेष अर्थ राजनीतिको खेल गर्नेलाई असफल भइन्छ भन्ने चिन्ताले सताउँछ भन्ने भएको छ । दिदी–बहिनीहरूले अस्मिताको रक्षा गर्न पराईको चाला बुझ्नुपर्नेछ र घरलाई फुटाउनेसित सचेत बन्नुपर्नेछ भनी ‘श्वेतपत्र’ ले समाधान दिन्छ ।

सन्दर्भ सामग्रीसूची –

१. उपाध्याय, केशवप्रसाद, पूर्वीय साहित्य–सिद्धान्त (चौथो संस्करण), ललितपुर, साझा प्रकाशन, २०६१ ।
२. दाहाल, खेमनाथ, ‘श्वेतपत्र’ (महाकाव्य), काठमाडौं – उषा दाहाल, २०६७ ।
३. पाण्डेय, मैनेजर, साहित्य के समाजशास्त्र की भूमिका, चण्डीगढ – हरियामा साहित्य अकादमी, सन् १९८९ ।
४. प्रश्रित, मोदनाथ, मानव (दोस्रो संस्करण), काठमाडौं – लुम्बिनी प्रकाशन, २०४७ ।
५. भट्टराई, गोविन्दराज, उत्तर आधुनिक ऐना, काठमाडौं – रत्न पुस्तक भण्डार, २०६२ ।
६. श्रेष्ठ, दयाराम (सम्पा.), नेपाली कथा भाग–४ (दोस्रो संस्करण), ललितपुर – साझा प्रकाशन, २०६० ।
७. सिग्द्याल, सोमनाथ, साहित्य–प्रदीप (दोस्रो संस्करण), काठमाडौं – पुस्तक संसार, २०२८ ।

परिचय

डा. खेम दाहाल, पिप्ले–१, तेह्रथुम, कोशी (जन्मः वि.सं. २०१०)

कृतिहरू–
(१) ‘समालोचनै समालोचना’ (२०५९) (साझा प्रकाशनबाट)
(२) ‘शोधप्रक्रिया’ (सहलेखन २०६५ धरान)
(३) ‘केही नेपाली उपन्यास र अन्य पाठ’ (२०६५, धरान)
(४) ‘केही नेपाली निबन्धको समीक्षा’ (२०६६, वाणी प्रकाशन, विराटनगर)
(५) ‘उपन्यासका केही पाता’ (२०६७, वाणी प्रकाशन, विराटनगर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *